युवा चेतना र अध्यात्मिक विवेकः राजनीतिक सुधार र सामाजिक सद्भावको आधार
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
अध्यात्मले मानिसको भित्री जीवनलाई बुझ्न र अनुभव गर्न सहयोग पुर्याउँछ, जसले अन्तर्मनको शुद्धिकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। हाम्रो संस्कृतिमा अध्यात्म ऋषि–मनीषीहरूको चिन्तनको निचोड हो जसले आत्मा, परमात्मा र जीवन–मृत्यु जस्ता गूढ प्रश्नहरूको उत्तर खोज्छ। जब अन्तर्मन शुद्ध हुन्छ, तब मानिसमा विवेक, करुणा र सहिष्णुता विकास हुन्छन्, जसले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक स्तरमा पनि सद्भाव र शान्ति ल्याउँछ।
अध्यात्मिक अभ्यासहरूले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा सन्तुलन ल्याउँछन् र मनलाई शक्ति प्रदान गरेर आन्तरिक शान्ति दिलाउँछन्। स्वस्थ अन्तर्मनले मात्र सकारात्मक सोच र व्यवहार सम्भव हुन्छ, जसले समाजमा प्रेम, समानता र भाईचारेको भावना प्रवर्द्धन गर्छ। यसरी, अध्यात्म र अन्तर्मनको शुद्धिकरण आपसमा घनिष्ठ रूपमा जोडिएका छन्, जसले मात्र सामाजिक सद्भाव र राष्ट्रिय एकता सुनिश्चित गर्न सक्छ। त्यसैले, दिगो समाज निर्माणका लागि अध्यात्ममार्गबाट अन्तर्मनको शुद्धिकरण आवश्यक छ।
दर्शनशास्त्र र विभिन्न धार्मिक शिक्षाहरूले अन्तर्मनको शुद्धिकरणलाई जीवनको उच्चतम लक्ष्य मान्छन्। उदाहरणका लागि, हिन्दू धर्ममा योग, ध्यान र कर्मयोगमार्फत अन्तर्मनलाई शुद्ध र स्थिर बनाउन प्रेरणा दिइन्छ। बौद्ध दर्शनमा मनको शुद्धिकरण र माया करुणाको विकासलाई नै मुक्तिको मार्ग मानिन्छ। यी सबै मार्गहरूले व्यक्तिलाई आफ्नो आन्तरिक स्वभावको अध्यान र नियन्त्रणमार्फत नकारात्मक प्रवृत्तिहरू हटाउन र सकारात्मक गुणहरू विकास गर्न उत्प्रेरित गर्छन्।
अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईष्र्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन ( आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।
आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो । अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।
अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ। संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले आवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ, जसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्छ।
संस्कार भन्नाले मानिसको व्यवहारमा समाहित हुने मानवीय मूल्य र आस्थाहरूलाई जनाउँछ। यी संस्कार बाल्यकालदेखि नै विकास हुन्छन् र व्यक्तित्वको निर्माणमा योगदान पुर्याउँछन्। अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वको मूल्याङ्कन गर्न, सत्य, अहिंसा, प्रेम, करुणा, सहिष्णुता र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा उत्प्रेरित गर्छ। जब व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
आचरण व्यवस्थापनमा अध्यात्मको योगदान अनिवार्य हुन्छ। आचरण व्यक्तिको बाह्य व्यवहार, व्यक्तित्व र शैलीको प्रतिबिम्ब हो, जुन भित्री अवस्था र संस्कारलाई दर्शाउँछ। अध्यात्मले मानिसलाई आत्मनियन्त्रण र आन्तरिक शक्तिको महत्त्व बुझाउँछ, जसले चित्त र भावनाहरूलाई नियन्त्रण गरी आचरण अनुशासित बनाउँछ। ध्यान, प्रार्थना र आत्मचिन्तनले मानसिक शान्ति प्रदान गरी भित्री स्थितिलाई पवित्र राख्न मद्दत गर्छ।
जब मानिस सकारात्मक र विचारशील आचरण अपनाउँछ, समाजमा शान्ति र सुव्यवस्था स्थापना हुन्छ। अध्यात्मिक अभ्यासले समानता, भाईचारा र सहयोगको भावना प्रवर्द्धन गर्छ, जसले विभाजन र द्वेष कम गरी एकता र समृद्धिमा योगदान पुर्याउँछ। यसरी अध्यात्मले आचरणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्दै व्यक्तिगत र सामाजिक उन्नतिमा सहयोग गर्छ।
अन्तर्मनको शुद्धिकरणले सामाजिक सद्भावमा महत्वपूर्ण भूमिका खेल्दछ। शुद्ध मन भएका व्यक्ति सहिष्णु, नम्र र मर्मस्पर्शी हुन्छन्, जसले समाजमा द्वेष, कलह र विभाजनको स्थानमा प्रेम, समझदारी र एकता स्थापना गर्छ। यस्तो व्यक्तिले आफू र अरूबीचको भेदभावलाई कम गर्दै समानता र मानवता केन्द्रित सोच विकास गर्छ। यसले जात, धर्म, भाषा, आर्थिक अवस्था वा सामाजिक पदमाथि आधारित भेदभावलाई कम गरी सबैको सामूहिक उन्नतिमा योगदान पुर्याउँछ।
सामाजिक सद्भाव तब मात्र सम्भव हुन्छ जब व्यक्तिका मनहरू शान्त र शुद्ध हुन्छन्। अशान्त मनहरूले द्वन्द्व र संघर्ष उत्पन्न गर्छन्, जसले समाजमा अस्थिरता र अविश्वास फैलाउँछ। त्यसैले, अन्तर्मनको शुद्धिकरणबाट उत्पन्न सकारात्मक भावनाहरू समाजमा मेलमिलाप र सहयोगको वातावरण बनाउँछन्। सामाजिक सद्भावले मात्र राष्ट्रिय एकता, आर्थिक विकास र समृद्धिको मार्ग खुल्छ।
अन्त्यमा, प्रकृति, ईश्वर र मानव जीवनको अनसुल्झिएको रहस्यलाई समाधान गर्ने तत्व नै अध्यात्म ज्ञान हो। अध्यात्म मार्गले मानव जीवनलाई प्रयोग गरी भित्री चेतनालाई परम चेतनामा रूपान्तरण गर्न सकिन्छ। ईर्ष्या, द्वेष, घृणा र प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउँछन् भने अध्यात्म मार्गले संस्कार, आचरण र व्यवहार सुधार्न महत्वपूर्ण मार्गदर्शन दिन्छ। यसले व्यक्तिलाई आत्मिक शान्ति र उच्च नैतिक मूल्यहरूको अभ्यासमा जोड दिन्छ। जब समाजका सबै सदस्यले अध्यात्मिक मूल्य र आचरणलाई अंगाल्छन्, तब समाजमा एकता, शान्ति र समृद्धि वृद्धि हुन्छ। त्यसैले अध्यात्ममा आधारित जीवन यापनले नैतिक प्रशासन, सामाजिक सुधार र मानवता सुधारमा सकारात्मक योगदान पुर्याउँछ। ।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया