जैतुनको रूखमुनि बाँचेको सपना(कथा)
तोमनाथ उप्रेती
उसको नाम लिना थियो। उमेर अठार वर्ष। लेबनानको दक्षिणी भागमा रहेको एउटा सानो समुद्री सहरमा उनको जन्म भएको थियो। नीलो भूमध्यसागर बिहानको घाममा चाँदीजस्तै चम्किन्थ्यो। साँझ समुद्री हावाले घरका झ्यालहरूलाई हल्का हल्लाउँथ्यो। उनको घरको आँगनमा एउटा पुरानो जैतुनको रूख थियो। त्यो रूख उनका हजुरबुबाले रोपेको भनिन्थ्यो। आमाले सधैं भन्नुहुन्थ्यो, “जैतुनको रूखले केवल फल मात्र दिँदैन, यसले धैर्य पनि फलाउँछ।” लिना त्यो रूखको छहारीमा बसेर पुस्तक पढ्थिन्। उनले बालबालिकालाई पढाउने सपना देखेकी थिइन्। उनका लागि विद्यालय भविष्यको ढोका थियो। कापीका प्रत्येक खाली पानामा उनले सम्भावनाको आकाश देख्थिन्।
सहर सानो थियो, तर जीवन विशाल थियो। बिहान मस्जिदको अजान र चर्चको घण्टी एउटै आकाशमुनि मिसिन्थे। बजारमा मसला, रोटी र कफीको सुगन्ध फैलिन्थ्यो। समुद्र किनारमा खेलिरहेका बालबालिकाको हाँसो लहरसँगै दौडन्थ्यो। माछा मार्ने डुङ्गाहरू क्षितिजबाट फर्किन्थे। सूर्यास्तले आकाशलाई सुनौलो र रगतजस्तो रातो रङले रंगाउँथ्यो। त्यो दृश्य सुन्दर थियो, तर कसैले कल्पना गरेको थिएन।एक दिन त्यही रातो रङ सूर्यास्तको होइन, बारुदको धुवाँले बनेको हुनेछ।
त्यस बिहान पनि आकाश अस्वाभाविक रूपमा भारी थियो। चराहरू सामान्यभन्दा धेरै तल उडिरहेका थिए। समुद्र असामान्य रूपमा मौन थियो। अचानक साइरन बज्यो। त्यो आवाज कुनै यन्त्रको ध्वनि मात्र थिएन। त्यो भयको घोषणा थियो। मानिसहरू सडकबाट घरतिर दौडिए। आमाले हतारमा लिनाको हात समात्नुभयो। बुबाले झ्याल बन्द गर्न खोज्दै भन्नुभयो, “तल जाऔँ।” त्यत्तिकैमा एउटा भीषण विस्फोट भयो। पृथ्वी आफैं चिच्याएझैँ लाग्यो। घरका झ्यालहरू एकैचोटि फुटे। सिसाका टुक्राहरू हिउँझैँ झरे, तर ती हिउँ होइनन्; तिनीहरू शान्तिको चिहानमाथि झरेका टुक्रिएका सपनाहरू थिए।
धुवाँले आकाश निल्यो। धुलोले अनुहारहरू चिनिन नसक्ने बनायो। छिमेकीको घर क्षणभरमै भग्नावशेष बन्यो। केही समयअघि फूल फुलेको बगैंचा अब ढुङ्गा र इँटाको थुप्रो थियो। मानिसहरूको चिच्याहट, एम्बुलेन्सको साइरन र विस्फोटको गर्जन एउटै पीडादायी संगीतमा मिसिए। लिनाले आफ्ना कान थिचिन्। उनले आवाज रोक्न खोजिन्, तर युद्ध केवल कानले सुन्ने वस्तु थिएन। त्यो त मुटुले सहने पीडा थियो। डरले उनको शरीर काँपिरहेको थियो। उनलाई लाग्यो, संसारको सबैभन्दा ठूलो मौनता पनि युद्धको एउटा विस्फोटभन्दा कमजोर हुन्छ।
त्यो रात उनीहरूले घरको तहखानामा बिताए। भुइँ चिसो थियो। हावा गुम्सिएको थियो। मोमबत्तीको सानो ज्योति बारम्बार हल्लिन्थ्यो। त्यो ज्योति उनीहरूकै आशाजस्तै थियो बाँचिरहेको, तर प्रत्येक क्षण निभ्ने डरमा। पानी सीमित थियो। रोटीका केही टुक्रा बाँडेर खाइए। लिनाले आफ्नी सानी बहिनीलाई काखमा राखिन्। बहिनीको शरीर डरले काँपिरहेको थियो। “दिदी, युद्ध कहिले सुत्छ?” बहिनीले बिस्तारै सोधी। लिना मौन भइन्। उनले उत्तर दिन सकिनन्। किनकि उनलाई पनि थाहा थिएन युद्ध कहिले थाक्छ?
बाहिर बमहरू झरिरहेका थिए। भित्र सम्झनाहरू। हरेक विस्फोटसँगै उनलाई आफ्ना विद्यालयका साथीहरू सम्झिन्थे। शिक्षकको मुस्कान सम्झिन्थिन्। पुस्तकालयको गन्ध सम्झिन्थिन्। उनी बुझ्दै थिइन्।युद्धले भवनहरू मात्र भत्काउँदैन यसले समयलाई पनि भत्काउँछ। भविष्यलाई वर्तमानमै गाडिदिन्छ।
केही दिनपछि गोलीबारी केही कम भयो। उनीहरू घर फर्किए। तर त्यो घर अब घरजस्तो थिएन। भित्ताहरूमा चिरा थिए। छाना आधा भत्किएको थियो। आँगनमा रहेको जैतुनको रूख आधा जलेको थियो। उसका केही हाँगाहरू अझै हरिया थिए। केही कालो खरानीमा बदलिएका थिए। लिना धेरै बेर त्यो रूखलाई हेरिरहिन्। उनलाई लाग्यो त्यो रूख उनीजस्तै थियो। आधा जलेको। आधा बाँचेको। आधा विगत। आधा भविष्य।
विद्यालय पुगेपछि उनको मुटु झन् भारी भयो। जहाँ कहिल्यै बालबालिकाको हाँसो गुञ्जन्थ्यो, त्यहाँ अब मौनता थियो। कक्षाकोठाको पर्खाल भत्किएको थियो। कालोपाटी धुलोले ढाकिएको थियो। कुर्सीहरू उल्टिएका थिए। पुस्तकहरू जलेर खरानी भएका थिए। उनले भग्नावशेषबीच एउटा आधा जलेको कापी भेटिन्। पहिलो पानामा उनको आफ्नै हस्ताक्षर थियो। अर्को पानामा लेखिएको थियो “मेरो सपना : म एक दिन शिक्षक बन्नेछु।” त्यो वाक्य धुवाँले कालो बनाएको थियो, तर अक्षरहरू मरेका थिएनन्। उनले कापी छातीमा टाँसिन्। त्यो अब कागज थिएन त्यो उनको बाँकी रहेको भविष्य थियो।
दिनहरू बित्दै गए। प्रत्येक बिहान नयाँ विस्फोटको खबर आउँथ्यो। प्रत्येक साँझ कसैको मृत्युको समाचार। सहरका सडकहरू अब मानिसभन्दा भग्नावशेषले भरिएका थिए। अस्पतालहरू घाइतेहरूले भरिएका थिए। आमाहरू आफ्ना छोराछोरी खोज्दै रुँदै हिंडिरहेका थिए। वृद्धहरू खाली आँखाले धुवाँतिर हेरिरहेका थिए।
एक दिन लिना समुद्र किनार पुगिन्। समुद्र भने अझै आफ्नै लयमा थियो। लहरहरू किनारमा आइरहेका थिए। फर्किरहेका थिए। उनलाई लाग्यो, प्रकृति मानिसको घृणाभन्दा धेरै धैर्यवान् हुन्छ। समुद्रले कहिल्यै बदला लिँदैन। ऊ केवल किनारालाई फेरि फेरि अँगालो हाल्छ। उनले बालुवामा एउटा सानो अक्षर लेखिन् “शान्ति।” अर्को लहर आयो र त्यो शब्द मेटियो। उनले फेरि लेखिन्। फेरि लहर आयो। फेरि मेटियो। त्यस क्षण उनले बुझिन् शान्ति लेख्न सजिलो छ, बचाइराख्न कठिन।
त्यस दिनदेखि उनले गाउँका साना बालबालिकालाई तहखानामै पढाउन थालिन्। एउटा फुटेको भित्तालाई उनले कालोपाटी बनाइन्। कोइलाले अक्षर लेखिन्। बालबालिकाले मुस्कुराउन थाले। बाहिर युद्ध थियो। भित्र वर्णमाला। बाहिर मृत्युको भाषा थियो। भित्र जीवनको भाषा। प्रत्येक अक्षर एउटा प्रतिरोध थियो। प्रत्येक शब्द एउटा मानवताको घोषणा।
लिनाले कहिल्यै बन्दुक समातिनन्। उनले पुस्तक समातिन्। उनले घृणाको जवाफ घृणाले दिइनन्। उनले ज्ञानले दिइन्। उनलाई लाग्यो बारुदले शरीर जित्न सक्छ, तर पुस्तकले भविष्य जित्छ। युद्धले विद्यालय भत्काउन सक्छ, तर सिक्ने इच्छालाई भत्काउन सक्दैन।
वर्षौंपछि त्यो जैतुनको रूख फेरि पलाउन थाल्यो। जलेका हाँगाबीच हरिया पालुवा उम्रिए। लिना हरेक नयाँ पात हेर्दा मुस्कुराउँथिन्। त्यो रूख केवल वनस्पति थिएन। त्यो स्मृति थियो। प्रतिरोध थियो। पुनर्जन्म थियो। उसको जराजस्तै मानिसको आशा पनि माटोभित्र गहिरो रहन्छ। आँधीले हाँगा भाँच्न सक्छ, तर जरालाई हराउन सक्दैन।
एक साँझ उनले फेरि आकाशतिर हेरिन्। धुवाँ बिस्तारै पातलो हुँदै थियो। पश्चिममा अस्ताउँदै गरेको सूर्य समुद्रमाथि फैलिएको थियो। त्यो रङ पहिलेझैँ सुन्दर थियो। तर अब उनले त्यसलाई फरक अर्थमा हेरिन्। सूर्यास्तले उनलाई सिकाएको थियो—अन्धकार सधैं प्रकाशपछि आउँछ, तर अर्को बिहान प्रकाश फेरि फर्कन्छ।
उनले आफ्नी आधा जलेकी कापी खोलेर अन्तिम पानामा एउटा वाक्य लेखिन्।
“युद्धले मेरो घर खोस्यो। मेरा पुस्तकहरू जलायो। मेरो बाल्यकाल चोर्यो। तर मेरो मानवता चोर्न सकेन।”
त्यो वाक्य लेखिसकेपछि समुद्रबाट आएको चिसो हावाले कापीका पाना बिस्तारै पल्टायो। आँगनको आधा जलेको जैतुनको रूख एकाएक हल्का काँप्यो। त्यसका सुकेका हाँगाबीचबाट एउटा मात्र हरियो पात छुट्टिएर घुम्दै आयो र लिनाको कापीको अन्तिम पानामाथि निस्पन्द अडियो। उनले त्यो पातलाई सावधानीपूर्वक उठाइन् र पुस्तकभित्र राखिन्।
त्यही क्षण क्षितिजतिरबाट एउटा अनौठो मौनता फैलियो। विस्फोटको आवाज रोकिएको थिएन, तर उनलाई केही क्षणका लागि संसार अस्वाभाविक रूपमा निस्तब्ध लाग्यो। समुद्रका लहरहरू किनारासम्म आए, तर फर्किएनन् जस्तो अनुभव भयो। आकाशमा धुवाँको एउटा लामो रेखा विस्तारै चराको आकृतिमा बदलिँदै गयो। उनले आँखा मिचेर फेरि हेरिन्। आकृति हराइसकेको थियो।
कापी आफैं हल्का खुल्यो। अन्तिम पानामा उनले केहीबेरअघि लेखेका शब्दहरू थिए। तर तल, जहाँ उनले केही पनि लेखेकी थिइनन्, खरानीजस्तो फिक्का अक्षरहरू बिस्तारै देखा परे।
प्रतिक्रिया