सौन्दर्यका आवरण(कविता)
✍️ तोमनाथ उप्रेती
सौन्दर्य रूपको रहस्य होइन
मनको आकाशमा जल्ने एक दीप हो
सूर्यास्तको सुनौलो उज्यालो
हिमालको ओसिलो चुम्बन
अथवा नयनभित्रको न्यानोपन
यी सबै आत्माको द्वारका परदा हुन्।
देवी सरस्वती मुस्काउँछिन्
रूपले होइन ज्ञानको स्वरले
कृष्णको मोहक मुस्कानभित्र
गीताको सत्यको गहिरो स्वर बस्छ
सौन्दर्य त्यहाँ अन्त्य हुँदैन
त्यहाँबाट सुरु हुन्छ आत्माको यात्रा।
कमल माटोमा उभिन्छ
तर सुगन्ध आकाशमा फैलाउँछ
त्यो नै सौन्दर्यको सन्देश हो
अन्धकारबाट उज्यालोतर्फ
आवरणबाट आत्मज्ञानतर्फ।
रूप क्षणिक छ
तर विचार अमर
फूल मर्छ, तर सुगन्ध बाँकी रहन्छ
अनुहारको तेज ओइलाउँछ
तर करुणाको उज्यालो सदैव बाँचिरहन्छ।
सुन्दरता नाक, आँखामा होइन,
विचार, विवेक र करुणामा हुन्छ
सुकरात, बुद्ध, अष्टबक्र
कुरूप अनुहार, तर सुन्दर आत्मा
उनीहरूले सिकाए
चर्मदृष्टिले होइन, चेतनाले हेर्न सिक।
समाज सौन्दर्यको भेषमा हराएको छ
फिल्टर र छविको जंगलमा
तर सत्य अनुहारमा होइन
शान्त चेतनामा लुकेको छ
विचार नै सौन्दर्य हो
जसले अनुहार होइन
इतिहास बनाउँछ।
जीवनको अन्तिम सत्य यही हो
रूप ओइलाउँछ, विचार फुलिरहन्छ।
सौन्दर्यको आवरण पार गर्दै
जब हामी आत्माको स्वर सुनिन्छौं
त्यो क्षण
मानवले ब्रह्मलाई छुन पुग्छ।
प्रतिक्रिया