तोमनाथ उप्रेती
नैतिकता अक्सिजनजस्तै हो,
शक्तिको हिमाल चढ्दै जाँदा
हावामा यसको मात्रा घट्दै जान्छ,
शिखरमा पुग्दा शास फेर्न कठिन हुन्छ,
अनि मानिस सास फेर्ने बदलामा
अरूको सास काढ्न थाल्छ।
गाजाको भोकमरीमा लुटिएको रोटी
संसारको सिंहासनमा सगौरव राखिन्छ,
जहाँ सुनका चम्चाले रगत खान्छन्,
अनि गरिबका आँसुहरू
फुटेको कटोराबाट बग्दै जान्छन्।
धर्तीको घाउमाथि
बमका फूलहरू खसाइन्छ,
र शक्तिका राजकुमारहरू
धुवाँको माला लगाएर
शान्ति र समृद्धिको मन्त्र पढ्छन्।
तर, गाजाको नर्कमा
सुतिरहेको शिशुले
आफ्नो रित्तो पेट देखाएर
प्रश्न गर्छ—
“सत्ताले किन मेरो आँसु खायो?”
त्यो आँसुमा नैतिकताको ओस थियो,
त्यो ओस अब शुष्क भएको छ,
र, संसारको वायुमण्डल
कडा, गह्रौँ र अक्सिजनविहीन हुँदै गएको छ।
सत्ताका सिंहासनहरू
रगतको तालमा तैरिरहेका छन्,
र, शक्ति र स्वार्थको महासागरमा
मृतात्माहरूका चित्कारहरू
तरङ्ग बनेर हराउँछन्।
जब युद्ध रिपोर्ट गर्न कलम उठ्छ,
त्यसको मसी रगत हुन्छ,
र जब सत्य बोल्न ओठ खुल्छ,
त्यसलाई बारुदले बन्द गर्छ।
मानवता मर्नुअघि
आफ्नो मृत्युको गीत गाउन खोज्छ,
तर आवाज शून्यमा हराउँछ,
जसरी अक्सिजनविहीन उचाइमा
श्वास हराउँछ।
शक्ति–सत्ता–स्वार्थका ढकालमा
नैतिकता र सहानुभूति लडिरहेका छन्,
र गाजाका ध्वस्त अस्पतालहरूले
गवाही दिइरहेका छन्—
मानवता अझै मरेको छैन।
साँचो शक्तिले रगत पिउदैन,
साँचो शक्ति सहानुभूतिमा फुल्छ,
तर आज यो संसार
अक्सिजन बिना शिखर चढ्दैछ,
र, शिखरमा उभिएर
मानवता मृत शरीरजस्तै खसिरहेको छ।
यदि हामी अझै चेत्दैनौं,
अनि गाजाको मृत शिशुको रित्तो पेट नदेख्ने
अन्धकारको चश्मा फुकाल्दैनौं,
भोलि हामी नै
नैतिकता र मानवताको शून्य हावामा
सास फेर्न नसकेर मर्नेछौं।
प्रतिक्रिया