सिरहा, २० मङ्सिर ः क्रिकेटको प्रवद्र्धन तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ लहान–४ यज्ञभूमि क्रिकेट खेल मैदानमा आजदेखि ‘टी–२० प्याब्सन इन्टरस्कुल क्रिकेट लिग–२०२५’ सुरु भएको छ । प्रतियोगिताको आयोजक तथा ‘टाइटल स्पोन्सर’ प्याब्सन सिरहा रहेको छ ।
उद्घाटन खेलमा अपोलो ओम सेकेन्डरी स्कूल र जीबी शो एलिट स्कूलबीच पहिलो खेल हुने आयोजकले जनाएको छ । यस बर्षको लिगमा २८ वटा निजी विद्यालयको सहभागिता रहेको प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले मधेस क्रिकेट प्रतिभाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेका खेलाडीहरूको क्षमता उजागर गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“यहाँ क्षमता भएर पनि ओझेलमा परेका खेलाडीहरूलाई यो मञ्चले आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।”
त्यस्तै लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरले खेलकुद क्षेत्रको विकास र युवा विद्यार्थीहरूको क्षमता पहिचान गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त उपयोगी भएको बताउनुभयो । विद्यालयस्तरमै यस्ता गतिविधि हुनु सकारात्मक काम भएको भन्दै उहाँले आयोजकप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
प्रतियोगिताकोे सहयोगीका रूपमा लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट संघ, मधेश प्रदेश क्रिकेट संघ र क्रिकेट एशोसिएसन अफ नेपालसंग सहकार्य गरिएको आयोजकले जनाएको छ । साथै, प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. रहेको छ ।
यसैबीच, लहान–४ यज्ञभूमि मैदानमै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको पहलमा व्यवस्थित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया पनि अघि बढेको छ । त्यसका लागि मन्त्रालयबाट रु तीन करोड र लहान नगरपालिकाले रु दुई करोड बजेट व्यवस्था भइसकेको लहान क्रिकेट क्लबका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । रङ्गशालाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया