logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  •  मानवता र चेतनाको सुसंस्कार   

     मानवता र चेतनाको सुसंस्कार    

        मानवता र चेतनाको सुसंस्कार

     

     

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

    मानव जीवनको वास्तविक मूल्य मानसिक, आध्यात्मिक र नैतिक विकासमा निर्भर गर्दछ। मनको उज्यालोले मात्र व्यक्तिलाई साँचो मानव बनाउँछ। मनको प्रकाश मानव चेतनाको सुसंस्कारित प्रतिबिम्ब हो। मनको उज्यालो चेतनाको उच्चतम अवस्था हो, जहाँ व्यक्ति आफ्ना विचार, भावना र कर्मको पूर्ण निरीक्षण गर्न सक्षम हुन्छ। यस अवस्थाले व्यक्तिगत स्वार्थ, लोभ, द्वेष र मोहजस्ता नकारात्मक प्रवृत्तिहरूलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ। प्लेटो र अरिष्टोटलजस्ता दार्शनिकहरूले चेतनालाई जीवनको मार्गदर्शक शक्ति मानेका छन् र उनीहरूको दृष्टान्तअनुसार सुसंस्कारित चेतना नै नैतिक जीवनको आधार हो। जब मन उज्यालो हुन्छ, तब व्यक्ति आफ्नै हितमा सीमित रहदैन, तर समाज र मानवताको हितमा पनि योगदान गर्न सक्षम हुन्छ।

    मनको उज्यालोले जीवनमा धैर्यता, संयम, विवेक र निःस्वार्थ प्रेमको विकास गर्छ। यसले व्यक्तिलाई कठिन परिस्थितिमा पनि स्थिर रहन, उचित निर्णय लिन, र आफ्नो कर्मको परिणामबारे सचेत रहन सिकाउँछ।

    मानवता र चेतनाको सुसंस्कार मानव जीवनको आधारभूत मूल्यहरूमा गहिरो सम्बन्धित छ। मानव जीवन केवल शारीरिक अस्तित्वको मात्र होइन, बल्कि मानसिक, भावनात्मक र नैतिक विकासको प्रक्रियासँग पनि जोडिएको हुन्छ। चेतना भनेको जागरूकता वा सोच्ने क्षमता मात्र होइन, तर आन्तरिक विवेक, नैतिक तथा सामाजिक उत्तरदायित्वको समग्र प्रक्रियालाई संकेत गर्दछ। जब मानव चेतनामा सुसंस्कार मिसिन्छ, तब त्यो व्यक्तिको व्यवहार, निर्णय र समाजसँगको अन्तरक्रियामा सकारात्मक प्रभाव पार्दछ।

    सुसंस्कारित चेतनाले व्यक्तिलाई आत्मज्ञान र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न मद्दत गर्दछ। यसले नकारात्मक प्रवृत्ति र आत्मकेन्द्रित सोचबाट बचाउँछ र समाजिक सहकार्य, सहानुभूति र सहिष्णुताको विकासमा योगदान पुर्याउँछ। मानवता र चेतनाको सुसंस्कारले व्यक्तिलाई आफ्नो लागि होइन, समाज र समग्र मानवताको हितमा काम गर्न उत्प्रेरित गर्दछ। यो मूल्य र नैतिकता आधारित जीवनको परिपक्वता हो, जसले समाजमा सहिष्णुता, समानता र न्याय सुनिश्चित गर्न योगदान पुर्याउँछ।

    सुसंस्कारित चेतना र मानवताको विकास व्यक्तिका दैनिक क्रियाकलापमा पनि स्पष्ट देखिन्छ। सहानुभूति, आदर, दया, सहयोग, र समर्पण जस्ता गुणहरू केवल व्यक्तिगत नैतिकतामा मात्र सीमित छैनन्, तर समग्र समाजको प्रगति र शान्तिको लागि पनि आवश्यक छन्। जब एक व्यक्तिले आफ्नो चेतनालाई सुसंस्कारले मार्गदर्शन गर्दछ, तब उसले आफ्नो अधिकार र दायित्वको संतुलनलाई बुझ्न सक्छ, जसले सामाजिक उत्तरदायित्व र दिगो विकास सुनिश्चित गर्दछ।

    आजको द्रुत परिवर्तनशील विश्वमा, जहाँ प्रविधि, उपभोक्तावाद र व्यक्तिगत सफलता बढी महत्व पाउँछन्, चेतना र मानवता सुसंस्कारित बनाइ राख्नु चुनौतीपूर्ण छ। तथापि, यही चुनौतीले चेतनाको महत्वलाई अझ प्रष्ट बनाएको छ। शिक्षा, संस्कार, सामाजिक सहभागिता र नैतिक मूल्यहरूको अभ्यासले व्यक्तिलाई आफ्नो जीवन सुधार्न नभई समाज र मानवताको हितमा योगदान गर्न सक्षम बनाउँछ।

    मानवता र चेतनाको सुसंस्कार जीवनको आधारभूत स्तम्भ हुन्। यी मूल्यहरूले व्यक्तिलाई नैतिक, सामाजिक र आध्यात्मिक दृष्टिले विकसित बनाउँछन्। चेतना र सुसंस्कारको समायोजनले मात्र व्यक्तिको जीवनलाई सम्पूर्णता, शान्ति, र उद्देश्यपूर्ण मार्ग प्रदान गर्न सक्छ। यसले समाजमा सहयोग, समानता, सहिष्णुता, र न्याय सुनिश्चित गर्दछ, जसले दीगो प्रगति र मानव जीवनको उज्यालो भविष्यको मार्ग खोल्छ।

    आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

    जहाँ मन उज्यालो हुन्छ, त्यहाँ विवेक, करुणा र निःस्वार्थ प्रेम प्रकट हुन्छ। मन अन्धकारपूर्ण छ भने शक्ति, ज्ञान वा प्रतिष्ठा भए पनि व्यक्ति पतनको बाटोमा हुन्छ। यसरी, मानवत्वको विकास केवल बाह्य गुणमा होइन, मनको उज्यालोमा निर्भर हुन्छ।मन उज्यालो बनाउन आत्म-परिष्कार आवश्यक छ। आत्म-परिष्कार भन्नाले आत्मनिरीक्षण, मनोबल विकास, अहंकार र नकारात्मक भावना नियन्त्रण गर्नु हो। योग, ध्यान, साधना, प्रार्थना र सत्कर्मले आत्मा उज्यालो बनाउँछ र मनको प्रकाश फैलाउँछ।

    मनको उज्यालो मानव जीवनको आधारभूत शक्ति हो। यसले केवल व्यक्तिगत विकास मात्र होइन, सामाजिक र आध्यात्मिक उन्नतिलाई पनि सुनिश्चित गर्छ। जहाँ मन उज्यालो छ, त्यहाँ विवेक, करुणा, सहिष्णुता र मानवत्वको विकास स्वतः हुन्छ। मन उज्यालो बिना साँचो मानवत्व सम्भव छैन।

     (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

     

     

     

     

     

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २९, मंगलवार २३:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP