logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • पुस्तक समीक्षा ‘आकाश ओढेको डोल्पो’ : एक आध्यात्मिक–दार्शनिक नियात्राको विराट् अनुभव

    पुस्तक समीक्षा  ‘आकाश ओढेको डोल्पो’ : एक आध्यात्मिक–दार्शनिक नियात्राको विराट् अनुभव

    पुस्तक समीक्षा

    आकाश ओढेको डोल्पो’ : एक आध्यात्मिक–दार्शनिक नियात्राको विराट् अनुभव

    तोमनाथ उप्रेती

    बिषय प्रवेश

    भवानी खतिवडा नेपालको समकालीन साहित्यकी एक प्रभावशाली लेखिका हुन्, जसले यात्रावृत्तान्त, नारी जीवन, प्रकृति र समाजका गहिरा विमर्शहरूलाई आफ्नो लेखनीमा समेटेकी छिन्। उनका कृतिहरू कथानक वा अनुभवको संग्रह मात्र नभएर दार्शनिक, आध्यात्मिक र सामाजिक तहहरूमा पाठकलाई यात्रा गराउने क्षमता राख्छन्। विशेष गरी ‘आकाश ओढेको डोल्पो’ मा उनी डोल्पाको प्राकृतिक सौन्दर्य, कठिन यात्रा, स्थानीय जीवन र मानव चेतनाको संवादलाई सुन्दर र संवेदनशील भाषामा प्रस्तुत गरेकी छिन्। खतिवडाको लेखनमा नारीको साहसिक उपस्थिति, प्रकृतिप्रति सम्मान, तथा जीवन र प्रेमका गहिरा प्रश्नहरूको खोज स्पष्ट देखिन्छ। उनका लेखनशैली सरल, काव्यात्मक र प्रतीकपूर्ण छ, जसले पाठकलाई अनुभव गर्न प्रेरित गर्छ। उनी समकालीन नेपाली साहित्यमा यात्रावृत्तान्त, नारी विमर्श र जीवनदर्शनको समृद्ध योगदान दिने लेखकका रूपमा मानिन्छिन्।

    नेपाली साहित्यमा नियात्राको परम्परा लामो भए पनि हिमाली यात्रालाई आत्मिक गहिराइ र मानवीय करुणासँग यति सशक्त रूपमा संयोजन गर्ने कृतिहरू विरलै पाइन्छन्। यही सन्दर्भमा खतिवडाको यो कृति नेपाली साहित्यको एउटा महत्वपूर्ण उपलब्धि बनेर उभिएको छ। यो पुस्तक प्रकृति, मानवता र साहसको बहुआयामिक आख्यान हो। खतिवडाको ‘आकाश ओढेको डोल्पो’ नेपाली नियात्रा साहित्यमा एक गहन दार्शनिक र अनुभूतिमूलक कृतिका रूपमा स्थापित भएको छ। यसले यात्रालाई आत्मअन्वेषणको साधनका रूपमा प्रस्तुत गर्दछ। डोल्पाको दुर्गम भूगोल भीर, उकाली–ओराली, झरना र ताल लेखिकाको दृष्टिमा प्राकृतिक संरचना होइनन् ती मानव जीवनका गहिरा प्रतीक हुन्।

    यस कृतिमा विशेषतः शे–फोक्सुण्डो तालको वर्णन अत्यन्त अर्थपूर्ण छ। तालको बदलिँदो रंगलाई लेखिकाले चित्तको परिवर्तनशीलता, माया र मोहको अवस्थासँग तुलना गरेकी छन्। यसले बौद्ध दर्शनको अनित्य र उपनिषदको नेति–नेति जस्ता आध्यात्मिक अवधारणालाई स्मरण गराउँछ, जहाँ जीवनलाई स्थिर नभई निरन्तर परिवर्तनशील रूपमा बुझिन्छ।

    ‘आकाश ओढेको डोल्पो’ बाह्य यात्राभन्दा बढी अन्तर्यात्रा को कृति हो, जसले पाठकलाई आफ्नो जीवन, भावना र अस्तित्वमाथि पुनर्विचार गर्न प्रेरित गर्दछ। यसले प्रकृति र मानवबीचको सम्बन्धलाई आध्यात्मिक तहमा स्थापित गर्दै, यात्रालाई जीवन दर्शनको माध्यमका रूपमा उचाल्छ।

     २. नारी साहस :

    यस कृतिको सबैभन्दा प्रभावशाली आयाममध्ये एक—नारीको साहसिक उपस्थिति हो।भवानी खतिवडा, प्रभा बराल, सरस्वती अर्याल र रञ्जु दाहाल सहयात्री पात्र होइनन्, उनीहरू प्रतिरोध, स्वायत्तता र आत्मविश्वासका जीवित प्रतीक हुन्।

    नेपाली समाजमा परम्परागत रूपमा नारीलाई घरको सीमाभित्र राख्ने, जोखिमबाट टाढा राख्ने र सामाजिक मान्यताको घेराभित्र बाँध्ने प्रवृत्ति अझै बलियो छ। तर यस कृतिमा यी महिलाहरूले त्यही सीमालाई चुनौती दिएका छन्। वर्षा, पहिरो, दुर्गम बाटो, अनिश्चित मौसम र शारीरिक–मानसिक थकानलाई सामना गर्दै उनीहरू अगाडि बढ्छन्।

    यो यात्रा सामाजिक संरचना र मानसिक बन्धन तोड्ने क्रान्ति हो। यसले नारी कोमलता हो भन्ने परम्परागत मिथकलाई भत्काएर नारी साहस,धैर्य र संकल्पको नयाँ दर्शन स्थापित गर्छ।दार्शनिक रूपमा हेर्दा, यो दृष्टिकोण अद्वैतवाद सँग नजिक छ, जहाँ स्त्री र पुरुषबीचको कृत्रिम भेद समाप्त हुन्छ। यहाँ मानवलाई लिङ्गले होइन, क्षमता, चेतना र साहसले परिभाषित गरिन्छ।

     ३. प्रकृति :

    कृतिमा डोल्पो जीवित देवताको रूपमा उपस्थित छ। यहाँका प्रत्येक प्राकृतिक तत्त्वले गहन दार्शनिक अर्थ बोकेको छ। झरनाहरू जीवनको निरन्तर प्रवाहका प्रतीक हुन्, जहाँ परिवर्तन नै स्थायित्व हो। हिमालहरू मौन तपस्वीझैँ उभिएका छन्, जसले धैर्य, सहनशीलता र आत्मसंयमको शिक्षा दिन्छन्। बादलहरू अनिश्चितता र क्षणभंगुरताको संकेत गर्छन् भने आकाश अनन्त चेतनाको विस्तार हो, जहाँ सबै सीमाहरू विलीन हुन्छन्।

    लेखिकाको दृष्टिमा प्रकृति उपयोग गर्ने वस्तु होइन, पूजनीय सत्ता हो। यो दृष्टिकोण वैदिक दर्शनको “पृथ्वी माताः” भन्ने भावसँग मेल खान्छ, जहाँ पृथ्वीलाई माता मानिन्छ। त्यस्तै, बौद्ध दर्शनको करुणा र सहअस्तित्वको भाव पनि यहाँ स्पष्ट रूपमा झल्किन्छ। प्रकृतिप्रतिको यस्तो श्रद्धाले मानव र वातावरणबीचको सम्बन्धलाई आध्यात्मिक उचाइमा पुर्याउँछ।

    विशेषतःयात्राका क्रममा कृषकहरूसँग स्याउ खेतीबारे ज्ञान आदानप्रदान गर्नु कर्मयोग को जीवित अभ्यास हो—जहाँ कर्मलाई पूजा मानिन्छ र सेवा नै साधना बन्छ। साँचो आध्यात्मिकता ध्यान वा उपासनामा सीमित नभई, दैनिक जीवनका कर्ममा पनि प्रकट हुन्छ।

     ४. पदम बा र अस्मिता : जीवनका जीवित उपनिषद

    आकाश ओढेको डोल्पोमा भावनात्मक धुरी पदम बा र अस्मिता हुन्। उनीहरू जीवनका आदर्श र दर्शनका प्रतीक हुन्। पदम बा श्रममा अडिग विश्वास, आत्मसम्मान र सरल जीवनशैलीका धनी छन्। व्यवहारमा उनी गीताको “स्थितप्रज्ञ” जस्ता गुणले भरिपूर्ण छन्, जसले उनलाई जीवनको स्थिर बिन्दु बनाउँछ। अस्मिता भने प्रतीक्षा र पीडामा धैर्यवान्, प्रेम र समर्पणमा अडिग छिन्। उनी आधुनिक समयकी सीता र द्रौपदीको स्वरूप हुन्। यी पात्रहरू व्यक्तिगत कथाको प्रतिनिधित्व गर्दैनन् उनीहरू नेपालका हजारौं महिलाको सामूहिक पीडा, संघर्ष र आशाको प्रतीक हुन्।

     ५. प्रेम : रोमान्सभन्दा परको अर्थ

    कृतिमा प्रेम युवक–युवती वा ‘भेलपुरी’ जस्ता सम्बोधनमा सीमित छैन यसमा मातृत्व, प्रकृतिप्रेम, देशप्रेम र मानवप्रेमका विविध रूपहरू समेटिएका छन्। यात्रामा आमाले विद्यार्थीहरूप्रति देखाउने स्नेह, डोल्पाका हिमाल, झरना र वन्यजन्तुप्रति भावपूर्ण संवेदना, भूगोल र सांस्कृतिक सम्पदाप्रति सम्मान र स्थानीय कृषकहरूसँग अनुभव र ज्ञानको आदानप्रदान यी सबै प्रेमका विविध आयाम हुन्। कृतिमा प्रेम व्यक्तिगत आकर्षण नभई कर्तव्य, सेवा, धैर्य र संवेदनशीलताको अनुभव बनेको छ। यो प्रेम भक्तियोग र मानवतावादको संगम हो, जसले जीवनका मूल्य, नैतिकता र अस्तित्वको गहन पाठ पाठकमा जगाउँछ।

     ६. हिमाल : मौन गुरु

    हिमाल यहाँ मौन गुरु हो, जसले जीवनका गहिरा पाठ सिकाउँछ। हिमालले मौन रहन, चुनौती सहन, दृढ उभिरहन र आवश्यक बेला झुक्न जान्न जस्ता पाठहरू सिकाउँछ। यसको प्रत्येक शिखर, ढुङ्गा र हिमाली बाटोले योग दर्शनको प्रत्यक्ष अभ्यासको अनुभूति दिन्छ, जहाँ मानसिक स्थिरता, आत्मसंयम र धैर्यले आत्मा समृद्ध बनाउँछ। हिमालसँगको सम्पर्कले पाठकलाई भौतिक साहसिकता होइन आध्यात्मिक सहनशीलता र आत्म-अन्वेषणको अनुभव पनि प्रदान गर्दछ।

     ७. सामाजिक यथार्थ र राज्यको आलोचना

    लेखिकाले प्राकृतिक सौन्दर्य र यात्रा रमाइलो मात्र वर्णन गरेकी छैनन् उनले कटु यथार्थलाई पनि खुलस्त उजागर गरेकी छन्। अव्यवस्थित यातायात, सडकको दुर्दशा, राज्यको अनुपस्थितिको चिरफार गरेकी छन्। यी सामाजिक–भौगोलिक चुनौतीहरूले कृतिलाई सामाजिक दस्तावेजको रूपमा स्थापित गर्छन् जहाँ पाठकले मनोरञ्जन मात्र नभई वर्तमान समाजको यथार्थ पनि देख्छ। आकाश ओढेको डोल्पो साहित्य, यात्रा र सामाजिक अध्ययनको संगम बन्छ।

     ८. भाषा :

    खतिवडाको भाषा सरल, काव्यात्मक र संवेदनशील छ । उनले ठाउँ–ठाउँमा कविता, प्रतीक र बिम्ब प्रयोग गरी दृश्यात्मक वर्णन गरेकी छन् । शे–फोक्सुन्डो ताल, डोल्पाका भीरपाखा र झरनाहरूको वर्णनमा पाठक आफैं त्यहाँ भएको अनुभव गर्छ। कहिलेकाहीँ अलि बढी साहित्यिक मसला लागेको अनुभूति हुन्छ, तर यो कमजोरी होइन। उल्टो, यो उनी लेखनमा प्रयोग गर्ने शैलीगत विशेषता हो। यसले कृतिलाई यात्रा वृत्तान्तभन्दा उठाएर साहित्यिक र भावनात्मक अनुभवको समृद्ध स्रोत बनाउँछ।

     ९. आध्यात्मिक सार :

    ‘आकाश ओढेको डोल्पो’ को अन्तिम निष्कर्ष भौतिक यात्रा होइन यो आत्मा र चेतनाको यात्रा हो। डोल्पाको दुर्गम बाटो, उकालो–ओरालो, झरना र तालहरू प्रत्येकले जीवनका गहिरा पाठ सिकाउँछन्। दुःख र थकानले यात्रालाई शारीरिक चुनौती मात्र बनाउँदैन, बरु तपस्या र ध्यानको माध्यम बनेर आत्मा शुद्धिको अनुभव दिन्छ। प्रकृति यहाँ गुरुको रूपमा प्रस्तुत हुन्छ जसले मानव चेतनामा करुणा, सहिष्णुता र स्थिरता जगाउँछ। यात्रामा भेटिएका मानिसहरू पदम बा, अस्मिता, कृषक, सहयात्री सिर्जनशीलता, धैर्य र प्रेमका पाठ पढाउँछन्।

    कृति पूर्ण रूपमा कर्मयोग, ज्ञानयोग र भक्तियोगको संगम हो। कर्मयोगले यात्रामा सक्रिय प्रयास र धैर्य सिकाउँछ। ज्ञानयोगले अनुभव र आत्मनिरीक्षणमार्फत चेतना विस्तार गर्छ । भक्तियोगले प्रेम, श्रद्धा र समर्पणको भावना अभिवृद्धि गर्छ। भवानी खतिवडाको लेखनले पाठकलाई वास्तविक यात्रा आत्मा चिन्नु, जीवनका सान्दर्भिक पाठ बुझ्नु र प्रकृतिसँग, मानिससँग र आफ्नै चेतनासँग गहन सम्बन्ध विकास गर्नु हो भन्ने सिकाउँछ।

    १०. आन्तरिक पर्यटन र राष्ट्र दर्शन

    आकाश ओढेको डोल्पो साहित्यिक अनुभव मात्र होइन यो नीति–निर्माताका लागि अध्ययन योग्य दस्तावेज पनि हो। कृतिले डोल्पोको प्राकृतिक सम्भावना मात्र देखाउँदैन त्यहाँको स्थानीय जीवन, कृषि प्रणाली, सामाजिक संरचना र सांस्कृतिक अभ्यासलाई पनि उजागर गर्छ। यसले पाठकलाई आन्तरिक पर्यटन र ग्रामीण विकासको महत्व बुझाउँछ।

    विशेषतः हिमालको भौगोलिक चुनौती, स्थानीय समुदायको साहस र धैर्य, साथै प्राकृतिक स्रोतहरूको सम्भावनाले हिमाल चिनेपछि मात्र राष्ट्र उचाइमा पुग्छ भन्ने स्पष्ट सन्देश दिन्छ यहाँ लेखकले यात्रावृत्तान्त मात्र प्रस्तुत गरेकी छैनन् उनले नीति, समाज र अर्थतन्त्रका सन्दर्भमा पनि पाठकलाई सोच्न बाध्य बनाउँछिन्। कृतिले नीतिनिर्मातालाई प्राकृतिक स्रोतको संरक्षण, स्थानीय जीवनको समृद्धि र पर्यटन प्रवर्द्धनमा रणनीति बनाउँदा प्रेरणा दिन सक्छ।

    निष्कर्ष :

    ‘आकाश ओढेको डोल्पो’ आत्मा र जीवनको गहन प्रतिबिम्ब हो। हिमाल, झरना, ताल र बादल जीवनका प्रतीक हुन्, जसले धैर्य, सहनशीलता, प्रेम र मौन शिक्षाको पाठ सिकाउँछन्। यस कृतिले पाठकलाई डोल्पाको सुन्दरतामा मात्र डुबाउँदेन, तर आफ्नै जीवन, प्रेम, प्रतीक्षा र अस्तित्व बुझ्ने प्रेरणा पनि दिन्छ। यो पुस्तक यात्रा, दर्शन, साधना र भावनात्मक गहिराइको अद्वितीय संगम हो जसले पाठकको भित्री चेतना जागृत गर्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २०, आईतवार १२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP