logo
  • २०८२ जेष्ठ ५ | Mon, 19 May 2025
  • सडक डिभिजन लहान : सप्तरीमा आधा दर्जन पुल निर्माण, थप सात पुलको निर्माण काम अन्तिम चरणमा

    सडक डिभिजन लहान : सप्तरीमा आधा दर्जन पुल निर्माण, थप सात पुलको निर्माण काम अन्तिम चरणमा

    लोकेन्द्र प्रसाद यादव

    बोदे बरसाईनः सडक डिभिजन कार्यालय लहानले चालु आर्थिक बर्ष २०८१/८२ को नौ महिनाको अबधीमा सप्तरीमा आधा दर्जन पुल निर्माण गरेको छ । निर्माणाधिन पुलहरु मध्ये थप सात वटा पुलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
    निर्र्माण कार्य सम्पन्न भएका पुलहरुको लोड टेस्ट हुन बाँकी रहेको सडक डिभिजन लहान सिरहाले जनाएको छ । जिल्लामा पुलहरुको निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता भएको छ।
    सडक डिभिजन लहानका कार्यालय प्रमुख आशुतोष कर्णले सडकमा पर्ने नदीनाला पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवजावतमा सहजता भएको बताउनुभयो ।
    निर्माण कार्य सम्पन्न भईसकेका पुलहरुको लोड टेस्ट छिट्टै गरिने प्रमुख कर्णले बताउनुभयो । उहाँका अनुसार सप्तरी जिल्लाका सडक संजाल विस्तार गर्न थप पुलहरुको निर्माण कार्य तिव्र गतिमा भईरहेको र केही पुलहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुल निर्माणसंगै सप्तरी जिल्लाका सडक सञ्जाल विस्तारले समेत गति लिईएको छ ।
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर—११ देवधार पुलको निर्माण सम्पन्न भएको छ । रमन आई.एस.एन.बी.जे.भी. सँग गत २०७६ साउन ८ मा भएको सम्झौता अनुसार रु.छ करोड ५७ लाख ८२ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख कर्णले बताउनुभयो ।
    यस्तै गत २०६६ साउन ६ मा छिन्नमस्ता गाउँपालिका घोडदह नदी पुल रु. १ करोड ९१ लाख ९२ हजारको लागतमा प्रकाश ⁄अश्रय जे.भी.ले विसं.२०७६ माघ १० गते सडक डिभिजन लहानसंँगको सम्झौता अनुसार हालै पुल निर्माण सम्पन्न गरेको छ ।
    त्यस्तै कार्यालयको नियमित्त तागेता भएपछि गत २०७४ मंसिर १४ गते भएको सम्झौता अनुसार कनकटा ९ र बेल्ही ५ जोडिने सडकको पुल २०७५ फागुन १४ बनि सक्नु पर्ने पुल म्याद थप भई पछिल्लो निर्माण कम्पनी सूर्या एण्ड सन्स प्रा.लि.ले मुतनी खोला पुल निर्माण गरेको छ । सो पुल बनाउन रु. चार करोड चार लाख ५४ हजारको लागतमा निर्माण गरिएको उक्त पुलको लोड टेस्ट हुन बाँकी रहेको सडक डिभिजन कार्यालयको भनाई छ ।
    राजविराज–छिन्नमस्ता सडक देखि बेल्हा ६ र बेल्हा ५ जोडने सप्तरीको घोडदह खोला पुल पनि चालु आव मै निर्माण सम्पन्न गरिएको छ । उक्त पुल रु. चार करोड ८५ लाख ६३ हजारको लागतमा रोशन कन्स्ट्रक्सन जनकपुरधामले निर्माण गरेको छ । सो पुल निर्माण सम्पन्न भई आवतजावत समेत सुरु भई सकेको छ ।
    ‘‘घोडदह खोलामा पुल नहुँदा बर्षातयाममा ठूलो सास्ती भोगेर आवतवाजत गर्नुपर्ने बाध्यता थियो”, छिन्नमस्ता गाउँपालिका—५ संजय यादवले भन्नुभयो,‘‘ तर पुल निर्माण भएसंगै त्यो समस्याबाट मुक्ति मिलेको छ ।”
    राजविराज–छिन्नमस्ता सडक अन्तर्गत खिरखौका नदी पुलमा पनि पुल निर्माण सम्पन्न भएको छ । कुल रु. पाँच करोड ४२ लाख २० हजारको लागतमा अजय कन्स्ट्रक्सन लहान सिरहाले सो पुल निर्माण गरेको हो । कार्यालय प्रमुख कर्णका अनुसार गत २०७९ असोज ३१ भएको सम्झौता अनुसार २०८० चैत्र १० मै सम्पन्न हुनुपर्नेमा २०८१ कार्तिक ३० म्याद थप भई थपिएकै म्याद भित्र पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
    राजविराज–कुनौली सडक महुली घाडन खोलामा पनि पुल निर्माण कार्य सम्पन्न भएको छ । रु. छ करोड १३ लाख ५४ हजारमा लागतमा पप्पु⁄मृतसंजिवनी जे.भीले निर्माण गरेको उक्त पुलको लोड टेस्टको प्रक्रिया अघि बढाईएको प्रमुख कर्णको भनाई छ ।
    यी पुलहरुको निर्माण कार्य अन्तिम चरणमा
    सप्तरीमा निर्माणाधिन पुलहरु मध्ये सात वटा पुलको निर्माण काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका १ ललापट्टी बुटनपोखरी भलवाही पुल निर्माण कार्य करिब ९७ प्रतिशत सम्पन्न भएको र बाँकी काम छिटै सकिने कार्यालय जनाएको छ । सो पुलको निर्माण कार्य याकथुम्हाङ्ग⁄बि.पि. जे.भी.ले रु. तिन करोड ७३ लाख ८२ हजारको लागतमा गरि रहेको छ ।
    यस्तै सोही निर्माण कम्पनीले रु. तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया—१ स्थित भलवाही खोलामा पुल निर्माण काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर सुरेन्द्र दासले बताउनुभयो ।
    यस्तै रुपनी गाउँपालिका ६ दुधैला खोलामा नयाँ वस्ती नजिकै रु. छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधिन पुलको ८० प्रतिशत कार्य सम्पन्न भई सकेको छ । उक्त पुल निर्माण गर्न गत २०७९ असार २१ गते ऐसिस एसियन कन्ट्रक्सन कम्पनी प्रा.ली. जनकपुरधाम धनुषासंग सम्झौता भएको थियो ।
    रोशन कन्स्ट्रक्सन जनकपुरले फकहा बरदहीको बिच मुतनी नदी पुल निर्माणका लागि गत २०७३ जेष्ठ १० गते सम्झौता गरेको थियो । सो सम्मmौता अनुसार २०७५ जेष्ठ ९ गते सम्म बनिसक्नु पर्ने सो पुल अलपत्र अवस्थामा रहेको थियो । तर कार्यालयको पटक पटकको ताकेदा पश्चात अहिले निर्माण कम्पनीले सो पुलको निर्माण कार्यलाई तिव्रता दिएको छ । उक्त पुलको वित्तिय प्रगति ८३.५८ प्रतिशत रहेको छ । भने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
    त्यस्तै रुपनी गाउँपालिका ६ दुधैला खोला पुलका भौतिक प्रगति ९० प्रतिशत रहेको छ। सो पुलको निर्माण कार्य अमर⁄सिवाको⁄पुशपांजली जे.भी. काठमाण्डौंले गरिरहेको छ ।बर्षायाम सुरु हुनु अघि नै पुल निर्माणको काम सकिने गरी तिब्रगतिमा काम भईरहेको निर्माण कम्पनीले जनाएको छ । उक्त पुल रु. नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भई रहेको छ ।

    रु.चार करो ७५ लाख ३१ हजारको लागतमा सप्तरीकै शम्भुनाथ नगरपालिका—९ स्थित भवररा नदीमा निर्माणाधिन पुल निर्माण कार्य करिब ८२ प्रतिशत सम्पन्न भएको र बाँकी पनि तिब्रगतिमा भईरहेको इञ्जिनियर सुरेन्द्र दासले बताउनुभयो । सो पुलको निर्माण कार्य पुशपांजली⁄श्री जल्पा⁄जिम्वभ जे.भी. ले गरिरहेको छ ।

    सप्तरी जिल्लामा केही पुल र सडक निर्माणको कार्य चालु अवस्थामा रहेको यी योजनाहरु पूर्णता पाएमा जिल्लाको विकास फडको लिने कार्यालय प्रमुख कर्णले जानकारी दिनुभयो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ बैशाख १२, शुक्रबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP