विकासको साझा मन्दिर (कविता)
तोमनाथ उप्रेती
संसार एउटा साझा मन्दिर हो,
जहाँ स्वार्थका कुम्भ मेला र
सेवाका गङ्गा एउटै घाटमा बग्दछन्।
यहाँ सरकार धर्मगुरु हो,
आशीर्वादका रूपमा नीति बाँड्दै,
तर कपाल छोएको हात सधैं चोखो नहुने,
सत्यको रोटी बाँड्न पनि पवित्र आगो चाहिन्छ।
निजी क्षेत्र एउटा व्यापारिक साधु हो,
मुनाफाको मानसरोवर खोज्दै हिंड्ने,
तर सेवा-जल नखाई तिर्खा मेटिन्न भन्ने जानेर,
उद्यमशीलताको मन्त्र जप्दै श्रमको चन्दा चढाउँछ।
पूर्वाधारको स्तम्भहरू,
धर्मशिलाहरू हुन् साझा यात्रामा,
जहाँ ‘रोजगारी’ एक गीता हो,
र ‘दिगोपन’ उपनिषद् बनिन्छ।
साझेदारीहरू,
नयाँ वज्रासन हुन् राष्ट्रको समाधिमा,
जहाँ जोखिमहरू हुन् ध्यानका बाधाहरू,
लगानीहरू हुन् बोधिचित्तका बीजहरू,
र प्रतिफलहरू हुन् मुक्ति र फल्याङ्कका फूलहरू।
जब निजी क्षेत्रको हातले पसिना चुहाउँछ,
र सरकारी हातले करुणा छर्छ,
त्यो दिन विकासको मन्दिरमा
मानवताको धुप बालिन्छ।
सार्वजनिक सेवा,
आत्माको पूजा हो,
नाफा र निष्ठाको संयोगमा
स्वरोजगार र गरिबी निवारणका आरती गाइन्छ।
साझेदारी एउटा यज्ञ हो,
जहाँ सबैले आफ्ना स्वार्थका घृत बिन्दुहरू चढाउँछन्,
र राष्ट्रको समृद्धि अग्निमा
दक्षता र पारदर्शिताको धुवा उठ्छ।
यस मन्दिरमा कुनै जात, वर्ग, भेद हुँदैन,
अस्तित्वका ईंटहरू
सहकार्यको गहिराइमा राखिन्छन्,
र जनताका सपना चन्द्रमा झैं
पानीमा प्रतिविम्बित हुन्छन्।
सम्बन्धहरूको मञ्जरीमा
नितिका फूलहरू फक्रिन दिनुपर्छ,
र असफलताका काँडाहरू
सहकार्यका गोडमेलले उखेलिनुपर्छ।
कुनै दिन,
जब साझा हातहरूले
देशको मुहार धुन थाल्नेछन्,
त्यो दिन हाम्रो विकास
न केवल आकडाहरूमा,
तर हाँसो र आशामा देखिनेछ।
त्यो दिन विकासको अर्थ
केवल सडक र भवन होइन,
तर आत्माको उज्यालो हुनेछ।
त्यो दिन साझेदारी,
एक आध्यात्मिक साधना बन्नेछ।
प्रतिक्रिया