काठमाडौं। बझाङको वित्थडचिर गाउँपालिका– ९ स्थित सुनकुडा माविको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट र गाउँपालिकाका तत्कालीन सवइन्जिनियर किरण भण्डारी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
१२ कोठा भएको विद्यालयको तीनतले भवन निर्माण सार्वजनिक खरिद ऐनअनुसार बोलपत्रमार्फत गर्नुपर्नेमा विद्यालय व्यवस्थापन समिति आफैंले निर्माण गरेको, वास्तविक निर्माण कार्यभन्दा बढी मूल्याङ्कन गरी भुक्तानी प्रकृया अघि बढाएको, भवन निर्माणका लागि सामान खरिद गर्दा सामाजिक सुरक्षा कर सम्बन्धित कामदारबाट र बहाल कर सम्बन्धित सवारी धनीबाट कट्टा गरी बाँकी रकम भुक्तानी दिनुपर्नेमा त्यसो नगरी विद्यालयको आन्तरिक कोषबाट दाखिला गरेको आरोपपत्रमा उल्लेख छ।
भवनको निर्माण कार्यमा लागतभन्दा १७ लाख ७५ हजार रुपैयाँ बढी मूल्यांकन गरी भुक्तानी गरेको, वायरिङ तथा मेसिनरी औजारमा खर्चभन्दा २ लाख २६ हजार ७५२ रुपैयाँ बढी देखाएको, कर बापतको रकम आ.व २०७६/०७७ मा ३ लाख २७ हजार ९०४ रुपैयाँ र आव २०७७/०७८ मा ३ लाख २५ हजार रुपैयाँ विद्यालयको आन्तरिक कोषबाट दाखिला गरेको देखिएको अख्तियारले जनाएको छ। उनीहरुले मिलेमतोमा कुल २६ लाख ५४ हजार ६८३ रुपैयाँबराबरको सरकारी सम्पत्ति हिनामिना गरी गैरकानुनी लाभ लिएको अख्तियारको दाबी छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालको हकमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ तथा बाँकी तीनजनाको हकमा २० लाख एक हजार ७७९ रुपैयाँ बिगो कायम गरिएको छ।
प्रतिक्रिया