अज्ञानले निर्माण गरेको अहंकारको महल
तोमनाथ उप्रेती
मानिसको सबैभन्दा ठूलो शत्रु बाहिर छैन। ऊ आफ्नै चेतनाभित्र लुकेको हुन्छ। त्यो शत्रुको नाम हो अज्ञान। अज्ञान सत्यलाई अस्वीकार गर्ने मानसिक अवस्था हो। जब अज्ञानले चेतनामाथि अधिकार जमाउँछ, त्यसले एउटा अदृश्य महल निर्माण गर्छ। त्यस महलका इँटा भ्रमका हुन्छन्, गारो मोहको हुन्छ, झ्याल पूर्वाग्रहका हुन्छन् र त्यसको सिंहासनमा अहंकार बसेको हुन्छ। त्यहाँ सत्यलाई प्रवेश निषेध हुन्छ। विवेकलाई कैद गरिन्छ। आत्मज्ञानलाई निर्वासित गरिन्छ।
अहंकार वास्तवमा कुनै शक्ति होइन। यो अज्ञानको सबैभन्दा सुन्दर भेष मात्र हो। मानिस जति कम जान्दछ, उति धेरै आफूलाई सबै जान्ने ठान्न थाल्छ। यही कारणले संसारका अधिकांश द्वन्द्व ज्ञानका कारण होइन, अज्ञानका कारण उत्पन्न भएका छन्। जब चेतनाले सीमित अनुभवलाई सम्पूर्ण सत्य ठान्छ, त्यहीँबाट अहंकारको महल निर्माण हुन थाल्छ।उपनिषद्ले अज्ञानलाई सबै बन्धनको मूल कारण मानेको छ। “अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते” भन्ने मन्त्रले स्पष्ट संकेत गर्छ कि अविद्याले मानिसलाई मृत्यु अर्थात् आध्यात्मिक अन्धकारमा राख्छ, जबकि विद्याले अमृतत्वको अनुभूति गराउँछ। यहाँ मृत्युको अर्थ केवल शारीरिक अन्त्य होइन; सत्यबाट विच्छेद भएको चेतनाको अवस्था पनि हो। अज्ञानले मानिसलाई आफ्नो वास्तविक स्वरूप बिर्साउँछ। त्यसपछि ऊ शरीरलाई नै आत्मा ठान्छ, पदलाई पहिचान ठान्छ, सम्पत्तिलाई सफलता ठान्छ र प्रशंसालाई सत्य ठान्छ।
भगवद्गीतामा भगवान् श्रीकृष्णले अज्ञानलाई माया र अहंकारसँग जोडेर व्याख्या गर्नुहुन्छ। जब मनुष्य “म नै कर्ता हुँ” भन्ने भावमा बाँच्छ, उसले प्रकृतिको नियम, ईश्वरको योजना र कर्मको गहिराइ बुझ्न सक्दैन। गीता अनुसार वास्तविक ज्ञानी आफूलाई केन्द्र होइन, ब्रह्माण्डको एउटा उत्तरदायी अंशका रूपमा देख्छ। अज्ञानी भने संसारलाई आफ्नै इच्छाको विस्तार ठान्छ। यही दृष्टिभ्रम नै अहंकारको आधारशिला हो।बौद्ध दर्शनले पनि अविद्यालाई द्वादश निदानको पहिलो कडी मानेको छ। अविद्याबाट संस्कार उत्पन्न हुन्छ, संस्कारबाट विज्ञान, र अन्ततः दुःखको अनन्त चक्र। बुद्धका अनुसार अहंकार कुनै स्थायी सत्ता होइन। यो केवल “म” भन्ने कल्पनाको निरन्तर दोहोरिएको अभ्यास हो। जब “म” को मिथ्या अवधारणा भत्किन्छ, अहंकारको सम्पूर्ण महल एकैक्षणमा ढल्न सक्छ।
जैन दर्शनमा मोहनीय कर्मलाई आत्माको सबैभन्दा ठूलो आवरण भनिएको छ। जबसम्म मोह, मान, माया र लोभ हट्दैनन्, तबसम्म आत्मा आफ्नो शुद्ध स्वरूपमा प्रकट हुन सक्दैन। यहाँ अहंकारलाई आत्मिक उन्नतिको सबैभन्दा ठूलो अवरोधका रूपमा हेरिएको छ।पश्चिमी दर्शन पनि यस विषयमा मौन छैन। सुकरातको प्रसिद्ध भनाइ—”म यति मात्र जान्दछु कि म केही जान्दिनँ”—ज्ञानको सर्वोच्च विनम्रता हो। ज्ञानको आरम्भ आफ्नै सीमितताको स्वीकारबाट हुन्छ। जो आफूलाई पूर्ण ठान्छ, उसले सिक्ने सबै ढोका बन्द गरिसकेको हुन्छ।
प्लेटोको गुफाको रूपकमा कैदीहरूले छायाँलाई नै सत्य ठान्छन्। जब कोही बाहिर निस्केर वास्तविक प्रकाश देख्छ, फर्केर सत्य सुनाउँदा उसैलाई अस्वीकार गरिन्छ। यो आजको समाजको पनि यथार्थ हो। अज्ञानको महलभित्र बस्ने मानिसलाई सत्य असहज लाग्छ, किनकि सत्यले उसको बनावटी सिंहासन हल्लाइदिन्छ।अरस्तुले चरित्र निर्माणमा विवेकलाई केन्द्रमा राखे। उनका अनुसार अतिशय आत्मविश्वास पनि अविवेकको रूप हुन सक्छ। नैतिक उत्कृष्टता सन्तुलनमा हुन्छ, अहंकारमा होइन।इमानुएल कान्टले मानिसलाई साधन होइन, उद्देश्यका रूपमा हेर्न सिकाए। तर अहंकारी चेतनाले अरूलाई केवल आफ्ना स्वार्थ पूरा गर्ने उपकरण बनाउँछ। यहीँबाट नैतिक पतन सुरु हुन्छ।आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई समर्थन गर्छ। डनिङ–क्रुगर प्रभाव अनुसार सीमित क्षमता भएका व्यक्तिहरू आफ्नै क्षमताको अत्यधिक मूल्याङ्कन गर्छन्, जबकि वास्तविक विशेषज्ञहरू आफ्ना सीमाहरूलाई अझ स्पष्ट रूपमा बुझ्छन्। यसको अर्थ ज्ञानले विनम्रता ल्याउँछ; अज्ञानले घमण्ड।
आजको डिजिटल युगमा अज्ञानको महल झन् विशाल बन्दै गएको छ। सामाजिक सञ्जालले सूचनाको बाढी त ल्याएको छ, तर विवेकको गहिराइ होइन। मानिसहरू शीर्षक पढेर विशेषज्ञ बन्छन्, अफवाहलाई तथ्य ठान्छन्, अनुयायीको सङ्ख्यालाई सत्यको प्रमाण मान्छन्। एल्गोरिद्मले हाम्रो पूर्वाग्रहलाई नै पोषण गर्छ। परिणामतः प्रत्येक व्यक्तिले आफ्नै विचारको महल निर्माण गर्छ, जहाँ फरक मतलाई शत्रुका रूपमा चित्रण गरिन्छ।राजनीतिमा यो महल झन् खतरनाक हुन्छ। जब नेतृत्व आत्मालोचनाबाट टाढा जान्छ, संस्थाभन्दा व्यक्तिलाई ठूलो मान्छ, आलोचनालाई देशद्रोह ठान्छ र आफ्नै निर्णयलाई अन्तिम सत्य घोषित गर्छ, त्यहाँ लोकतन्त्र कमजोर हुन्छ। इतिहासका अधिकांश निरंकुश शासनहरूको जरा अज्ञान र अहंकारको यही गठबन्धनमा रहेको पाइन्छ।
धर्ममा पनि यही समस्या देखिन्छ। धर्मले मानिसलाई सत्यतर्फ लैजानुपर्ने हो। तर जब धर्म नै अहंकारको साधन बन्छ, सम्प्रदाय श्रेष्ठताको प्रतियोगिता सुरु हुन्छ। आध्यात्मिकता हराउँछ, कर्मकाण्ड मात्र बाँकी रहन्छ। ईश्वरको खोजीभन्दा आफ्नै समूहको विजय महत्वपूर्ण ठहरिन्छ। यो धर्म होइन; अज्ञानले धर्मको आवरण ओढेको अवस्था हो।परिवारमा अहंकारले संवाद मार्छ। “म कहिल्यै गलत हुन सक्दिनँ” भन्ने भावना सम्बन्धको सबैभन्दा ठूलो विष हो। शिक्षा क्षेत्रमा यसले अनुसन्धानको ढोका बन्द गर्छ। विज्ञानमा यसले नवीन खोजलाई रोक्छ। प्रशासनमा यसले भ्रष्टाचारलाई वैध ठान्न थाल्छ। समाजमा यसले विभाजन, घृणा र हिंसाको बीजारोपण गर्छ।
अहंकार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो । अहंकार अज्ञान हो, किनभने यो व्यक्तिलाई आफ्नो साँचो स्वरूपबाट टाढा लैजान्छ। जसले आफ्नो आत्मा र वास्तविक अस्तित्वलाई बिर्सन्छ,उसले अहंकार पाल्न थाल्छ। यो अज्ञानता नै व्यक्ति भित्र घमण्ड, स्वार्थ र आत्ममोह उत्पन्न गराउँछ। अहंकार आसुरी गुण हो, जसले मानिसलाई क्रोध, द्वेष, ईर्ष्या र हिंसातर्फ प्रेरित गर्छ। जब अहंकार बढ्छ, तब विवेक मर्छ र व्यक्ति गलत निर्णयहरू गर्न थाल्छ। यसको परिणाम विनाशमा हुन्छ । व्यक्तिगत सम्बन्धहरू बिग्रिन्छन्, सामाजिक सम्मान हराउँछ र अन्ततः जीवन असफलतामा पुग्छ।अहंकारले व्यक्तिको आन्तरिक शान्ति र सदाचारलाई नष्ट गर्छ। जसरी रावण र दुर्योधनजस्ता पात्रहरूको अहंकारले उनीहरूको पतन निम्त्यायो, त्यसरी नै आज पनि जो अहंकारमा डुब्छ,ऊ पतनको दिशामा अघि बढ्छ। त्यसैले अहंकारलाई त्यागेर विनम्रता, प्रेम र करुणालाई अंगाल्नुपर्छ, ताकि आत्मज्ञान र साँचो सफलताको मार्ग खुलोस्।
मानिस जस्तोसुकै शक्तिशाली किन नहोस्, जस्तोसुकै ज्ञानी, तपस्वी,निस्वार्थी त्यागी किन नहोस् यदि अहंकारलाई काबुमा राख्नबाट चुक्यो भने उसको पतन निश्चित छ । पौराणिक इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । भस्मासुर, शुम्भ निशुम्भ, रावण, सबै वरदानी, शक्तिशाली भएर पनि अहंकारका कारण पतन भएका पौराणिक कथामा उल्लेखित अहंकारी पात्रहरू हुन् । धार्मिक मान्यताअनुसार पनि त्रेतायुगमा भएको रामायण युद्ध रावणको अहंकारले गर्दा भयो ।त्यसैगरी द्धापरयुगमा भएको महाभारत युद्ध पनि दूर्योधनको अहंकारको कारणबाटै हुन पुगेको मान्न सकिन्छ । महाभारतमा चेडी देशका नरेश शिशुपाल, अहंकारको कारण कृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्यकश्यप जस्ता दैत्यहरू वरदानी भएर पनि अन्त भए । यी पौराणिक तथ्यहरू चाहे वास्तविक घटना हुन् चाहे कोही विद्वानले बनाएका कथा हुन् । दुःखको कारण अहंकार हो भन्ने सन्देश दिन्छन् ।
अहंकार व्यक्तिको मनको सर्वोच्च स्वामित्व र घमण्ड हो, जसले उसको विवेक र बुद्धिलाई अपहृत गर्न सक्छ। अहंकारको प्रभावले मानिसलाई विनाशको बाटोमा पुर्याउँछ। स्वाभिमान भनेको आत्मसम्मान र आत्मगौरव हो,जुन व्यक्तिको आत्मविश्वास र शान्तिको स्रोत हो। अहंकार भनेको अरुलाई कमजोर देख्नु र आफूलाई सर्वश्रेष्ठ मान्नु हो। जब व्यक्ति आफ्नो क्षमतामा मात्र केन्द्रित भएर अरुलाई थर्काउने प्रयास गर्छ, तब अहंकार उत्पन्न हुन्छ।अहंकार, क्रोध, मोह, लोभ र दम्भका कारण मानिसको जीवनमा अनेकौं समस्याहरू उत्पन्न हुन्छन्। अहंकारले मानिसलाई जस्तो पनि प्रतिक्रिया दिन प्रेरित गर्छ र समाजमा शत्रुतापूर्ण व्यवहारलाई जन्म दिन्छ। यसले बुद्धि र विवेकको हानि गर्छ र जनतालाई धोका दिन सक्छ। जब अहंकार बढ्छ, मानिस आफ्नो आलोचना सहन सक्दैन र आफ्ना कार्यहरूमा उच्चता र श्रेष्ठता देखाउन चाहन्छ।
प्रेम, मैत्री र करुणा जस्ता सकारात्मक भावनाहरूलाई बढाएर अहंकारलाई नष्ट गर्न सकिन्छ। जब व्यक्ति निष्कपट प्रेम र सच्चा मित्रताको भावना बोकेको हुन्छ, तब उसमा आफ्नो श्रेष्ठता देखाउने प्रवृत्ति हराउन थाल्छ।करुणाले अरूको पीडामा संवेदना जगाउँछ र अहंकारको कठोरता पगाल्छ। यस्ता सद्गुणहरूले मानिसलाई विनम्र, सहिष्णु र दयालु बनाउँछन्, जसले आत्मज्ञानको मार्ग सहज बनाउँछ। अहंकार, क्रोध र मोह प्राकृतिक रूपमा मानव जीवनमा देखा पर्छन्, किनभने यी भावनाहरू जन्मजात छन्। तर, जसले यी विकारहरूलाई नियन्त्रण गर्न जान्छ, उही व्यक्ति साँचो सुख, शान्ति र प्रगतिमा अघि बढ्न सक्छ। आफ्नो मनलाई नियन्त्रणमा राख्न साधना, ध्यान र आत्मचिन्तन अति आवश्यक छ। जब व्यक्ति आफ्ना भावना र इच्छालाई सन्तुलित गर्न सिक्छ, तब ऊ आध्यात्मिक रूपमा समृद्ध हुन्छ र जीवनको साँचो लक्ष्यतर्फ अग्रसर हुन्छ। यसैले, प्रेम, मैत्री र करुणाको अभ्यासले अहंकारमुक्त जीवन सम्भव हुन्छ।अहंकार र अज्ञानता एक प्रकारको मनोवैज्ञानिक बन्दी जस्तो हुन्छ।व्यक्ति स्वतन्त्र छ जस्तो देखिए पनि भित्रभित्रै आफ्नो पूर्वाग्रह, डर र असुरक्षाले नियन्त्रण गरिरहेको हुन्छ। सत्यको खोजी र ज्ञान प्राप्ति अहंकारको चुनौती हो। दार्शनिकहरुले सदैव चेतनाको विस्तार, आत्मावलोकन र आत्मबोधलाई मात्र अहंकारमुक्त जीवनको मार्ग भनेका छन्। जब व्यक्ति आफ्नो सीमितता बुझ्छ र ज्ञानको आवश्यकता स्वीकार्छ, तब उनी अज्ञानताको जालोबाट मुक्त हुन्छन्।अज्ञानतापूर्ण अहंकारले समूहभित्र द्वेष, असहिष्णुता र विभाजन जन्माउँछ। व्यक्ति आफ्नै हित र दृष्टिकोणमा केन्द्रित हुँदा साझा लक्ष्य, न्याय र सहकार्य कमजोर हुन्छ। यसको समाधान आत्मसमीक्षा,शिक्षित दृष्टिकोण, विनम्रता र निरन्तर ज्ञान प्राप्तिमा निहित छ। शिक्षा, संवाद र सहकार्यले मानिसलाई केवल जानकारी दिने मात्र होइन, आफ्नो सोचमा लचिलोपन र सहिष्णुता विकास गर्न मद्दत गर्छ।
अज्ञानताको जालोमा फसेको अहंकारलाई पार गर्न आत्मबोध अनिवार्य छ। यसले व्यक्तिलाई आफ्ना कमजोरी स्वीकार गर्न, अरूको दृष्टिकोणको कदर गर्न र विवेकपूर्ण निर्णय लिन सक्षम बनाउँछ। व्यक्तिगत जीवनमा मात्र होइन,सामाजिक र राजनीतिक क्षेत्रमा पनि यसले सकारात्मक परिवर्तन ल्याउँछ। जब हामी अज्ञानता र अहंकारको पर्दा हटाएर ज्ञान, विनम्रता र सहिष्णुतालाई आत्मसात् गर्छौं, तब मात्र हाम्रो व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवन सन्तुलित, न्यायपूर्ण र प्रगतिशील बन्न सक्छ।वास्तविक ज्ञानी आफूलाई सिद्ध घोषित गर्दैन। ऊ निरन्तर विद्यार्थी रहन्छ। जति ज्ञान बढ्छ, उति विनम्रता बढ्छ। फलले झुकेको वृक्ष जस्तै, ज्ञानले सम्पन्न चेतना पनि नम्र हुन्छ। घमण्ड प्रायः खालीपनको आवाज हो; विनम्रता पूर्णताको मौनता।अज्ञानले निर्माण गरेको अहंकारको महल बाहिरबाट अत्यन्त आकर्षक देखिन सक्छ। त्यहाँ शक्ति, पद, सम्पत्ति र प्रशंसाको चमक हुन सक्छ। तर त्यसका जगहरू कमजोर हुन्छन्। सत्यको एउटा किरण, आत्मज्ञानको एउटा अनुभव, वा जीवनको एउटा गहिरो संकटले त्यो सम्पूर्ण संरचना भत्काइदिन सक्छ। त्यसपछि मात्र मानिसले बुझ्छ—उसले जीवनभर बचाएको महल वास्तवमा बालुवामाथि उभिएको भ्रम मात्र थियो।
प्रतिक्रिया