नेपालको शासनको महाशोक(व्यङ्ग्य कविता)
तोमनाथ उप्रेती
हे मेरी स्वदेशी जननी !
तिमी अझै विकासको श्मशानमा पर्खिरहेकी छौ —
कुनै पुल, कुनै बाटो, कुनै शिलान्यास !
मर्मरको शिलामा कुँदिएको नेताजीको नाम
र भजन गाइदिने मिडियाको काम !
सपना देखाउनेहरूले रेल ल्याउने भन्थे —
रेलबिहीन लिकहरूमा नेताहरूको भाषण चढ्यो ।
राजनीति हाम्रो खरायो भयो —
आफ्नो पुछर देखेरै रमायो, उफ्रियो, फेरि लड्यो ।
यहाँ सरकार भनेको घोषणाको किताब हो,
घोषणाले तेरो पेट भरिएला भन्थे —
तर भोकको आयात भयो !
परदेशका विमानस्थलमा हाम्रो पसिना
अनि त्रिभुवन विमानस्थलमा पोकाहरू च्यातियो —
सपना पनि मिटरमा नापियो !
मेरो देशको गाडी कागजमा कुद्छ,
धुलो लाग्छ, फाइल थन्किन्छ —
त्यसको चर्पी बनाउँछन् ठेकेदारहरूले !
त्यो चर्पीमा हाम्रो भरोसा थन्किन्छ,
विकासको सपना बगेर नालीमा झर्छ —
नेताको भित्तामा शिलालेख मात्र रहन्छ,
नाम मात्रै छ, काम छैन —
त्यसैले हामी शिलान्यास–युगका जनता हौं !
हे अध्यागमन !
तिमी हाम्रो ‘स्वतन्त्रता करकाप केन्द्र’ हौ —
जहाँ गोरेटो नपार्दै हाम्रो आँसु पार हुन्छ ।
तिमी विमानस्थलको वकिल हौ —
नागरिकको कानुन आफै बनाउछौ,
विदेश जान्नेलाई ‘फाइल’ बनाउछौ,
पाइलामा पैसा लुकाएर ‘श्रमजीवी’ चुस्छौ ।
हेर !
शासन भनेको अब सिलबार–शिलबारको खेल हो ।
कसले कति काट्छ, कसले कति बाँड्छ —
हाम्रो कर, हाम्रो पसिना, हाम्रो सपना —
सबै कागजमा क्यालेन्डर जस्तो फेरिन्छ ।
विकास भनेको फोटो खिच्ने कुरा भयो,
फोटोमा नेता र उहाँको ‘हात उठाउने शैली’ —
त्यो शैलीमा संविधान कोरिन्छ,
कर्मचारीको हाकाहाकी कोरिन्छ,
दलालको दलन कोरिन्छ,
जनताको कराह कोरिन्न !
हे विकास !
तिमी कागजमै मरिसक्यौ —
तिमी घोषणामै झुण्डियौ —
तिमी कुर्सीको ढाडसंगै शिथिल भयौ !
हाम्रो शासन एउटा बत्तीसको जुँगा भयो,
जुन ‘मेसिन’ होइन,
तर भाषणमा अझै घुम्छ ।
कसैले प्रश्न गर्यो भने —
फाइल खोजिन्छ, समिति गठन हुन्छ,
छानबिन टुप्पोको सिँगानीजस्तो सुक्छ ।
मेरो देश !
हेर —
श्रमजीवी युवाहरूका सपनाको खल्ती,
त्रिभुवनको ढोकामा नै च्यातिन्छ !
कागज सकियो, पैसा सकियो,
तर चिहान छैन, फर्कन बाटो छैन !
यो कविता होइन — शोकगीत हो,
यसमा शासनको छायाँ मात्र छ —
यसमा दलहरूको दोहोरो अनुहार छ —
यसमा हाम्रो आकाशभरि
घोषणा–घोषणा–घोषणा !
हे लोकतन्त्र !
तिमी घोषणा मात्रै होइन —
सङ्कल्प पनि हो भनेर देखाऊ —
नत्र, विकास श्मशान बन्छ,
शासन शिशिर हुन्छ,
जनता धूलो !
नेता महल !
अनि हामी — आँसुको आयात !
(रतुवामाइ,५ मोरङ)
प्रतिक्रिया