logo
  • २०८३ जेष्ठ १० | Sun, 24 May 2026
  • पुनर्जन्म’: जीवन, मृत्यु र चेतनाको दार्शनिक पुनरुत्थान

    पुनर्जन्म’: जीवन, मृत्यु र चेतनाको दार्शनिक पुनरुत्थान

    पुनर्जन्म’: जीवन, मृत्यु र चेतनाको दार्शनिक पुनरुत्थान

      (दार्शनिक तथा आध्यात्मिक दृष्टिकोणसहित कृति–समीक्षा)

     

     

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

     

    मानव जीवनको सबैभन्दा गहिरो सत्य के हो?जीवन स्वयं, कि मृत्युको नजिक पुगेर पुनः फर्किएको चेतनाको अनुभव? प्रगतिशील चिन्तक राम विनयद्वारा लिखित संस्मरण–संग्रह ‘पुनर्जन्म’ यही प्रश्नको जटिल, मार्मिक र दार्शनिक उत्तर खोज्ने प्रयास हो। शीर्षकले पारम्परिक अर्थमा आत्माको पुनर्जन्मलाई संकेत गरेजस्तो देखिए पनि यस कृतिले पुनर्जन्मलाई आध्यात्मिक पुनरुत्थान, चेतनाको रूपान्तरण र जीवनको पुनःअर्थ–निर्माणका रूपमा व्याख्या गर्छ। यस अर्थमा यो कृति जीवन र मृत्युबीचको सिमानामा उभिएर लेखिएको एक दार्शनिक दस्तावेज हो।

    यस कृतिको मूल आधार सन् २०१९ पछि फैलिएको कोरोना महामारी हो। यो एक यस्तो वैश्विक त्रासदी जसले मानव सभ्यताको संरचना नै हल्लायो। लेखक आफैँ यस महामारीको चपेटामा परेर जीवन–मरणको दोसाँधमा पुग्दा उनले भोगेका शारीरिक पीडा, मानसिक त्रास, सामाजिक अलगाव र अस्तित्वगत प्रश्नहरू यस कृतिमा सजीव रूपमा अभिव्यक्त भएका छन्। यहाँ महामारी जीवनको अस्थायित्वको प्रतीक हो। मानव अहंकारको विघटन हो र चेतनाको जागरणको माध्यम हो।

    कृतिको संरचनागत विन्यास अत्यन्तै व्यवस्थित र प्रभावकारी छ। १ सय ९६ पृष्ठमा फैलिएको यस पुस्तकलाई २७ वटा शीर्षकमा विभाजन गरिएको छ, जसले जीवनका विभिन्न चरणहरू आशंका, पीडा, संघर्ष, आत्मचिन्तन र अन्ततः पुनःजागरणलाई क्रमिक रूपमा उद्घाटन गर्छ। प्रत्येक शीर्षक स्वतन्त्र अनुभवजस्तो लागे पनि समग्रमा यी सबैले ‘पुनर्जन्म’ को केन्द्रीय भावलाई सशक्त बनाउँछन्। ‘आईसीयूमा एक्लोपन’, ‘अकल्पनीय महामारी’, ‘बुबालाई बिसन्चो’, ‘जीवन मरणको धारबाट जीवनतर्फ’ जस्ता शीर्षकहरूले पाठकलाई भावनात्मक रूपमा मात्र होइन, अस्तित्वगत रूपमा पनि झकझक्याउँछन्।

    भाषाशैलीका दृष्टिले कृति सरल, तर गहिरो छ। लेखकले जटिल अनुभूतिलाई पनि सहज भाषामा प्रस्तुत गरेका छन्, जसले पाठकलाई कथा मात्र होइन, अनुभव महसुस गराउँछ। वर्णनात्मक शैली, आत्मस्वीकारोक्ति र आत्मसंवादको प्रयोगले कृतिलाई आत्मीय बनाएको छ। कतिपय स्थानमा काव्यिक भाव–प्रवाहले गद्यलाई सौन्दर्य प्रदान गरेको छ भने कतै यथार्थको कठोरता यति सजीव रूपमा आएको छ कि पाठक स्वयं अस्पतालको बेडमा पुगेजस्तो अनुभूति गर्छ।

    दार्शनिक दृष्टिले हेर्दा, ‘पुनर्जन्म’ अस्तित्ववाद, भौतिकवाद र आध्यात्मिक चेतनाको अद्भुत समन्वय हो। लेखक प्रारम्भमा भौतिकवादी सोचमा विश्वास राख्ने देखिन्छन्, तर जब मृत्युको छायाँ नजिक आउँछ, तब उनी अनायासै आध्यात्मिक चेतनातर्फ आकर्षित हुन्छन्। यही परिवर्तन कृतिको सबैभन्दा सुन्दर पक्ष हो। यहाँ ईश्वर संकटको चरम अवस्थामा उत्पन्न हुने आशा, विश्वास र आत्मसमर्पणको प्रतीक हो।

    कृतिमा बारम्बार उठ्ने प्रश्न—“मानव जीवनको वास्तविक अर्थ के हो?”ले पाठकलाई आत्मचिन्तनतर्फ प्रेरित गर्छ। जब लेखक आईसीयूमा एक्लोपनसँग जुधिरहेका हुन्छन्, तब उनी रोगसँग होइन, आफ्नै अस्तित्वसँग संघर्ष गरिरहेका हुन्छन्। यही क्षणमा जीवनको क्षणभङ्गुरता, सम्बन्धहरूको महत्त्व र समयको मूल्य स्पष्ट हुन्छ। यस सन्दर्भमा ‘पुनर्जीवनले दिएको सन्देश’ शीर्षक विशेष उल्लेखनीय छ, जहाँ लेखकले जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने साहस प्राप्त गरेका छन्।

    सामाजिक यथार्थको चित्रण पनि यस कृतिको बलियो पक्ष हो। महामारीका बेला राज्यको निष्क्रियता, स्वास्थ्य प्रणालीको कमजोरी, आर्थिक असमानता र सामाजिक विभेदलाई लेखकले तीखो तर यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन्। “जसको पहुँच छ, उसैको जीवन सुरक्षित हुन्छ” यो कठोर सत्य कृतिमा बारम्बार प्रतिध्वनित हुन्छ। यसले पाठकलाई सहानुभूति मात्र होइन, सामाजिक उत्तरदायित्वबोध पनि गराउँछ।

    कृतिमा पारिवारिक सम्बन्धको भूमिका अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरिएको छ। बुबा र दुई भाइको मृत्युले उत्पन्न गरेको पीडा व्यक्तिगत दुःख होइन; यो सम्पूर्ण मानव संवेदनाको प्रतिनिधित्व हो। यसले अन्ततः जीवनका सबै संघर्षहरूबीच परिवार नै अन्तिम आश्रय हो भन्ने देखाउँछ। यही भावले कृतिलाई भावनात्मक उचाइमा पुर्याएको छ।

    आध्यात्मिक दृष्टिले ‘पुनर्जन्म’ आत्म–परिष्कारको यात्रा हो। लेखकले जीवनको वास्तविक पुनर्जन्म शरीरको होइन, चेतनाको हुन्छ। जब मानिस मृत्युको नजिक पुग्छ, तब ऊ आफ्नो अहंकार, लोभ र भ्रमबाट मुक्त हुँदै जान्छ। यही मुक्ति नै साँचो पुनर्जन्म हो भनने भाव स्पष्ट रूपमा देखाउँछन्।

    कृतिमा प्रतीक र बिम्बहरूको प्रयोग पनि उल्लेखनीय छ। महामारीलाई आँधीबेहरीसँग तुलना गर्नु, आईसीयूलाई एक्लोपनको कारागारका रूपमा देखाउनु र अस्पतालबाट बाहिर निस्किनुलाई ‘नयाँ जीवन’ को रूपमा चित्रण गर्नु—यी सबैले कृतिलाई साहित्यिक उचाइमा पुर्याएका छन्।

    यस कृतिको एक महत्वपूर्ण पक्ष यसको आत्मस्वीकारोक्ति हो। लेखकले आफ्ना कमजोरीहरू लापरबाही, असावधानी र आत्मविश्वासको कमीलाई खुलेर स्वीकार गरेका छन्। यही इमानदारीले कृतिलाई विश्वसनीय बनाउँछ।

    तर, आलोचनात्मक दृष्टिले हेर्दा कतिपय स्थानमा घटनाहरूको पुनरावृत्ति भएको अनुभूति हुन्छ, जसले कृतिको गतिको सन्तुलनमा केही असर पार्न सक्छ। यद्यपि, यसले कृतिको समग्र प्रभावलाई कमजोर बनाउँदैन; बरु वास्तविक अनुभूतिको पुनःप्रस्तुति जस्तो लाग्छ।

    ‘पुनर्जन्म’ महामारीको संस्मरणमा सीमित रहँदैन यो मानव जीवनको गहन दार्शनिक अन्वेषणका रूपमा स्थापित हुन्छ। यसले जीवनको अनिश्चितता र चेतनाको अमूल्यताको अनुभूति गराउँदै बताउँछ कि मृत्यु अन्त्य होइन, बरु आत्मबोधको नयाँ सुरुवात हुन सक्छ। यस कृतिमा पीडा दुःखको प्रतीक होइन यो ज्ञान, आत्मचिन्तन र रूपान्तरणको द्वारका रूपमा प्रस्तुत भएको छ।

    यसलाई पढिसकेपछि पाठक केवल घटनाहरूको कथाबाट प्रभावित हुँदैन, बरु आफ्नै अस्तित्व, जीवनका प्राथमिकता र सम्बन्धहरूको अर्थबारे सोच्न बाध्य हुन्छ। यही आत्म–प्रश्न र चेतनात्मक कम्पन नै कृतिको सबैभन्दा ठूलो सफलता हो।यस अर्थमा, ‘पुनर्जन्म’ जीवनको दर्पण हो, चेतनाको जागरण हो र मानव अस्तित्वको गहन तथा सूक्ष्म व्याख्या हो, जसले पाठकलाई भित्री यात्रातर्फ डोर्याउँछ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख १९, शनिबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP