logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • कविताः आशीर्वादको आकाश

    कविताः आशीर्वादको आकाश

    कविताःआशीर्वादको आकाश

     

    तोमनाथ उप्रेती,

    उपसचिव, नेपाल सरकार

    समयका साक्षी, संघर्षका सन्देशवाहक,
    जीवनका ज्वालामुखीहरू शान्त पार्ने
    साँझको समर्पित सूर्यहरू।

    जीवनका गहिराइहरूमा गूंजिएका,
    आशीर्वादका अविरल अजम्बरी अजिरहरू,
    वाणीमा वरदानका वसन्त,
    हातमा कर्मका कणहरू,
    नयनमा निःस्वार्थ न्यानोपहार।

    आमा—धरतीझैँ धैर्यशील,
    बुबा—आकाशझैँ आँटको आकृति,
    दुःखका बादलहरूमा पनि हाँसोका किरनहरू,
    रातका निराशामा विश्वासको तारा।

    यी वृद्धहरू—जीवनका जलपथका ज्योति हुन्,
    उनीहरू हिँडेका पाइलाहरूमा
    समयका पत्थरहरू पनि फूल बनिरहन्छन्,
    उनीहरूको मौनतामा पनि मन्त्रहरू बगिरहन्छन्।

    ‘मातृदेवो भवः, पितृदेवो भवः’
    कठोर कर्मभूमिमा करुणाका कमलहरू खिचिरहेका,
    अनुभवका अन्नहरूले भोक मेटाइरहेका,
    संस्कारका सूर्यहरूलाई पलपल तापिरहने,
    जीवनका जंगलमा शान्तिका शिशिर बनिरहेका।

    हावा पनि थाक्छ,
    पानी पनि रोक्छ,
    तर उनीहरूको आशीर्वाद
    नदीझैँ बगिरहन्छ—
    अमूर्त, अदृश्य, अमृतझैँ।

    उनीहरू कुनै ‘अतीतका अवशेष’ होइनन्,
    उनीहरू—जीवनका जलजला पर्वतहरू हुन्,
    संसारका सन्तापलाई सोस्ने,
    दर्शनका दीपहरू प्रज्वलित गर्ने।

    वृद्धाश्रमका पर्खालहरू
    पर्खिरहेका छन् छोरा–नातिको आघात,
    तर उनीहरूको मन भने
    सदा प्रार्थनाका पत्रहरू झैँ बगिरहेको छ।

    आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको—
    यो उखान होइन, यो उपदेश हो।
    यो हेराइ होइन, यो हरितिमा हो।
    यो दया होइन, यो दृष्टान्त हो।

    छोरा, नाति, नातिनीहरू !
    सुन,
    आमाबुबाको अनुभवहरू समुद्रका गहिराइ हुन्,
    जहाँ भविष्यका हर्कतहरू डुबुल्की मार्छन्,
    र निष्कर्षका मोतीहरू निकालेर ल्याउँछन्।

    आज वृद्धाश्रमहरू—
    एकान्तका आँशुहरूको संग्रहालय बन्न नदिनू।
    हात समातेर,
    तिनका कथाहरू सुन,
    र आफ्नो आत्मालाई अजम्बरी बनाऊ।

    संसारमा सबैभन्दा स्थायी पाठशाला,
    उनीहरूको छातीमा रहेको हुन्छ।
    पाठशाला, जहाँ सान्त्वनाका सन्देश हुन्छन्,
    जहाँ समर्पणका शास्त्र हुन्छन्।

    नबिर्स, छोरा–नाति—
    आज जसरी तिमीले वृद्धहरूलाई हेरिरहेका छौ,
    त्यसरी नै भोलि तिमीलाई
    समयले हेरिरहनेछ।

    उनीहरू माटोमा मिसिए पनि,
    तिमीमा माया बनेर बसिरहनेछन्।
    उनीहरूको सम्झनाले तिमीलाई
    सद्गुणका शिखरमा चढाइरहनेछ।
    यसैले बनाऊ,
    समाजको संवेदनशील संविधि—
    जसले वृद्धहरूलाई बोझ होइन,
    बरदानको ब्रह्मवाक्य ठान्छ।

    आमा–बुबा, वृद्धहरू—
    समयका साक्षात् साधु हुन्।
    उनीहरूको आशीर्वादको आकाशमा
    जीवनका बादलहरू पनि
    पानी पार्छन्, र रङ्गीन इन्द्रधनुष देखाउँछन्।

    आकाशझैँ फराकिलो हृदय बनाऊ,
    धरतीझैँ धैर्यको गहिराइ बनाऊ,
    र वृद्धहरूका हात समात,
    तिम्रो आत्मालाई अमर बनाऊ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र २२, आईतवार २०:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP