मतदानको सर्कसमा(कविता)
तोमनाथ उप्रेती
चिया पसलमा लोकतन्त्र उम्लिन्छ
एक चम्चा जोश
दुई चम्चा गाली
चिनीचाहिँ नेता आफैँ।
नेताहरू बादल हुन्
चुनावअघि भारी
चुनावपछि हलुका
र वर्षा सधैँ जनतामाथि।
मतपत्र कागज होइन
त्यो त जनताको एक्स–रे हो
जहाँ डर, लोभ र चिनाजानी
स्पष्ट देखिन्छ।
मैले अनुहार फेरेँ,
तर दिमाग भने
भाडामा नै थियो।
नेताले भाषण गर्यो
भविष्यको सपना
भूतकालको कथा
र वर्तमानको ढाकछोप।
हामी ताली बजायौँ
किनकि ताली बजाउनु
सजिलो थियो
सोच्नुभन्दा।
मतदानको दिन आयो
हामी लाममा उभियौँ
चेतना घरमै छोडेर।
ब्यालट बक्समा हाल्यौँ
आफ्नै विवेक
र बाहिर निस्केर भन्यौँ
“अब नेता जिम्मेवार।”
राति देश सुत्यो
नेता उठ्यो
र चेतना फेरि
लोडसेडिङमा गयो।
अन्त्यमा मैले बुझें
देश अनुहारले होइन,
चेतनाले बन्छ।
प्रतिक्रिया