मानवीय चेतना, अध्यात्म र न्यायपूर्ण शासन
तोमनाथ उप्रेती
उपसचिव ,नेपाल सरकार
न्यायपूर्ण लोकतन्त्रले मानवीय चेतना र अध्यात्मको गहिरो समन्वय आवश्यक पर्छ। चेतना बरु विवेक, करुणा, सहिष्णुता, आत्मनिरीक्षण र समाजप्रतिको उत्तरदायित्वको विकास हो। जब नागरिक र शासक दुवैमा उच्च चेतना र नैतिक समझ विकसित हुन्छ, तब मात्र न्यायपूर्ण निर्णय, पारदर्शिता र समावेशी शासन सम्भव हुन्छ।
वर्तमान समयमा प्रविधिको चरम विकास, विज्ञानको प्रगति र आधुनिक जीवनशैलीको विस्तारसँगै विश्वका अधिकांश समाजमा मानवीय चेतना र नैतिक मूल्यको स्तर कमजोर हुँदै गएको छ। मानव भएर जन्मिएपछि मानवता प्रदर्शन गर्नु सबैको दायित्व हो, तर यो पक्षलाई समाजले बुझ्न नपाएकोले मानवीय मूल्य ह्रास हुँदै गएको छ। नेपाली समाजमा यो अवस्था विशेष गरी प्रष्ट देखिन्छ। सामाजिक संरचना खलबलिँदै गएको छ, केही वर्गले व्यक्तिगत स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मक दिशातर्फ डोर्याउने प्रयास गरिरहेका छन्। धर्म वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज र राष्ट्र दुवैलाई असर पुर्याउँछ। यस अवस्थामा उचित शिक्षा र चेतनाको माध्यमबाट समाजलाई सकारात्मक सोचको धनी बनाउनु अत्यावश्यक छ।
मानवीय मूल्यमा विश्वास, बुद्धि, विवेक, चेतना, आदर, प्रेम, स्नेह, करुणा र सत्कारजस्ता गुणहरू समावेश हुन्छन्। यसले व्यक्तिलाई आफ्नै हितमा सीमित नराखी सम्पूर्ण मानव जातिको कल्याणतर्फ प्रेरित गर्छ। वसुधैव कुटुम्बकम् र सर्वे भवन्तु सुखिनः जस्ता पुराणिक मन्तव्यहरूले मानवजातिलाई सर्वजनहित र करुणामुखी दृष्टिकोण अपनाउन शिक्षा दिएका छन्। महाभारतमा युधिष्ठिरले शासन गर्दा शक्ति भन्दा धर्म र नैतिकतामा विश्वास गरे, जसले उनलाई धर्मराजको रूपमा प्रतिष्ठा दिलायो। यही दृष्टान्तले देखाउँछ कि नेतृत्वमा नैतिकता र मानवीय मूल्यको अनुपालनले मात्र न्यायपूर्ण शासन सम्भव हुन्छ।
लोकतन्त्र कानुन र संस्थागत संरचनामा सीमित छैन; यसलाई प्राण दिने शक्ति मानव चेतना र अध्यात्म हो। जस्तै आत्माविहीन शरीर निर्जीव हुन्छ, त्यस्तै अध्यात्मविहीन लोकतन्त्र औपचारिकता बन्छ। उपनिषद् भन्छ – “सर्वं खल्विदं ब्रह्म” अर्थात् सम्पूर्ण अस्तित्व नै दिव्य चेतनामा आधारित छ। जब नागरिक, नेतृत्व र प्रशासन यही चेतनामा आधारित मूल्य अपनाउँछन्, तब निर्णयहरू स्वार्थमा नभई सर्वजनहितमा केन्द्रित हुन्छन्। रामायणमा रामले व्यक्तिगत पीडाभन्दा बढी सामूहिक धर्म र न्यायलाई प्राथमिकता दिएका थिए; यसले लोकतान्त्रिक नेतृत्वमा सहिष्णुता, नैतिकता र जनहितलाई सर्वोपरि राख्ने शिक्षालाई प्रतिबिम्बित गर्छ।
शिक्षा, चेतना र अध्यात्मको संयोजनले नागरिकलाई अधिकार र कर्तव्य बुझाउने मात्र होइन, उनीहरूमा सहअस्तित्व, करुणा, मैत्रीभाव र सामाजिक उत्तरदायित्व जागृत गर्छ। मानव मूल्यमा आधारित शिक्षा व्यक्तिलाई प्रकृति, वातावरण र सम्पूर्ण जीवनसृष्टीप्रति संयमित दृष्टिकोण सिकाउँछ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भन्ने शास्वत मन्तव्यले यसै भावनालाई पुष्टि गर्छ। यही चेतना र अध्यात्म लोकतन्त्रलाई न्यायपूर्ण र मानवकेन्द्रित बनाउने आधार हो।मानवीय चेतना, नैतिकता र अध्यात्मले लोकतन्त्रलाई शासन संरचना नभई जीवित, न्यायपूर्ण, करुणामय र दिगो प्रणालीमा परिणत गर्छ। जब नागरिक सचेत, नेतृत्व नैतिक र समाज अध्यात्मिक मूल्यप्रति संवेदनशील हुन्छ, तब लोकतन्त्रका प्रत्येक निर्णयले सम्पूर्ण समाज र राष्ट्रको उत्थानमा योगदान पुर्याउँछ।
लोकतन्त्रमा चेतना नागरिकको जागरूकता, सहभागिता र प्रश्न गर्ने शक्ति हो। जब जनता मौन बस्छन्, तब शासक निरंकुश हुन्छन्; जब जनता सचेत हुन्छन्, तब शासन पारदर्शी हुन्छ। त्यसैले मानवीय चेतना लोकतन्त्रको जीवन–रेखा हो।लोकतन्त्रको वास्तविक सौन्दर्य नैतिक आचरणमा टेकेको हुन्छ। यदि शासनकर्तामा लोभ, क्रोध र स्वार्थ छ भने, त्यो लोकतन्त्र होइन—त्यो छलावा हो। महाभारतमा युधिष्ठिरलाई धर्मराज भनिनु यत्ति कारण हो कि उहाँले शक्ति होइन, नैतिकता र सत्यलाई शासनको आधार बनाए।
नैतिकता व्यक्तिगत सद्गुण मात्र होइन, बरु सामूहिक जीवनलाई शुद्ध बनाउने ऊर्जा हो। पारदर्शिता, जवाफदेहिता, समानता र करुणा जस्ता मूल्यहरू बिना लोकतन्त्र अधुरो हुन्छ। जब प्रशासक वा राजनीतिज्ञहरूले नैतिक मूल्यलाई अंगाल्छन्, तब मात्र लोकतन्त्र नागरिकको हितमा फुल्न सक्छ।अध्यात्म कुनै संकुचित धार्मिक आस्था होइन, बरु आत्मज्ञानको यात्रा हो। अध्यात्मले सिकाउँछ—मानव शरीर होइन, ऊ आत्मा हो; र आत्मा समान छ, जात, वर्ग वा सम्पत्तिको भेदभावभन्दा माथि। यही दृष्टि लोकतन्त्रलाई सर्वसमावेशी बनाउँछ।
आजको लोकतन्त्रमा मानवीय चेतना निदाएको छ, नैतिकता भ्रष्टाचारले ढाकेको छ, र अध्यात्म उपभोगवादले छायाँमा पारेको छ। दलगत राजनीति, पदलोभ, र सत्ता–संघर्षले लोकतन्त्रलाई औपचारिक संरचना बनाइदिएको छ।तर, जब नागरिक चेतनशील हुन्छन्, भ्रष्टाचारविरुद्ध आवाज उठाउँछन्, शासकहरूलाई जवाफदेह बनाउन खोज्छन्, तब लोकतन्त्रमा पुनः आत्मा प्रवेश गर्छ। यो नै अध्यात्म, नैतिकता र चेतनाको संगम हो—न्यायपूर्ण समाज निर्माणको मार्ग।
लोकतन्त्रलाई न्यायपूर्ण र दिगो बनाउने आधार नागरिकको चेतना, नैतिक नेतृत्व, अध्यात्मिक संस्कार र सक्रिय जनसहभागिता हो। पहिलो उपाय शिक्षा र चेतना जागरण हो। औपचारिक शिक्षा मात्र पर्याप्त छैन; नागरिकलाई लोकतान्त्रिक मूल्य, अधिकार–कर्तव्य, समानता र पारदर्शिताबारे सचेत बनाउने शिक्षाले उनीहरूलाई शासनको वास्तविक भागीदार बनाउँछ। जब नागरिक आफ्नो अधिकार र जिम्मेवारीलाई बुझ्छन्, तब उनीहरू स्वतन्त्र रूपमा निर्णय गर्न सक्षम हुन्छन् र भ्रष्टाचार, निरंकुशता वा सामाजिक असमानताविरुद्ध आवाज उठाउन सक्छन्। दोस्रो, नैतिक नेतृत्व लोकतन्त्रको मेरुदण्ड हो। शासक र प्रशासकहरूले धर्म, सत्य र पारदर्शितामा आधारित निर्णय लिँदा मात्र नीति जनहितमा केन्द्रित रहन्छ र शासनमा विश्वासको वातावरण निर्माण हुन्छ। नैतिक नेतृत्वले शक्ति प्रदर्शन मात्र होइन, सेवा भावना र जिम्मेवारीको मूल्य स्थापित गर्छ। तेस्रो, अध्यात्मिक संस्कारले समाजमा सहअस्तित्व, करुणा र आत्मज्ञानको मूल्य प्रवर्द्धन गर्छ। जब नेता, कर्मचारी र नागरिक आत्मज्ञान र करुणामुखी दृष्टिकोण अपनाउँछन्, तब कानून र नियममा सीमित नरहेर सामाजिक न्याय र समानता सुनिश्चित हुन्छ। अन्ततः, जनसहभागिता लोकतन्त्रको जीवन–रेखा हो। नागरिक निर्वाचनमा मत दिने सीमित भूमिकामा सिमित हुँदैनन्; उनीहरूले नीति निर्माण, कार्यक्रम मूल्यांकन र समाज सुधारमा निरन्तर सक्रिय भूमिका खेल्नुपर्छ। शिक्षा, नैतिकता, अध्यात्म र सहभागिताको समिश्रणले मात्र लोकतन्त्रलाई सतत, न्यायपूर्ण र मानवकेन्द्रित बनाउँछ। यसले शासनलाई औपचारिक संरचना नभई नागरिकको साझा चेतना र मूल्यबाट सञ्चालित जीवन्त प्रणालीमा परिणत गर्छ।
लोकतन्त्र संस्थागत व्यवस्था होइन, यो आत्मीय जीवन–शैली हो। जब यसमा मानवीय चेतना, नैतिक मूल्य र अध्यात्म मिसिन्छ, तब लोकतन्त्र शासन प्रणाली मात्र होइन, न्यायपूर्ण, करुणामय र दिगो समाज निर्माणको साधन बन्छ।यसरी, मानवीय चेतना र अध्यात्म लोकतन्त्रका लागि सूर्यका किरणजस्तै हुन्—जसले अन्धकार हटाएर न्यायको उज्यालो ल्याउँछ।
पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ ।
समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ । व्यक्तिको मुल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ । सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ । समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थाहरुलाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्दछ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ ।
शिक्षा मानव मूल्यको अभिवृद्धि गर्ने प्रक्रिया हो। सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाजस्ता मानवीय मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र अरूमाझ उत्साहपूर्वक फैलाउने व्यक्ति नै वास्तविक शिक्षित व्यक्ति हो। नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थको प्रयोग, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण र भ्रष्टाचार जस्ता विकृतिहरूको वृद्धि शिक्षा प्रणालीको अभावबाटै उत्पन्न भएको देखिन्छ। वर्तमान शिक्षाले भाषा र अवधारणा सिकाए पनि जीवनलाई सन्तुलित बनाउने, सह-अस्तित्व र मानवीय मूल्य अपनाउने कला सिकाउन सकेको छैन। आजको शिक्षा दिमागलाई केवल किताबी ज्ञानले भराउने, परीक्षा भवनमा खन्याउने र घर फर्कँदा खाली हुने प्रक्रियामा सीमित छ।
सुन्दर जीवनको परिकल्पना मानव मूल्यमा आधारित शिक्षा हो। यसले मानिसलाई जीवनका कठिन क्षणहरूमा शान्त, सौम्य र संयमित रहन सिकाउँछ। जीवन संघर्ष र असफलतामा पनि निराश नहुने, फेरि उठेर अघि बढ्ने क्षमता यही शिक्षाले दिन्छ। अहिले शिक्षा धेरैजसो व्यापारिक दृष्टिले बिक्रीको सामान बनेको छ; विश्वव्यापी रूपमा यसको व्यापार र मानव यन्त्र निर्माण गर्ने कारखाना सञ्चालन भइरहेका छन्। अबको वास्तविक युद्ध मानवीय मूल्य र अस्तित्व रक्षा पक्षधर तथा मानव यन्त्र निर्माण पक्षधरबीच हुनेछ। यस युद्धमा मानव मूल्यको पक्षमा दृढ रहनु अत्यावश्यक छ।
अध्यात्मवादले आत्मालाई सर्वपरी र ब्रह्माण्डको मूल मान्दछ। यसको माध्यमबाट व्यक्तिले जीवनका उद्देश्य, कर्तव्य र आत्मज्ञान खोज्छ। अध्यात्मवादले मानिसको मानसिक, भौतिक र आध्यात्मिक पक्षलाई समन्वय गर्दै जीवनलाई अर्थपूर्ण बनाउँछ। यसले मानिसलाई सत्य, धर्म, शान्ति र मानव मूल्यको साथ जीवन यापन गर्ने प्रेरणा दिन्छ। आध्यात्मिक अभ्यासले सहिष्णुता, करुणा, समानुभूति र सहयोगी भावना विकास गर्न मद्दत पुर्याउँछ।
अध्यात्मले चेतनालाई शुद्ध र स्थिर बनाउँछ। योग, ध्यान, आत्मसाक्षात्कार र सत्कर्मका अभ्यासहरूले व्यक्ति आफ्नो अहंकार, लोभ, द्वेष र मोहबाट मुक्त हुन्छ। शुद्ध चेतनाले मात्र व्यक्ति आफ्नो अधिकार र कर्तव्यको सही मूल्य बुझ्छ र समाजमा न्याय, समानता र सहिष्णुता प्रवर्धन गर्न सक्षम हुन्छ। पूर्वीय दर्शनका ग्रन्थहरूले चेतना र अध्यात्मलाई जीवनको मार्गदर्शन शक्ति मानेका छन्, जसले राज्यका शासकलाई केवल शक्ति प्रयोग गर्ने होइन, नागरिकको भलाइ र समाजको दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्यमा केन्द्रित बनाउँछ।
न्यायपूर्ण शासनको आधार नै व्यक्तिगत र सामाजिक चेतना हो। जब शासक र नागरिक दुवैले नैतिक मूल्य, सहिष्णुता र करुणालाई आत्मसात् गर्छन्, तब भ्रष्टाचार, असमानता र अन्याय कम हुन्छ। नागरिकको चेतनाले मात्र सरकारको नीति र निर्णयलाई प्रभावकारी बनाउँछ। यसर्थ, लोकतन्त्रको सच्चा स्वास्थ्य अध्यात्म र मानवीय चेतनाको स्तरसँग प्रत्यक्ष सम्बन्धित हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया