नेतृत्वको थकित बिहानमा…
तोमनाथ उप्रेती
नेतृत्वको थकित बिहानमा,
सत्ताका मृगजालहरू टुटेर
वासनाका बिजुलीहरू निभिसकेपछि
शून्यताको छाती चिरेर
एक दिन सत्यको सूर्य उदाउँछ।
शक्तिका शिखरहरू हाँसेर
आफ्नो छायाँलाई ढाक्ने गर्दछन्,
तर जब विश्वासको बतास चल्छ,
त्यो छायाँ आफैँसँगै हराउँछ।
राजनीतिक चिहानहरूमा
जनताको आशाका फूलहरू ओइलिँदै जान्छन्,
अवसरवादको आँधीले
लोकतन्त्रका गगनचुम्बी महलहरू भत्काउँछ,
र राष्ट्रको स्वाभिमान
दुई पैसामा नीलामी हुन्छ।
हे नेताहरू!
शक्ति त क्षणिक विजयोत्सवको हुलाक हो,
तर दायित्व भनेको
जनताको हाँसो र आँसु सँगाल्ने
सत्यको यज्ञ हो।
अहंकारका गजुरहरू भत्काउँदा मात्र
सच्चा लोकतन्त्रको गङ्गा बग्न थाल्छ,
जहाँ शासन सेवा बन्छ,
पदविहीन अनुहारहरूले
आशाका बीज रोप्न थाल्छन्।
नेतृत्व, कुनै कुर्सीमा बसेर हुकुम जारी गर्ने नाम होइन,
यो त आफ्नो स्वार्थको बलिदान दिएर
राष्ट्रको सपना जगेर्ना गर्ने तपस्याको नाउँ हो।
जब तिमीहरू स्वार्थको खैरो गगनमा
सत्ताको रङ्गीन पतंग उडाउँछौ,
त्यही क्षण लोकतन्त्रको आत्मा
घाइते भएर रुँदै बिलाउँछ।
नेतृत्वमा नैतिकता नहुँदा
नदीमा मलिनताको माछा खेल्दछन्,
नीति कागजमा मात्र रहन्छ,
र न्यायको बुट्टा च्यातिन्छ।
तर जब नेतृत्व आत्म–दर्पणमा हेर्छ,
र आफ्नो लाजको रङ्ग बुझ्छ,
त्यही दिन
राष्ट्रको आँसु सुक्छ,
र जनताको सपना पलाउँछ।
“यथा राजा तथा प्रजा”
संसारको पुरानो मन्त्र हो,
राजा स्वार्थी हुँदा
प्रजामा डर र गुलामी पलाउँछ,
राजा सेवक हुँदा
प्रजामा स्वतन्त्रता र जागरण हुन्छ।
लोकतन्त्रको दीप
कहिल्यै आत्मस्वार्थको तेलले बल्दैन,
यो त जनभावनाको तेलमा मात्र
सदासर्वदा उज्यालो बन्न सक्छ।
हे नेताहरू!
शक्ति खेल होइन,
यो जन–पीडाको उपचार गर्ने जिम्मेवारी हो।
नेतृत्वको शिखरमा चढ्न
स्वार्थको बोडा बोक्नु पर्दैन,
बरु नैतिकताको गहना लगाएर
साहसको उज्यालोमा यात्रा गर्नु पर्दछ।
राष्ट्रले कुर्दैछ,
तिमीहरूको आत्म–क्रान्तिको बिहान,
जहाँ सत्ताको सुरा त्यागेर
सेवाको अमृत पिउनेछौं,
र लोकतन्त्रलाई
फेरि जन–कल्याणको बगैंचा बनाउनेछौं।
प्रतिक्रिया