लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदम चाल्दै तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर- १ र वडा नम्बर- २ लाई औपचारिक रूपमा बाल विवाह मुक्त वडा घोषणा आईतबार गरेका छन् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर-१ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाको सहभागितामा सामूहिक प्रतिबद्धतासहित घोषणा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बाल विवाह सामाजिक अपराध भएको उल्लेख गर्दै यसको अन्त्यका लागि केवल कानुन मात्र नभई समुदायको चेतना र सक्रियता आवश्यक हुने बताएका छन् । बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने बताएका छन् । उनले बाल विवाह हुन नदिन वडा स्तरबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसका दीर्घकालीन असर तथा रोकथामका उपायबारे जानकारी वक्तहरुले दिएका छन् । साथै बाल क्लब तथा विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए । सहभागीहरूले बाल विवाह नगर्ने र देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमका क्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसको सामाजिक असर तथा रोकथामका उपायबारे जानकारीमूलक मन्तव्य प्रस्तुत गरिएको थियो भने बाल क्लब तथा विद्यालयका विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति समेत दिएका थिए ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर- १ का अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार कर्ण, वडा नम्बर-२ का वडा अध्यक्ष कमल कुमार मण्डल, बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय तहका प्रतिनिधि, विद्यालयका शिक्षक–विद्यार्थी, महिला समूह, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मन्त्वय दिएका थिए ।
प्रतिक्रिया