logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • सत्ता, नैतिकता र नैतिक संस्थाहरू

    सत्ता, नैतिकता र नैतिक संस्थाहरू

    तोमनाथ उप्रेती

    सत्ता कुनै वस्तुगत यन्त्र होइन; यो विवेकशील मानव–मनको विस्तार हो, जसको स्वरूप र सार त्यसको सञ्चालकको अन्तःकरणमा निर्भर रहन्छ। सत्ता  शासनको अधिकार मात्र होइन, यो निर्णय गर्ने, जीवन प्रभावित गर्ने र सामाजिक न्यायको दिशा तय गर्ने माध्यम हो। जब सत्ता विवेकहीन र स्वार्थदुषित हातमा पर्छ, तब त्यसले लोकतन्त्रलाई तानाशाहीमा, सेवा–धर्मलाई व्यक्तिगत लाभमा रूपान्तरण गरिदिन्छ। त्यसैले सत्ता तब मात्र सशक्त हुन्छ जब यो सेवा, उत्तरदायित्व र नैतिक विवेकमा आधारित हुन्छ।

    नैतिकता भनेको उपदेशात्मक मूल्य मात्र होइन; यो आचरणको आत्मा हो, जसमा सत्य, कर्तव्यबोध, न्यायप्रतिको प्रतिबद्धता र पारदर्शिताको उज्यालो समावेश हुन्छ। यही नैतिक भावनाले संस्था र सत्ता दुवैलाई उत्तरदायी बनाउँछ। आजको सन्दर्भमा सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय मानकहरू र जनचेतनाको वृद्धिले सत्ता र संस्थाहरूमा नैतिक दबाब सिर्जना गरेको छ। नेतृत्व अब शक्ति प्रदर्शनको हैन, सेवा र सत्यताको मिसन बन्न थालेको छ।

    यद्यपि यी प्रवृत्तिहरू सकारात्मक छन्, यथार्थमा अनेक चुनौतीहरू विद्यमान छन्। सत्ता र स्वार्थबीचको द्वन्द्वले संस्थागत निर्णयहरूलाई कलुषित बनाएको छ। कैयौँ संस्था बाह्यरूपमा नैतिक देखिए पनि आन्तरिक संरचना अनैतिक सञ्जालद्वारा प्रभावित छन्। नियामक संयन्त्रहरू पनि राजनीतिक हस्तक्षेप र अपारदर्शी संस्कारबाट ग्रस्त छन्।

    संविधानले प्रदान गर्ने कानुनी वैधता र मानवीय नैतिकताको मूल्यबीचको अन्तरविरोध आजको शासन प्रणालीको मूल विडम्बना बनेको छ। कानुनले अनुमति दिएको सबै कुरा नै न्यायोचित र सदाचारी हुन्छ भन्ने मान्यता भ्रमपूर्ण हुन्छ, जब त्यस्ता निर्णयहरू सामाजिक विवेक, मानवीय करुणा र नैतिक धर्मबाट विमुख हुन्छन्। यही विच्छेदले नीतिहरूलाई औपचारिकतामा सीमित पार्दछ र कार्यान्वयनमा आत्माहीनता देखापर्छ। जब संविधानलाई केवल कानुनी औजार मात्र ठानिन्छ र नैतिकताको स्थान उपेक्षित गरिन्छ, तब शासन संरचना यन्त्रवत् बन्छ—जहाँ न्यायको आत्मा होइन, शक्ति र स्वार्थको स्वर बोल्न थाल्दछ। यही द्वैधता नै समग्र सुशासनको बाधक हो।

    यी चुनौतीहरूको समाधान कानुन निर्माणले मात्र सम्भव छैन; आवश्यक छ, एक चेतनामूलक क्रान्ति—जहाँ सत्ता विवेकमा केन्द्रित होस्, शिक्षा नैतिकतामा आधारित होस् र नागरिक उत्तरदायी बनुन्। विद्यालयदेखि प्रशासनिक प्रशिक्षणसम्म नैतिक मूल्य र आचरणको संस्कार विकास गर्नुपर्छ। शक्तिको विकेन्द्रीकरणद्वारा सत्तामा समावेशिता ल्याइनुपर्छ। नागरिक निगरानी र स्वतन्त्र सञ्चार संयन्त्रले पारदर्शिता सुनिश्चित गर्न सक्छ।

    अन्ततः, सत्ता तब मात्र पुण्यको स्रोत बन्छ जब त्यसको प्रयोग स्वार्थ र अहंकारको तुष्टि हैन, सत्य, सेवा र न्यायको मार्गमा सञ्चालित हुन्छ। सत्ता स्वयम् निष्पक्ष र निर्जीव साधन हो; यसको पवित्रता या विकृति त यसको प्रयोगकर्ताको अन्तःकरण, विवेक र नैतिक दृष्टिकोणमा निर्भर रहन्छ। जब सत्ता आत्मकेन्द्रित तृष्णा, वंशवाद, नाफा–हानिको समीकरण वा राजनीतिक व्यापारको औजार बन्छ, तब त्यो शक्ति समाजको विकृति, दमन र असमानताको कारक बन्छ। तर जब यो सत्ता सेवा–भाव, जन–उत्तरदायित्व र पारदर्शिताको प्रकाशमा चम्कन्छ, तब यसले सभ्यताको रूपान्तरण गर्दछ।

    आजको विश्वको मूल आवश्यकता विधिसम्मत शासन मात्र हैन; यसको आत्मा नैतिक पुनर्जागरण हो। कानुन नियमले संस्थाहरूलाई रुप दिन सक्छ, तर मूल्य र विवेकले मात्र ती संस्थाहरूमा जीवन दिन सक्छ। जसरी शरीरलाई प्राणबिना गतिहीन मानिन्छ, त्यस्तै सत्ता र संस्था पनि नैतिक मूल्यबिना मृतप्राय हुन्छन्। हामीले यस्तो शासन चाहिएको छ जहाँ अधिकारभन्दा दायित्वलाई महत्व दिइन्छ, जहाँ नीति निर्माण केवल शक्ति सन्तुलनका लागि होइन, सामाजिक न्याय र मानवीय कल्याणका लागि गरिन्छ।

    संस्थाहरूको स्थायित्व र विश्वसनीयता तब मात्र सम्भव छ जब तिनको आत्मा सत्य, तिनको स्वर सेवा, र तिनको दृष्टि न्यायमा केन्द्रित हुन्छ। बाह्यरूपमा चम्किन खोज्ने संस्थाहरू अन्ततः खोक्रो भई पतनतर्फ लम्किन्छन्। त्यसैले आजको आवश्यकता हो—संविधानभन्दा पनि अग्लो मानवीय विवेकको उच्चता, र शासनभन्दा पनि गहिरो नैतिक चरित्रको पुनरुत्थान। केवल कानुनी शासनले समाजलाई चलाउन सक्छ, तर केवल नैतिक शासनले मात्र समाजलाई उन्नत बनाउन सक्छ। यही सशक्त, उज्यालो र विवेकयुक्त नेतृत्व आजको युगको पुकार हो।

    सत्ता न त स्वयं पुण्य हो, न नितान्त पाप। यो त एक शक्तिशाली माध्यम हो, जसको स्वरूप र प्रभाव त्यसको सञ्चालकको अन्तःकरण, नैतिक दृष्टिकोण र विवेकशील आचरणमा निर्भर रहन्छ। शुद्ध अन्तःकरणयुक्त व्यक्ति हातमा परेको सत्ता समाजसेवा, न्याय स्थापन र मानव–कल्याणको औजार बन्न सक्छ; तर लोभ, अहंकार र तृष्णाले निर्देशित व्यक्ति हातमा पुगेको सत्ता अत्याचार, दमन र असमानताको कारक बन्छ। यसैले सत्ता आफैँमा निष्क्रिय यन्त्र हो—यसको पुण्यता वा पापता प्रयोगकर्ताको नैतिक चरित्रद्वारा परिभाषित हुन्छ।

    इतिहासले देखाएको छ, जब सत्ता विवेकशून्य हातमा पुग्छ, तब राज्य व्यवस्था निरंकुशताको राक्षसी रूप लिन्छ। तानाशाही जन्मिन्छ, आवाजहरू कुन्ठित हुन्छन् र अधिकारहरू शक्तिको उन्मादमा बन्धक बनाइन्छन्। तर जब सत्ता सद्विवेक, सेवा–भावना र न्यायप्रति प्रतिवद्ध नेताहरूको अधीनमा रहन्छ, त्यतिखेर राज्य मात्र प्रशासनिक संरचना हुँदैन, त्यो धर्म, दायित्व र संवेदनाको सजीव प्रतिमूर्ति बन्छ।

    सत्ता सञ्चालनमा सफलता कानुनी यन्त्रले मात्रै सम्भव छैन। अधिकारको प्रयोग विवेकले निर्देशित हुनुपर्छ; र शक्ति केवल बलको अभ्यास नभई सेवा र समर्पणको माध्यम बन्नुपर्छ। आजको विश्व जहाँ राजनीतिक जटिलता, आर्थिक असमानता र नैतिक विचलन बढ्दो छ, त्यहाँ हामीलाई अधिकारको लालच होइन, कर्तव्यबोधको पुनर्जागरण चाहिएको छ।

    यसैले, सत्ता न त प्रशंसा योग्य स्वतः हुन्छ, न निन्दा योग्य। यसको पवित्रता त यसका प्रयोगकर्तामा निहित विवेक, मूल्य र मानवीय दृष्टिकोणमा निर्भर रहन्छ। जब सत्ता अन्तःकरणको प्रकाशमा सञ्चालित हुन्छ, तब मात्र त्यो शक्ति होइन, साधना बन्छ। यही सत्ता–सिद्धान्तको गहिरो समझ नै समृद्ध राष्ट्रको आधार हो।जब सत्ता सेवा–धर्ममा निहित, सत्य–दर्शनमा प्रेरित र पारदर्शिताको प्रकाशमा सञ्चालित हुन्छ, त्यतिबेला मात्र समाजमा न्यायको स्थायित्व, समताको स्पन्दन र समृद्धिको अंकुरण सम्भव हुन्छ।”

    “आजको युग कानुनी औपचारिकतामा सीमित शासनको युग होइन, यो नैतिक चेतनामा आधारित सुशासनको खोजीको युग हो—जहाँ संस्थाहरू दायित्वबोधले सञ्चालित हुन्छन् र नेतृत्वहरू विवेकशील अन्तर्दृष्टिले निर्देशित हुन्छन्। अतः सत्य, सेवा र स्वच्छताको त्रिकोणमा आधारित शासन संरचना निर्माण गर्नु हाम्रो सामूहिक ऐतिहासिक दायित्व हो, जसबाट नै उत्तरदायी समाज र उज्यालो राष्ट्रको निर्माण सम्भव छ।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ११, बुधबार ०९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP