logo
  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • कविताःघण्टीको गणतन्त्र 

    कविताःघण्टीको गणतन्त्र 

    कविताःघण्टीको गणतन्त्र 

     

    तोमनाथ उप्रेती,

     

    काठमाडौंको आकाशमा

    आजकल एउटा ठूलो घण्टी झुण्डिएको छ।

    बज्दा

    बादलहरू पनि चकित हुन्छन्

    सिंहदरबारका झ्यालहरू डराउँछन्

    पुराना नेताहरूको निद्रा

    अचानक संसद्को प्रश्नकाल जस्तै टुट्छ।

    हिजोका सिंहहरू

    आजकल मुसा बनेर

    दलका पुराना पोस्टरभित्र लुकेका छन्।

    उनीहरू भन्छन्

    हामी त विचारधाराका बाघ हौँ।

    तर जनताले देख्छन्

    दूधको भाँडो चोर्ने बिरालो मात्र।

    जेन–जीको सडक

    एकदिन ज्वालामुखी बन्यो

    फेसबुकका स्टाटसहरू

    बिजुलीका चट्याङ बने

    र ट्वीटरका ह्यासट्यागहरूले

    सिंहदरबारको ढोका ढक्ढक्याए।

    त्यसपछि

    मतपेटिका भित्र

    जनताको रिस

    धेरै वर्ष पुरानो भाँडो जस्तै

    ढकनी उचालेर उम्लियो।

    एक वृद्धा

    मतपत्रमा आँखा झुकाउँदै सोध्छिन्

    ए बाबु, घण्टी कत छै ?

    सुरक्षाकर्मी मुस्कुराउँछ

    देशैभरि त बजिरहेछ

    कागजमा खोज्नु किन ?

    अब संसद

    एक ठूलो नाटकघर जस्तो छ

    कसैले संविधान पढ्छ

    कसैले बजेट

    कसैले मोबाइलमा टिकटक।

    नयाँ सांसदहरू

    सपना बोकेर आएका छन्

    कोही प्रोग्रामर

    कोही अभियन्ता

    कोही युट्युबर

    उनीहरू भन्छन्

    हामी सिस्टम अपडेट गर्छौं।

    तर पुरानो कर्मचारीतन्त्र

    विन्डोज एक्सपि जस्तो छ

    बुट हुनै आधा घण्टा लाग्छ।

    बाहिर जनता

    अझै पर्खिरहेका छन्

    रोजगारीको खेत

    आशाको पसल

    स्वदेश फर्कने बाटो

    घण्टी बजेको छ

    तर प्रश्न अझै बाँकी छ

    यो मन्दिरको आरती हो ?

    कि अलार्म घडी ?

    यदि आरती हो भने

    देशले शान्ति पाउनेछ।

    यदि अलार्म हो भने

    जनता फेरि उठ्नेछन्

    र इतिहासको अर्को बिहान

    सडकले नै लेख्नेछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख ३, बिहीबार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP