logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • जनता नमुना मावि तीन तारे लक्ष्यतर्फ : खानेपानी, सरसफाइ र स्वच्छतामा जोड

    जनता नमुना मावि तीन तारे लक्ष्यतर्फ : खानेपानी, सरसफाइ र स्वच्छतामा जोड

    सिरहा, १६ पुस : खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त ‘तीन तारे’ नमुना विद्यालय बनाउने लक्ष्यसहित गोलबजार नगरपालिका—८ स्थित जनता नमुना माध्यमिक विद्यालय, चन्द्रलालपुर चोहर्वा मा विद्यालय पूर्वाधार विकास तथा व्यवहार परिवर्तनका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाइएका छन् ।

    गोलबजार नगरपालिका, वेल्थ हङ्गर हिल्फे र सबल नेपालको संयुक्त साझेदारीमा विद्यालयमा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी, साबुन–पानीसहितको हातधुने सुविधा निर्माण तथा विस्तार गरिएको हो । विद्यालयलाई सुरक्षित, स्वच्छ र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस परियोजनामा ‘वेल्थ हङ्गर हिल्फ’को आर्थिक सहयोगमा परियोजनातर्फबाट रु १४ लाख ६७ हजार र विद्यालयतर्फबाट रु १९ लाख ६६ हजार गरी कुल रु ३४ लाखभन्दा बढीको लगानी गरिएको विद्यालयले जनाएको छ ।

    खानेपानी, सरसफाइ तथा स्वच्छताका न्यूनतम मापदण्ड पूरा गर्दै विद्यालयलाई नमुना बनाउने अभियानअन्तर्गत हाल विद्यालयलाई दुई तारे नमुना विद्यालय घोषणा गरिएको छ भने भविष्यमा तीन तारे विद्यालय बनाउने लक्ष्य लिइएको छ । तीन तारे विद्यालयका लागि खानेपानी, शौचालय, सफा र हरियाली वातावरण, महिनावारी स्वच्छता व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिता लगायतका १० वटा निश्चित सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको छ ।

    विद्यालयका प्रधानाध्यापक ब्रहमदेव प्रसाद सिंहले कार्यक्रमको प्रभाव विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा स्पष्ट देखिएको बताउँदै भन्नुभयो,“सबल नेपालको सहकार्यपछि विद्यालयको वातावरण पूर्ण रूपमा परिवर्तन भएको छ । सरसफाइ मात्र होइन, विद्यार्थीहरूको बानी–व्यवहार, अनुशासन र स्वच्छताप्रतिको चेतनामा समेत उल्लेखनीय सुधार आएको छ । अब विद्यालय परिवारको साझा लक्ष्य तीन तारे नमुना विद्यालय बन्ने हो ।”

    सबल नेपालद्वारा विद्यालय परिसरमा बायोग्यास प्लान्ट समेत निर्माण गरिएको छ । उक्त बायोग्यास प्लान्टबाट विद्यार्थीहरूका लागि दिवा खाजा पकाउने व्यवस्था गरिएको छ भने विज्ञान तथा वातावरणसम्बन्धी प्रयोगात्मक शिक्षाका लागि ‘ल्याब’ प्रयोग समेत गरिँदै आएको छ । यसले विद्यार्थीहरूलाई वैकल्पिक ऊर्जाबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको शिक्षकहरूको भनाई छ ।

    सबल नेपालका तर्फबाट गोलबजार नगरपालिका संयोजक देबेश कुमार चौधरीले विद्यालय सुधार कार्यक्रम दीगो बनाउन निरन्तर सहकार्य रहने बताउनुभयो । उहाँले भन्नुभयो,“विद्यालयलाई केवल भौतिक संरचनामा मात्र होइन, व्यवहारिक रूपमा पनि नमुना बनाउने हाम्रो उद्देश्य हो । खानेपानी, सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापनदेखि विपद् जोखिम न्यूनीकरणसम्मका सूचक पूरा गर्दै तीन तारे विद्यालय बनाउने यात्रामा हामी विद्यालय र नगरपालिकासँग सहकार्य जारी राख्नेछौं ।”

    बायोग्यास सञ्चालनमा आएपछि विद्यालय व्यवस्थापन समितिले फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै किचन गार्डेन निर्माण गर्ने लक्ष्य लिएको छ । यसबाट विद्यालयमा उत्पादन भएको जैविक फोहोरको सदुपयोग हुने र हरियाली वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
    हाल विद्यालय परिसरका विभिन्न स्थानमा साबुन र पानीसहितको मैत्रीपूर्ण हातधुने व्यवस्था गरिएको छ । यसले विद्यार्थीहरूमा व्यक्तिगत सरसफाइको बानी विकास हुनुका साथै रोग संक्रमण न्यूनीकरणमा सहयोग पुगेको विद्यालयको भनाइ छ ।

    प्रधानाध्यापक सिंहका अनुसार, विद्यालयमा हाल एक हजार एक सय ५५ जना विद्यार्थी अध्ययनरत छन् भने ४८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयले नयाँ भर्ना हुने विद्यार्थीहरूलाई अंग्रेजी माध्यमबाट अध्ययन गराउँदै आएको छ, जसले शैक्षिक गुणस्तर सुधारमा थप योगदान पुरयाएको उहाँले बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष १६, बुधबार २१:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP