लहान, १९ जेठ : सिरहाको लहानमा आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि ’लहान स्कलर्स—फ्री एजुकेशन क्याम्पेन’ ले यस वर्ष विशेष छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ । क्याम्पेनले लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा प्लस टु (+२) तहमा अध्ययन गर्ने २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको हो ।
मंगलबार लहानमा आयोजित एक पत्रकार सम्मेलन मार्फत उक्त अभियानबारे औपचारिक जानकारी दिइएको हो । यस अभियान अन्तर्गत विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी जुनसुकै संकायमा अध्ययनरत वा भर्ना हुन चाहने विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।
अभियानका आयोजकहरू चेतन मुरारका, सुवास जैसवाल र पंकज गोस्वामीका अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले आगामी ५ दिनभित्र आवेदन फारम भरिसक्नुपर्नेछ । प्राप्त आवेदनहरूमध्येबाट वास्तविक विपन्न र आवश्यक परेका विद्यार्थीहरूको मात्र छनोट गरिनेछ । छात्रवृत्तिको दुरूपयोग नहोस् र लक्षित वर्गसम्म पुगोस् भन्ने उद्देश्यले विद्यार्थीको पारिवारिक अवस्थाको स्थलगत अध्ययन गर्नुका साथै सम्बन्धित वडा कार्यालयको अनिवार्य सिफारिस हुनुपर्ने प्रावधान राखिएको छ ।
पत्रकार सम्मेलनमा चेतन मुरारकले भन्नुभयो, “लहानमा आज पनि त्यस्ता थुप्रै बालबालिकाहरू छन्, जसले रातभरि आँखामा सपना सजाएर पढ्छन् । तर, बिहान उठ्दा उनीहरूलाई थाहा हुन्छ कि कलेजको फी तिर्ने पैसा घरमा छैन । के गरिब घरमा जन्मिएकै कारण उनीहरूको सपना साँच्चै सानो हुनुपर्छ र ? त्यस्ता आर्थिक रूपमा असमर्थ तर अगाडि बढ्ने दृढ चाहना भएका विद्यार्थीहरूका लागि यो अभियान सहारा बन्नेछ ।”
त्यसैगरि, सुवास जैसवालले यो अभियान कुनै एक वर्षका लागि मात्र नभई हरेक वर्ष निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“शिक्षामा गरिएको लगानी नै लहानको विकासमा गरिएको सबैभन्दा ठूलो लगानी हो । आजको एउटा विपन्न विद्यार्थी भोलि लहानको सक्षम डाक्टर, इन्जिनियर वा देशको असल नेता बन्न सक्छ । जब हामी उनीहरूको सपनामा लगानी गर्छौँ, वास्तवमा हामी लहानको सुन्दर भविष्यको जग बसाल्दैछौँ ।”
यस परोपकारी अभियानलाई स्थानीय समाजसेवीहरू मुरारी लाल मुरारका, चेतन मुरारका, सुवास जैसवाल र अजित अग्रवाल लगायतले पूर्ण रूपमा आर्थिक तथा भौतिक सहयोग गर्नुभएको छ ।
विशेष गरी लहानको सामाजिक र शैक्षिक विकासमा मुरारका परिवारको ऐतिहासिक योगदान रहँदै आएको छ । जे.एस. मुरारका बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण गरिदिनुका साथै लहानस्थित प्रादेशिक अस्पतालका लागि बहुमूल्य जग्गा समेत मुरारका परिवारले नै दान गरेको थियो ।
प्रतिक्रिया