logo
  • २०८२ माघ १६ | Fri, 30 Jan 2026
  • सप्तरीमा २३ वटा डिप ट्युबवेल प्रयोगविहीन, किसान सिँचाइ अभावले समस्यामा

    सप्तरीमा २३ वटा डिप ट्युबवेल प्रयोगविहीन, किसान सिँचाइ अभावले समस्यामा

    राजविराज। सिँचाइ सुविधा विस्तारको उद्देश्यसहित केही वर्षअघि सप्तरी जिल्लामा जडान गरिएका ४३ वटा डिप ट्युबवेलमध्ये २३ वटा हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। जिल्लाका विभिन्न पालिकामा गाडिएका यी ट्युबवेलमध्ये केवल १७ वटा मात्रै अहिले सञ्चालनमा छन् भने बाँकी ट्युबवेलहरू अलपत्र छन्।

    भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाका अनुसार सप्तरी जिल्लामा सो कार्यालयमार्फत ४३ वटा डिप बोरिङ जडान गरिए पनि आधाभन्दा बढी सञ्चालन आउन सकेका छैन। कार्यालय प्रमुख विकास ठाकुरका अनुसार केही ट्युबवेलमा ट्रान्सफर्मर चोरी भएको छ। भने कतिपयमा बालुवा निस्कने समस्या देखिएकाले पुनः जडान आवश्यक भएको छ।

    स्थानीय कृषक विनोद यादवका अनुसार, डिप बोरिङ जडान गरिएको भएतापनि सञ्चालनमा नआउँदा किसानहरू खडेरीको मारमा परेका छन्। “राज्यको ठूलो लगानी व्यर्थ गएको छ, हामी किसानहरूले वर्षौंको पिरमर्का व्यहोर्न बाध्य भएका छौं,” उनले बताए।

    सिँचाइ नहुँदा प्रत्यक्ष असर धान खेतीमा परेको छ। किसान जितेन्द्र साह भन्छन्, “ट्युबवेल चलेको भए यो वर्ष पनि धान रोप्थें। तर सिँचाइ नभएपछि खेत सुकेको छ।” उनले स्थानीय तहले समयमा ध्यान नदिँदा लाखौं रुपैयाँको पूर्वाधार प्रयोगविहीन बनेको गुनासो गरे।

    किसान भगवान यादवका अनुसार डिप बोरिङ गाड्दा उत्साहित भएका किसानहरू अहिले निराश छन्। वर्षौं सिँचाइ समस्याको सामना गरिरहेका उनीहरू यसपालिको खडेरीका कारण थप मारमा परेका छन्। “अझै पनि ट्युबवेल नचले धानको उत्पादनमा भारी गिरावट आउँछ,” उनले चिन्ता व्यक्त गरे।

    यसरी किसानले आशा गरेका डिप ट्युबवेल सञ्चालनमा नआएपछि न त सिँचाइको समस्या समाधान भएको छ, न त कृषि उत्पादनमा सुधार आएको छ। स्थानीय तह र सम्बन्धित निकायको बेवास्ताले विकासको नाममा भएको लगानी अहिले व्यर्थ सावित हुँदै गएको देखिन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १७, शनिबार १४:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP