logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • ढुंगो फुलेपछि : कठोर यथार्थबाट फुलेको सौन्दर्य                     

    ढुंगो फुलेपछि : कठोर यथार्थबाट फुलेको सौन्दर्य                      

                  ढुंगो फुलेपछि : कठोर यथार्थबाट फुलेको सौन्दर्य

                        

                                             तोमनाथ उप्रेती

    बिषय प्रवेश

    मोरङको झोराहाटमा जन्मिएका नेत्र खतिवडा नेपाली मुक्तक साहित्यका संवेदनशील, श्रमशील र जीवनअनुभवद्वारा उर्जित साहित्यकारका रूपमा परिचित छन्। उनी सर्जक मात्र होइनन्—दैनिक जीवनका कठोरता, सामाजिक विभेद, राजनीतिक कुत्सितता र मानवीय पीडाका साक्षी पनि हुन्। उनका शब्दहरू कुनै कृतिम कलामा होइन, भोगाइ, संघर्ष र अस्तित्वको उचाइ–ओरालोमा यसरी टल्किन्छन्, जसरी वर्षौं घोटिएको ढुंगोले अन्ततः चमक पाउँछ।

    उनको लेखकीय पहिचान लोकप्रियता–केन्द्रित वा ‘प्रचलन’ पछ्याउने प्रवृत्तिमा आधारित छैन। बरु, उनका मुक्तकहरू समाजको भित्री चिरा, शक्तिसंरचनाबाट पीडित सामान्य मानिसका आवाज र परिवर्तनको चाहनाबाट जन्मेका विचार हुन्। सामाजिक–राजनीतिक चेतना, मानवीय संवेदना, वर्गीय असमानताप्रति असन्तोष र दार्शनिक खोज नै उनकी मुक्तकको मेरुदण्ड हो।

    उनका मुक्तकहरूमा जीवनका उज्याला–अँध्यारा उतारचढाव, प्रेम र बिछोडका तिक्त घाउ, स्वाभिमान र परिवर्तनको आकांक्षा र अस्तित्वको अन्तःयात्रा प्रस्ट देखिन्छ। यी सबै विषय सशक्त तरलतासाथ बगिरहेका छन्, जसले पाठकलाई भावनात्मक रूपमा छुन्छ र सोचमा दुरुस्त प्रश्न उठाउँछ।

    कवि खतिवडाको साहित्यिक यात्रा मूलतः धार्मिक होइन, वैचारिक हो; भावनात्मक मात्र होइन, मानवीय जिम्मेवारीले तिक्त–मधुर बनेको छ। उनी समाजका अदृश्य कोलाहल सुन्छन्, राजनीति र असमानताका अँध्यारा कोठा देख्छन्, अनि आत्मभित्र पोलिराखेको पीडा शब्दमा पोख्छन्। यही कारण उनका मुक्तकहरू समाजको ऐना, समयको अभिलेख र मौन वर्गको कथनका रूपमा उभिन पुग्छन्।उनको साहित्यिक स्वर नै हो—जसले यथार्थ बोल्छ, पीडा बोक्छ, र परिवर्तन खोज्छ।

    खतिवडा कुनै ‘सजावट’का कवि होइनन्—उनी जीवनका अँध्यारा गल्ली घुमेर आउने कवि हुन्।उनले बोल्न नसक्नेहरूको पीडा उठाउँछन्, देखेर पनि नदेखेजस्तो गर्ने राज्य, समाज र जनताको मानसिक अवस्थालाई चिरफार गर्छन्।

    खतिवडाको मुक्तक–सङ्ग्रह ‘ढुंगो फुलेपछि’ शीर्षकैमा ठुलो दार्शनिकता बोकेको छ। शीर्षकले नै विरोधाभास व्यक्त गर्छ—ढुंगो कठोर, निष्ठुर र शुष्क हुन्छ, तर फूल कोमल, सुगन्धित र आशा बोकेको हुन्छ। यसैले कृतिले पाठकलाई संकेत गर्छ कि कठोर यथार्थ, पीडा र दमनका बीच पनि आशा र परिवर्तनको बीउ फुल्न सक्छ। ढुंगोका बिच फुलेका फूलहरूले जीवनमा सम्भावना र सौन्दर्यको प्रतिक प्रस्तुत गर्छन्।

    कृतिमा समेटिएका मुक्तकहरू मानवीय अनुभूति र सामाजिक यथार्थका विविध पक्षहरू उजागर गर्छन्। प्रेमको पीडा, बिछोडका तिक्तता, गरिबी र भोक, सामाजिक विभेद, देशको राजनीतिक विकृति, स्वाभिमानको खोज, सत्य र न्यायको आकांक्षा र जीवन–संघर्षका उतारचढाव यस कृतिको मुख्य विषयवस्तु हुन्। यी विषयहरू सरल शब्दमा प्रस्तुत भए तापनि अर्थमा अत्यन्त गहिरा छन्।

    साहित्यिक दृष्टिले, कृतिमा प्रयोग भएका बिम्ब–प्रतीकहरू अत्यन्त प्रभावकारी छन्। ढुंगो, गुलाफ, आगो, पानी, अरिंगाल, पुल, समाज, विश्वास, घार जस्ता प्रतीकहरूले मुक्तकलाई बहुआयामिक बनाएका छन्। यिनीहरूले भावनात्मक र दार्शनिक गहिराइ प्रदान गर्छन्। यसरी ‘ढुंगो फुलेपछि’ नेपाली मुक्तक साहित्यमा कठोर यथार्थ र सौन्दर्यको अद्वितीय समिश्रण प्रस्तुत गर्ने महत्वपूर्ण कृति हो।

    कृतिको विषयगत विश्लेषण : विषयहरूका तह–तहमा लुकेको अर्थ

    खतिवडाका मुक्तकहरू जीवनका विविध पाटोहरूको सूक्ष्म चित्रण हुन्। उनका शब्दहरू गाउँ–बस्तीको धड्कनसँग सम्बन्ध राख्छन्। गाउँको माटो, गल्ली–मोहल्ला, त्यहाँका मानिसका दिनचर्या र संघर्ष, अनि प्राकृतिक जीवनका लय–ताल उनका मुक्तकमा झल्किन्छ। यसले पाठकलाई जीवनको संवेदनालाई महसुस गराउने क्षमता दिन्छ।त्यसैगरी, उनका मुक्तकहरूमा गरिबीको मौन चिच्याहट स्पष्ट रूपले देखिन्छ। गरीब पीडित, र दबाइएका मानिसका आवाज उनको मुक्तकको केन्द्रविन्दुमा छन्। उनी यस मौन पीडालाई शब्दमा उतार्छन्, जसले समाजको संरचनागत अन्याय र वर्गीय असमानता उजागर गर्छ।

    उध्रिएको गरिबीलाई सिलाउने हात भए

    हिरा फोर्दै उदाउने समानताका रात भए

    ढुंगो पुल्थ्यो यहाँ पानी भित्र आगो फल्थ्यो ।

    प्रकृतिको श्रृष्टि जस्तै दुइटा मात्र जात भए । (१६५)

    राजनीतिक चेतना र सामाजिक असमानताको चित्रण पनि उनका मुक्तकको प्रमुख पक्ष हो। राजनीति र गुटबन्दीको दम्भ तथा सत्ता–संरचनाको शोषक व्यवहारलाई उनले प्रत्यक्ष र प्रतीकात्मक दुवै तरिकाले व्यक्त गरेका छन्।

    कृतिमा प्रेमको चित्रण पारंपरिक रोमान्टिक भावनाभन्दा धेरै फरक छ। यहाँको प्रेम जीवनको यथार्थसँग गाँसिएको, पीडा र संघर्षका सन्दर्भमा जन्मिएको अनुभव हो। पात्रहरू सामान्य कल्पनाका मनोहर प्रेमिक–प्रेमिका होइनन्; उनीहरू भोक, गरिबी, राजनीतिक दमन, सामाजिक विभेद र अस्तित्वको कठोर यथार्थसँग जुधिरहेका मानिस हुन्।

    कृतिमा प्रेम आश्रय, प्रतिरोध र बाँच्ने आधारको रूपमा प्रस्तुत गरिएको छ। जब पात्रहरूलाई समाजले थिच्छ, जब उनीहरूका आशा र अधिकार नष्ट गरिन्छ, तब प्रेम नै उनीहरूका लागि जीवन जिउँदो राख्ने शक्तिको रूपमा काम गर्छ। प्रेमले मनको सुख दिने मात्र होइन, ढुंगोलाई फूल फुलाउने क्षमता पनि राख्छ—यसले जीवनका कठोर परिस्थितिहरूमा पनि आशा, धैर्य र परिवर्तनको बीउ भित्र्याउँछ।

    खतिवडाले प्रेमलाई दार्शनिक दृष्टिकोणबाट पनि उजागर गरेका छन्। प्रेम व्यक्तिगत भावना मात्र होइन; यो समाज, मानवता र स्वाभिमानसँग जोडिएको सक्रिय शक्ति हो। प्रेमले मानिसलाई अनुभूत गर्न मात्र होइन, सत्य, न्याय र समानताको खोजीमा अगाडि बढ्न उत्प्रेरित गर्छ। यसैले कृतिको प्रेम पाठकमा भावनात्मक सम्वेदनशीलता जगाउँछ, सामाजिक चेतना विकास गर्छ र अस्तित्वका कठिनाइहरू सामना गर्ने साहस दिन्छ। यस प्रकार, प्रेमले यस कृतिमा मुक्तकको केन्द्रविन्दु र दार्शनिक सूत्रको रूपमा कार्य गर्दछ।

     

    गरिबी, भोक र सामाजिक विभेद

    “उध्रिएको गरिबीलाई सल्याउने हात भए
    हिरा फोर्दै उदाउने समानताको रात भए
    ढुंगो पुल्थ्यो यहाँ पानीभित्र आगो फल्थ्यो
    प्रकृतिको सृष्टि जस्तै दुइटा मात्रै जात भए।”

    कृतिमा सामाजिक र राजनीतिक चेतना अत्यन्त प्रबल देखिन्छ। विशेषगरी गरिबी, असमानता र वर्गीय विभेदको विरोध स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। “उध्रिएको गरिबी” भन्ने पंक्तिले संरचनागत गरिबीको चित्रण गर्छ—समाजका शक्तिशाली संरचनाले कसरी आम मानिसलाई निरन्तर थिचिरहेको छ भन्ने कुरा उजागर हुन्छ। यसको विपरीत, “हिरा फोर्दै उदाउने समानता”ले लेखकको वर्ग–मुक्त, न्यायपूर्ण समाजको आकांक्षा प्रकट गर्छ, जहाँ समान अवसर र अधिकार सबैका लागि सुनिश्चित छन्।

    त्यसैगरी, “पानीभित्र आगो” प्रतीकले असम्भव देखिएका सपना र परिवर्तनको कठिनाइलाई दर्शाउँछ। यद्यपि परिवर्तन कठिन छ, तर त्यसको आकांक्षा र संघर्ष अपरिहार्य छन्। “दुइटा मात्र जात”को बिम्बले मानवता–आधारित समाजको कल्पना प्रस्तुत गर्छ—जात, धर्म वा सामाजिक विभेदको सिमाना नभएको, केवल मानव मूल्य र समानतामा आधारित समाज।

    यी सबै तत्वहरूले लेखकको दृष्टि मार्क्सवादी, मानवतावादी र प्रगतिशील सामाजिक चेतनायुक्त भएको प्रष्ट पार्छ। खतिवडाले यथार्थको चित्रण मात्र गरेनन्; उनले समानता, न्याय र मानवताको सार्वभौमिक मूल्यको पक्षमा पाठकलाई चिन्तन गर्न उत्प्रेरित गरेका छन्। यसरी कृतिको सामाजिक–राजनीतिक मेरुदण्ड अत्यन्त बलियो र प्रभावशाली छ।

     

    राजनीति र शक्ति–संरचनामाथिको प्रहार

    कृतिमा राजनीति प्रशासनिक वा सैद्धान्तिक विषय मात्र होइन; यो मानव जीवन, समाज र नैतिक मूल्यसँग जोडिएको चुनौतीपूर्ण क्षेत्रको रूपमा प्रस्तुत गरिएको छ। कविले भ्रष्ट, गुटीय, दम्भी, हिंस्रक र धोकेबाज राजनीतिप्रति तीक्ष्ण प्रहार गरेका छन्। यसले पाठकमा आलोचना मात्र उत्पन्न गर्दैन, आध्यात्मिक दृष्टिले सत्य, न्याय, स्वाभिमान र मानवीय मूल्यको खोजीमा चिन्तन गराउँछ। राजनीति र सत्ता संघर्षले मानिसको मन र चेतनामा उत्पन्न हुने छायाँ, दमन र भ्रान्तिलाई मुक्तकमा स्पष्ट रूपले प्रतिबिम्बित गरिएको छ, जसले जीवन र समाजको दार्शनिक–आध्यात्मिक अध्ययनलाई अझ प्रगाढ बनाउँछ।मुक्तक १९२ मा लेखिएको—

    “अरिंगाल र राजनीतिको घार उस्तै लाग्छ
    गुटमा चल्ने साहित्यको धार उस्तै लाग्छ
    षड्यन्त्रको खेल रची बाटो छेकी–छेकी
    कलमको निब भाँच्ने प्रहार उस्तै लाग्छ।”

    नेत्र कृतिमा राजनीति र सत्ता संरचनाको आलोचना अत्यन्त तीक्ष्ण र प्रभावशाली छ। उनले अरिंगाल, घार, कलमको निब भाँच्ने जस्ता प्रतीकात्मक बिम्ब प्रयोग गरेर राजनीतिक प्रणालीको कमजोरी, भ्रष्टाचार र गुटबन्दीलाई उजागर गरेका छन्। यहाँ अरिंगालले बिषिलो राजनीतिक शक्ति र तिनले सृष्टि गर्ने डर र दमनको प्रतीकको रूपमा काम गर्छ। यसले पाठकमा तत्कालीन राजनीतिक माहौलको खतरनाकता र जनताको पीडा बुझ्न मद्दत गर्छ।

    त्यसैगरी, घार बिम्बले गुटबन्दी, दलगत स्वार्थ, र शक्ति केन्द्रित राजनीतिका साङ्ला–जाललाई चित्रित गर्छ। यसले देखाउँछ कि समाजमा व्यक्तिगत अधिकार र समानताप्रति कसरी बेवास्ता हुन्छ।, कलमको निब भाँच्ने बिम्बले अभिव्यक्ति स्वतन्त्रता माथि हुने दमन र साहित्य, पत्रकारिता, तथा विचारको स्वतन्त्रतामा हस्तक्षेपको संकेत गर्दछ। लेखकले आलोचना मात्र गरेनन्; उनले समाज र राज्यका पिढी–पिढी चलिरहेकाले गलत क्रियाकलाप र अन्यायको कारण कसरी बढ्छ भन्ने कुरा पनि देखाएका छन्।खतिवडाले राजनीतिक प्रणालीको सडाँजेल, गुटबन्दी, शक्ति–दुरुपयोग र अभिव्यक्ति–माथि भएको प्रहारलाई तीव्र प्रतीकात्मक भाषामा प्रस्तुत गरेका छन्। उनका मुक्तकहरूले पाठकमा चेतना जगाउँछन् र सत्ता संरचना, समाज, र मानवीय अधिकारका विषयमा गहिरो चिन्तन गर्न प्रेरित गर्छन्।

    आत्मसम्मान, स्वाभिमान र मानवीय संघर्ष

    “गुलाबको रंग चोरी ढुंगो फुल्न थालेपछि
    स्वाभिमानको खेती थाल हराभरा जीवन हुन्छ।”

    कृतिमा स्वाभिमानको चित्रण अत्यन्त महत्वपूर्ण र दार्शनिक दृष्टिले गहिरो छ। मुक्तकमा भनिएको छ—“जब स्वाभिमान जन्मिन्छ, तब जीवन पनि हराभरा हुन्छ।” यसले संकेत गर्छ कि मानवीय जीवनको वास्तविक मूल्य र समृद्धि भौतिक अवस्थामा मात्र होइन, स्वाभिमान, आत्मसम्मान र सामाजिक उत्तरदायित्वमा निर्भर छ। स्वाभिमानले मानिसको जीवनमा आशा, उत्साह र सृजनात्मकता ल्याउँछ, जसले कठोर परिस्थितिहरूमा पनि जीवनलाई हराभरा र पूर्ण बनाउँछ।

    कृतिमा स्वाभिमानलाई फूल, रंग, खेती, र हरियालीजस्ता सकारात्मक प्रतीकहरूसँग जोडिएको छ। फूलले जीवनमा कोमलता र सौन्दर्यको अनुभूति दिन्छ भने रंगले उत्साह, ऊर्जा र विविधताको प्रतिनिधित्व गर्छ। खेतीले परिश्रम, उन्नति र आत्मनिर्भरता देखाउँछ भने हरियालीले जीवनमा नवीकरण, विकास र स्थायीत्वको संकेत दिन्छ। यी सबै प्रतीकहरूले स्वाभिमानको महत्वलाई स्पष्ट रूपमा उजागर गर्छन् र पाठकमा सकारात्मक जीवन मूल्य र नैतिक चेतना जगाउँछन्।खतिवडाको मुक्तकमा स्वाभिमान केवल व्यक्तिगत भावना मात्र होइन; जीवनको मूल आधार, समाजमा परिवर्तनको शक्ति, र मानवीय अस्तित्वको दार्शनिक सार पनि हो। स्वाभिमानको विकासले मात्र जीवनलाई पूर्ण, सजीव र अर्थपूर्ण बनाउँछ भन्ने संदेश कृतिले प्रभावकारी रूपमा दिन्छ।

     

    परिवार, ब्यथा र मानवीय क्षय

    “आमा तिम्रो विश्वासको शिखर यिनले ढालिसके
    भाइभाइमा हानाहान छ
    घरको इज्जत फलिसके
    तिमीले जोहो गरेको नखाई–नखाई
    तिम्रो पोल्टो बिर्सिएर
    बैरीसँग हात मिलाई
    गलत कदम चालिसके।” (८३)

    मुक्तकमा पारिवारिक विघटन, आमा–पीडा, भाइभाइबीचको कलह र आन्तरिक क्षयको तीक्ष्ण चित्रण गरिएको छ। यसले व्यक्तिगत दुःख मात्र देखाउँदैन; परिवारलाई समाज र राष्ट्रको सूक्ष्म रूपकको रूपमा प्रस्तुत गरिएको छ। आमा–पीडा र भाइबीचको द्वन्द्वले समाजका कलह, असमानता र भ्रष्टाचारको संकेत दिन्छ। कविले परिवारभित्रका द्वन्द्व र विसंगतिलाई राष्ट्र र समाजसँग तुलना गरेर पाठकमा गहिरो चिन्तन उत्पन्न गराउँछन्। यसरी व्यक्तिगत पीडा र सामाजिक अस्थिरता बीचको सम्बन्ध देखाउँदै, कृति मानव जीवन र समाजको अन्तःविषयात्मक विश्लेषण प्रस्तुत गर्छ।

    मृत्यु, भय र समाजसँगको अन्तिम सम्बन्ध

    मुक्तक ८५:

    “सडकमा अन्धाधुन्ध गोली चलेपछि थाहा भयो
    मुर्दाबादको नारा दिउँसै बलेपछि थाहा भयो
    फाँफाँ, फुँफुँ, ठुलो स्वरले
    घरमा हैकम नजमाऊ
    समाजलाई छोडी एकदिन
    यही समाजमा मर्नु पर्छ।”

    खतिवडाको मुक्तकले समाजसँगको अविच्छिन्न सम्बन्धको सन्देश दिन्छ। यहाँ देखाइन्छ कि समाजबाट भागेर मात्र उद्धार सम्भव छैन, मानिसले आफ्ना व्यक्तिगत पीडा, असमानता वा अन्यायको सामना गर्ने अवस्था स्वतः पाउँदैन। मुक्तकले जीवनको कठोर यथार्थ प्रस्तुत गर्दै अन्ततः समाजमै फर्कनुपर्ने, त्यससँग जुध्नुपर्ने र परिवर्तनका लागि सक्रिय हुनुपर्ने चेतना जगाउँछ। यसले पाठकलाई सोच्न बाध्य पार्छ कि समाजबाट अलग भएर समस्या समाधान हुँदैन; संघर्ष, चेतना र जिम्मेवारी समाजभित्रै निभाउनु पर्छ। यसरी कृति जीवन र समाजबीचको अन्तःनिर्भरता र सामाजिक उत्तरदायित्वको दार्शनिक सत्य उजागर गर्छ।

    शैलीगत विश्लेषण : भाषा, बिम्ब, प्रतीक र साहित्यिक विधा

    खतिवडाको भाषा सरल छ—जटिल शब्दको चयन नगरी पनि सिद्धान्त र दर्शनको गहिरो अर्थ बोकेको छ। उनका वाक्यहरू ग्रामीण जीवन र जनजीवनसँग जोडिएका, ठाडो, दृढ र प्रश्नमाथि प्रश्न उठाउने प्रकारका छन्, जसले पाठकमा चिन्तन उत्पन्न गर्छ।

    कृतिमा प्रयोग भएका बिम्ब र प्रतीकहरू अत्यन्त प्रभावकारी छन्। ढुंगोले कठोर यथार्थ देखाउँछ भने फूल आशा र परिवर्तनको प्रतीक हो। गुलाब संवेदना र सौन्दर्य, आगो क्रान्ति, पानी अशक्तता र तरलता, पुल आशा र सम्भावना, अरिंगाल राजनीतिक धोका, घार गुटबन्दी, र निब अभिव्यक्तिको प्रतीक हुन्। यी प्रतीकहरूले मुक्तकलाई बहुअर्थी, दार्शनिक र सामाजिक चेतनायुक्त बनाएका छन्।

     

    रूपक र व्यङ्ग्य

    कृतिमा राजनीतिक व्यङ्ग्य अत्यन्त प्रखर छ। कविले वर्तमान राजनीतिक प्रणालीको कमजोरी र भ्रष्टाचार मात्र देखाउँदैनन्, समाज र साहित्यिक समूहवादमा पनि तीक्ष्ण टिप्पणी गर्छन्। समाज र राजनीति बीचको अन्तरसम्बन्धलाई रूपकको माध्यमबाट उजागर गरिएको छ। “अरिंगाल र राजनीतिको घार” जस्ता पंक्तिहरूले नेपाली राजनीतिमा रहेको गुटबन्दी, स्वार्थसिद्धि र भ्रष्टाचारमाथि स्पष्ट संकेत गर्छन्। यसले पाठकलाई राजनीतिक चेतना जगाउने मात्र होइन, साहित्यिक र सामाजिक संस्थाहरूको अंदरुनी कमजोरीप्रति पनि सोच्न उत्प्रेरित गर्छ।

    संरचना

    कृतिको संरचना पूर्णतया मुक्तकमा आधारित छ। मुक्तक शैली स्वतन्त्र, छोटो, अर्थगर्भित र एकाएक प्रहार गर्ने प्रकारको हुन्छ। कविले प्रत्येक मुक्तकमा सघन विचार, गहिरो दर्शन र तीव्र सामाजिक–राजनीतिक टिप्पणी राखेका छन्। उनका मुक्तकहरू एकअर्कासँग सिधा जोडिन नपरे पनि सम्पूर्ण कृतिमा एकीकृत संदेश र भावनात्मक प्रवाह सिर्जना गर्छन्। यस शैलीले पाठकलाई छोटो पंक्तिमै गहिरो अर्थ बुझ्न प्रेरित गर्दछ र सामाजिक, दार्शनिक र राजनीतिक विषयहरूलाई तीव्र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्षम बनाउँछ।

    सामाजिक, राजनीतिक र दार्शनिक पक्ष

    कृतिमा सामाजिक चेतना स्पष्ट देखिन्छ। उनका मुक्तकहरू व्यक्तिगत भावनामा सीमित छैनन्; गरिबी, भोक, रोग, सामाजिक विभेद, अन्याय, भिक्षुवृत्ति, परिवार विघटन जस्ता यथार्थका चित्रण मार्फत कवि समाजका पीडित वर्गसँग सहानुभूति व्यक्त गर्छन्। कविका शब्दहरूले पाठकमा सामाजिक–राजनीतिक समस्याप्रति जागरूकता जगाउँछन् र पीडितको आवाज उठाउँछन्।

    राजनीतिक हस्तक्षेप र आलोचना पनि कृतिको अर्को महत्त्वपूर्ण पक्ष हो। कविताहरू राजनीति–विरोधी मात्र होइनन्, तर दुषित, भ्रष्ट र गुटबन्दीमा आधारित राजनीतिका विरुद्ध प्रहार गर्छन्। यहाँ अरिंगाल, घार, निब भाँच्ने जस्ता प्रतीकात्मक बिम्बले राजनीतिक संरचना र साहित्यिक समूहवादको आलोचना स्पष्ट बनाउँछन्।

    कृतिमा दार्शनिक गहिराइ पनि प्रष्ट छ। “ढुंगो फुल्नु”ले असम्भवलाई सम्भव बनाउने आशा प्रस्तुत गर्छ भने “आगो पानीभित्र फल्नु” परिवर्तनको अत्यधिक चुनौतीपूर्ण र अतियथार्थवादी रूपकको रूपमा देखाउँछ। “दुइटा मात्र जात” मानवता र अमानवताको अन्तर्दृष्टि दिन्छ। यसरी कविले अस्तित्व–दर्शन, मानव मूल्य, सामाजिक न्याय र परिवर्तनको अवधारणालाई मुक्तकको माध्यमबाट सजीव र प्रभावशाली तरिकाले पाठकसामु प्रस्तुत गरेका छन्।

     

     कृतिको मूल्यांकन :

    बलियो पक्ष

    कृतिमा यथार्थको तीक्ष्ण चित्रण प्रमुख विशेषता हो। कवि कल्पनामा सिर्जना मात्र गर्दैनन्; उनी भोगेको जीवन, देखेको यथार्थ र समाजको गल्ली–गल्लीमा बाँचिरहेका मानिसका पीडालाई मुक्तकमा उतार्छन्। उनका मुक्तकहरू पुस्तकका पानामा मात्र सीमित छैनन्, बरु समाजको संवेदनशील संरचना र मानव अनुभवसँग प्रत्यक्ष सम्बन्धित छन्।

    कृतिको अर्को महत्वपूर्ण पक्ष विषयगत बहुलता हो। प्रेम, बिछोड, आशा–निराशा, गरिबी, राजनीतिक असमानता, मातृपीडा, परिवार विघटन, स्वाभिमान र अस्तित्व–दर्शन—यी सबै विषयहरू एकै कृतिमा समेटिएका छन्। यसले पाठकलाई जीवनका विविध आयामहरू अनुभव गर्न र गहिरो चिन्तन गर्न उत्प्रेरित गर्छ।

    साथै, कृतिमा प्रतीकात्मक गहिराइ अत्यन्त प्रभावकारी छ। ढुंगो कठोर यथार्थको, आगो क्रान्तिको, गुलाब सौन्दर्य र संवेदनाको, अरिंगाल राजनीतिक धोका र घार गुटबन्दीको प्रतीक बनेका छन्। यी प्रतीकहरूले मुक्तकलाई बहुआयामिक र दार्शनिक अर्थले सम्पन्न बनाउँछन्।

    कविका मुक्तकहरू सामाजिक न्याय, समानता, मानवीयता र वर्गविहीन समाजको पक्षमा दृढता प्रदर्शन गर्छन्। खतिवडाले मुक्तकको माध्यमबाट केवल सामाजिक समस्या उजागर मात्र गरेनन्, पाठकमा सकारात्मक परिवर्तन र चेतनाको भाव पनि जगाएका छन्। यसरी कृति साहित्यिक, दार्शनिक र सामाजिक दृष्टिले सशक्त र प्रभावशाली ठहरिन्छ।

     

    कमजोरीहरू / सुधारका अवसर

    (कृतिमा सकारात्मक पक्षसँगै केही आलोचनात्मक अवलोकन पनि गर्न सकिन्छ। कतिपय मुक्तकहरू धेरै प्रत्यक्ष राजनीतिक नारा जस्तो देखिन्छन्, जसले विचारको गहिराइ र साहित्यिक परिष्कारमा केही कमी पुर्‍याएको महसुस हुन्छ। यसले पाठकमा तत्कालीन राजनीतिक संदेश स्पष्ट गराए तापनि, साहित्यिक सौन्दर्य र सूक्ष्मतामा केहि सुधार गर्न सकिन्छ ।

    साथै, केही मुक्तकहरू अत्यधिक भावनात्मक प्रतिक्रियात्मकतामा केन्द्रित छन्। कविले जीवन र यथार्थसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल भएका छन्, तर विचारको भाषिक परिष्कार, शैलीगत व्यावहारिकता र विमर्श अझ कसीदार भए कृति अझ प्रभावशाली बन्न सक्थ्यो।

    कृतिमा प्रयोग भएका प्रतीकहरू—ढुंगो, आगो, पुल आदि—कति ठाउँमा पुनरावृत्त भएका छन्। यसले प्रतीकात्मक शक्तिमा स्थिरता ल्याए पनि, केही पाठकका लागि दोहोरिएको अनुभूति दिन सक्छ।

    समग्र कृति दार्शनिक र सामाजिक दृष्टिले सशक्त भए तापनि, केही भागमा घटनाको वर्णन बढी देखिन्छ, जसले साहित्यिक कलात्मकता र मुक्तकको निब निर्माणमा अवसर सीमित गरेको छ। यी सानोतिनो कमजोरीहरूलाई बाहेक, कृति सामाजिक चेतना, दार्शनिक गहिराइ र जीवन–यथार्थको चित्रणमा अत्यन्त प्रभावशाली छ।

     

    समग्र मूल्याङ्कन

    खतिवडाको ‘ढुंगो फुलेपछि’ एउटा बलियो मुक्तक–सङ्ग्रह हो, जसमा कविको जीवन दर्शन, सामाजिक न्यायप्रतिको आकांक्षा, राजनीतिक चेतना र मानवीय संवेदना सबैतिर प्रवाहित छ। कृतिले व्यक्तिगत भावनालाई मात्र होइन, समाजका पीडित, दबाइएका र अन्यायमा परेका मानिसको आवाजलाई पनि प्रतिनिधित्व गर्छ। कविका मुक्तकहरूले अन्यायविरुद्ध आवाज उठाउन, भोगाइलाई शब्दमा बदल्न, स्वाभिमानको खेती गर्न र ढुंगो भएर बसेका मनमा पनि फूल फुलाउन प्रेरणा दिन्छ।

    साहित्यिक मूल्य, सामाजिक चेतना, राजनीतिक संवेदना र दार्शनिक गहिराइको दृष्टिले यो कृति मोरङ–झोराहाटको सीमित जीवन मात्र होइन; सारा नेपाली समाजको देशचित्र जस्तो प्रकट हुन्छ। कविको दृष्टि र मुक्तकको प्रभावले पाठकमा चेतना, संवेदना र सक्रियता जगाउँछ। यसरी ‘ढुंगो फुलेपछि’ नेपाली मुक्तक साहित्यमा दार्शनिक, सामाजिक र साहित्यिक योगदान दिने कृति हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर ११, बिहीबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP