तोमनाथ उप्रेती
शान्ति कुनै बाह्य तत्व होइन, यो अन्तरमनको अवस्था हो—जहाँ लोभ, ईर्ष्या, घृणा र स्वार्थको अस्त हुँदै जान्छ। मानिसको जीवनमा अशान्तिको मूल जरा स्वार्थ हो। जब मानिस केवल आफ्नो लागि सोच्न थाल्छ, तब ऊ अरूको अस्तित्वलाई हेर्न नसक्ने हुन्छ। स्वार्थले मानिसलाई आत्मकेन्द्रित बनाउँछ, जसले सामाजिक सम्बन्धहरू बिगार्छ, आन्तरिक द्वन्द्व उत्पन्न गराउँछ र मनमा बेचैनी पैदा गर्छ। यस्तो अवस्थाबाट मुक्तिको उपाय आत्मत्याग हो, जुन केवल आत्मज्ञान, सहिष्णुता र करुणाबाट सम्भव हुन्छ।
आत्मत्याग भनेको आफ्ना व्यक्तिगत हितहरूलाई त्यागेर सार्वजनिक हितलाई प्राथमिकता दिनु हो। जब मानिस आफ्नो ‘म’ र ‘मेरो’ को अहंकार त्यागेर समाजको समग्र भलाइमा केन्द्रित हुन्छ, तब मात्र वास्तविक शान्ति सम्भव हुन्छ। उदाहरणका लागि, एक शिक्षक जसले आफ्नो तलबभन्दा बढी बालबालिकाको भविष्य निर्माणमा ध्यान दिन्छ, ऊ समाजका लागि प्रेरणास्रोत बन्छ। यस्ता आत्मत्यागी पात्रहरूले आफ्नो निजी सुख–सुविधा त्यागेर सामाजिक उत्तरदायित्वमा समर्पण गर्छन्। यस्तो समर्पणबाट केवल समाज समृद्ध हुँदैन, स्वयं त्यो व्यक्तिमा पनि एक किसिमको आत्मसन्तोष र शाश्वत शान्तिको अनुभूति हुन्छ।
शान्तिको अर्को पक्ष हो—विकासको मार्गमा सहअस्तित्व र सहकार्य। जब हामी अरूको दुःखलाई पनि आफ्नो ठान्छौं, तब हामीमा करुणा जन्मिन्छ। आत्मत्यागले यही करुणाको विकास गर्छ, जसले पारिवारिक, सामाजिक र राष्ट्रिय स्तरमा समन्वय र सद्भावको वातावरण सिर्जना गर्छ। आजको युग जहाँ व्यक्तिवादको प्रभाव बढ्दै गएको छ, त्यहाँ आत्मत्यागको संस्कृति स्थापित गर्नु अत्यन्त आवश्यक छ। किनभने शान्ति केवल युद्धको अनुपस्थितिमा होइन, आपसी समझदारी, सहनशीलता र आत्मनियन्त्रणमा निहित हुन्छ।
आत्मत्याग कुनै दुर्बलता होइन, यो एक उच्च चेतनाको संकेत हो। जब व्यक्ति आफ्नो व्यक्तिगत लाभभन्दा ठूलो उद्देश्यमा विश्वास गर्छ, त्यतिबेला ऊ शान्तिको मार्गमा अग्रसर हुन्छ। बुद्ध, येशु, र गान्धी जस्ता आत्मत्यागी महान आत्माहरूले संसारमा शान्ति र प्रेमको सन्देश फैलाए। तिनीहरूको जीवनले प्रमाणित गर्छ—जहाँ स्वार्थ मर्छ, त्यहाँ नै शाश्वत शान्ति फुल्छ। आज हामी सबैले यही सन्देश आत्मसात् गरेर आत्मत्यागको मार्ग अपनाउन सके मात्र विश्वमा स्थायी शान्तिको स्थापना सम्भव हुनेछ।
स्वार्थ त्याग गर्न नसक्दा घरदेखि राष्ट्रसम्म अशान्ति फैलिन्छ। सासु-बुहारीको विवाददेखि लिएर भाई-भाइबीचको द्वन्द्व पनि त्यागको अभावकै परिणाम हुन्। एउटा सानो कुकुरको कथा पनि यसैको प्रतीक हो—जबसम्म उसले रोटी नत्यागे, अरू कुकुरले आक्रमण गरिरहे। त्यागबाट मात्र सुरक्षित जीवन सम्भव हुन्छ। व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा जब हामी त्यागलाई जीवनपद्धतिमा अपनाउँछौं, तब मात्र शान्ति सम्भव हुन्छ।
त्याग सफलता र आत्मविकासका लागि पनि अपरिहार्य छ। विद्यार्थीले शिक्षा प्राप्तिका लागि मनोरञ्जन त्याग्छ, सफल पेशेवरले विश्राम त्याग गरेर लक्ष्यमा लाग्छ। राम्रो स्वास्थ्यको लागि अस्वस्थ बानीहरू त्याग्नुपर्छ। यसले देखाउँछ कि लक्ष्य प्राप्ति सधैं त्यागसँग जोडिएको हुन्छ। साँचो शान्तिको मूलमन्त्र भनेको त्याग हो—त्याग विनाको कुनै स्थायित्व छैन, न व्यक्तिगत सुखमा न नै सामाजिक समृद्धिमा।
सम्बन्धहरू पनि त्याग बिना मजबुत बन्न सक्दैनन्। चाहे त्यो परिवारसँगको सम्बन्ध होस् या मित्रता वा प्रेम सम्बन्ध, सबैमा समर्पण र बलिदानको आवश्यकता हुन्छ । उदाहरणका लागि, एउटा जोडिले आफ्नो व्यक्तिगत चाहनाहरूलाई थोडा त्यागेर साझेदारीको जीवन बनाउन सक्छ । यसका लागि, कहिलेकाहीं आफ्नोे इच्छाहरूलाई पछि सारेर अर्काको खुशी र राम्रोका लागि काम गर्नु पर्छ। यसरी, एक मजबूत सम्बन्ध बनाउनका लागि परस्पर त्याग र समझदारी आवश्यक हुन्छ ।
सपना र लक्ष्य प्राप्तिमा त्यागः सपना र लक्ष्यहरू प्राप्त गर्नका लागि त्याग एक अपरिहार्य कुरा हो। यदि हामीलाई कुनै ठूलो सफलता प्राप्त गर्न छ भने, हामीलाई छोटो समयमा धेरै काम गर्न र कहिलेकाहीं थोरै आराम वा मनोरञ्जन त्याग्न आवश्यक पर्छ । उदाहरणका लागि, एक व्यवसायी जो नयाँ व्यापार शुरू गर्न चाहन्छ, उसलाई प्रारम्भिक चरणमा आफ्नो आरामदायक जीवनशैलीलाई केही समयको लागि त्याग गर्नु पर्छ। यसका लागि उसले धेरै समय र श्रम लगानी गर्नु पर्छ।
सामाजिक र व्यक्तिगत जीवनमा त्यागः जब हामी सामाजिक र व्यक्तिगत जीवनमा सफलता हासिल गर्न चाहन्छौं, तब हामीले आफ्नो साना इच्छाहरू र सुखहरूको त्याग गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, समाजमा सम्मान र प्रतिष्ठा प्राप्त गर्नका लागि एक व्यक्तिलाई आफ्नो इगो र अहंकारलाई त्याग्न सक्छ। यदि हामी वास्तवमै ठूलो व्यक्ति बन्न चाहन्छौं भने, हामीले आफ्नोे नकारात्मक गुण र अरूसँगको द्वन्द्वलाई त्याग्नुपर्छ।
जीवनमा कुनै पनि ठुलो सफलता वा महत्त्वपूर्ण कुरा प्राप्त गर्नका लागि हामीले केही त्याग गर्नु पर्छ। त्याग भनेको असुविधा र पीडा हो, तर यसले अन्ततः हामीलाई हाम्रो लक्ष्य नजिक पुर्याउँछ र जीवनमा वास्तविक खुशी र सफलता ल्याउँछ । परमात्माको प्राप्ति पनि बिना त्यागको सम्भव छैन। त्यसैले धार्मिक तथा अध्यात्मिक क्षेत्रमा पनि त्यागको अत्यधिक महत्त्व छ। परमेश्वर प्राप्तिका लागि संसारका ज्ञानी मानिसहरू चार प्रकारले त्याग गर्छनः मलत्याग – संसारलाई विष्ठा जस्तो जानेर त्याग गरेर त्यसलाई पछाडि नहेर्ने।अनिष्ट त्याग – संसारिक पदार्थ, धन, सम्पत्ति, माता–पिता आदि, जसलाई मोक्ष प्राप्तिमा बाधक ठानिन्छ, त्याग गर्ने।स्वतः त्याग – सबै कुरा, जस्तै धन, सम्पत्ति, माता–पिता, पुत्र आदि, नष्ट भए पछि संसार त्याग गर्ने, अर्थात सन्यास लिने।कुष्ठी वा वासना त्याग – जब कुनै व्यक्ति विकृत रोग या भयंकर शारीरिक समस्यामा फस्छ, त्यसका सबै सम्बन्धी र परिवारजन उसलाई छोडेर घृणा गर्छन्, त्यसले मोह छोडेर एक मात्र ईश्वरको शरणमा जान्छ र शान्ति प्राप्त गर्छ। बिना त्याग संसारिक सुख शान्ति र ईश्वरको प्राप्ति सम्भव छैन। त्याग बिना केहि चिजको प्राप्ती सम्भव छैन ।
जीवनमा सफलताका लागि कुनै न कुनै प्रकारको त्याग अनिवार्य छ । हाम्रो जीवनका विभिन्न पक्षहरूमा त्यागको महत्वलाई उजागर गर्दछ ।जुनसुकै ठुलो सफलता प्राप्त गर्नका लागि हामीले केही न केही त्याग गर्नुपर्ने हुन्छ । त्याग केबल कुनै भौतिक चिजको बलिदान मात्र होइन, यो समय, श्रम, भावना, र कहिलेकाहीं हाम्रो सुख र सुविधा पनि हुन सक्छ । जहाँ त्याग हुन्छ, त्यहाँ शान्ति स्थापित हुन्छ ।त्यागले न केवल व्यक्तिगत शान्ति ल्याउँछ, तर यसले समाज र विश्वमा पनि शान्ति स्थापित गर्न मद्दत पुर्याउँछ। त्याग भनेको केवल भौतिक वस्तुहरूको छोड्न मात्र होइन, भावनात्मक, मानसिक र आत्मिक स्तरमा पनि छोड्ने प्रक्रिया हो। जब मानिस आफ्नो स्वार्थ, अहंकार, ईष्र्या र गुस्सालाई त्याग गर्छ, तब त्यसले मनमा शान्ति ल्याउँछ।
अन्ततः, जीवनमा स्थायी शान्ति र सन्तुलन प्राप्त गर्न त्याग अपरिहार्य हुन्छ। जब व्यक्तिले आफ्नो स्वार्थलाई नियन्त्रण गर्दै अरूको हितमा सोच्न थाल्छ, त्यहीँबाट शान्तिको यात्रा सुरु हुन्छ। आत्मत्यागबाट उत्पन्न हुने प्रेम, सहिष्णुता र सेवा भावना समाजलाई स्थायीत्व र सद्भावको दिशामा लैजान्छ। इतिहासका महान् विभूतिको जीवनले पुष्टि गर्छ— जहाँ त्याग हुन्छ, त्यहाँ नै शान्ति सम्भव हुन्छ।त्यसैले, हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनमा पनि त्यागलाई व्यवहारमा उतार्न आवश्यक छ। स्वार्थ, अहंकार र लोभको अन्त्य गर्दै निःस्वार्थ भावनाको विकास गर्यौं भने मात्र हामी एक शान्त, समन्वित र समुन्नत समाज निर्माण गर्न सक्छौं।
निष्कर्षमा, आत्मत्याग मानव जीवनको त्यो महान् मूल्य हो, जसले शाश्वत शान्तिको मूल बाटो खोल्दछ। जब हामी आफ्नो स्वार्थ, अहंकार र लोभलाई त्याग गर्छौं, तब हाम्रो हृदयमा करुणा, सहिष्णुता र प्रेम अंकुरित हुन्छ। आत्मत्यागले व्यक्ति मात्र होइन, समाजलाई पनि शुद्ध र सन्तुलित बनाउँछ। इतिहासका आदर्श व्यक्तित्वहरूले यही सिद्ध गरेका छन् कि साँचो शान्ति न लाभमा, न सत्तामा—त्यागमा लुकेको हुन्छ। त्यसैले, यदि हामी साँचो शान्ति, समृद्धि र मानवीय सद्भाव खोजिरहेका छौं भने, आत्मत्यागलाई जीवनशैलीमा रूपान्तरण गर्नु अनिवार्य छ। त्याग नै शाश्वत शान्तिको आधारशिला हो।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया