logo
  • २०८२ असार ३२ | Wed, 16 Jul 2025
  • ईर्ष्या : आत्मविस्मृति र समाजिक विकृति बीचको अदृश्य ज्वालामुखी

    ईर्ष्या : आत्मविस्मृति र समाजिक विकृति बीचको अदृश्य ज्वालामुखी

    तोमनाथ उप्रेती

    ईर्ष्या मानव मनोविज्ञानमा एक अदृश्य, तर प्रचण्ड शक्ति हो—यो आत्मा, चेतना र समाजबीचको सम्बन्धलाई विषाक्त बनाउने मनोवैज्ञानिक विकृति हो। जब व्यक्तिले आफूभन्दा अघि बढेका अरूको सफलता, समृद्धि वा सौन्दर्य देख्छ, ऊ आफूलाई तुलना गर्दै कुण्ठित बनाउँछ। यहींबाट उत्पत्ति हुन्छ– आत्मस्वीकृतिको क्षय, आत्मविस्मृति र असुरक्षाको बीजारोपण।

    तर्कको दृष्टिले, ईर्ष्या स्वतःस्फूर्त भावना होइन; यो सापेक्ष मूल्याङ्कनको उपज हो। प्रत्येक व्यक्तिको जीवन यात्रा, स्रोत, परिस्थिति र उद्देश्य फरक हुन्छन्। तथापि, हामीले अरूको उपलब्धिलाई आफ्नो असफलताको दर्पण ठान्छौं, जसबाट उत्पन्न हुन्छ मानसिक कुण्ठा। यहाँ हाम्रो तर्कदोष प्रकट हुन्छ—हामी दुई असमान कुरालाई समान मापनमा तुलना गर्छौं।

    ईर्ष्या प्रतिस्पर्धाको उत्प्रेरक नभई आत्मविनाशको संकेत हो। ईर्ष्याको मूल जड “म तुलनामा कमछु” भन्ने आत्मसंवाद हो, जसले हाम्रो आत्मसम्मानलाई भित्रैबाट क्षति पुर्‍याउँछ। यसले केवल सम्बन्धमा विष घोल्दैन, समग्र जीवनदर्शनमा नै विषमता ल्याउँछ। कसैको प्रगतिको प्रतिक्रियामा उत्पन्न हुने असन्तुष्टि यदि सकारात्मक क्रियामा रूपान्तरण भएन भने, त्यो द्वेषमा परिणत हुन्छ।

    धार्मिक र शास्त्रीय दृष्टिकोणमा समेत, ईर्ष्या ‘षड्दश्यु’ मध्ये एक हो—दया, शान्ति, सहिष्णुता जस्ता सद्गुणलाई लुट्ने मानसिक डाँकु। यो बाल्यकालदेखि बृद्धावस्थासम्म हाम्रो चेतनाभित्रको कोठामा लुकेर बस्ने ‘साँप’ हो, जसले समयअनुसार टोक्छ र नोक्सान पुर्‍याउँछ।

    संक्षेपमा, ईर्ष्या केवल भावना होइन, चेतनाको त्रुटिपूर्ण संरचना हो, जसलाई सही दृष्टिकोणद्वारा पुनर्निर्माण गर्न सकिन्छ। तुलना र तुच्छताको जेलबाट मुक्ति पाउन आत्मज्ञान र सकारात्मक सोच अपरिहार्य छन्। ईर्ष्या परित्याग मात्र होइन, सशक्त आत्मविकासको पहिचान हो। जसले अरूको प्रकाशमा अन्धकार देख्दैन, तर उज्यालोको सम्भावना देख्छ—ऊ नै वास्तवमा सफल छ।

    सम्बन्धमा ईष्याको उपस्थितिले प्रेमलाई नियन्त्रणमा, विश्वासलाई सन्देहमा र स्वतन्त्रतालाई अधिकारको आडमा कैद गर्न थाल्छ। यो त्यस्तो आगो हो, जसले प्रेमको मुहानलाई बिनाअनुमति सुकाउँछ। त्यो केवल मानवीय सम्बन्धमा होइन, पशुजन्य व्यवहारमा समेत स्पष्ट देखिन्छ—नयाँ सन्तानप्रति देखिने कुकुरको डाह, वा प्रियजनप्रति देखिने स्वामित्वको भावना, ईष्याको जैविक स्रोतको संकेत हो।

    ईष्यालाई नियन्त्रण नगरेसम्म मानसिक शान्तिको प्रवेश असम्भवजस्तै हुन्छ। त्यसैले, आत्म-स्वीकृति, प्रार्थना, योग, ध्यान, सकारात्मक दृष्टिकोण र धन्यवादभावको अभ्यासले मात्र यो गहिरो मनोविकारलाई रूपान्तरण गर्न सकिन्छ। भगवान श्रीकृष्णले गीता मा जस्तै भनेका छन्, “काम, क्रोध, लोभ नै नाशको मूल हुन्”—यी तीनैको मिलन बिन्दु हो ईष्या। यसले न त मित्रता टिकाउँछ, न सम्बन्ध बलियो बनाउँछ, न आत्मबल बढाउँछ।

    साँचो समाधान भनेको “ईष्याबाट उम्कनु” होइन, “ईष्यालाई बुझेर रूपान्तरण गर्नु” हो। जब ईष्या सद्गुणमा रूपान्तरित हुन्छ, तब त्यो प्रेरणा बन्छ; जब नबुझी दबाइन्छ, तब त्यो विष बन्छ। यसैले, हामी ईष्याबाट भाग्ने होइन, त्यसलाई बुझ्ने, रूप दिने र आत्मविकासको इन्धन बनाउने बाटो रोज्नुपर्छ। यही बाटोले मात्र मानसिक शान्ति, आत्मगौरव र साँचो मानवता सम्भव बनाउँछ।

    कहिले काँही केही यस्ता सत्यहरू हुन्छन्, जुन सुन्दा त अचम्म लाग्छ, तर बुझ्दा तिनको गहिराइ मनको आरम्भदेखि अन्तसम्म बगिरहेको हुन्छ। ईर्ष्या त्यहीँ एक रहस्यमय तर अत्यन्त प्रबल मनोभाव हो—जो न त पूर्णतः तिरस्कृत गर्न सकिन्छ, न पूर्णरूपेण अंगीकार। ईर्ष्या भनेको केवल अरूको सफलता, सम्बन्ध वा समृद्धिको प्रतिक्रिया होइन; यो आत्मगौरव र आत्मविश्वासको अवशेष, असुरक्षाको झिल्को र स्वीकारोक्तिको अभावको प्रतिविम्ब हो।

    ईर्ष्यालाई आम रूपमा नकारात्मक दोषको रूपमा चित्रण गरिन्छ, तर यसको उत्पत्ति र विकासको विश्लेषण गर्दा थाहा हुन्छ—ईर्ष्या केवल नष्ट गर्नु पर्ने विकार होइन, रूपान्तरण गर्न सकिने ऊर्जा पनि हो। कसैको जीवनको समृद्ध पक्ष देखेर मनमा उठ्ने ईर्ष्या यदि व्यक्तिमा आफूलाई सुधार्ने प्रेरणा बन्न सक्यो भने, त्यो आत्मगौरवको थालनी हो। तर, यदि त्यही भावना डाह, द्वेष, आक्रोश वा अविश्वासमा परिणत भयो भने त्यो आत्मविनाशको मार्ग हो।

    ईर्ष्याले सम्बन्धमा पनि जटिलता ल्याउँछ। जब मानिस प्रेम वा मित्रताको सम्बन्धमा हुन्छ र तेस्रो व्यक्ति प्रवेश गर्छ, तब ईर्ष्याले हाम्रो भावनात्मक दुनियाँलाई हल्लाइदिन्छ। यो केवल मानिसमा होइन, जनावरमा पनि देखिन्छ—कुकुरले घरमा नयाँ सन्तान आउँदा देखाउने असहज व्यवहार यसको प्रमाण हो। यस्ता क्षणहरूमा ईर्ष्या केवल भावना होइन, आत्मरक्षाको स्वाभाविक प्रतिक्रिया हो—तर त्यसलाई दमन होइन, समझदारीको रूपान्तरण आवश्यक हुन्छ।

    हामी जतिसुकै “ईर्ष्या नगर्नुहोस्” भन्ने उपदेश दोहोर्यायौं, व्यवहारमा भने यो त्याग्न कठिन छ। तर सजिलो उपाय हो—ईर्ष्या कसै व्यक्तिको होइन, विषयको गर्नुस्। कसैले लेखेको ज्ञानमूलक कृति देख्दा त्यो व्यक्तिलाई होइन, त्यो ज्ञानको गहिराइप्रति ईर्ष्या गर्नुहोस्। कसैले राम्रो सम्बन्ध बनाएको देख्दा त्यो व्यक्तिलाई होइन, त्यस सम्बन्धको परिपक्वतालाई ईर्ष्या गर्नुहोस्। यसरी ईर्ष्याको लक्ष्य रूपान्तरण गर्न सकियो भने त्यो प्रेरणाको आगो बन्न सक्छ, जसले आत्मविकासको बाटो देखाउँछ।

    मानसिक शान्ति भनेको मौनता मात्रै होइन, अन्तर्दृष्टिको समन्वय हो। जब व्यक्ति ईर्ष्याको प्रकृतिलाई आत्मचिन्तनद्वारा बुझ्न थाल्दछ, आत्म-स्वीकृतिको प्रकाशले त्यस मनोभावनालाई उज्यालो बनाउँछ। ध्यान, योग, सकारात्मक दृष्टिकोण र गहन संवाद—यी सबै साधन ईर्ष्यालाई व्यवस्थापन गर्ने औषधि हुन्। ईर्ष्या नगर्नु भन्दा, ईर्ष्यालाई बुझेर उचित मार्गमा मोड्नु धेरै बुद्धिमत्तापूर्ण विकल्प हो।

    श्रीमद्भगवद्गीता भन्छ– “काम, क्रोध र लोभ नरकका मूलद्वार हुन्”—तर मात्सर्य पनि तिनैको समकक्ष हो। जबसम्म ईर्ष्या आत्मशुद्धिको अभ्यासमा समाहित हुँदैन, तबसम्म मानसिक शान्ति एक भ्रममात्र रहन्छ। त्यसैले, ईर्ष्या र मानसिक शान्ति एकै सिक्काका दुई पाटाहरू हुन्—एउटालाई बुझेर मात्र अर्कोको प्राप्ति सम्भव हुन्छ। रूपान्तरण नै अन्ततः मुक्ति हो।

    जबसम्म हामी ईष्याको संरचना, उत्पत्ति र प्रवृत्तिलाई वैज्ञानिक, दार्शनिक र आध्यात्मिक दृष्टिबाट विश्लेषण गर्न सक्दैनौं, तबसम्म यो भावना हाम्रै जीवनको गोप्य निदेशक बनी रहन्छ। मनका तीन गुण (सत्त्व, रजस, तमस), चार कर्म (ध्यान, ज्ञान, सेवा, त्याग), पाँच विकार (काम, क्रोध, लोभ, मोह, मात्सर्य), र पाँच अवस्था (जाग्रत, स्वप्न, सुषुप्ति, तुरीय, तुरीयातीत) बुझ्नु, आत्मरूपी प्रकाशद्वारा अज्ञानको छायालाई उजागर गर्नु हो।आत्मबोध, ध्यान, योग, कृतज्ञता र सहिष्णुता—यी हुन् त्यो “मनको औषधि” जसले ईर्ष्यालाई रूपान्तरण गर्न सक्छ। जब व्यक्तिले अरूको सफलता देख्दा पीडित होइन, प्रेरित हुने आँखा विकास गर्छ, तब मानसिक शान्तिको ढोका खुल्छ। व्यक्तिले बुझ्नुपर्छ—समान लक्ष्य भए पनि यात्रा फरक हुन सक्छ। त्यसैले, आत्मस्वीकृति नै ईर्ष्याको असली उपचार हो।

    [email protected]

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ५, बिहीबार २२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP