मानव विकासको संग्राम
तोमनाथ उप्रेती,
जन्मिन्छन् सपना, धुलोको पातमा
भोकले उज्यालो च्यात्दा बिहान,
पसिना चुँडेर बनाइन्छ मन्दिर,
तर पेटको रित्याइँले बज्दैन घण्टी,
आकाशमा गुँड टाँगिएका पन्छीझैँ
हाम्रो चेतना लहरिन्छ,
तर तल जमिनमा
अहँ, उड्न पाउँदैनन् हाम्रा पाइला।
सङ्घारमा अड्केका आकाशका घामहरू
किन बर्सिन्नन् हाम्रा खेतमा ?
किन हाम्रा पाठशालाहरूमा किताबको गन्ध
कुनै राजनैतिक झरीले भिजाउँछ ?
किन हाम्रो अस्पतालमा
औषधिको सट्टा चुनावी भाषण मात्र बाँडिन्छ ?
“कर्मण्येवाधिकारस्ते” भनेर
गीता फुसफुसाउँछ कानमा,
“सत्यं वद, धर्मं चर” भन्दै
उपनिषद् उठ्छ हाम्रो शिरमा,
तर संसदको झिल्के बल्ब मुनि
घिस्रिन्छ हाम्रो युग,
कहिले सरकारको लडाइँमा,
कहिले पदको हवसमा।
ओ बुद्धका देश!
ओ जनकका माटो!
किन मानव विकासको भिजन
केवल तथ्याङ्कमा बन्दी छ ?
किन ‘एचडीआई’ को शिखर
अझै हाम्रो सपनामा लुकेको छ ?
तिमीलाई थाहा छ—
कम्प्युटरको आँखामा देखिन्छ भविष्य,
एआईको मस्तिष्कमा राख्नुपर्छ
हाम्रो गाउँका भोक, रोग र अभाव,
हाम्रो विद्यालयका भित्ताहरूमा
कृत्रिम बुद्धिले लेख्नुपर्छ उज्यालो अक्षर,
रोजगारी सिर्जना गर्नुपर्छ
रोबोटिक हातले होइन,
प्रतिकोणका खेतमा पसिना खन्याएर।
न्याय र समानताका आकाश फोड्न
एआई बन्नुपर्छ बुद्धको करुणा,
शङ्करको विवेक,
जनकको तितिक्षा,
र अष्टावक्रको सत्यज्ञान।
कवि प्रश्न गर्छ–
के मानिसको मस्तिष्क भन्दा महान् छ एआई ?
के गणनाले जान्छ हृदयको हाहाकार ?
के प्रविधिको हातले पुछ्न सक्छ
एउटी आमाको आँसु ?
तर यथार्थको कठोर समय भन्छ–
एआई प्रयोग गर,
तर आत्मा नबेच,
चेतना बिकाऊ नबनाऊ,
न्यायको बाँसुरी घन्काउने हातमा
प्रविधिको शक्ति राख।
जन्माउँ भविष्य,
जहाँ बच्चा जन्मिन्छ
र उसको सासमा शिक्षा हुन्छ,
उसको हाँसोमा स्वास्थ्य हुन्छ,
उसको पाइला हरेक रोजगारीको
पगडण्डा हुन्छ।
ओ नेपाली युवा!
उठ, सपना कोर,
केवल शंखघोष नगर्ने,
तर प्रविधिको बैरागी बनेर
वास्तविक समाज परिवर्तन गर्ने,
विकासको गहिरो चेतनाको महासागरमा
दिव्य विचारका तर्ना चढ,
र घोषणा गर—
मानव विकास कुनै तथ्याङ्क होइन,
यो त चेतनाको क्रान्ति हो।
प्रतिक्रिया