राजबिराज। सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान प्रदेश सभा सदस्य अभिषेक यादव उम्मेदवार बन्ने चर्चा तीव्र बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यादवको सक्रियता बढेपछि राजनीतिक वृत्तमा उनको उम्मेदवारीबारे व्यापक चासो देखिएको हो।
यादव यसअघि २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा सप्तरी–४ (२) बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए।भने २०७९ को प्रदेश सभा निर्वाचन पराजित भएको थियो। प्रदेश सभामा रहँदा उनी युवा जनप्रतिनिधिका रूपमा परिचित थिए।

हाल उनी प्रतिनिधिसभा निर्वाचन लड्ने सम्भावनाबारे चर्चा भए पनि कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषयमा भने उनले औपचारिक घोषणा गरिसकेका छैनन्। यद्यपि, निर्वाचन क्षेत्र केन्द्रित जनसम्पर्कलाई उनले तीव्र बनाएका छन्।
यादवले जेनजी (Gen-Z) आन्दोलनको मर्मअनुसार समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासलाई आफ्नो प्राथमिकता बनाउने संकेत दिएका छन्। यदि उनको उम्मेदवारी औपचारिक रूपमा अघि बढेमा सप्तरी क्षेत्र नं. ४ को राजनीतिक समीकरण थप रोचक बन्ने अनुमान गरिएको छ।

सप्तरी क्षेत्र नं. ४ अन्तर्गत बोदेबरसाईन नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका र बलान–बिहुल गाउँपालिका पर्दछन्। यी स्थानीय तहमा यादवको राजनीतिक प्रभाव र जनसम्पर्कलाई चासोका साथ हेरिएको छ।
प्रतिक्रिया