logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • आचार र कर्मदृष्टिको नैतिक जागरण

    आचार र कर्मदृष्टिको नैतिक जागरण

    आचार र कर्मदृष्टिको नैतिक जागरण

    तोमनाथ उप्रेती

     

    मानव जीवन कर्म र आचारमा आधारित नैतिक चेतनाका माध्यमबाट समाज र राष्ट्रको समग्र प्रगतिका लागि निर्देशित हुनुपर्छ। आचार र कर्मको मूल्यलाई बुझ्न सके मात्र व्यक्तिले आफ्नो जीवनलाई उद्देश्यपूर्ण र सामाजिक रूपले अर्थपूर्ण बनाउन सक्छ। यद्यपि आधुनिक युगमा प्रविधि, आर्थिक प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थको बढ्दो प्रभावले नैतिक चेतनालाई कमजोर पार्दैछ। मानिसहरू यन्त्रवत्, द्रुतगामी र भौतिक सुख–सुविधा केन्द्रित जीवनमा व्यस्त छन्, जसले आचार र कर्ममा सन्तुलन कायम राख्न कठिनाइ पैदा गरेको छ।

    सत्य, करुणा, सहिष्णुता, निष्ठा र परोपकार जस्ता मूल्यहरू नै व्यक्तिको आचार र कर्मको आधार हुन्। जब व्यक्तिले आफ्नो कर्ममा केवल स्वार्थ र व्यक्तिगत लाभको विचार गर्छ, तब समाजमा असमानता, अविश्वास र नैतिक पतनको बीजारोपण हुन्छ। तर जब कर्मको दृष्टि नैतिक, सामाजिक र मानव कल्याणमा केन्द्रित हुन्छ, तब व्यक्तिगत जीवन मात्र नभई सामाजिक संरचना र राष्ट्रको भविष्य पनि समृद्ध र स्थायित्वपूर्ण बनाइन्छ।

    नैतिक जागरण केवल शिक्षा, नीति वा कानूनको माध्यमबाट सीमित हुँदैन। यो चेतनाको अन्तर्निहित क्रान्ति हो, जसले व्यक्तिलाई आफ्ना कर्म र आचारमा सतर्क, जिम्मेवार र विवेकशील बनाउँछ। प्रत्येक कर्मको प्रभावलाई बुझ्ने र प्रत्येक आचारलाई मूल्य–आधारित बनाउने अभ्यासले मात्र समाजमा स्थायित्व, न्याय र सहअस्तित्वको वातावरण सिर्जना गर्न सक्छ।

    मानव सभ्यताको मूल आत्मा कर्ममा निहित छ । विचार चेतनाको जन्मदात्री हो भने कर्म त्यसको अभिव्यक्ति हो । जब समाज विचारमा मात्रै सीमित रहन्छ र कर्ममा रूपान्तरण गर्न सक्दैन, त्यहाँ नैतिक पतन सुरु हुन्छ । आजको युगमा भौतिक लोभ, शक्ति–प्रतिस्पर्धा र आत्मकेन्द्रित प्रवृत्तिले मानवीय मूल्यहरू क्षीण बनाउँदै लगेका छन् । यस्तो परिस्थितिमा कर्मप्रधान चेतनाको पुनर्जागरण अत्यावश्यक छ — जहाँ प्रत्येक कार्य विचार, विवेक र उत्तरदायित्वमा आधारित हुन्छ ।

    दार्शनिक दृष्टिले कर्म आत्माको गतिशील अभिव्यक्ति हो । गीता, उपनिषद् र बुद्ध–दर्शनले पनि कर्मलाई मुक्तिको मार्ग मानेका छन् । जब व्यक्ति आफ्नो कर्तव्यलाई ईमानदारीपूर्वक निर्वाह गर्छ र फलप्राप्तिको लोभ त्याग्छ, तब उसमा नैतिक पुनर्जागरण घटित हुन्छ । समाज त्यही बेला सशक्त बन्छ, जब नागरिकहरू कर्मलाई पूजा र विचारलाई दिशा ठान्छन् ।समाजको समुन्नतिको मूल आधार व्यक्तिको कर्म र विचार हुनुपर्दछ। तर विडम्बनापूर्ण रूपमा आज पनि हाम्रो समाजमा जात, थर र जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ। यस्तो सोचले प्रतिभाहरूलाई दबाउँछ सामाजिक अन्याय र विभाजनलाई बढावा दिन्छ।

    मानव अस्तित्वको सार चेतना, विचार र कर्ममा निहित हुन्छ। जन्म त केवल देहको प्रारम्भ हो, तर जीवनको मूल्य निर्धारण गर्ने तत्व व्यक्ति–कर्म हो। जब समाजले वंश वा परम्पराको आधारमा मान–अपमान बाँड्छ, तब नैतिक न्याय मर्दछ र असमानता जन्मिन्छ। तर जब कर्म, विवेक र नैतिक आचरणलाई मूल्यांकनको आधार बनाइन्छ, तब समाज आध्यात्मिक रूपमा उज्यालिन्छ।

    प्रत्येक मानव आत्मा मूलतः शुद्ध र समान चेतनाको अंश हो। भिन्नता शरीर र परिस्थितिको हो, आत्माको होइन। त्यसैले कर्म नै आत्माको वास्तविक परिचय हो। जसले सत्य, सेवा र न्यायको बाटो अपनाउँछ, ऊ समाजको उज्यालो दीप बन्न जान्छ। यस्तो चेतनाले जात, धर्म वा सम्प्रदायका सीमाहरू तोडेर मानवीय एकताको भाव जगाउँछ।

    शिक्षा र नैतिकता यस यात्राका दुई पाखा हुन्। शिक्षाले विवेक जगाउँछ र नैतिकताले त्यस विवेकलाई कर्ममा रूपान्तरण गर्छ। जब हरेक व्यक्ति आफ्नो कर्तव्य र क्षमतामा विश्वास गरेर समान अवसर पाउँछ, तब मात्र समतामूलक र कर्मप्रधान समाजको निर्माण सम्भव हुन्छ। त्यस समाजमा जन्म होइन, कर्मले मान्छे ठूलो बनाउँछ; थर होइन, विचारले उसको सम्मान तय गर्छ — यही हो मानवीय सभ्यताको दार्शनिक आदर्श। एक सभ्य, न्यायपूर्ण र समावेशी समाजको निर्माणका लागि व्यक्तिको मूल्यांकन जन्मको आधारमा होइन, उसले दिएको योगदानको आधारमा हुनुपर्छ।

    हाम्रो समाजमा अझै पनि कतिपय मानिसहरू जात, थर वा परिवारको प्रतिष्ठाका आधारमा सम्मान पाउँछन्, जबकि गरीब, सादा जीवन बाँच्ने र समाजको भलोका लागि क्रियाशील व्यक्तिहरू ओझेलमा परिरहेका हुन्छन्। यस्तो सोचले सामाजिक विषमता बढाउँछ र नविन सोचलाई दबाउँछ।हामीले बुझ्नुपर्छ कि इतिहास सधैं ती व्यक्तिहरूलाई सम्झन्छ जसले आफ्नो जन्मभन्दा माथि उठेर मानवताको सेवामा योगदान दिएका हुन्छन्—जस्तै मदर टेरेसा, महात्मा गान्धी, वा बुद्ध।त्यसैले, समाजले अब जागरूक भई मानिसको मूल्यांकन जात वा जन्मको चस्माबाट होइन, योगदान, विचार र कर्मका आधारमा गर्न सिक्नुपर्छ। यसले मात्र समाजमा समता, समान अवसर र न्यायको स्थापना हुन सक्छ, जुन समृद्ध राष्ट्र निर्माणको लागि अत्यावश्यक छ।

    जातपातले ग्रसित समाजमा समानता, न्याय र शान्तिको कल्पना गर्न कठिन हुन्छ। जब व्यक्तिलाई उसको जन्म, जात वा थरका आधारमा विभाजन गरिन्छ, तब सामाजिक समरसता, एकता र सद्भावमा बाधा पुर्याउँछ। यस्तो व्यवस्थाले प्रतिभा र क्षमतालाई पनि दबाउँछ।तर समता मूलक समाजमा सबैले शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा समान पहुँच पाउँछन्।यस समाजमा व्यक्तिको मूल्यांकन उसले गरेका कर्म, सोच र योगदानका आधारमा हुन्छ। धार्मिक, सांस्कृतिक र वैचारिक विविधताहरूको सम्मान गरिन्छ र सबैलाई आत्म–गौरवसहित बाँच्न सक्ने वातावरण मिल्छ।जातपात मुक्त समाजको निर्माण कुनै एक दिनमा सम्भव छैन, तर दृढ इच्छाशक्ति, शिक्षाको पहुँच, कानुनी व्यवस्था र सामाजिक चेतनाबाट यसको मार्ग प्रशस्त गर्न सकिन्छ। हामी सबैले मिलेर एक यस्तो समाजको निर्माण गर्नुपर्छ, जहाँ सबै मानिस मानवताको आधारमा हेर्ने दृष्टिकोण विकास होस् र समता, न्याय र करुणामा आधारित नयाँ युगको सुरुआत होस्।

    हाम्रो समाजमा आज पनि जात, थर र जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ। जन्मिएसँगै कोही उच्च जातमा गनिन्छ भने कोही तल्लो भनेर हेला गरिन्छ। यो सोचले हाम्रो सामाजिक न्याय, समता र मानवताको भावना माथि प्रहार गरिरहेको हुन्छ। तर साँचो मानवता त त्यो हो, जहाँ मानिसलाई उसले गरेका कर्म, सोच र समाजमा दिएको योगदानका आधारमा सम्मान गरिन्छ।

    जात र थरको आधारमा मानिसबीच भेदभाव गर्नु समाजको विकासको बाधक हो। यस्तो सोचले प्रतिभा दबिन्छ, अवसरहरू गुम्छन् र नविन विचारहरू फुल्न पाउँदैनन्। त्यसैले, अबको समाजमा हामीले यस्तो वातावरण बनाउनुपर्छ जहाँ सबैलाई समान अवसर मिलोस्, जहाँ मानिसको मूल्यांकन उसले गरेको काम, समाजप्रतिको उत्तरदायित्व र सकारात्मक सोचका आधारमा होस्।

    कुनै पनि समाजको प्रगतिको आधार उसमा रहेका कर्मशील नागरिकहरू नै हुन्। कर्मशील नागरिक भनेको ती व्यक्ति हुन्, जो आफ्नो कर्तव्य, जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्छन्। उनीहरू शिक्षा, कृषि, उद्योग, व्यापार, विज्ञान, प्रशासन, सेवा र सिर्जनात्मक क्षेत्रमा निरन्तर क्रियाशील रहन्छन्। यस्ता नागरिकहरूले आफ्नो व्यक्तिगत विकाससँगै समाजको समग्र विकासमा पनि योगदान पुर्याउँछन्।

    कर्मशीलता नैतिक चेतना, इमान्दारी, समयको सम्मान र सामाजिक उत्तरदायित्वप्रतिको निष्ठासँग पनि जोडिएको हुन्छ। जब नागरिकहरू आफ्नो कामप्रति समर्पित हुन्छन्, तब समाजमा अनुशासन, सहकार्य र समृद्धिको वातावरण सिर्जना हुन्छ। त्यसैगरी, यस्ता नागरिकहरूले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी विकासलाई पनि मजबुत बनाउँछन्।

    अल्छी, बेपरवाह र अरूमा निर्भर रहने प्रवृत्तिले समाजलाई पच्छाडि पार्छ, जबकि कर्मशील प्रवृत्तिले नयाँ सम्भावनाहरू जन्माउँछ। त्यसैले कुनै पनि राष्ट्र या समाजले समुन्नति चाहन्छ भने उसले कर्मशील नागरिकहरूको संख्या बढाउनु पर्छ र तिनीहरूको प्रेरणा र योगदानलाई सम्मान गर्न जान्नुपर्छ। यही हो साँचो प्रगतिको मूल सूत्र।तर जब समाजमा जात, थर वा जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ, तब कर्मशीलता ओझेलमा पर्छ र समाज विभाजित हुन्छ। यस्तो अवस्थामा योग्य, इमानदार र परिश्रमी व्यक्तिहरूले न्याय र अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ।समावेशी समाज यस्तो समाज हो जहाँ सबै वर्ग, जात, लिंग, र क्षेत्रका व्यक्तिहरूलाई समान अवसर र सम्मान प्राप्त हुन्छ। यसका लागि मुख्य शर्त हो—कर्मशीलताको मूल्यांकन र सम्मान। जो व्यक्ति परिश्रम गर्छ, सकारात्मक सोच बोकेको छ, र समाजमा योगदान दिन इच्छुक छ, उसलाई जातपात हेरेर होइन, क्षमताका आधारमा अघि बढ्न सक्ने अवसर दिनुपर्छ।

    हाम्रो शिक्षा, प्रशासन, नीति निर्माण र सामाजिक व्यवहारमा पनि यो सोचलाई आत्मसात् गर्न जरुरी छ। जब हामी कर्मशीलतालाई सम्मान गर्छौँ, तब हामी समानता र न्यायको मार्गमा अघि बढ्छौँ। यसरी मात्रै हामी समावेशी, न्याययुक्त र समृद्ध समाज निर्माणतर्फ अग्रसर हुन सक्छौँ, जहाँ सबै नागरिकले गर्वका साथ जीवन यापन गर्न सक्छन्।जात, थर वा जन्मको आधारमा व्यक्तिको मूल्यांकन गर्ने सोचले समाजमा अन्याय, विभाजन र असमानता जन्माउँछ। यस्तो सोचले केवल समाजलाई पछि धकेल्छ, योग्य व्यक्तिहरूको क्षमता दबाउँछ, र सामूहिक प्रगतिमा बाधा पुर्याउँछ। यसैले आजको युगमा समाजलाई अगाडि बढाउने हो भने जन्मको होइन, कर्म, सोच र योगदानको आधारमा मूल्यांकन गरिने प्रणालीलाई आत्मसात् गर्नुपर्छ।

    समाजको सच्चा प्रगतिका लागि कर्म, विचार र योगदानलाई नै मूल्यांकनको आधार बनाइनु आजको प्रमुख आवश्यकता हो। जब व्यक्ति आफ्नो आचरणमा सत्य, सेवाभाव र नैतिक उत्तरदायित्व बोकेर अघि बढ्छ, तब त्यो समाजमा विभेद होइन, सहअस्तित्वको भावना फस्टाउँछ। शिक्षा, प्रशासन र नीति–निर्माणका सबै तहमा समान अवसर, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नु नै दिगो विकासको आधारशिला हो।अबको युग विचारको शुद्धता र कर्मको पवित्रतामा टेकेर अघि बढ्नुपर्ने युग हो। समावेशी समाजको निर्माण केवल कानूनी व्यवस्थाले होइन, प्रत्येक नागरिकको चेतनात्मक रूपान्तरणले सम्भव हुन्छ। जब हामी जात, वर्ग, र थरको सीमित सोच पार गरेर मानवीय मूल्य र कर्मप्रधान संस्कृतिलाई आत्मसात गर्छौँ, तब हाम्रो राष्ट्र साँच्चै सभ्य, आत्मगौरवयुक्त र प्रगतिशील बन्नेछ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक  हुन ।)

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २२, शुक्रबार १८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP