logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • तोमनाथ उप्रेती,

    तोमनाथ उप्रेती,

    डिजिटल जंगलको स्वप्नलोक

     

    तोमनाथ उप्रेती,

    हेर,
    तिमी मोबाइलको स्क्रिनमा
    दुनिया हेर्छौ,
    तर त्यो स्क्रिनभित्र
    रङ्ग, जात र लिङ्गको
    अदृश्य जेलखाना छ,
    जहाँ प्रत्येक थम्ब अप
    विभेदको साक्षी बन्ने गर्छ,
    र हरेक रियाक्सनमा
    घृणाको ‘एन्क्रिप्टेड’ हस्ताक्षर छ।

    इन्टरनेट,
    तिमी स्वर्गको एउटा द्वार हौ भनिन्छ,
    जहाँ हरेकले बोल्न पाउनेछन्,
    तर कसरी बुझ्नु?
    तिम्रो वाइफाइमा पनि जातको पासवर्ड छ,
    र लिङ्गका टावरहरू
    सिग्नलको तरङ्गहरूमा पनि विभेद छरिरहेका छन्।

    तिमी त ‘फ्रीडम अफ स्पीच’ को ब्यानर टाँसेर बस्छौ,
    तर एउटा दलित केटीले भन्छिन्—
    “म बोल्दिनँ, किनकि मेरो हरेक अक्षरलाई
    आफ्नो इगोमा सुँघेर
    हिंस्रक मेमहरू बनाइन्छ।”
    र एउटा महिलाले लेख्छिन्—
    “म सत्य लेख्दिनँ, किनकि सत्य लेख्दा
    मेरो लुगाभन्दा खुट्टा लामो थियो भन्छन्।”

    हे डिजिटल स्पेस,
    तिमी त अभिव्यक्तिको खुला आकाश हौ भनिन्छ,
    तर यो आकाशमा बादल पनि वर्ग र जातका हुन्छन्,
    र छायाँ पनि रङ्ग हेरेर पर्छ।
    तिमी फेस रेकग्निशन गर्छौ,
    तर पहिचानका आधारमा पहिचान लुकाउँछौ,
    त्यसैले त एआईको आँखा गोरो छ,
    र उसको कन्फिगरेसनमा विभेदको कोड लेखिएको छ।

    हेर,
    केही कलाकार, कवि र सर्जक
    यस डिजिटल जंगलमा कवचविहीन हिँड्छन्,
    तिनीहरू गीत लेख्छन्—
    विभेदविरुद्ध, गरीबीविरुद्ध, अन्यायविरुद्ध,
    तर भोलिपल्ट तिनीहरूकै पोस्टमा
    ‘जात जनायो’ भन्दै गालीको वर्षा हुन्छ।
    कहिलेकाहीँ हाँसो आउँछ—
    विकासको कुरा गर्नेहरूकै कमेन्ट सेक्सिस्ट हुन्छ,
    र न्यायको कुरा गर्नेहरूकै इन्बक्स नश्लीय गालीले भरिन्छ।

    तर यो गगनमा उड्न पाउने पखेटा
    धनी, गोरा र पितृसत्ताले किनिदिएका हुन्।
    हामी सीमान्तीकृत आवाजको
    ‘ब्लुटुथ सिग्नल’ पठाउँछौं,
    तर त्यो सिग्नल उनीहरूको एअरपडमा पुग्दैन।

    तर जहाँ हिंसा हुन्छ,
    त्यहाँ प्रतिरोध पनि हुन्छ।
    त्यसैले हेर,
    म भर्चुअल बुलेटप्रुफ ज्याकेट लगाएर
    सत्य बोल्ने छु

    देशले डिजिटल नेपालको सपना देखिरहेको छ,
    तर त्यो सपना त्यो दिन मात्रै पूरा हुन्छ,
    जब इन्टरनेटको प्रत्येक टावरले
    जात र लिङ्गको विभेद नसार्नेछ,
    र प्रत्येक माउस क्लिकमा हिंसा होइन,
    समानताको सञ्चार हुनेछ।

    यसैले म भन्छु—
    डिजिटल स्पेस,
    तिमीलाई ‘जनताको पँखेटा’ बन्न मन लाग्छ भने
    पहिला तिमीले ‘वर्ग, जात, लिङ्गको ताला’ खोल्न सिक्नुपर्छ।
    त्यो दिन तिमी साँच्चै अभिव्यक्तिको स्वर्ग बन्नेछौ,
    र इन्टरनेटको प्रत्येक पिङ्गमा
    न्याय, प्रेम र समानताको किरण
    बज्नेछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन २, बिहीबार १८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP