सिरहा, १९ जेठ ः सिरहाको लहान नगरपालिका–२१ स्थित मोतिपुरमा स्थानीयबासीको पहलमा राधाकृष्ण मन्दिर निर्माणको काम सुरू गरिएको छ । सोमबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना बचाइ राख्न स्थानीयले गरेको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरेको बताउनुभयो ।
“स्थानीयको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरिएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “भौतिक र आध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौँ । यस वडामा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक निर्माण कार्यलाई पनि एकसाथ गति दिएको छ ।” नगरको कूल सात लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँको विकास, सामाजिक कार्य र आयआर्जनका काम गर्न गाउँलेहरू सदैव एकताबद्ध र सक्रिय हुनेगरेको स्थानीय लहान—२१ का वडाअध्यक्ष राजकुमार यादवले बताउनुभयो । मन्दिर निर्माणले यस अभियानलाई अझ बढी टेवा पुग्ने उहाँले प्रस्ट्याउनुभयो ।
मोतिपुर वडा नं. २० को पनि सीमा क्षेत्र पर्ने भएकाले दुवै वडाका वडाबासीलाई मन्दिर निर्माणले सहजता ल्याउने वडाअध्यक्ष गणेश कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिर साझा थलो हुने भएकाले मन्दिर परिसरमा बसेर सामाजिक गतिविधि अगाडि बढाउन मन्दिर निर्माणले सहजता ल्याउने विश्वास लिएको छु ।” आगामी असार मसान्तसम्ममा मन्दिर निर्माण गरिसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रमअन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने जनाएका छन् ।
प्रतिक्रिया