logo
  • २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • पूर्वी क्षितिजदेखि मिथिलाको हृदयसम्म(नियात्रा)

    पूर्वी क्षितिजदेखि मिथिलाको हृदयसम्म(नियात्रा)

    पूर्वी क्षितिजदेखि मिथिलाको हृदयसम्म(नियात्रा)

    तोमनाथ उप्रेती

    रातको अन्तिम प्रहर बिस्तारै सकिँदै थियो। पूर्वी आकाशमा उज्यालोको पहिलो धर्का देखापर्न थालेको थियो। विराटनगर अझै पूर्ण रूपमा ब्युँझिएको थिएन। सडकछेउका चिया पसलहरूमा पहिलो आगो बल्दै थियो। दूध बोकेका साइकलहरू, बिहानको हिँडाइमा निस्किएका केही वृद्धहरू, मन्दिरतर्फ जाने श्रद्धालुहरू र पूर्वी क्षितिजमा फैलिँदै गएको सुनौलो आभा यी सबैले नयाँ दिनको उद्घोष गरिरहेका थिए। म जनकपुरतर्फ प्रस्थान गर्दै थिएँ। गन्तव्य जानकी मन्दिर थियो। तर मनले भित्रैदेखि भनिरहेको थियो आजको यात्रा कुनै मन्दिरसम्म पुग्ने यात्रा मात्र हुने छैन यो त आफ्नै चेतनाको एउटा गहिरो तहसम्म पुग्ने यात्रा हुनेछ।
    गाडी विराटनगरको व्यस्त सडक छोडेर इटहरीतर्फ अघि बढ्यो। झ्यालबाहिरको संसार विस्तारै बदलिँदै गयो। बजारहरू गाउँमा फेरिए। पक्की भवनहरू माटाका घरमा रूपान्तरित भए। धानका खेतहरू क्षितिजसम्म फैलिएका थिए। ओसले भिजेका बाला बिहानको घाममा मोतीझैँ चम्किरहेका थिए। हावाले खेतहरूमा हल्का तरङ्ग सिर्जना गरिरहेको थियो। मलाई लाग्यो, प्रकृतिले कुनै भाषा बोल्दिन, तर उसका प्रत्येक दृश्य एउटा कविता हुन्। मानिसले ती कविताहरू पढ्न सिकेपछि मात्र ऊ साँच्चिकै शिक्षित हुन्छ।
    इटहरी नजिकिँदै गर्दा सडकहरू चौडा भए। गाडीहरूको गति बढ्यो। आधुनिक जीवनको लय स्पष्ट देखिन थाल्यो। तर त्यो चहलपहलभित्र पनि एउटा मौन प्रश्न लुकेको थियो मानिस किन यति धेरै दौडिरहेको छ? उसले समयलाई जित्न खोजेको हो कि समयबाट भाग्न खोजेको हो? सडकहरू लामो हुँदै गए। मैले महसुस गरेँ, गन्तव्यभन्दा पनि यात्राले मानिसलाई धेरै परिवर्तन गर्छ। नदी समुद्रसम्म पुग्दा मात्र नदी बन्दैन; प्रत्येक मोड, प्रत्येक ढुङ्गा, प्रत्येक किनारा पार गर्दै ऊ नदी बनेकी हुन्छ। मानिसको जीवन पनि त्यस्तै रहेछ।
    इटहरी पार गरेपछि कोशीतर्फ जाने बाटो खुल्यो। हावाको स्वर बदलियो। क्षितिज अझै फराकिलो भयो। केही पर पुग्नासाथ कोशीको विशाल जलराशि देखापर्यो। त्यो दृश्यले मेरो दृष्टिलाई मात्र होइन, चेतनालाई पनि केही क्षणका लागि स्थिर बनायो। सात नदीको सङ्गम भएर बनेकी कोशी कुनै साधारण नदी होइन। ऊ हिमालयको स्पन्दन बोकेर तराईमा ओर्लिएकी जीवित सभ्यता हो। हजारौँ वर्षदेखि उसले माटो बोकेकी छ, बाढी बोकेकी छ, उर्वरता बोकेकी छ, विनाश बोकेकी छ र जीवन पनि बोकेकी छ। एउटै नदी कसरी यति धेरै विरोधाभासको घर हुन सक्छ? त्यसबेला मलाई लाग्यो जीवन पनि कोशीजस्तै हो। जसले जीवन दिन्छ, उसैले परीक्षा पनि दिन्छ। जसले सिर्जना गर्छ, उसैले परिवर्तन पनि ल्याउँछ।
    कोशी ब्यारेजमा पुग्दा गाडी केही बेर रोकियो। मैले रेलिङ समातेर तल बगिरहेको पानीलाई लामो समयसम्म हेरिरहेँ। पानी एक क्षण पनि रोकिएको थिएन। एउटै नदीमा दुई पटक पाइला टेक्न नसकिने हेराक्लाइटसको दर्शन अचानक सम्झनामा आयो। वास्तवमा परिवर्तन नै जीवनको अर्को नाम रहेछ। नदी बग्न छाडे दलदल बन्छ। मानिस सिक्न छाडे चेतना सुस्ताउँछ। समाज परिवर्तन स्वीकार्न छाडे इतिहासमा पछि पर्छ। कोशीले शब्दविहीन भएर यही शिक्षा दिइरहेकी थिई।
    मैले देखेँ, सयौँ चराहरू पानीमाथि उडिरहेका थिए। उनीहरूलाई सीमाको कुनै चिन्ता थिएन। उनीहरूलाई नागरिकताको कुनै प्रमाणपत्र चाहिएको थिएन। नदीले पनि कहिल्यै आफू कुन देशको हो भनेर सोधिन। सूर्यले कहिल्यै आफ्नो प्रकाश जात, धर्म वा भाषाका आधारमा बाँडेन। प्रकृतिले सबैलाई समान रूपमा अँगालो हालिरहेकी छ। विभाजन मानिसले सिर्जना गरेको हो। एकता प्रकृतिको मौलिक धर्म हो। यही सोचले मलाई बुद्धको करुणा, उपनिषद्को “वसुधैव कुटुम्बकम्” र जनकको समदर्शी दर्शन एकैपटक सम्झाइदियो।
    ब्यारेजमाथि उभिँदा तलको वेग र माथिको शान्त आकाशबीच अद्भुत संवाद चलिरहेको थियो। तल नदी दौडिरहेकी थिई। माथि बादल निस्पृह थिए। मैले अनुभव गरेँ—जीवनमा गहिराइ र शान्ति एकअर्काका विरोधी होइनन्। गहिरो नदी धेरै हल्लिँदैन। गहिरो मानिस धेरै मौनता गहिराइको विशेषता हो।
    त्यस क्षण मलाई राजा जनक सम्झिए। जनकलाई इतिहासले केवल मिथिलाका राजा भनेर मात्र सम्झँदैन उनी दार्शनिक राजा थिए। वैभवको बीचमा बसेर पनि वैराग्यको अनुभूति गर्न सक्ने दुर्लभ चेतना उनीसँग थियो। अष्टावक्रसँगको उनको संवादले संसारलाई सिकाएको थियो मुक्ति वनमा गएर होइन, चेतनामा जागेर प्राप्त हुन्छ। म जनकपुर पुग्नुअघि नै जनकको दर्शनसँग यात्रा गरिरहेको थिएँ। सायद यही यात्राको वास्तविक आरम्भ थियो।
    गाडी फेरि अघि बढ्न थाल्यो। कोशी विस्तारै पछाडि छुट्दै गइन्। तर उनको प्रवाह मेरो भित्र बगिरह्यो। मैले झ्यालबाहिर अन्तिम पटक नदीलाई हेरेँ। अचानक मनमा एउटा वाक्य जन्मियो—यात्राको पहिलो गुरु सडक होइन, नदी हुन्छ। किनकि सडकले केवल गन्तव्य देखाउँछ, नदीले बग्न गाडीले फेरि आफ्नो नियमित लय समात्यो। पहियाहरूले कालोपत्रे सडकमा समयको संगीत बजाइरहेका थिए। झ्यालबाहिरको दृश्य क्षण क्षणमा फेरिँदै थियो। कतै हरिया धानका बाला हावासँग नाचिरहेका थिए, कतै सुनौलो मकैका बोटहरू सूर्यतर्फ मुख फर्काएर उभिएका थिए। गाउँहरू एकपछि अर्को गर्दै पछाडि छुटिरहेका थिए। तर मलाई लागिरहेको थियो वास्तवमा पछाडि छुटिरहेका थिएनन्, उनीहरू स्मृतिको कुनै शान्त कुनामा स्थायी बास बस्दै थिए।
    यही सोचमा डुबिरहेको बेला झ्यालबाहिरको दृश्यले फेरि मेरो ध्यान तान्यो। मधेशको समथर धरती बिहानको कोमल घाममा स्नान गरिरहेकी थिइन्। टाढासम्म फैलिएका हरिया धानका खेतहरू हावाको हल्का स्पर्शसँगै समुद्रका छालझैँ एकै लयमा डुलिरहेका थिए। बीच–बीचमा देखिने बाँसका झ्याङ, पीपल र बरका पुराना वृक्षहरू प्रकृतिका मौन प्रहरीझैँ उभिएका थिए। खेतको कान्लामा सेता बकुल्लाहरू निश्चिन्त उभिएका थिए, मानौँ उनीहरूलाई समयको कुनै हतार थिएन।
    कतै किसानले हलो जोतिरहेका थिए। कतै महिलाहरू गोडमेलमा व्यस्त थिए। कतै बालबालिकाहरू नाङ्गा खुट्टाले खेतको आली हुँदै विद्यालयतिर दौडिरहेका थिए। उनीहरूको हाँसो बिहानको हावामा मिसिँदा लाग्थ्यो, प्रकृतिले आफ्नै संगीत रचेकी छ। कुनै वाद्ययन्त्र थिएन, तर चराको चिरबिराहट, पातहरूको सुस्केरा, टाढाको गोरुको घण्टी र मानिसहरूको श्रमको लय मिलेर एउटा अदृश्य राग बजिरहेको थियो।
    सडकका दुवैतिर कतारमा उभिएका सिसौ, कदम र गुलमोहरका रुखहरूले यात्रुलाई मौन अभिवादन गरिरहेका थिए। कहिले तिनको घना छहारीले सडकलाई हरियो सुरुङजस्तो बनाइदिन्थ्यो, कहिले हावाले फूलका पातहरू उडाएर बाटोभरि रङ्गीन गलैँचा ओछ्याइदिन्थ्यो। प्रकृतिको यो सजावटमा कुनै कृत्रिमता थिएन। यसलाई सजाउने कुनै वास्तुकार थिएन। यो त ऋतु, समय र पृथ्वीले मिलेर बनाएको अनुपम कलाकृति थियो।
    मलाई लाग्यो, सुन्दरता केवल हिमालको उचाइमा मात्र बस्दैन। ऊ समथर मैदानको सरलतामा पनि उत्तिकै गहिरो गरी बस्छ। पहाडले विस्मय दिन्छ भने तराईले विस्तार दिन्छ। हिमालले मौनताको उचाइ सिकाउँछ भने मैदानले क्षितिजको धैर्य सिकाउँछ। प्रकृतिको प्रत्येक भूगोलसँग आफ्नै भाषा छ, आफ्नै दर्शन छ।
    त्यस क्षण मैले बुझेँ—यात्रामा देखिने सबैभन्दा सुन्दर दृश्य कुनै झरना, कुनै जंगल वा कुनै नदी मात्र होइन; प्रकृतिसँग सामञ्जस्यमा बाँचिरहेको मानिसको जीवन हो। खेतमा पसिना बगाइरहेको किसान, रूखको छहारीमा विश्राम गरिरहेको वृद्ध, आँगनमा खेलिरहेको बालक र खुला आकाशमा स्वतन्त्र उडिरहेको चरा—यी सबै मिलेर प्रकृतिको पूर्ण चित्र बन्छन्।
    र त्यो चित्र हेर्दै गर्दा मनमा एउटा शान्त अनुभूति जाग्यो, प्रकृति कहिल्यै आफ्नो सौन्दर्य देखाउन आतुर हुँदैन। ऊ त केवल आफ्नै लयमा बाँचिरहन्छ। त्यसलाई देख्न सक्ने आँखाको जन्म भएपछि मात्र यात्रा साँच्चिकै सुन्दर बन्छ।
    गाडी धिमे गतिमा अघि बढ्दै गयो। सडकको दुवैतिर फैलिएको मधेश आफ्नो पुरानै सरलतामा मुस्कुराइरहेको थियो। यहाँ पहाडको जस्तो उचाइ थिएन, तर क्षितिजको अथाह विस्तार थियो। मानिसले कहिलेकाहीँ उचाइभन्दा विस्तारबाट धेरै सिक्छ। पहाडले माथि हेर्न सिकाउँछ भने समथर भूमिले टाढासम्म हेर्न सिकाउँछ।
    त्यही क्षण मलाई लाग्यो सभ्यता किन प्रायः नदीका किनारमा जन्मिन्छ?
    सायद नदीले मानिसलाई खेती मात्र सिकाएन। उसले सहअस्तित्व पनि सिकायो। उसले निरन्तर परिवर्तनको व्याकरण पनि पढायो। र सबैभन्दा ठूलो कुरा, उसले रोकिएर बाँच्नु मृत्यु हो भन्ने दर्शन पनि दियो।
    मौन हुँदै मैले आफ्नो यात्राको सुरुआत सम्झिएँ। बिहान विराटनगर छोड्दा मनमा केवल एउटा गन्तव्य थियो—जनकपुर पुग्ने। तर अहिले गन्तव्यको अर्थ फेरिएको थियो। म केवल एउटा शहरतर्फ गइरहेको थिइनँ। म एउटा सभ्यता, एउटा मिथक, एउटा दर्शन र एउटा आत्मिक भूगोलतर्फ आकर्षित भइरहेको थिएँ।
    सडकले विस्तारै लहानतिरको भूगोललाई छोइरहेको थियो। कतै साना बजारहरू देखिन्थे। मोटरसाइकल मर्मत गर्ने पसल, चियाको सुगन्ध फैलाइरहेका होटलहरू, विद्यालयबाट फर्किरहेका बालबालिका, खेतबाट घर फर्किरहेका किसान। यी सबै दृश्य सामान्य थिए। तर यात्रामा सामान्य भन्ने केही हुँदैन। यात्रुले हेर्ने आँखाले सामान्यलाई पनि असाधारण बनाइदिन्छ।
    मैले फेरि सोचें—
    किन कुनै ठाउँ सुन्दर लाग्छ?के त्यहाँ अग्ला भवन भएकाले?कि चम्किला सडक भएकाले?सायद होइन।कुनै ठाउँ त्यतिबेला सुन्दर बन्छ, जब त्यहाँका मानिसहरूको श्रम, स्मृति र सपनाले माटोलाई अर्थ दिएका हुन्छन्। सभ्यता सिमेन्टले बन्दैन। सभ्यता सम्बन्धले बन्छ। संस्कृति भवनमा बस्दैन। संस्कृति मानिसको व्यवहारमा बस्छ।यात्रा अब केवल दूरीको हिसाबमा अघि बढिरहेको थिएन। प्रत्येक किलोमिटरले एउटा नयाँ विचार जन्माइरहेको थियो। म महसुस गर्दै थिएँ—बाहिरको भूगोल र भित्रको भूगोल एउटै गतिमा परिवर्तन भइरहेका छन्।अचानक सडकको छेउमा एउटा पुरानो बरको रुख देखियो। त्यसको छहारीमा केही वृद्धहरू गफ गरिरहेका थिए। एकछिनका लागि मलाई लाग्यो, समय आफैँ त्यहाँ विश्राम गरिरहेको छ। संसार जति नै डिजिटल किन नहोस्, मानिसको आत्मा अझै पनि रूखको छहारी खोज्छ। मोबाइलले सूचना दिन सक्छ, तर शीतलता दिन सक्दैन।गाडी अगाडि बढिरह्यो।क्षितिजमा सूर्य विस्तारै माथि उक्लँदै थियो। उसको प्रकाशले खेतहरूमा सुनको जलप लगाइरहेको थियो। त्यो दृश्य हेर्दा मनमा अर्को विचार आयो—सूर्य कहिल्यै कुनै एउटा गाउँका लागि मात्र उदाउँदैन। उसको उज्यालो सबैका लागि समान हुन्छ। प्रकृतिले कहिल्यै विभेद गर्दिन। विभाजन त मानिसको मनले निर्माण गर्छ।त्यसैले सायद यात्रा आवश्यक छ।यात्राले मानिसलाई अर्को भाषा मात्र होइन, अर्को दृष्टि पनि दिन्छ।अर्को संस्कृति मात्र होइन, अर्को करुणा पनि दिन्छ।अर्को ठाउँ मात्र होइन, अर्को स्वयं पनि भेटाइदिन्छ।र मैले महसुस गरेँ जनकपुर अझै केही घण्टा टाढा थियो।तर मिथिलाको आत्मा भने विस्तारै मेरो चेतनामा प्रवेश गरिसकेको थियो।सडकमा म यात्रु थिएँ,तर भित्रभित्रै म एउटा पुरानो सभ्यताको विद्यार्थी बन्दै गइरहेको थिएँ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २०, शनिबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP