लघुकथा : “पिपलको छायाँमा”
तोमनाथ उप्रेती
मानराजाको पिपल रुखको छायाँमा एउटा सानो छाप्रो टलाएको थियो। जस्तापाताले छोपिएको त्यो घरमा बसेका थिए ६८ वर्षीय देवीराम र उनकी श्रीमती सुन्तली। तीन वर्ष भयो, उनीहरू यहीँ बस्दै आएका थिए।
म त्यहाँ पुगेँ। देवीराम चौपटसँग बसेर ढल्किएको सूर्य हेर्दै थिए। आँखामा जीवनका घाउ झल्किन्थे।
“यहाँ बस्न किन आएको?” मैले सोधेँ।
उनले गहिरो सास चुटे, “छोरा–बुहारीसँग मन मिलेन। जेठो बोल्दैन, कान्छो कहिलेकाहीँ आउँछ। घर छाडेर यता आएका हौं।”
म केही समय चुपचाप बसेँ। छाप्रो छोटो थियो, तर जीवन विशाल देखिन्थ्यो।
“तपाईंलाई बिमारी छ भने कसरी बस्नु?” मैले सोधेँ।
“फागुनमा मलाई प्यारालाइसिस हान्यो। डाँडाचिसका छिमेकीले तुलसीपुर लगे। घोराही, पैसा—सबै खर्च भयो। बुढी पनि बिरामी भयो। पैसा सकियो।” उनले हातले माथि उठाउँदै देखाए।
त्यो क्षणमा उनीहरूको संघर्ष, थकान, र धैर्य सबै झल्कियो।
“खाना कसरी चलाउँछौं?” मैले सोधेँ।
“ग्यास कहाँ पाउनु! दाउरा बाल्छौं। पिपलको रुखको हाँगा, मकै र तोरी। बाख्रापाठा पनि पाल्छौं। भोकै राख्न पाइँदैन।”
उनले हातले बाख्रापाठालाई पोस्दै देखाए। आँखामा ममता थियो।
“जीवन कस्तो लाग्छ?” मैले सोधेँ।
“जीवन मेला भर्ने चोला जस्तो हो। रमाइलो छ, तर एक दिन सुटुक्क जाने। बाँच्दा सन्तोषले भोक मेटायो भने पुग्छ।”
म प्रश्न राखेँ, “सन्तानसँग सम्बन्ध कस्तो छ?”
“सन्तान राम्रो होस् भन्ने चाहना थियो। जेठो बोल्दैन। कान्छो कहिलेकाहीँ आउँछ। हामी छोराबुहारीकहाँ शरण नजाने निर्णय गर्यौं। आफू जेजस्तो छौँ, उनीहरूको भलो चाहन्छौं।”
उनी हाँसे, तर आँखा नम्र थिए। “खुसी कहिले भयो? बिहेपछि। घर बनाउँदा। सन्तान हुर्काउँदा। तर अहिले… घर छाडेर आउनु पर्यो।”
राजनीति विषयमा उनले छोटकरीमा भने, “म नेता होइन। भोट कांग्रेसलाई दिन्छु। राजा वीरेन्द्र भद्र मन पर्छ। नेताहरू देख्दा लाग्छ, राजा चाहिन्छ। सत्य र इमानदारीसहित।”
छोटो छाप्रो, पिपलको छायाँ, मकै र बाख्रा, र दुई वृद्धको जीवन—साँझको सूर्य उनीहरूको अनुहारमा चम्किरहेको थियो। क्रियाशील जीवन, पीडा, धैर्य, र सन्तोष—सबै एउटै चौपारीमा मिश्रित।
देवीराम उठे। “जीवन यस्तो छ। बाँच्न पाए पुग्छ। खाना, पानी, र सानो आशा। अरू केही चाहिँदैन।”
म फर्किँदै थिएँ। पिपलको छायाँमा दुई वृद्ध बसिरहेका थिए—सरल, स्थिर, र आफ्नो जीवनसँग इमानदार। जीवन, यथार्थ र धैर्यले भरिएको।
प्रतिक्रिया