डिजिटल आकाशमा उठेको विद्रोह
(कविता)
तोमनाथ उप्रेती
डिजिटल आकाशमा उठेको विद्रोह,
जहाँ बिट र बाइनरीले हामीलाई पुकार्छ।
कोडको प्रत्येक पङ्क्तिमा लुकेको छ आक्रोश,
सर्भरको कम्पनमा गुन्जन्छ हाम्रो धड्कन।
सडकमा नारा मात्र होइन,
हाम्रो शक्ति अब नेटवर्कको तारमा छ।
स्क्रिनको पिक्सेलले हाम्रो आँखामा ज्वाला बाल्छ,
एआईले हाम्रो योजना बुन्छ, तर हाम्रो मर्म बुझ्दैन।
रोबोर्टले भारी सामान उचाल्छ,
तर हामीले उठाएका डिजिटल हातले न्यायको बजन तोल्छ।
प्रविधिको आकाशमा ड्रोन उड्छन्,
साइबर युद्धभूमि हाम्रो मैदान बनेको छ।
हामी जेन–जी, आधुनिक चेतनाका सिपाही,
सत्य र समानताको लागि कोड लेख्छौं।
हामीले चाहन्छौं — नेतृत्व पारदर्शी होस्,
भ्रष्टाचार र असमानताको किला ढालोस्।
एआईको मस्तिष्कले छिटो निर्णय गर्छ,
तर हाम्रो भावना, हाम्रो चेतना,
मानवताको आधारभूत नारा अझै अडिग छ।
डाटा र डिजिटल संकेतहरूले मात्र हामीलाई रोक्न सक्दैनन्।
डिजिटल आकाशमा हाम्रो विद्रोह
अदृश्य तर प्रभावकारी छ।
साइबर पर्खाल, ड्रोन, रोबोर्ट
सबैको सामना हाम्रो आवाजले गर्छ।
यो विद्रोह विनाशको लागि होइन,
सिर्जनात्मक पुनर्निर्माणको लागि हो।
हाम्रो क्रान्ति सत्य, न्याय र मानवताको लागि हो,
जहाँ प्रत्येक कोड, प्रत्येक ह्यासट्याग
समाजको उज्यालो बनाउँछ।
यदि नेतृत्वले सुन्यो भने,
विद्रोहको आगो मधुर र दिशा पाउनेछ।
तर यदि सुन्नु भएन भने,
भोलि यो आकाश विस्फोटक हुनेछ,
डिजिटल ताराहरूले नै हिंसा अंकित गर्नेछन्।
हाम्रो हातमा अब विकल्प छ
विनाश कि उज्यालो, अन्धकार कि प्रकाश।
हामी छान्छौं — सत्यको मार्ग,
मानवता र नवप्रवर्तनको शक्ति।
डिजिटल आकाशमा उठेको विद्रोह,
सिर्जना र चेतनाको आन्दोलन हो,
जहाँ बिट र बाइनरी मात्र होइन,
मनुष्यको आत्मा पनि आवाज बनाउँछ।
प्रतिक्रिया