logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • नदीहरूको नीलो नाद : मोरङका खोलाहरूको सपना

    नदीहरूको नीलो नाद : मोरङका खोलाहरूको सपना

    नदीहरूको नीलो नाद : मोरङका खोलाहरूको सपना

     तोमनाथ उप्रेती

    मोरङको माटोमा जब बिहानको सुनौलो घाम पर्छ, तब बक्राहाका बगरहरू सुनका धूलोझैँ चम्किन्छन्।
    किरणहरू झुल्कनासाथ गहुँका बाला झल्झली हल्लिन्छन्, अनि बक्राहाको पानीमा परेका झल्कोहरू सुनका सिक्काजस्तै चम्किन्छन्।

    बक्राहा, त्यो कहिले करुण, कहिले क्रोधित भएर बग्ने नदी, मोरङका किसानका पसिनालाई पखाल्दै, कहिले धानका बालाहरूलाई नहलाउँदै, कहिले उखुबारीहरूमा आँशु छर्केर बग्छ।
    बक्राहा कहिले सानो धारझैँ शान्त हुन्छ, अनि कहिले मेघ गर्जनसँगै बग्दै आइदिन्छ, किनारहरू तोडेर उफ्रिन्छ, खेतबारी बगाउँछ।
    त्यस बेला किसानहरूका आँखामा आकाशजस्तै डरलाग्दो बादल छाउँछ, तर त्यो पानीसँगै उनीहरूको सपना पनि बगेर उही खेतमा फर्किन्छ—बिउ बनिदिन्छ।

    बक्राहा कुनै गीत मात्र होइन, बक्राहा एक इतिहास हो।
    बक्राहा कहिले सानोतिनो भेल, कहिले भयानक बहाव, कहिले बालबालिकाहरूको हाँसोले भरिएको किनार, कहिले उद्धारको करुण पुकार।
    तर हरेक चोटि बक्राहा एउटा कुरा सम्झाउँछ:

    “म नदी हुँ, तिमीहरूको माटो धुँदै,
    म तिमीहरूको पसिनालाई पखाल्दै,
    तिमीहरूको आँशु र सपना सँगसँगै बगाउँदै लैजान्छु।”

    जब धान रोपाई हुन्छ, खेतमा पानी पुर्‍याउन बक्राहा सुस्त गतिमा बग्छ, किसानका पाइलाहरू पानीमा छपछपाउँछन्।
    कुनैबेला त्यसै बक्राहाको किनारमा बसेर सानी छोरीले आफ्नो हातबाट पानी खेलाउँछे, अनि आकाशमा चरी हेर्दै भन्छे:

    “बाबा, हेर न, पानीमा आकाश छ।”

    त्यो पानीमा  आकाशको छवि हुँदैन, त्यहाँ पसिनाको कथा मिसिएको हुन्छ।
    त्यो पानीले धानका बाला उमार्छ, अनि त्यो धानको भातले छोरीको पेट भर्छ।

    बुढीगङ्गा, नाममा बुढी भए पनि हृदयमा होच्याई रहरको रमझम छ।
    ऊ झन् सुगन्धित सुस्केरा बनेर बग्छे, कहिले हर्षका हाँसो बगाउँछे, कहिले बाढीका बेला आक्रोशको आँसु बगाउँछे।
    बुढीगङ्गाले कहिले कलकल आवाजमा गीत गाउन थाल्छे, कहिले उफ्रिँदै, उर्लिँदै खेतका गराहरू भत्काउँछे।

    तर हरेक पटक, बुढीगङ्गाले एक कुरा सम्झाउँछे:

    “जीवन सधैं शान्त हुँदैन, कहिले आक्रोश हुन्छ, कहिले हाँसो,
    तर हरेक पटक तिमीहरूलाई जीवनको नयाँ अध्याय लेख्न सिकाउँछु।”

    बुढीगङ्गाले ल्याउने पानीले कहिले खेतहरू हरियाली बनाउँछ, कहिले उखुबारीलाई मिठास दिन्छ, कहिले खेतका डिल भत्काउँछ, कहिले गाउँका आँगनमा बग्छ।
    तर जसरी आकाशमा बादल लागे पनि घाम नलुक्दैन, बुढीगङ्गाको बाढी गएपछि पनि खेतहरूमा हरियाली फर्कन्छ।
    त्यो हरियालीमा किसानको आस्था मिसिएको हुन्छ।

    यी दुई नदीहरू मोरङका मुटु हुन्, जो आकाशका आँशु र किसानका सपना सँगै बगाएर लैजान्छन्।
    जब आकाशका कालो बादल फुट्छन्, त्यसपछि बक्राहा र बुढीगङ्गामा पानीको बहाव बढ्छ।
    त्यो पानीको बहावमा किसानको माटो बग्छ, तर त्यो माटो अर्को किनारमा गएर मल बन्छ, अनि नयाँ जीवन जन्माउँछ।

    यी नदीहरू केबल सिँचाई गर्दैनन्, उनीहरूले पीडाको पानीलाई पनि बगाउँछन्, आशाका बीजहरूलाई माटोमा रोप्छन् र खेतहरूमा हरियालीको कविता लेख्छन्।
    जसरी कविले अक्षरहरूमा कविता लेख्छ, यी नदीहरूले हरियो रंगमा कविता लेख्छन्।

    बक्राहा र बुढीगङ्गा मोरङका मौन महाकाव्य हुन्,
    जहाँ पानीका स्वरमा पसिनाका पदचिन्हहरू मिसिन्छन्।

    जब बिहान किसान खेतमा हल चलाउन जान्छ, बक्राहा र बुढीगङ्गाको स्वर उसलाई सुन्छ।
    कहिले उनीहरूले किसानलाई डर देखाउँछन्, कहिले उनीहरूले किसानको थकान पखालिदिन्छन्।
    किसान भन्छ:

    “नदी, तिमी डर लाग्दा पनि चाहिन्छौं, किनकि तिमी बिना म अन्न उमार्न सक्दिनँ।”

    नदी भन्छ:

    “किसान, म क्रोधित हुँदा तिमी मलाई गाली गर्छौ, तर म शान्त हुँदा तिमी मलाई आशिष दिन्छौ। म तिमीहरूको सपना बगाएर खेतसम्म पुर्याउने पुल हुँ।”

    त्यसैले मोरङका खेतहरू  माटोका डल्ला होइनन्, ती नदी र किसानका सपना मिसिएको आकाश हुन्।
    त्यहाँ प्रत्येक बालामा आँशु र पसिना मिसिएको हुन्छ।

    मोरङका यी नदीहरू आकाशसँग कुरा गर्छन्।
    बादल फुट्दा बक्राहा गहिरिन्छ, बुढीगङ्गा फुल्छ।
    पानीमा आकाशको झल्को पर्दा, त्यो पानीले किसानका सपनालाई अँगाल्छ।

    बक्राहाको किनारमा बालबालिकाहरू खेल्छन्, पानीमा पत्थर फ्याकेर छालहरू गन्छन्।
    त्यो छालमा सूर्यको प्रकाश परेर इन्द्रेणी बन्न खोज्छ।
    बालबालिकाहरू हाँस्दै भन्छन्:

    “हेर, पानीमा इन्द्रेणी।”

    तर त्यो इन्द्रेणी  रंग मात्रै होइन, त्यो सपना पनि हो।
    त्यो सपना जसले भोलि उनीहरूलाई स्कूल पुर्याउँछ, किताबका पाना पल्टाउँछ, शिक्षाको सगरमाथा चढ्ने हिम्मत दिन्छ।

    यी नदीहरू, बक्राहा र बुढीगङ्गा, मोरङका मौन महाकाव्य हुन्।
    तिनीहरूको कलकलमा गीत छ, तिनीहरूको बाढीमा चेतावनी छ, तिनीहरूको पानीमा आशीर्वाद छ।
    यी नदीहरूले मोरङको माटोलाई मात्र होइन, मोरङको सपनालाई पनि सिँचाइ गर्छन्।

    जब मोरङका किसानहरू बिहान खेतमा जान्छन्, उनीहरू यी नदीहरूलाई हेरेर हाँस्छन्।
    राति घर फर्केर आइपुग्दा उनीहरूले यी नदीहरूलाई सम्झेर चुपचाप आकाश हेर्छन्।

    किनकि उनीहरूलाई थाहा छ:

    “यी नदीहरूले हामीलाई कहिले डराउँछन्, कहिले बचाउँछन्,
    तर हरेक पटक हामीलाई बलियो बनाउँछन्।”

    यी नदीहरू मोरङका सपना बगाएर लैजान्छन्, र खेतमा हरियालीको कविता लेखेर फर्काउँछन्।
    यी नदीहरू मोरङको श्वास हुन्, मोरङको गीत हुन्, मोरङको उज्यालो हुन्।

     चिसाङ नदी, शीतल नाम भए पनि कहिले काँडा बनेर बग्छ, कहिले काँध बनेर थाम्छ। उसका पानीहरूले मोरङका खेतहरूमा चिसो सपनाहरू बगाउँछन्, धानका बाला झुमाउँछन्, उखुबारीको पसिनालाई पखाल्छन्। बिहान उकालोबाट झर्दै गर्दा चिसाङको पानी कञ्चन आवाज निकाल्छ, बालबालिकाहरू किनारमा नाङ्गा खुट्टा राखेर हाँसो खेल्छन्, पानी छ्यापाछ्याप गर्दै भन्छन्:

    “हेर्नु न, पानीमा आकाश देखिन्छ।”

    तर कहिले आकाशको आक्रोश पनि चिसाङमै ओर्लन्छ। बादलको गडगडाहटसँगै पानीको वेग बढ्छ, त्यो शीतल चिसाङ एकाएक काँडा बनेर खेतहरूतिर दौडिन्छ। गाउँका पर्खालहरू नाघेर पस्छ, खेतका गराहरू भत्काउँछ, अनि किसानहरूको टाउकोमा चिन्ता चढाउँछ। चिसाङ बग्दाबग्दै बिउ लगाइएको खेतमा माटो बगाउँछ, तर त्यही माटो अर्कोतिर मल बनेर बस्छ। त्यसपछि जब पानी घट्छ, त्यस माटोबाट नयाँ जीवनको अंकुर पलाउँछ। त्यसैले चिसाङले आँशु पनि बगाउँछे, अनि आशा पनि बोकेर आउँछे।

    चिसाङ नदी मोरङका किसानहरूको जीवनसँग गाँसिएकी छ। जाडो महिनामा उसको पानीमा हात राख्दा उफ्रेर आउने चिसो हावा कहिलेकाहीँ जीवनको थकान पखालिदिन्छ।
    धानका बाला पानीमा झुक्दा सूर्यको झिल्कोले पानीमा सुनौलो झल्को देखाउँछ, र किसान मुस्कान छर्छ।
    उखुबारीमा पानी पुर्‍याउँदा चिसाङको बहावमा उखुको पात हल्लिन्छ, त्यस पातको गीत हावासँग मिसिन्छ।
    तर बाढीको बेला, त्यो शीतल चिसाङले हिँड्न नसक्ने गराउँछ, खेतका डिल बगाउँछ, अनि घरका आँगनसम्म पानी पुर्‍याउँछ।

    किसानहरू भन्छन्:

    “चिसाङले जीवन दिन्छ, तर कहिलेकाहीँ परीक्षा पनि लिन्छ।”

    चिसाङको यो उग्रता  डर हैन, चेतावनी पनि हो—
    जीवन सधैं सरल हुँदैन, कहिले शीतल, कहिले संघर्षपूर्ण।

    चिसाङले मोरङका किसानहरूको सपनालाई सिँचाइ गर्छन्। उनीहरू उखुबारीहरूमा हरियालीका ध्वनि छर्छन्, मकैका बोटहरूमा जीवनको रस पुर्‍याउँछन्।
    बिहान खेततिर जाँदा किसानहरू यी नदीहरूको बहाव सुन्छन्, अनि आफ्नो भविष्यको स्वर पनि त्यसैमा सुन्छन्। उनीहरूले भन्छन्:

    “हामी नदीको आवाजबाट वर्षा कति पर्छ थाहा पाउँछौं, नदीको बहावबाट भविष्य अनुमान गर्छौं।”

    यी नदीहरूको किनारमा बेलुकी हावा चल्दा, ती हावासँगै नदीको छालहरूमा पसिनाको गन्ध मिसिन्छ।
    बालबालिकाहरू नदी किनारमा खेल्दै गर्दा उनीहरूको हाँसो पानीको छालसँग मिल्छ, अनि कहिले नदीको छालमा उनीहरूको सपना नाच्छ।
    किसानहरूको गुनासो पनि नदीसँग मिसिन्छ, कहिले उनीहरू भन्दैछन्:

    “नदीले यसपालि धेरै बगायो, सबै पसिना माटो बनेर गयो।”

    तर अर्को वर्ष फेरि उही नदीले हरियाली फर्काउँछ। त्यसैले नदीसँग गुनासो पनि हुन्छ, आस्था पनि।

    यी नदीहरूले मोरङको जीवनलाई सजीव बनाएका छन्, सपनाहरूलाई हरियो बनाएका छन् र कहिले आँशु पनि बगाएका छन्।
    चिसाङको कञ्चन पानीमा सूर्य झल्किँदा त्यो उज्यालो मोरङको खेतभरि फैलिन्छ।
    खदमको तीव्र बहावले बोटहरू हल्लाउँदा खेतमा हरियालीको सङ्गीत बज्छ।
    यी नदीहरू आकाशको वर्षालाई ल्याएर माटोसँग मिलाउँछन्, अनि माटोको गर्भबाट जीवनको अंकुर उमारीदिन्छन्।

    यी नदीहरू  पानीका धारा होइनन्, यी मोरङको जीवनका नाडी हुन्।
    जब यी नदीहरू शान्त भएर बग्छन्, मोरङमा चैतको वासन्ती हावा बहन्छ। जब यी उफ्रिन्छन्, आकाशको गर्जनसँगै गाउँका छाना चर्किन्छन्।
    तर यिनै नदीहरूले मोरङका किसानहरूको भोक मेटाउँछन्, बालबालिकाहरूको पेट भर्छन्, अनि सपनालाई हरियो पार्छन्।

    मोरङको नदीहरूमा हाँसो पनि बग्छ, आँशु पनि बग्छ, अनि आशा पनि बग्छ।
    किशोरीहरू नदी किनारमा लुगा पखाल्दै हाँस्छन्।
    किशोरहरू माछा मार्दै रमाउँछन्।
    किसानहरू बिउ राखेका खेततिर पानी पुर्‍याउँदै चुपचाप आकाश हेर्छन्, अनि भन्छन्:

    “हे भगवान, यो वर्षा यत्तिकै रोकियोस्।”

    तर जब बाढी आउँछ, घरका भाँडाकुँडा तस्न बगाउँछ, अनि किसानका आँखाबाट आँशु बगाउँछ।
    बाढी गएपछि खेतमा पानी सुक्दै जान्छ, त्यसपछि हरियो अंकुर पलाउँछ।
    त्यसै अंकुरमा किसानको आशा मिसिएको हुन्छ। बालबालिकाहरू खेतमा हरियो पात चुँडेर खेल्छन्, त्यो हरियो पात उनीहरूको खेलौनाजस्तै हुन्छ। तर त्यो खेलौनाभित्रै भोलिको जीवनको सम्भावना लुकेको हुन्छ।

    यी नदीहरूले कहिले बगाउँछन्, कहिले जीवन दिन्छन्।
    यी नदीहरूले मोरङको खेतहरूमा पानी मात्रै होइन, आशा र सपना पनि बगाउँछन्।
    यी नदीहरूको हरेक छालमा पसिनाको गन्ध, संघर्षको चिन्ह, र भोलिको मुस्कान मिसिएको हुन्छ।

    मोरङका किसानहरूलाई थाहा छ—

    “नदीको डर पनि छ, आशा पनि छ।
    तर नदी बिना जीवन सम्भव छैन।”

    जब मोरङको माटोमा घाम पर्छ, चिसाङ र खदम सुनौलो हुन्छन्।
    जब बादल गर्जन्छ, यी नदीहरू गर्जन्छन्।
    तर अन्ततः यी नदीहरूले मोरङको माटो, मोरङको खेत, र मोरङको सपना सिँचाइ गर्छन्, हरियो बनाउँछन्, जीवन बनाउँछन्।

    रतुवा नदी मोरङको माटोमा राग र रसको स्रोत बनेर बग्छ। उसका छालहरूमा सूर्यास्तको सुनौलो रंग नाच्छ, अनि उसकी धाराले खेतका कान्लामा सुमधुर तालमा ताल थप्छ। बिहान बिहान उसको छेउमा हिँड्दा सुनिन्छ—पानीको कलकल, चराहरूको चहक, हावाको सङ्गीत र किसानहरूको हाँसो।
    कतै तीव्र, कतै सुस्त, कतै चौडा, कतै साँघुरा स्वरमा बग्ने रतुवाको छालहरूमा सूर्यको झल्को पर्ने बित्तिकै पानी सुनका धागाझैँ देखिन्छ। उखुबारीका बालाहरू त्यसमा झुल्किन्छन्, मकैका बोटहरू हल्लन्छन्, अनि बालबालिकाहरू किनारमा खेल्दै, पानी छ्याप्दै, हाँसो मिसाउँदै भन्छन्:

    “हेर, पानीमा घाम छ।”

    तर जब बादलले आकाश ढाक्छ, र वर्षाका बूँदाहरू थोप्थप परिरहन्छन्, त्यही रतुवा कहिले कहिले आक्रोश लिएर बग्छ। पसिनाले रोपिएको माटो पनि बगाउँछ, तर त्यो माटो अर्को ठाउँमा पुगेर मल बन्छ, आशाको बीउ राख्छ, अनि अर्को वर्ष हरियाली फर्काउँछ।
    रतुवा मोरङको जीवनको लय हो— कहिले सुमधुर गीत, कहिले संघर्षको सङ्घर्ष। रतुवाले मोरङका खेतहरूमा सिर्जनाको स्पर्श दिन्छ, किसानको पसिनालाई परिणत गर्छ, अनि जीवनको उज्यालो छर्छ।

    मावा नदी मधुर धुनजस्तै बग्छ। उसका पानीको कलकलले बिहानको हावामा गीत गाउँछ, कहिले गुनगुनाउँछ, कहिले मौन भएर शान्त लयमा बग्दै जान्छ।
    मावा कहिले किसानहरूलाई थकाइ पखाल्ने आँचल बन्छ, कहिले किसानका थाकेका गोडाहरूले त्यो पानीमा विश्राम पाउँछन्।
    उसको पानीमा खेतको गन्ध मिसिन्छ, माटोको सुगन्ध मिसिन्छ, अनि पसिनाको मिठास मिसिन्छ।
    कहिलेकाहीँ बाढीको बेला, मावाले पनि आफ्नो मौनता तोड्छे, खेतबारी कटान गर्छे, तर पछि शान्त हुँदा ती खेतहरूमा नयाँ हरियालीको गीत गाउँछे।

    मावा नदीसँग मोरङका प्रेमकथाहरू मिसिएका छन्। चिया बगानबाट फर्कने किशोरीहरूको ओठमा गुनगुनिएको गीत मावासँगै बग्छ। युवाहरूको सपना, तिनका नजर, अनि उकुसमुकुस प्रेमका कहानिहरू पनि मावासँगै गुप्त हुन्छन्।
    त्यसैले मावा मोरङको गुनगुन हो, सुगन्ध हो, अनि जीवनको शान्त लय हो।

    लोहन्द्रा नदीका लहरहरूमा लोचनका सपनाहरू बग्छन्। लोहन्द्राको पानीले खेतमा बग्दा पसिनाको गन्ध भिजाउँछ। कहिले पाइलाहरू त्यसमा डुब्छन्, कहिले बालबालिकाहरू ढुंगा फ्याँक्छन्, अनि छालहरूमा आकाशका बादल हल्लिन्छन्।
    त्यस छालमा किसानहरूको थकान पनि हल्लिन्छ, अनि त्यो पानीमा आकाश देख्दा किसानका आँखामा भविष्यको उज्यालो झुल्किन्छ।

    सिता नदी, शीतल श्वासजस्तै सुस्केराहरू छर्छे। बाढीको बेला पनि सिता त्यति क्रोधित हुँदैन, बरु करुण भएर बग्छे। बिहानको धुवाँ हुस्सुमा जब सिता नदी बगिरहेकी हुन्छे, किसानहरू त्यसको किनारमा उभिएर आकाशको रंग हेर्छन्। कहिले उनीहरू गहभरि आँसु राखेर भगवानसँग बिन्ती गर्छन्:

    हे भगवान, यो वर्षा यत्तिकै रोकियोस्।”

    सिता पनि प्रेमका कुरा बगाउँछे। उसका किनारहरूमा उभिएर किशोरहरू सपना देख्छन्, किशोरीहरू आफ्ना कुरा पानीसँग फुसफुसाउँछन्।
    लोहन्द्रा र सिता मोरङका खेतहरूलाई न्यानो बनाउँछन्, तराईलाई हरियो बनाउँछन्, अनि मानिसका अनुहारमा मुस्कान ल्याउँछन्।

    डाँस नदीले धानका बाला हल्लाउँछे। उसका छालहरूले खेतका पानीमा तरङ्ग बनाउँछन्, अनि सूर्यको झल्को त्यसमा परेर सुनौलो झिलमिल देखिन्छ। बेलुकाको सूर्यास्तले डाँसको पानीलाई रङ्गाउँछ, र त्यो रङ्ग किसानहरूको आँखाभित्र घुल्छ।
    जुन खेतमा आज पसिना बग्यो, भोलि त्यसै खेतमा डाँसको पानीले हरियाली फिर्ता ल्याउँछ।

    सिङ्गयाही खोलाले खेतका फाँटहरूमा हरियाली पोतिदिन्छ। उसको पानीले खेतका कान्लाहरूलाई चुम्छ, बालाहरूलाई हँसाउँछ, अनि पसिनालाई पानीमा मिसाउँछ। कहिले सिङ्गयाहीमा नाङ्गो खुट्टा हिँड्दा माटोको गन्धले आत्मा भिजाउँछ।
    यी खोलाहरू मोरङका श्रृङ्गार हुन्—हरेक बाला, हरेक हरियाली, हरेक हाँसोमा यी खोलाहरूको योगदान हुन्छ।

    मोरङका बेतना, जुडी, साखरे, कचला जस्ता साना खोलाहरू, साना भए पनि सजीव स्वर भएका छन्।
    यी खोलाहरूको पानी खेतका कान्लामा ठोक्किँदा छरितो लय पैदा हुन्छ, अनि साना साना आवाजमा संघर्षका कथा सुनाउँछन्।
    बेतनाले आकाशका बादलहरूको छायाँ झल्काउँछ, अनि जब घाम उदाउँछ, यी खोलाहरू मोरङको मुहारमा उज्यालो ल्याउँछन्।

    जुडी खोलामा बालबालिकाहरूको हाँसो मिसिन्छ, उनीहरू ढुंगा फ्याक्छन्, पानीका छालहरू नाच्छन्।
    साखरे खोलाले बिहानको शीतल पानीमा आँखा धुने दिदीबहिनीहरूको स्वर बोकेर बगाउँछ।
    कचला खोलाले खेतहरूलाई कञ्चन स्वरमा सिँचाइ गर्छ, अनि खेतमा हरियाली फर्काउँछ।

    यी खोलाहरू मोरङका आँखाका आँशु हुन्, पसिनाका बूँदाहरू हुन्, अनि आशाका स्रोत हुन्।
    साना भए पनि उनीहरूको आवाज ठूलो छ, किनकि उनीहरूले जीवनलाई बहाइरहेका छन्।

    यी सबै नदीहरू—रतुवा, मावा, लोहन्द्रा, सिता, डाँस, सिङ्गयाही, बेतना, जुडी, साखरे, कचला—मोरङको जीवन हुन्।
    यी खोलाहरूले मोरङका खेतहरूमा पानी मात्रै होइन, आशा र सपना पनि बगाउँछन्।
    यी खोलाहरूको हरेक छालमा पसिनाको गन्ध, संघर्षको चिन्ह, र भोलिको मुस्कान मिसिएको हुन्छ।

    मोरङका ती खोलाहरू,बुढीगङ्गा, बक्राहा, र रातुवामाई,  पानीका धारा होइनन्, ती जीवनका मन्त्र हुन्, जसले माटोलाई हरियो बनाउँछन् र हरेक पसिनालाई फलेको अन्नको रूपमा फर्काउँछन्। जब बिहानको पहिलो किरणले यी खोलाका छालहरूमा सुनौलो झिलमिल पार्छ, त्यो झिलमिल कुनै दृश्य सौन्दर्य मात्र होइन, त्यो किसानको आत्माको मुस्कान हो, जसले भन्छ, “आज पनि म कर्म गर्नेछु, म बाँच्नेछु, म सपना देख्नेछु।” यी खोलाहरूले बहाउँछन् पसिना, आँशु र हाँसो, अनि सँगसँगै बगाउँछन् समयको कथा र भविष्यको आशा। बादल लागेको दिनमा खोलाहरूको गर्जनले मोरङका किसानहरूको छातीमा साहस फुक्छ, जुन गर्जन कुनै आँधीको होइन, आत्मबलको घोषणा हो। पानीका छालहरूमा सूर्यको किरण पर्नासाथ झिलमिल हुँदा ती छालहरूमा बालबालिकाहरूका सपनाहरू खेल्छन्, भविष्यका सम्भावनाहरू तैरिन्छन्, र आत्माको उज्यालो मुस्कान झल्किन्छ। खोलाका किनारहरूमा जब किसानहरू आफ्नो पाखुरामा माटो दल्दै बीउ रोप्छन्, त्यो क्षणमा नदीको पानी र किसानको पसिना एउटै धर्मको बिन्दुमा पुग्छ—जुन धर्म कर्मको हो, करुणाको हो, र सृजनाको हो।

    यी खोलाहरू मोरङका धड्कन हुन्, जसले गाउँहरूलाई पानी मात्र दिँदैनन्, आत्मालाई शुद्ध पार्ने आध्यात्मिक स्नान पनि गराउँछन्। जब सूर्यास्त हुन्छ, ती खोलाहरू सुनौलो रंगमा रंगिन्छन्, त्यो सुनौलो रंग जीवनका उकाली–ओरालीहरूको प्रतीक हो। मोरङका ती खोलाहरूले सिखाउँछन्—“जीवन पनि नदीको जस्तै हो, कहिले शान्त, कहिले उग्र, तर सधैँ अगाडि बग्ने।” नदी किनारका घाँसमा टाँसिएको हिउँजस्तो ओस, पातहरूमा परेको घामको झिलमिल, अनि खोलामा पर्न लागेको इन्द्रेणी—यी सबै मोरङका बालबालिकाहरूको भविष्यका सपनाहरू हुन्। खोलाहरूको छालमा सूर्यको झल्कोले दिएको उज्यालो, आत्माको झिलमिल हो, जुनले भन्छ—“तिमी जहाँ छौ, त्यहीँ कर्म गर, प्रेम गर, र परिवर्तनलाई अँगाल।” यी खोलाहरूको बगाइमा सृष्टिको नाद हुन्छ, जसले मोरङलाई आत्मनिर्भरता, सहनशीलता र आत्मसम्मानको गीत सुनाउँछ। जब खोलाहरू बग्छन्, मोरङ पनि बग्छ—उज्यालो भविष्यतिर, करुणा र कर्मको बाटोमा, र चेतनाको महासागरमा। अनि जब मोरङ मुस्कुराउँछ, त्यो मुस्कान मोरङ मात्र होइन, समग्र जीवनको मुस्कान हुन्छ, जुन मुस्कानमा आत्मासँगको संवाद, माटोसँगको प्रेम र भविष्यसँगको सन्धि हुन्छ। यी खोलाहरू निरन्तर बगिरहून्, किनकि यी खोलाहरूको बगाइमा नै मोरङको उज्यालो, आत्मिक शान्ति र भविष्यको सम्भावना सुरक्षित छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार ३२, बुधबार २१:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP