logo
  • २०८३ असार ५ | Fri, 19 Jun 2026
  • कथाः जलिरहेको आत्माको दुबई यात्रा

    कथाः जलिरहेको आत्माको दुबई यात्रा

    कथाः जलिरहेको आत्माको दुबई यात्रा

    तोमनाथ उप्रेती

     

    उसले आफूलाई ऐनामा हेर्यो—तर त्यो ऐनामा न त उसको अनुहार देखिन्थ्यो, न त उसका आँखा। देखिन्थ्यो त केवल चिसो पसिनाले भिजेको निधार र थकानको धुवाँ उडिरहेको एउटा छाया।

    यही छायाँ थियो, जुन त्रिभुवन विमानस्थलबाट चुपचाप उडेको थियो। विमानस्थलमा कोही विदाई गर्न आएको थिएन, न त स्वागत गर्न कतार ट्रान्जिटमा कोही उभिएको थियो। उसले जीवनमा पहिलोपटक विमान चढेको थियो, तर त्यस यात्रामा कुनै रोमाञ्चन थिएन—थियो त केवल शून्यता।

    यूएईको चिसो एयरकन्डिसन भित्रको गर्मी, बालुवाको जलन, अनि साहुको चिच्याहट। यी सबै कुराबाट उसले डर मानेन, किनकि डर त उसले पहिले नै नेपालमै खाइसकेको थियो—जब बाबु बिरामी थिए, घरको छानाबाट पानी चुहिन्थ्यो, र गाउँका साथीहरू एक-एक गर्दै विदेश जान थाले।

    “तँपनि विदेश जा नि! काठमाडौँमा के छ र तँजस्तोका लागि?” कोठा धनीले भनेका ती शब्दहरू उसको कानमा अझै गुञ्जिरहन्थे।

    दुबई उसको सपना थिएन। दुबई त केवल एउटा भगौडा विकल्प थियो—भोक, अभाव र अपमानबाट भाग्ने बहाना।

    तर ऊ त्यहाँ पुगेर थाहा पायो—दुबईमा भोक छैन, तर आत्मा नै भोकमरीमा छ। पैसा छ, तर समय छैन। मोबाइल छ, तर सँगै बोल्ने कोही छैन। ऊ आफैँसँग कुरा गर्न डराउँछ, किनकि आफूभित्र सुनिन्छ—नेपालको आवाज, आमाको रुँदै गरेको स्वर, र बाबुको बिर्संदा-बिर्संदा आएको हाँसो।

    त्यो हाँसो अहिले एक झुटो सान्त्वना जस्तो लाग्छ। ऊ मुस्कुराउँदैन—ऊ बाँचिरहेको छैन, ऊ केवल विदेशमा “काम गरिरहेको” एक पात्र हो।

    तर, एकदिन बालुवामा घोप्टिँदा उसले आकाशतिर हेरेर- उसले आत्मा खोज्न थाल्यो। र कथा त्यहीँबाट सुरु हुन्छ—जब शरीर होइन, आत्मा विदेशमा हराउन थाल्छ।

    त्यो मृत्युपत्र थाहा नपाई हस्ताक्षर गर्नेहरू हजारौँ छन्। उनीहरू साक्षर होइनन्, त्यसैले “एमओएल लेटर” के हो, “कन्ट्राक्ट” के हो, बुझ्दैनन्। उनीहरूलाई त एउटै कुरा बुझिन्छ—”विदेशमा दुःख गरे कमाइन्छ।” तर उनीहरूले कमाउने पैसा होइन, गुमाउने सपना हो।

    कसैले भन्यो थियो—”हराएको मान्छे आफैँभित्र हराएको हो।” वैदेशिक रोजगारमा जाने नेपालीहरू पनि हराउँछन्—फाइलमा, पासपोर्टमा, प्लेनको इकोनोमी सिटमा। उनीहरूको सपना सुरुमा हराउँछ, पछि संवेदना हराउँछ, अन्त्यमा नैतिकता र आत्मा पनि हराउँछ।

    नेपाल अब सपनाको बजार बनेको छ। जहाँ आशा पनि व्यापार हो, र भविष्य पनि सामान। दलालहरू यी सामग्रीका व्यापारी हुन्। उनीहरूले गाउँमै कथा सुरु गर्छन्—”तपाईंको छोरोलाई म दुबई लैजान सक्छु, त्यहाँको जीवन त सपनाजस्तै हुन्छ।” तिनले चार लाख रुपैयाँ झिक्छन्, एक मन आँशु झिक्छन्, अनि एक शरीरलाई फ्लाइटमा राखेर शून्यमा उडाउँछन् तर त्यो फ्लाइट स्वर्ग जाँदैन, त्यो फ्लाइट आत्मा गुमाउने भूमिमा जान्छ। त्यहाँ झरेपछि ऊ देख्छ—कमरेडले भनेजस्तो श्रमिक स्वर्ग होइन, आधुनिक दासत्व हो। भिजिट भिसाको सन्दर्भमा त यो कथा अझै भयावह हुन्छ। भिजिट भिसा सपना हेर्ने काँचो आँखा हो, जुन यूएई पुगेर दलालको रेटिना स्क्यानले झसङ्ग हुन्छ।

    दलालहरूको भाषा मिठो हुन्छ, त्यसैले उनीहरूलाई भगवान ठानिन्छ। ‘फ्रिलान्सर भिसा’, ‘इम्प्लोयमेन्ट च्यान्स’, ‘स्पोन्सर ट्रान्सफर’—यी सब शब्दहरू दलालको जादु हो। तर त्यो जादु वास्तवमा श्राप हो।

    भिजिट भिसाको म्याद सकिँदै गर्दा उनीहरू भन्छन्—”अब गैरकानुनी हुन्छौ, फ्रिलान्सर भिसा चाहिन्छ।” अनि १०–२५ हजार दिराम असुलिन्छ। ऋण तिर्न बैंकबाट पैसा निकालिन्छ, सिम कार्ड खोलिन्छ, किस्तामा फोन लिइन्छ—सबै पीडितको नाममा।

    एक दिन त्यो व्यक्ति जसको पासपोर्ट दलालले खोसेको थियो, जसको एमिरेट्स आइडीबाट ऋण लिइएको थियो—बुझ्छ, ऊ अब विदेशी भूमिमा मात्र होइन, आफ्नै नाममा गरिएको अपराधको जिम्मेवारीमा बाँधिएको छ। यो कानुनी गहिराइमा आत्माको मृत्यु हुन्छ।

    यो घडीमा नेपाली दूतावास खडा छ। ऊ कुरा गर्छ, तर सुनिँदैन। ऊ देखिन्छ, तर उपस्थित हुँदैन। दूतावासको भवन ठूलो छ, तर त्यहाँ आत्मा छैन। यूएईमा रहेका पीडितहरूका कथा सुन्ने कान छैन त्यसमा। कोही श्रमिक छुटकारा पाउन सक्दैन, कोही उद्धारको आशामा आधा पेट भोकै बस्छ।

    नेपाल सरकारका प्रतिनिधिहरू र मन्त्रीहरू स्वयं म्यानपावर व्यवसायमा संलग्न छन्। कानुन बनाउने हातहरू नै कमिसनको चक्करमा मोलमा बिक्छन्। त्यसैले श्रमिकको सुरक्षा भन्ने शब्द कानुनको कितावमा हुन्छ, जीवनमा होइन।

    ठग हुनेहरू दुई प्रकारका हुन्छन्—एक, सधैँ ठगिरहेका; अर्को, एकपटक ठगिएका। यूएईमा अब दोस्रो प्रकारका मानिसहरू पनि ठग बन्न थालेका छन्। उनीहरू भन्छन्—”म पीडित भएँ, अरूलाई पनि त्यही बाटोमा हिँडाउँछु।” यो तिनको आत्मा मरेपछि बाँकी शरीरको व्यापार हो।

    ‘हराएको सूचना’ — यो केवल एउटा सूचना होइन, हाम्रो सामूहिक पीडाको मौन दस्तावेज हो। यदि आत्मा हेर्न सकिने दृष्टि हामीसँग हुन्थ्यो भने, त्रिभुवन विमानस्थलको प्रस्थान गेटमा टाँसिएको यो सन्देश सबैका आँखा रसाउने गरी बोल्दथ्यो :

    हराएको सूचना
    नाम : एक सपना
    उमेर : वयस्क बन्न नपाउँदै जीवनका बोझले वृद्ध
    हुलिया : पहिले उज्यालो, अहिले छायाले ढाकेको
    अन्तिमपटक देखिएको स्थान : त्रिभुवन विमानस्थलको ‘प्रस्थान’ कक्ष
    यदि देख्नुभएमा, कृपया हृदयको मन्दिरमा एकछिन मौन ध्यान गर्नुहोस्— त्यो सपना अझ बाँच्छ कि भनेर…शायद प्रार्थनामा जीवन बाँकी छ।

    यो सूचना कुनै समाचार होइन, यो आत्माको विलाप हो। यो सूचना सधैं देखिन्छ—तर आँखाले होइन, आत्माले मात्र महसुस गर्न सकिन्छ। हामीले नदेखेका ती हराएका सपनाहरू, जसले एकदिन देशलाई बदल्ने कल्पना गरेका थिए, आज बारुद नभएको युद्धमा मरेका छन्—गरीबी, अपमान, अवसरको अभाव र राष्ट्रप्रतिको अनासक्ततामा।

    सपनाहरूको मृत्यु आत्माको मौन अन्त्य हो।भौतिक आँखाले देखिने सपना त निद्रामा आउने क्षणिक छाया हो। तर आत्मा भित्रको सपना—धर्म हो, उद्देश्य हो, आत्मबोध हो। जब त्यो हराउँछ, तब मान्छे बाँचेको हुँदाहुँदै मृत हुन्छ। वयस्क बन्न नपाउँदै बुढ्यौली लाग्नु भनेको, उमेरले होइन—विश्वासले थकित हुनु हो। जीवनप्रतिको उत्साह ओइलिनु हो। र जब आशा ओइलिन्छ, तब कुनै पनि देश आत्मिक रूपमा अकाल मरणको दिशामा लाग्छ।

    एक रात, कतारको मरुभूमिमा काम सकेर फर्किंदै गरेको एक श्रमिकले आकाशतिर हेर्यो। आकाश उस्तै नीलो थियो—जस्तै उसले बाल्यकालमा पर्वतघारी गाउँबाट हेर्थ्यो। तर अब त्यो नीलो शून्यको अर्थ बदलिएको थियो। त्यो अब स्वर्गको रंग थिएन, त्यो उसले गुमाएको आत्माको छायाँ थियो।

    रातको सुस्केरा चलिरहेकै थियो। ऊ निदायो—तर त्यो निद्रा सुत्ने निद्रा थिएन, त्यो यात्रा थियो।

    उसले सपना देख्यो—त्रिभुवन विमानस्थलको ‘प्रस्थान कक्ष’ गेट सुनसान छ। एउटा पुरानो सूचना बोर्डमा उज्यालो चम्किरहेको छ—“हराएको सूचना: एक सपना फेला पर्यो।” मानौँ कसैले त्यो सपनालाई मनको मन्दिरमा बिर्सनु त के, झन प्रार्थनाबाट बोलाएर ल्याएको हो।

    त्यो सपना उही थियो—ऊ आफैँ, तर नामहीन, थरहीन। ऊ अगाडि बढ्यो, आफूलाई छुन खोज्यो, तर त्यो सपना उसैलाई हेर्दै हाँसिरहेको थियो—बिनाशब्द, बिनाशब्दार्थ।
    “तँ म होस्,” सपना भन्छ। “म कहिल्यै हराएको थिइनँ—तँले आँखा चिम्लिस्, तसर्थ म अध्यारोमा परेँ।”

    अचानक, सारा विमानस्थल मेटिँदै जान्छ। बाँकी रहन्छ केवल एउटा द्वार—”अगमन कक्ष” — आत्माको प्रवेशद्वार।

    र त्यो द्वारमा लेखिएको छ—

    “जहाँ सपना भेटिन्छ, त्यहीँ आत्मा पुनः जन्मिन्छ।”त्यसपछि केही पनि देखिँदैन।
    केवल मौनता।र त्यस मौनताभित्र…कुनै आवाज भन्छ—“अब फर्क… तिमी आफैँलाई भेट्न बाँकी छ।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ९, बिहीबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP