तोमनाथ उप्रेती
शासन चिसो भयो रे, बोल्न मनाही,
भने, “अब तिमीले केही नगर, बस याहीं।”
‘कुलिङ पिरियड’ आयो, सत्ताको नयाँ चलन,
क्रान्तिकारी चिया पिउँदै, रमाइरहेछ वाचन।
कुरा गरे ‘विकास’को, तर योजना निदायो,
नक्सा बनाए राति, विहान बजेट हरायो।
कागजमा कमिशन, ब्यानरमा देशभक्ति,
काम कम, क्यारिकेचर बढी—यो हो हामीको राजनीति।
कुलिङ पिरियडमा देशको तापक्रम घटाइँदै,
जनताको आवाज चिस्याएर सत्ताको चिया तताइँदै।
“हामी अध्ययन गरिरहेछौं” भन्ने हो मन्त्र,
तर अनुसन्धान ‘फाइल’मा, निर्णय ‘ड्राफ्ट’मा मात्र।
जनताको चुलोमा धुवाँ उड्दै छ भारी,
उता मन्त्रीज्यू चिसो कफीमा डुब्दै छन् नारी।
सञ्चारका सन्देशहरू ‘क्लासिफाइड’ बनाइए,
विकासका पोस्टरहरू ‘सुन्य प्रतिशत’ पुरा गराइए।
“पढिरहेका छौं” भनेर वर्षौं बितायो,
तर नीतिको गाईले अझै घाँस पाइन।
सम्भावनाहरू कर्फ्युमा छन्, सपना ‘इन-बक्स’मा,
राष्ट्रको भविश्य ‘वर्क इन प्रोग्रेस’ बक्समा।
श्रमिकहरू पसीना बगाइरहे—तर नीति छुट्टीमा,
ठेकदारहरू चियापसलमा—देशको जिम्मा छुट्टीमा।
‘सम्वेदनशील’ नीति बनाउनेहरूको संवेदना हरायो,
तथ्यको ठेगाना बिग्रियो, अध्ययन फाइलमा गुम्सियो।
पढ्न बाँकी, बुझ्न बाँकी, अझै सोच्ने बाँकी,
तर फेरि ‘वर्किङ्ग टुर’मा उडे मन्त्री पाखी।
प्रभाव मूल्याङ्कन ‘अपलोड हुँदैछ’, परिणाम ‘कागजमा’
र गरिबी हटाउने योजना अड्कियो ‘प्रस्तावमा।’
कुलिङ पिरियडमा सबै कुरा थन्क्याइन्छ,
उत्तरदायित्वको पाना ‘मुद्रणमा’ जान्छ।
कवि लेखिरहन्छ—भोकको व्यथा,
नेता पढ्छन्—उद्योगीको व्याख्या।
शिक्षा सुधारको ब्यानर च्यातिएको छ,
स्वास्थ्य नीति अस्पतालको ढोकामा सुतिरहेको छ।
‘वाटरफल मोडल’ भन्दै योजना बगाइयो,
तर जनता प्यासै-प्यास ओठमा फर्काइयो।
भूकम्प पचायो, महामारी चटायो,
तर अध्ययन टोली अझै पनि ‘डाटा’ खोज्दै छ।
‘सार्वजनिक सुनुवाइ’को सूचना झुन्डिएको छ—
तर सुन्ने कानहरू ‘विदेश भ्रमणमा’ छन्।
बजेट बन्यो फोटोकपीबाट,
तर विकासको सपना फोटोसम्म सीमित।
ठेक्का बुझ्न दौड, रिपोर्ट बुझ्न मौन,
शासन ब्यस्त छ, विश्लेषणमा व्यग्र,
तर नीति? त्यो त विश्राममा छ, चिसो कफी जस्तै।
श्रम, सीप र विज्ञान–ती सब राखियो ‘होल्ड’मा,
कुलिङ पिरियडमा निर्णय गयो ‘फोल्ड’मा।
अन्ततः, विकास न त हावामा छ,
न मन्त्रीको मुस्कानमा—
यो त ‘साहस’ र ‘कर्तव्य’को तापमा फल्ने फूल हो,
जसलाई चिस्याएर कहिल्यै राष्ट्र फुल्दैन।
प्रतिक्रिया