logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • गीता र अफ्रिकी युद्ध (कविता)

    गीता र अफ्रिकी युद्ध (कविता)

    गीता र अफ्रिकी युद्ध (कविता)

    तोमनाथ उप्रेती


    खण्डहरका पर्खालमा रगतको अक्षरले लेखिएको
    स्वतन्त्रताको घोषणापत्र,
    जसलाई बालुवामा लेखे पनि
    हावा उडाएर लैजान सक्दैन।
    कप्तान त्राओरेको पाइला
    पृथ्वीमा हिर्किँदा धर्ती नै गुञ्जन्छ,
    तर गुञ्जन युद्धको होइन,
    धर्तीमा आत्म-सम्मानको साक्षात्कारको हो।

    कृष्णले भनेका थिए:
    “धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।”
    सत्य र धर्मलाई स्थापना गर्न युद्ध हुन्छ,
    तर त्यो युद्ध हत्याका लागि होइन,
    आफ्नो आत्मालाई जगाउनका लागि हुन्छ।
    त्यसैले त्राओरेको युद्ध पनि
    साम्राज्यवादको विरुद्ध एउटा पुकार हो,
    जसरी गीता युद्धको मैदानमा भएको संवाद थियो।

    युद्ध केवल अस्त्रको घमण्ड होइन,
    यो ‘क्षात्रधर्म’ को स्मरण हो।
    जसरी अर्जुनले आफ्नो शंका गीता सुनेर चिर्न सके,
    त्राओरे पनि युद्धलाई
    आत्म-निर्भर अफ्रिकी चेतनाको
    बुद्धको ध्यानसँगै अघि बढाउँछन्।

    तिमीलाई थाहा छ ?
    जब गोराहरूको सेना फर्किन्छन्,
    त्यो भूमिमा फुलहरू फक्रिन्छन्।
    तर कहिले काँडाले ढाकिएका फुलहरू फक्रन्छन्,
    कहिले आँसुले चोखिएका माटोमा फक्रन्छन्।
    फुल्ने माटोमा कहिले स्वतन्त्रता कोपिला पलाउँछ,
    र कहिले स्वाधीनताको मुस्कानसँग
    बालकहरू नयाँ गीत गाउँछन्।

    वेदमा लेखिएको छ:
    “सत्यं वद, धर्मं चर।”
    सत्य बोल, धर्म आचरण गर।
    त्राओरेले साँचो युद्ध भनेको
    सत्यको संरक्षणका लागि हो भनेर बुझे,
    नयाँ अफ्रिका बनाउने सपना बोकेर
    त्यो युद्धलाई एक ध्यान बनायो।

    “यत्र योगेश्वर: कृष्णो यत्र पार्थो धनुर्धरः।”
    जहाँ कृष्ण र अर्जुन छन्,
    त्यहाँ विजय निश्चित छ।
    तर विजय शक्तिले होइन,
    चित्तको स्थिरता र आत्मबलले आउँछ।
    त्यसैले कप्तान त्राओरे,
    तिमीले पनि चित्त स्थिर राख,
    जसरी कृष्णले अर्जुनलाई मार्गदर्शन गरे,
    तिमीले पनि आफ्ना जनतालाई मार्गदर्शन गर।

    युद्धको मैदानमा जब रक्तको खोलो बग्छ,
    त्यो खोलोमा आफ्ना स्वप्नहरू डुब्छन्।
    तर त्यो खोलो शुद्धि पनि हो,
    जहाँ लोभ, मोह र भय बगेर जान्छ।
    अन्ततः युद्ध केवल
    नयाँ बिहानको पुकार मात्र हो।

    त्राओरेका पाइला सुनेर
    घानाको आकाश गुञ्जियो,
    लाग्यो थॉमस सङ्कारा फर्किएर आए।
    लाग्यो हरेक कालो अनुहारमा
    आत्मसम्मानको नयाँ रङ लाग्यो।
    लाग्यो हरेक माताले आफ्ना छोराछोरीलाई
    फेरि स्वतन्त्रताको गीत सुनाउन पाइन्।

    “वसुधैव कुटुम्बकम्।”
    संसार एउटा परिवार हो।
    तर परिवारमा सबै सदस्यले
    स्वतन्त्रतासहित सम्मान पाउनुपर्छ।
    त्यसैले अफ्रिका उठ्छ, जाग्छ,
    स्वतन्त्रताको शंख फुक्छ,
    र साम्राज्यवादको विरुद्ध
    पृथ्वीमा शान्तिपूर्ण स्वराज्यको गीत गाउन थाल्छ।

    जुन दिन युद्ध जितिन्छ,
    त्यो दिन बन्दुक राखेर किताब खोल्नेछौं।
    त्यो दिन बन्दुकको आवाज बन्द हुनेछ,
    र गीतको आवाज गुञ्जिनेछ।
    त्यो दिन केवल अफ्रिकाको मात्र होइन,
    सम्पूर्ण मानवताका लागि
    एक नयाँ युग सुरु हुनेछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ आश्विन ५, आईतवार १९:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP