logo
  • २०८३ जेष्ठ १० | Sun, 24 May 2026
  • कामी रीता शेर्पाको आरोहण र मानव आत्माको दर्शन

    कामी रीता शेर्पाको आरोहण र मानव आत्माको दर्शन

    कामी रीता शेर्पाको आरोहण र मानव आत्माको दर्शन
    (एक दार्शनिक–आध्यात्मिक निबन्ध)

     

    तोमनाथ उप्रेती

     

    सगरमाथा चट्टान होइन। यो बरफले ढाकिएको ढिस्को मात्र पनि होइन। यो पृथ्वीको मौन टाउको हो। आकाश छुने अनन्त प्रार्थना हो। प्रकृतिको सबैभन्दा शुद्ध र कठोर रूप हो।

    मानिसले यसलाई उचाइ भन्छ। नक्सामा अंकले मापन गर्छ। तर आत्माले यसलाई प्रश्न भन्छ गहिरो, मौन, अन्तहीन प्रश्न। “तिमी कति टाढा जान सक्छौ?” “तिमी आफूभित्र कति गहिरो जान सक्छौ?”

    यो बाहिरको पहाड होइन। यो भित्रको चेतनाको शिखर हो। जहाँ शरीरको सीमा सुरु हुन्छ, त्यहीँ आत्माको परीक्षा सुरु हुन्छ। त्यहाँ हावा पातलो हुन्छ। अहंकार पनि पातलो हुन्छ। बिस्तारै पग्लिन्छ।सास लिन गाह्रो हुन्छ। विचारहरू पनि शान्त हुन्छन्।त्यही मौनतामा मानिस पहिलो पटक आफूलाई भेट्छ। सरल रूपमा। साँचो रूपमा।

    सगरमाथा अस्तित्वको प्रश्न हो. जीवनको मौन परीक्षा हो। मानिस तल हुँदा भीडमा हराउँछ, इच्छामा हराउँछ. र आवाजमा डुब्छ, तर उचाइतिर जाँदा ऊ क्रमशः आफैंसँग भेट गर्न थाल्छ। प्रत्येक पाइला एक त्याग बन्छ, प्रत्येक सास एक संघर्ष बन्छ र प्रत्येक मौन क्षण ध्यानमा बदलिन्छ। हिमालले केही बोल्दैन, तर त्यही मौनताले सबै कुरा सिकाउँछ सहनशीलता, नम्रता र आत्मसमर्पण। जब शरीर अत्यन्त सीमामा पुग्छ, तब मानिसले बुझ्छ कि ऊ  शरीर होइन, विचार होइन, तर चेतना हो।

    त्यही चेतना नै मानवको वास्तविक स्वरूप हो। हिमालले त्यो चेतनालाई जागृत गर्छ। उसलाई बदल्न बाध्य पार्दैन, केवल मौन बनाउँछ। र त्यही मौनतामा सत्य देखिन्छ। आरोहण माथि पुग्ने प्रक्रिया होइन, यो भित्र प्रवेश गर्ने यात्रा हो। प्रत्येक आरोहीले शिखरमा पुग्दा  हिमाललाई छुदैन, ऊ आफ्नै डर, आफ्नै सीमाहरू र आफ्नै भ्रमहरूलाई पनि पार गर्छ। त्यसैले सगरमाथा अन्त्य होइन। एक पुनर्जन्म हो, जहाँ मानिस “म” बाट “हामी” हुँदै अन्ततः “शून्यता” तर्फ यात्रा गर्छ।

    त्यसैले सगरमाथा  उचाइ होइन, भित्रको गहिराइ हो। यो मानिसको अहंकारलाई तोड्ने र आत्मालाई जगाउने साधना हो। जब मानिस त्यहाँ पुग्छ, ऊ भन्छ“म सानो रहेछु,” तर त्यही सानो अनुभूतिमा ऊ विशाल बन्छ। यही नै हिमालको गहिरो दर्शन हो, कि साँचो उचाइ बाहिर होइन, भित्र हुन्छ, र साँचो विजय शिखरमा होइन, आत्मामा हुन्छ।

    कामी रीता शेर्पा उनी निरन्तरताको जीवित रूप हुन्। उनी साधनाजस्तै छन्, जहाँ जीवन कुनै एक क्षणको उपलब्धिमा टुंगिँदैन, बरु प्रत्येक क्षणमा पुनः सुरु हुन्छ। ३२ पटक सगरमाथा चढ्नु केवल संख्याको खेल होइन, यो समयसँगको  संवाद हो, जहाँ मानिस र प्रकृति बीच मौन भाषा बोलिन्छ। यो डरमाथि विजय मात्र होइन, डरलाई बुझ्ने यात्रा हो। यो सीमामाथि पुनःपुनः प्रश्न उठाउने अभ्यास हो“सीमा कहाँ छ?” र “सीमा साँच्चै छ कि केवल हाम्रो सोचमा छ?”

    मानिस प्रायः एकपटक सफल भएपछि रोकिन चाहन्छ। ऊ भन्छ, अब पुग्यो। अब सुरक्षित भइयो। अब जोखिम आवश्यक छैन। तर केही आत्माहरू त्यहाँ रोकिन सक्दैनन्। उनीहरूलाई उपलब्धि अन्त्य जस्तो लाग्दैन, बरु अर्को ढोका जस्तो लाग्छ। उनीहरू फेरि जान्छन्, फेरि उही जोखिममा, फेरि उही मौन मृत्युको छेउमा, जहाँ हावा पनि शत्रु जस्तो लाग्छ र प्रत्येक पाइला जीवन र मृत्युको बीचमा झुन्डिएको हुन्छ।

    किन यस्तो हुन्छ? किन कोही मानिस बारम्बार त्यही कठिनाइतिर फर्किन्छ? यसको उत्तर साधारण छैन। यो न त लोभ हो, न त साहस मात्र। यो भित्री प्रकृतिको पुकार हो। केही आत्माहरू गन्तव्यमा होइन, यात्रामा मात्र जीवित हुन्छन्। उनीहरूको अस्तित्व स्थिरतामा होइन, गतिमा हुन्छ।

    हिमाल उनीहरूको लागि अन्तिम लक्ष्य होइन, बरु निरन्तर संवाद हो। प्रत्येक आरोहण नयाँ जन्म जस्तो हुन्छ। शरीर थाक्छ, तर चेतना अझ जागृत हुन्छ। जोखिम दोहोरिन्छ, तर अनुभूति नयाँ हुन्छ। त्यही दोहोरिने यात्रामा अर्थ लुकेको हुन्छ। किनभने जीवन आफैं पनि त एकपटक मात्र भएको यात्रा होइन, यो निरन्तर पुनरावृत्ति हो।सासको, धड्कनको र संघर्षको।

    मानिस जब सीमामा पुग्छ, त्यहीँ उसको वास्तविक स्वरूप देखिन्छ। केही मानिस डरले रोकिन्छन्। केही मानिस डरलाई पार गर्छन्। तर केही मानिस डरलाई साथी बनाउँछन्। उनीहरू डरलाई हटाउँदैनन्, बरु त्यससँगै हिँड्न सिक्छन्। कामी रीता शेर्पाको यात्रामा यही  शिक्षा लुकेको छ।डर अन्त्य होइन, मार्ग हो।

    ३२ पटकको आरोहणले एउटा दार्शनिक सत्य देखाउँछ।मानिसको क्षमता स्थिर हुँदैन। यो विस्तारशील हुन्छ। प्रत्येक प्रयासले पुरानो सीमालाई भत्काउँछ। प्रत्येक पुनरागमनले नयाँ अर्थ जन्माउँछ। यही निरन्तरतामा जीवनको ध्यान लुकेको हुन्छ।

    सगरमाथा  समयको दर्पण हो, जहाँ मानिसले आफ्नै धैर्य देख्छ। त्यहाँ कुनै ठूलो शब्द हुँदैन, केवल सास हुन्छ। कुनै ठूलो घोषणा हुँदैन, केवल संघर्ष हुन्छ। र त्यही संघर्षमा आत्मा आफूलाई भेट्छ।

    त्यसैले केही आत्माहरू गन्तव्यमा होइन, यात्रामा बाँच्दछन्। उनीहरूलाई अन्त्य चाहिँदैन, किनभने उनीहरूको जीवन नै निरन्तर सुरु भइरहने कथा हो। र यही निरन्तरतामा मानव आत्माको सबैभन्दा गहिरो दर्शन लुकेको हुन्छ।

    हिमाल डर हो, किनभने त्यहाँ प्रत्येक क्षण जीवन जोखिममा हुन्छ। हावा पातलो हुन्छ, शरीर कमजोर हुन्छ र मृत्यु धेरै नजिक महसुस हुन्छ। तर त्यही हिमाल आकर्षण पनि हो, किनभने जहाँ जीवन सबैभन्दा कठिन हुन्छ, त्यहीँ अर्थ सबैभन्दा गहिरो हुन्छ। यो एउटा यस्तो विरोधाभास हो जहाँ मानिस एकै साथ डराउँछ र आकर्षित पनि हुन्छ। यहाँ जीवन र मृत्यु अलग छैनन्, उनीहरू एउटै मौन ठाउँमा सँगै बस्छन्, जस्तै दुई विपरीत सत्यहरू एउटै क्षणमा भेटिन्छन्।

    एक पाइला माथि जाँदा शरीर भारी हुन्छ, सास छोटो हुन्छ, अक्सिजन घट्छ। तर आश्चर्यजनक रूपमा, अर्थ बढ्छ। किनभने प्रत्येक कठिन साससँगै मानिसले आफ्नो सीमालाई अझ स्पष्ट रूपमा बुझ्न थाल्छ। जब शरीर कमजोर हुन्छ, तब मात्र मनको शक्ति देखिन थाल्छ। र जब मन पनि थाक्न थाल्छ, तब चेतना जाग्न थाल्छ। यही जागरण नै हिमालको मौन शिक्षा हो।

    मानिस यहाँ कमजोर हुन्छ, किनभने उसको शरीर प्रकृतिको अगाडि सानो हुन्छ। तर त्यही कमजोरीमा एउटा गहिरो शक्ति लुकेको हुन्छ आत्मबोध। जब सबै बाहिरी सहारा हराउँछ, तब मानिस भित्र फर्किन्छ। ऊ आफैंसँग कुरा गर्न थाल्छ। ऊ आफैंलाई सुन्न थाल्छ। र त्यही क्षणमा ऊ बुझ्छ। ऊ केवल शरीर होइन।

    हिमालले सिकाउँछ, “तिमी शरीर मात्र होइनौ।” यो वाक्य एउटा आध्यात्मिक उद्घोष हो। शरीर सीमित छ, तर चेतना असीमित छ। शरीर थाक्छ, तर जागरण थाक्दैन। शरीर रोकिन्छ, तर आत्मा यात्रा गरिरहन्छ। हिमालले यही सत्यलाई मौन रूपमा देखाउँछ, शब्दमा होइन, अनुभवमा।

    त्यसैले हिमाल चेतनाको दर्पण हो। जहाँ मानिस आफूलाई सबैभन्दा कमजोर अवस्थामा देख्छ, त्यहीँ ऊ सबैभन्दा पहिला आफूलाई भेट्छ। डर र आकर्षण सँगै बाँच्ने यही विरोधाभास नै हिमालको वास्तविक सौन्दर्य हो।

    आरोहणलाई मानिसहरू बाहिरी यात्रा भन्छन्, किनभने आँखाले देखिने कुरा पहाड, बरफ, बाटो र आकाश हुन्। तर वास्तविकता त्यस्तो सरल हुँदैन। आरोहण बाहिरको होइन, भित्री संसारको यात्रा हो। यो शरीरभन्दा गहिरो, मनभन्दा गहिरो र विचारभन्दा पनि गहिरो यात्रा हो। प्रत्येक पाइला बाहिरतिर जाँदा पनि वास्तवमा भित्रतिर झर्दै जान्छ, जहाँ मानिस आफ्नै अस्तित्वसँग आमनेसामने हुन्छ।

    जब शरीर थाक्छ, तब मानिसको सामान्य शक्ति समाप्त हुन थाल्छ। तब मन बोल्न थाल्छ डर, आशा, सम्झना र संघर्षका स्वरहरू मिसिएर। मनले भन्छ, “अब रोक।” तर त्यही क्षणमा अर्को शक्ति जाग्न थाल्छ। जब मन पनि थाक्छ, जब तर्क र भावना दुबै मौन हुन्छन्, तब आत्मा बोल्न थाल्छ। आत्मा शब्दमा होइन, अनुभूतिमा बोल्छ।

    र जब आत्मा बोल्छ, त्यहाँ शब्द हुँदैन। त्यहाँ विचार हुँदैन। त्यहाँ केवल मौनता हुन्छ। त्यो मौनता खालीपन होइन, पूर्णता हो। त्यो मौनता निष्क्रियता होइन, सबैभन्दा गहिरो जागरण हो। त्यही मौनतामा मानिस पहिलो पटक आफूलाई भेट्छ—न नामको रूपमा, न शरीरको रूपमा, तर चेतनाको रूपमा।

    त्यो भेट कुनै ठूलो घटना होइन। त्यो कुनै आवाज होइन। त्यो एक अदृश्य अनुभूति हो, जहाँ मानिस भित्रैबाट बुझ्छ ऊ सीमित छैन। ऊ केवल थकाइ होइन। ऊ केवल डर होइन। ऊ केवल संघर्ष होइन। ऊ यी सबैभन्दा धेरै केही हो, जसलाई शब्दले पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन।

    आरोहण त्यसैले केवल शिखरमा पुग्ने प्रक्रिया होइन। यो आफूभित्रको तहहरू खोल्ने यात्रा हो। प्रत्येक तहसँगै मानिस आफ्नो पुरानो पहिचान छोड्दै जान्छ। र अन्त्यमा, जब सबै कुरा हराउँछ, त्यहीँ वास्तविक “म” बाँकी रहन्छ—शुद्ध, मौन र स्पष्ट।त्यही मौनतामा आरोहणको वास्तविक अर्थ लुकेको हुन्छ। त्यो मौनता नै सगरमाथाको अन्तिम उत्तर हो।जीवन धैर्यको एक गहिरो दर्शन हो, जहाँ धैर्य चेतनासहितको सक्रिय शक्ति हो। धैर्य भन्नाले खाली बस्नु होइन, बरु निरन्तर उभिनु हो, निरन्तर प्रयास गर्नु हो र प्रत्येक कठिन क्षणमा पनि अघि बढ्ने निर्णय लिनु हो। ३२ पटक एउटै हिमाल चढ्नु, एउटै बाटो हिँड्नु र एउटै जोखिमसँग बारम्बार सामना गर्नु पुनरावृत्ति होइन, यो साधना हो। किनभने साधनामा बाहिरी परिवर्तन हुँदैन, तर भित्री रूपान्तरण हुन्छ।

    धैर्यले मानिसलाई ठूलो बनाउँछ, तर त्यो ठूलोपन अहंकारमा होइन, नम्रतामा देखिन्छ। जब मानिस बारम्बार कठिनाइसँग सामना गर्छ, तब ऊ आफूलाई संसारको केन्द्र ठान्न छोड्छ। ऊ बुझ्न थाल्छ कि ऊ प्रकृतिको मालिक होइन, बरु यसको एक सानो अंश हो। यही बोधले उसको भित्रको अहंकार पग्लिन थाल्छ।हिमालसँगको बारम्बारको संवादले मानिसलाई सिकाउँछ कि शक्ति चिच्याउने कुरा होइन, सहने क्षमता हो। जितेर ठूलो बन्ने होइन, सहेर गहिरो बन्ने हो। प्रत्येक आरोहणसँगै शरीर थाक्न सक्छ, तर चेतना परिपक्व हुँदै जान्छ।

    कामी रीता शेर्पाको यात्रामा धैर्य एक मौन गुरु बनेको छ। त्यो गुरुले शब्दमा सिकाउँदैन, अनुभवमा सिकाउँछ। हरेक पटक उही पहाड चढ्दा नयाँ पाठ खुल्छ।कहिल्यै एउटै क्षण दोहोरिँदैन, किनभने मानिस प्रत्येक पटक फरक हुन्छ।त्यसैले धैर्य स्थिरता होइन, गहिरो गतिशीलता हो। यो बाहिर नदेखिने तर भित्र निरन्तर चलिरहने शक्ति हो। यही शक्ति नै मानिसलाई साधारणबाट असाधारण बनाउँछ, र आरोहीलाई केवल पर्वत चढ्ने व्यक्ति होइन, चेतनाको साधक बनाउँछ।

    समयले सबै कुरा परिवर्तन गर्छ। मानिस बदलिन्छ, शरीर बदलिन्छ, इच्छा बदलिन्छ र स्मृति पनि बिस्तारै मेटिँदै जान्छ। तर केही सत्यहरू समयभन्दा माथि हुन्छन्, जसलाई समयले छोए पनि परिवर्तन गर्न सक्दैन। ती सत्यहरू स्थिर जस्तो देखिन्छन्, तर वास्तवमा तिनीहरू चेतनाको गहिराइमा निरन्तर बोलिरहन्छन्। सगरमाथा त्यस्तै एक प्रतीक हो, जो हजारौँ वर्षदेखि उभिएको छ, मौन, स्थिर र अटल रूपमा। तर त्यो स्थिरताभित्र पनि एउटा अदृश्य संवाद चलिरहन्छ। प्रकृति र मानिसबीचको, डर र साहसबीचको, शरीर र आत्माबीचको।

    कामी रीता शेर्पा जस्ता आरोहीहरूले यसलाई पहाडको रूपमा मात्र हेर्दैनन्। उनीहरूले यसलाई फेरि फेरि पढ्छन्, जस्तै कुनै पवित्र ग्रन्थलाई बारम्बार पढिन्छ। प्रत्येक पढाइमा नयाँ अर्थ खुल्छ, किनभने पाठ्यवस्तु होइन, पाठक बदलिन्छ। हरेक आरोहण एक नयाँ अध्याय हो, किनभने प्रत्येक पटक शरीर फरक हुन्छ, मन फरक हुन्छ, र अनुभवको गहिराइ फरक हुन्छ।

    हरेक पाइला चेतनाको एक वाक्य हो। त्यो वाक्य कहिले डरले लेखिन्छ, कहिले धैर्यले, कहिले मौनताले। तर प्रत्येक पटक त्यो वाक्यले एउटा नयाँ अर्थ जन्माउँछ। यही कारणले सगरमाथा कहिल्यै पुरानो हुँदैन। यो एउटै पहाड भए पनि प्रत्येक आरोहीका लागि फरक ब्रह्माण्ड हुन्छ।

    समयले मानिसलाई कमजोर बनाउँछ, तर अनुभूतिले उसलाई गहिरो बनाउँछ। सगरमाथा समयभन्दा माथि छ किनभने यो अनुभवको निरन्तरता हो। यहाँ प्रत्येक आरोहणले विगतलाई दोहोर्याउँदैन, बरु नयाँ दृष्टि जन्माउँछ।

    त्यसैले हरेक आरोहण चेतनाको पुनर्लेखन हो। प्रत्येक यात्रा एउटा नयाँ अध्याय हो, जहाँ मानिस आफूलाई फेरि लेख्छ, फेरि बुझ्छ, र फेरि हराउँछ ताकि फेरि गहिरो रूपमा आफूलाई भेट्न सकोस्।

    मानिस भन्छ— “यो असम्भव छ।” किनभने ऊ पहिले आफ्नो डरलाई हेर्छ, आफ्नो अनुभवको सीमालाई हेर्छ र आफ्नै कमजोरीलाई सत्य ठान्छ। तर इतिहासले सधैँ अर्को भाषा बोल्छ—“यो सम्भव भयो।” किनभने इतिहास केवल विचार होइन, प्रमाण हो, जहाँ असम्भव भनिएका कुराहरू समयको यात्रामा सम्भव बनेका हुन्छन्। ३२ पटकको आरोहण त्यही प्रमाण हो, जसले मानव सीमाको परिभाषा फेरि लेखिदिन्छ।

    सीमा बाहिर कतै टाढा हुँदैन। सीमा पहाडमा होइन, आकाशमा होइन, नक्सामा होइन। सीमा मानिसको भित्रै हुन्छ। त्यो उसको सोचमा हुन्छ, उसको डरमा हुन्छ, उसको शंका र अविश्वासमा हुन्छ। जब मानिस भन्छ “म सक्दिन,” त्यहीँ सीमा जन्मिन्छ। जब ऊ विश्वास गर्छ “म सक्छु,” त्यहीँ सीमा पग्लिन थाल्छ।

    डर भित्रै बस्छ, शत्रुजस्तै होइन, तर एउटा अस्पष्ट छायाजस्तै। अविश्वास पनि भित्रै बस्छ, जसले मानिसलाई रोक्दैन, तर ढिलो बनाउँछ, कमजोर बनाउँछ। तर आरोहणको वास्तविक अर्थ त्यही भित्रका अवरोधहरू पार गर्नु हो।

    हिमाल चढ्नु भनेको उचाइमा पुग्नु मात्र होइन, यो भित्रको अवरोधहरू पार गर्नु हो। प्रत्येक पाइला बाहिर होइन, भित्रको युद्ध जित्दै अगाडि बढ्नु हो। जब शरीर थाक्छ, डर बोल्छ र मन थरथराउँछ, त्यही क्षणमा मानिसले आफ्नो वास्तविक शक्ति खोज्नुपर्छ।

    सीमा पार गर्नु नै आरोहण हो। र जब सीमा पार हुन्छ, तब मानिसले बुझ्छ उसको क्षमता कहिल्यै स्थिर थिएन, केवल डरले छोपिएको थियो। त्यही आवरण हटेपछि मानिस आफूभन्दा ठूलो केही होइन, तर आफ्नो कल्पनाभन्दा धेरै ठूलो सम्भावना हो भन्ने सत्य प्रकट हुन्छ।

    पूर्वीय दर्शनले भन्छ शरीर अस्थायी हो, परिवर्तनशील हो, समयसँगै जन्मिन्छ र समयसँगै विलीन हुन्छ। तर आत्मा शाश्वत हो, स्थिर हो र कुनै पनि भौतिक सीमाले यसलाई बाँध्न सक्दैन। यही दृष्टिबाट हेर्दा हिमाल चढ्नु  भौतिक साहसको कार्य मात्र होइन, यो चेतनाको अभ्यास हो। यो शरीरलाई यसको सीमासम्म पुर्याउने प्रक्रिया हो, तर साथसाथै आत्मालाई उसको मौन स्वरूपतर्फ फर्काउने यात्रा पनि हो।

    हावाको कमीमा मानिसले धेरै कुरा गुमाउँछ शक्ति, गति, आत्मविश्वास र कहिलेकाहीँ आफ्नै अहंकार पनि। तर यही गुमाइमा एउटा अनौठो उपलब्धि जन्मिन्छ। जब बाहिरी आवाजहरू हराउँछन्, तब भित्री आवाज स्पष्ट हुन थाल्छ। जब शरीर संघर्षमा हुन्छ, तब मन शान्त हुन थाल्छ। र जब मन पनि थाक्छ, तब चेतना बोल्न थाल्छ।

    त्यो चेतना नै स्पष्टता हो। त्यो स्पष्टता कुनै विचार होइन, कुनै तर्क होइन, कुनै कल्पना होइन। यो केवल देखाइ हो जस्तो छ, त्यस्तै देखिने अवस्था। हिमालको मौनतामा मानिस पहिलो पटक आफूलाई बिना आवरण देख्न थाल्छ। ऊ आफ्नो डर पनि देख्छ, आफ्नो सीमाहरू पनि देख्छ, र आफ्नो गहिरो सम्भावना पनि देख्छ।

    त्यही स्पष्टता नै ध्यान हो। ध्यान कुनै अलग अभ्यास होइन, यो जागरणको अवस्था हो। जब सबै बाहिरी आधारहरू हराउँछन्, तब मानिस अनायासै ध्यानमा प्रवेश गर्छ। हिमाल त्यही मौन गुरु हो, जसले शब्द बिना सिकाउँछ, निर्देशन बिना रूपान्तरण गर्छ।

    त्यसैले हिमाल चढ्नु  उचाइतिर जाने यात्रा मात्र होइन, यो भित्री गहिराइतिर फर्किने यात्रा हो। जहाँ शरीर कमजोर हुन्छ, त्यहाँ आत्मा स्पष्ट हुन्छ। र जहाँ स्पष्टता हुन्छ, त्यहाँ नै वास्तविक ध्यान जन्मिन्छ।

    कामी रिताको मौनताभित्र एउटा पूरा दर्शन बोलिरहन्छ। शब्दहरूभन्दा पहिले उनको जीवन आफैं अभिव्यक्त हुन्छ। उनका पाइला एक प्रकारको शिक्षण हुन् जहाँ प्रत्येक कदमले मानिसलाई धैर्य, साहस र समर्पणको अर्थ सिकाउँछ। उनका थकाइहरू कमजोरी होइनन्, ती अनुभवका गहिरा पाना हुन्, जसले जीवनलाई सतही नभई गहिरो रूपमा बुझ्न सिकाउँछन्।

    उनको यात्रा देखाउँछ कि लगातारता नै वास्तविक सफलता हो। सफलता कुनै एक क्षणको चमक होइन, यो निरन्तर पुनरावृत्त साधना हो, जहाँ मानिस बारम्बार उही कठिनाइसँग भेटिन्छ र बारम्बार आफूलाई रूपान्तरण गर्छ। एकपटकको विजय केवल घटना हो, तर बारम्बारको समर्पण जीवनको मार्ग हो।

    हिमालमा प्रत्येक आरोहण नयाँ परीक्षा जस्तै हुन्छ। परिस्थिति उस्तै देखिए पनि शरीर फरक हुन्छ, मन फरक हुन्छ र अनुभूति फरक हुन्छ। त्यसैले प्रत्येक यात्रा नयाँ सिकाइ हो। यही निरन्तरताले मानिसलाई साधारण उपलब्धिबाट माथि उठाएर चेतनाको गहिराइतर्फ लैजान्छ।

    कामी रीता शेर्पाको जीवनले एउटा मौन सत्य प्रकट गर्छ महानता ठूलो शब्दमा होइन, निरन्तर कर्ममा हुन्छ। र जब कर्ममा समर्पण हुन्छ, तब जीवन आफैं एउटा जीवित दर्शन बन्छ।

    मानिस जोखिमदेखि डराउँछ, किनभने उसको स्वभाव नै सुरक्षित रहनु हो। ऊ स्थिरता खोज्छ, निश्चितता खोज्छ र भविष्यलाई नियन्त्रण गर्न चाहन्छ। तर जीवनको सत्य यो हो जोखिम बिना जीवन सम्भव छैन। प्रत्येक सास पनि एक प्रकारको जोखिम हो, प्रत्येक निर्णय पनि एक प्रकारको अनिश्चितता हो।

    हिमालमा प्रत्येक कदम जोखिम हो, किनभने त्यहाँ प्रकृति कडा छ, हावा पातलो छ र शरीर सधैँ सीमामा हुन्छ। तर त्यही जोखिमभित्र एउटा अनौठो सौन्दर्य लुकेको हुन्छ। जहाँ डर चरम हुन्छ, त्यहीँ अनुभूति पनि चरम हुन्छ। जहाँ असुरक्षा बढ्छ, त्यहीँ जागरण पनि गहिरो हुन्छ।

    किनभने जहाँ मृत्यु नजिक हुन्छ, त्यहाँ जीवन झनै स्पष्ट हुन्छ। सामान्य जीवनमा मानिसले धेरै कुरा बिर्सन्छ उसको सास, उसको अस्तित्व, उसको वर्तमान। तर जोखिमको क्षणमा सबै कुरा तीव्र हुन्छ। एउटा सानो सास पनि मूल्यवान लाग्छ, एउटा सानो पाइला पनि अर्थपूर्ण हुन्छ।

    त्यसैले हिमाल जीवनको दर्पण हो। यसले देखाउँछ कि मानिस तब मात्र पूर्ण रूपमा बाँचिरहेको हुन्छ जब ऊ आफ्नो सीमासँग सामना गरिरहेको हुन्छ। डर हटाएर होइन, डरको साथ बाँचेर मात्र जीवन गहिरो हुन्छ। यही हिमालको मौन शिक्षा हो जीवन त्यहीँ गहिरो हुन्छ जहाँ जोखिम स्वीकारिन्छ।

    सगरमाथा बोल्दैन, तर त्यसको मौनताभित्र एउटा गहिरो भाषा लुकेको हुन्छ, जसलाई कानले होइन, चेतनाले सुन्नुपर्छ। हावामा त्यो भाषा बगिरहन्छ, हिउँको चिसोपनमा त्यो अनुभूति फैलिरहन्छ र चट्टानको कठोरतामा त्यो सत्य टकराइरहन्छ। यो कुनै शब्दको आवाज होइन, यो अस्तित्वको आवाज हो जहाँ प्रकृति आफैंले मानिससँग संवाद गर्छ।

    त्यो मौन आवाजले भन्छ—“तिमी सानो छौ, तर कमजोर होइनौ।” सानो हुनु कमजोरी होइन, यो केवल स्थान हो, स्थिति हो। ब्रह्माण्डको विशालतामा मानिस सानो अवश्य हुन्छ, तर उसको चेतना विशाल हुन सक्छ।

    हिमालको मौनतामा मानिस आफ्नो सबै कृत्रिम पहिचानहरू गुमाउन थाल्छ नाम, पद, सफलता, असफलता। त्यहाँ केवल एउटा कुरा बाँकी रहन्छ—शुद्ध अस्तित्व। र त्यही अस्तित्वलाई हिमालले हेर्छ, न त निर्णय गर्छ, न त प्रशंसा, केवल प्रकट गर्छ।

    नेपाल हिमालको देश हो, तर हिमाल केवल भूगोल होइन। यो केवल नक्सामा देखिने सेतो रेखा होइन, यो चेतनाको प्रतीक हो, जहाँ प्रकृति र आत्मा एकअर्कासँग मौन रूपमा संवाद गर्छन्। हिमाल यहाँ केवल उचाइ होइन, यो गहिराइ हो मानिसको भित्री संसारलाई प्रतिबिम्बित गर्ने दर्पण हो।

    सगरमाथा जस्ता शिखरहरू सांस्कृतिक र आध्यात्मिक मेरुदण्ड हुन्, जसले नेपाललाई  एक अनुभूतिको रूपमा विश्वसामु प्रस्तुत गर्छन्। हिमालले मानिसलाई सिकाउँछ स्थिरता शक्ति हो, मौनता भाषा हो  र सहनशीलता जीवनको आधार हो।

    कामी रीता जस्ता व्यक्तित्वहरूले नेपाललाई विश्वमा चिनाउँछन्, तर उनीहरूको वास्तविक महत्त्व केवल कीर्तिमानमा सीमित छैन। उनीहरूको यात्रा, उनीहरूको अनुशासन र उनीहरूको समर्पण नै सबैभन्दा ठूलो सम्पत्ति हो। चरित्र बिना कीर्तिमान खाली हुन्छ, तर चरित्रसँग साधारण कार्य पनि अर्थपूर्ण बन्छ।

    हिमाल र मानिसको सम्बन्ध केवल विजयको होइन, यो सम्मानको सम्बन्ध हो। जहाँ मानिस हिमाललाई जित्ने प्रयास गर्दैन, बरु त्यसबाट सिक्ने प्रयास गर्छ। यही दृष्टिकोणले नेपाललाई हिमाली देश होइन, आत्मिक देश बनाउँछ। किनभने यहाँ उचाइभन्दा बढी गहिराइलाई बुझ्ने परम्परा छ, र त्यही गहिराइ नै यसको वास्तविक पहिचान हो।

     

    कहिलेकाहीँ प्रेरणा खेलमैदानबाट आउँछ, जहाँ भीड, प्रतिस्पर्धा र विजय–पराजयको कथा एकै क्षणमा बाँचिन्छ। कहिलेकाहीँ प्रेरणा हिमालबाट आउँछ, जहाँ मौनता छ, एकान्त छ र प्रत्येक पाइला जीवन र मृत्युबीचको सूक्ष्म रेखामा राखिन्छ। तर यी दुई फरक संसार भए पनि, तिनले मानिसलाई एउटै सत्यतर्फ डोर्याउँछन् मानिसले मानिसलाई नै बुझ्छ  र संघर्षले संघर्षलाई नै चिन्छ।

    एक खेलाडीको धैर्य र एक आरोहीको धैर्य बाहिरबाट फरक देखिए पनि भित्रबाट एउटै प्रकृतिको हुन्छ। दुवैमा निरन्तरता हुन्छ, दुवैमा असफलता सहने क्षमता हुन्छ र दुवैमा पुनः उठ्ने साहस हुन्छ। खेलमैदानमा गिरेर फेरि उठ्ने क्षण र हिमालमा चिप्लिएर फेरि सम्हालिने क्षणबीच भावनात्मक दूरी धेरै हुँदैन, किनभने दुवै अवस्थामा मानिस आफ्नै सीमासँग सामना गरिरहेको हुन्छ।

    महानता कीर्तिमान होइन, किनभने कीर्तिमान समयसँगै पुरानो हुन सक्छ, तर चरित्र र निरन्तरता समयभन्दा माथि रहन्छ। महानता त्यही हो जहाँ मानिस एक क्षणको चमकमा होइन, जीवनभरको यात्रामा आफूलाई पुनःपुनः प्रमाणित गर्छ।

    महानता त्यहाँ जन्मिन्छ जहाँ मानिस एकपटक सफल भएर रोकिँदैन, बरु फेरि उठ्छ, फेरि प्रयास गर्छ र फेरि आफूलाई पार गर्छ। यही निरन्तरताले मानिसलाई साधारण सीमाबाट निकालेर असाधारण सम्भावनातर्फ लैजान्छ।शिखर त्यही हो जहाँ मानिसले डर जित्छ। डर बाहिर होइन, भित्र बस्छ अज्ञातको डर, असफलताको डर र आफ्नै सीमाको डर। जब मानिस ती सबै डरलाई पार गर्छ, तब ऊ केवल पहाडमाथि होइन, आफ्नो मनमाथि पनि उभिन्छ।

    तर अझ अग्लो शिखर त्यहाँ हुन्छ जहाँ मानिस आफैँलाई जित्छ। आफैँलाई जित्नुको अर्थ हो अहंकार, आलस्य, शंका र कमजोरीलाई बुझेर तिनीहरूमाथि उठ्नु। यो विजय बाहिरी होइन, आन्तरिक हुन्छ, जहाँ मानिस आफूलाई नै पुनः परिभाषित गर्छ।त्यसैले शिखर केवल ठाउँ होइन, अवस्था हो। एक चेतनाको बिन्दु हो जहाँ मानिस आफ्नै सीमाबाट माथि उठ्छ।

    जीवन पनि सगरमाथा जस्तै हो। यसमा उकालो छ, कहिले थकाउने, कहिले डर लाग्ने, कहिले श्वास नै भारी बनाउने क्षणहरू हुन्छन्। तर यही कठिनाइले जीवनलाई अर्थ दिन्छ। सजिलो बाटोमा मानिस चल्छ, तर कठिन बाटोले मानिसलाई बदल्छ।

    कामी रीता शेर्पाको ३२ पटकको आरोहण  कुनै बाहिरी उपलब्धि होइन, यो मानव चेतनाको निरन्तर अभ्यास हो। एउटै पहाड, एउटै चुनौती, तर प्रत्येक पटक नयाँ अनुभवले  देखाउँछ कि जीवन दोहोरिने कुरा होइन, निरन्तर गहिरिँदै जाने प्रक्रिया हो।त्यसैले यो यात्राले भन्छ “मानिस रोकिँदैन, यदि आत्मा जागृत छ भने।” शरीर थाक्न सक्छ, परिस्थितिले रोक्न खोज्न सक्छ, तर चेतना जागृत छ भने मानिस फेरि उठ्छ, फेरि हिँड्छ, र फेरि आफ्नो उचाइ खोज्छ। यही निरन्तर जागरण नै जीवनको वास्तविक गति हो र यही गति नै मानव अस्तित्वको  अर्थ हो।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३, आईतवार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP