logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • विवेकमा आधारित उपलब्धिको यात्रा

    विवेकमा आधारित उपलब्धिको यात्रा

    विवेकमा आधारित उपलब्धिको यात्रा

    तोमनाथ उप्रेती

     

    आधुनिक विश्वमा सफलता प्रायः धन, पद, शक्ति र लोकप्रियतासँग जोडेर मूल्याङ्कन गरिन्छ। मानिसको परिश्रम, क्षमता र योगदानभन्दा बढी उसको हैसियत र पहुँचलाई महत्त्व दिने प्रवृत्ति बढ्दो छ। यसले समाजमा अस्वस्थ प्रतिस्पर्धा, नैतिक विचलन र मूल्यहीनताको वातावरण सिर्जना गरेको छ। यस्ता परिस्थितिमा “विवेकमा आधारित उपलब्धिको यात्रा” भन्ने अवधारणा अत्यन्त सान्दर्भिक र आवश्यक बनेको छ।

    आजको समाजमा सफलताको मापन प्रायः बाह्य वैभव — जस्तै धन, प्रतिष्ठा, पद वा सामाजिक हैसियत — द्वारा गरिन्छ। महँगो गाडी, ठूला घर वा सामाजिक सञ्जालमा देखिने चकमक जीवनशैलीलाई मानिसहरूले सफलताको प्रतिमान ठान्न थालेका छन्। तर वास्तविक सफलता त्यो होइन जुन आँखाले देखिन्छ, बरु त्यो हो जुन हृदयले अनुभूति गर्छ — जुन विवेक, सन्तुलन र आत्मिक परिपक्वताबाट उत्पन्न हुन्छ।

    सच्चा सफलता तब प्राप्त हुन्छ जब मानिस आफूभित्रको अन्धकार चिन्दै आत्मज्ञानको प्रकाशतर्फ यात्रा गर्छ। बाह्य उपलब्धिहरू क्षणिक हुन्छन्; तिनीहरू समय, अवस्था र भाग्यसँग सँगै घटबढ हुन्छन्। तर आन्तरिक विवेक, धैर्य, क्षमा र करुणा स्थायी हुन्छन्। जब कोही व्यक्ति आलोचना, अपमान वा असफलताका बीच पनि आफ्नो मानसिक सन्तुलन गुमाउँदैन, तब ऊ साँच्चिकै सफल ठहरिन्छ।

    भगवद्गीतामा श्रीकृष्णले भनेका छन् — “स्थितप्रज्ञ व्यक्ति नै योगी हो।” अर्थात् जो बाह्य सुख-दुःख, जय-पराजय, वा निन्दा-प्रशंसामा एक समान रहन्छ, ऊ नै आध्यात्मिक रूपमा उन्नत हुन्छ। यस्तो विवेकबाट निर्देशित व्यक्ति आफ्ना कार्यहरूमा स्थिर, मर्यादित र उद्देश्ययुक्त हुन्छ।त्यसैले, जीवनको सार्थकता धनसञ्चयमा होइन, आत्मविकासमा छ। विवेकले भरिएको मन, सत्यप्रति अडिग आत्मा र प्रेमले भरिएको व्यवहारले मात्र साँचो सफलता प्राप्त हुन्छ। आन्तरिक दिव्यता सधैं झल्किरहन्छ — यही नै सफलताको साँचो आधार हो।

    आजको विश्व जहाँ भौतिक प्रगतिको दौड तीव्र हुँदै गएको छ, त्यहाँ आध्यात्मिक चेतनाको आवश्यकता झन् बढ्दो छ। मनोवैज्ञानिक अशान्ति, नैतिक पतन र सामाजिक तनावका बीचमा जब कोही व्यक्ति सच्चाइ, धैर्य र सहिष्णुताको बाटो समात्छ, तब उसले जीवनलाई केवल सफल मात्र होइन, सार्थक पनि बनाउँछ।

    धेरै मानिसहरू आलोचना, अपमान वा अस्वीकारको सामना गर्दा मानसिक रूपमा विचलित हुन्छन्। आत्म–सम्मानमा चोट पुग्दा उनीहरूको आत्मबल कमजोर हुन्छ र निराशा वा आक्रोश जन्मिन्छ। यो मानवीय स्वभाव हो, किनभने हाम्रो भावना अरूको व्यवहारसँग गहिरो रूपमा गाँसिएको हुन्छ। तर यस्ता अवस्था आत्मविकासको अवसर पनि हुन सक्छन्। आलोचनालाई आत्मसुधारको स्रोत बनाउन सक्ने व्यक्ति वास्तवमै आन्तरिक रूपमा बलियो बन्छ। अपमानले विनय सिकाउँछ, अस्वीकारले धैर्यको अभ्यास गराउँछ, र आलोचनाले आत्मनिरीक्षणको बाटो खोल्छ।

    सफल मानिसहरू परिस्थिति वा प्रतिक्रियाबाट निर्देशित हुँदैनन्। उनीहरूले अपमानलाई रोकावट होइन, प्रेरणाको स्रोत बनाउँछन्। आलोचना तिनीहरूलाई भत्काउँदैन, बरु निर्माण गर्छ; अस्वीकारले उनीहरूको ध्येयलाई अझ दृढ बनाउँछ। यसरी नकारात्मक अनुभवले उनीहरूलाई आत्म–चिन्तन, सुधार र रूपान्तरणतर्फ डोर्याउँछ।

    तर आधुनिक समाज ‘प्रतिक्रिया प्रधान’ भएको छ। सामाजिक सञ्जाल र तिव्र सञ्चारका कारण सानो आलोचनाप्रति पनि आक्रोश बढ्छ। अहंकारमा बाँधिएको मानिस सानो असहमतिलाई आत्म–आक्रमणजस्तै अनुभव गर्छ। यसले सहिष्णुता र संवादलाई ओझेल पार्छ। यथार्थमा, आलोचना ऐना हो जसले हाम्रो कमजोरी देखाउँछ। तर ईगोले आँखा बन्द गरिदियो भने त्यो ऐना चिन्न सकिँदैन। त्यसैले विनम्रता र विवेक आवश्यक हुन्छ।

    आध्यात्मिक दृष्टिमा आलोचना आत्मपरिष्कारको साधन हो। श्रीकृष्णले गीता मार्फत भनेझैं, कर्म गर तर फलको मोह नगर। बुद्ध, गान्धी वा रामजस्ता व्यक्तित्वहरूले आलोचना र अपमानलाई आत्मशुद्धिको साधन बनाए। उनीहरूको सफलता बाहिरी प्रशंसा होइन, आन्तरिक सन्तुलनमा थियो।

    विवेक मानव चेतनाको त्यो शक्ति हो, जसले सही र गलत, न्याय र अन्याय, हित र अहितबीच स्पष्ट भेद गर्न सहयोग गर्छ। यही विवेकले मानिसलाई आफ्नो कर्मप्रति उत्तरदायी बनाउँछ र स्वार्थभन्दा माथि उठ्न प्रेरित गर्छ। जब उपलब्धि विवेकको आधारमा प्राप्त हुन्छ, तब त्यसले सामाजिक विश्वास र सम्मान पनि जन्माउँछ। यस्तो सफलता क्षणिक हुँदैन, बरु दीर्घकालीन र स्थायी हुन्छ।

    इतिहास र समाजका विभिन्न उदाहरणहरूले देखाएका छन् कि विवेकविहीन उपलब्धिले अन्ततः पतन र पश्चात्ताप निम्त्याउँछ। अनैतिक माध्यमबाट प्राप्त धन र शक्ति प्रारम्भमा आकर्षक देखिए पनि समयक्रममा सामाजिक अविश्वास, मानसिक अशान्ति र नैतिक संकटको कारण बन्छ। यसका विपरीत, इमानदारी, परिश्रम र मूल्यमा आधारित उपलब्धिले व्यक्तिलाई आत्मगौरव र आत्मसन्तोष प्रदान गर्छ।

    आजको युगमा प्रविधि, सूचना र बजार संस्कृतिले मानिसलाई छिटो सफल बन्ने दबाब दिएको छ। “छोटो बाटो” खोज्ने प्रवृत्ति बढ्दो छ, जसले विवेकलाई कमजोर बनाउँदै लगेको छ। यसैले अबको आवश्यकता बाह्य सफलतासँगै आन्तरिक सन्तुलनको खोज हो। विवेकमा आधारित यात्राले व्यक्तिलाई संयम, धैर्य र नैतिक दृढतामा स्थापित गर्छ।

    शिक्षा प्रणाली, पारिवारिक संस्कार र सामाजिक वातावरणले विवेक निर्माणमा निर्णायक भूमिका खेल्छन्। यदि बाल्यकालदेखि नै सत्य, इमानदारी, सहानुभूति र जिम्मेवारीका मूल्यहरू सिकाइए भने भविष्यका नागरिक विवेकशील र उत्तरदायी बन्छन्। यस्ता नागरिकहरूले नै स्वस्थ समाज र सुदृढ राष्ट्र निर्माण गर्न सक्छन्।

    विवेकमा आधारित उपलब्धिको यात्रामा संस्थागत पारदर्शिता, न्यायपूर्ण शासन र सामाजिक समर्थन पनि आवश्यक हुन्छ। जब राज्य र संस्थाहरूले नैतिकता र जवाफदेहितालाई प्राथमिकता दिन्छन्, तब नागरिकहरू पनि विवेकपूर्ण मार्ग रोज्न प्रेरित हुन्छन्।

    सफलता भनेको बाहिर के पायौँ भन्ने होइन; भित्र के बन्न सक्यौँ भन्ने हो। यदि मन शान्त छ, विवेक उज्यालो छ, जीवनले अरूलाई प्रेरणा दिन्छ भने त्यो सफलता पद वा सम्पत्तिभन्दा अनन्त महान् हुन्छ।कल्पना गरौँ—एक विशाल राजदरबारमा बसेको राजा, जसको हातमा अपार सम्पत्ति छ, तर उसको मन भय, ईर्ष्या र असन्तोषले भरिएको छ। अर्को तर्फ एउटा साधक, जसको काखमा धन छैन, पद छैन, तर मनमा शान्ति छ, विवेक छ। कुन सफल? इतिहास साक्षी छ—राजाको नाम भुलिन्छ, साधकको वचन अनन्तकालसम्म गुञ्जिन्छ।

    मानव जीवनको अन्तिम लक्ष्य भौतिक वैभव होइन। सम्पत्ति, पद र शक्ति जीवनलाई सजिलो बनाउन सक्छन्, तर आत्मालाई पूर्ण बनाउन सक्दैनन्। वास्तविक सफलता विवेकमा निहित छ—विवेक जसले हामीलाई असत्यभन्दा सत्य, मोहभन्दा शान्ति, अस्थायीभन्दा शाश्वततर्फ डोर्याउँछ।त्यसैले जीवनलाई सार्थक बनाउन धन र पदभन्दा पर विवेकलाई अंगाल्नुपर्छ। विवेकको प्रकाशमा मात्र मानिसले आफूलाई, समाजलाई र सम्पूर्ण विश्वलाई नयाँ दिशा दिन सक्छ। यही विवेक नै वास्तविक सफलता हो—शाश्वत, शुद्ध र अनन्त।(tomnath [email protected])

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन १८, सोमबार २१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP