हुलाकी राजमार्गको यात्रा : परिवर्तनका नयाँ क्षितिज( नियात्रा)
तोमनाथ उप्रेती
बिहान थियो। आकाशमा वर्षाका बादल थिए। पूर्वको क्षितिजबाट फैलिएको मधुरो उज्यालोले धानका खेत, बाँसघारी र टाढासम्म फैलिएका गाउँहरूलाई बिस्तारै जागा बनाइरहेको थियो। मोरङतिर यात्रा गर्दै गर्दा मैले सोचेको थिएँ आज एउटा सडक हेर्न जाँदै छु। तर म सडक हेर्न गएको थिइनँ। म एउटा राज्यको आत्मा पढ्न गएको रहेछु।
मानिसले सभ्यता निर्माण गर्नुअघि बाटो बनाएको थियो। किनकि बाटो यात्रा गर्ने माध्यम मात्र होइन, त्यो विश्वासको पहिलो संरचना हो। जहाँ सडक हुन्छ, त्यहाँ राज्यको उपस्थितिको अनुभूति हुन्छ। जहाँ पुल हुन्छ, त्यहाँ विभाजनमाथि संवादको विजय हुन्छ। जहाँ सहज यात्रा हुन्छ, त्यहाँ अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र संस्कृति एकअर्कासँग हातेमालो गर्न सक्छन्। त्यसैले पूर्वाधार भनेको ढुङ्गा, गिटी, बालुवा र कालोपत्रेको जोड मात्र होइन यो एउटा राष्ट्रले आफ्ना नागरिकसँग गरेको मौन सम्झौता हो “तिमी एक्ला छैनौ, राज्य तिमीसँगै हिँडिरहेको छ।”
तर कटहरी पुग्दा मैले त्यो सम्झौताको च्यातिएको पाना देखें। सडक अधुरो थियो, तर त्यसभन्दा बढी अधुरो राज्यको प्रतिबद्धता थियो। छ वर्षदेखि अपूर्ण रहेको त्यो सडकले मलाई सिकायो—कहिलेकाहीँ विकास रोकिनु भनेको निर्माण रोकिनु मात्र होइन, समय रोकिनु पनि हो। त्यहाँ प्रत्येक खाल्डो एउटा प्रशासनिक शून्यता थियो, प्रत्येक हिलो उत्तरदायित्वको विघटन थियो र प्रत्येक धुलो सार्वजनिक नीतिको बिस्तारै उड्दै गएको विश्वसनीयता थियो।
दार्शनिक दृष्टिले हेर्दा सडक पृथ्वीको शरीरमा कोरिएको मानव सभ्यताको रक्तनली हो। जसरी शरीरमा रक्तनली अवरुद्ध भयो भने सम्पूर्ण अङ्गहरू पीडित हुन्छन्, त्यसरी नै सडक अवरुद्ध हुँदा समाजका सबै क्षेत्रहरू थलिन्छन्। किसानको उत्पादन बजार पुग्न सक्दैन, बिरामी अस्पताल पुग्न संघर्ष गर्छ, विद्यार्थी विद्यालयसम्मको यात्रालाई जोखिमसँग साट्न बाध्य हुन्छ र श्रमिकको पसिना गन्तव्यमा पुग्नुअघि नै थाकेर बस्छ। पूर्वाधारको असफलता अन्ततः मानवीय सम्भावनाको असफलतामा रूपान्तरित हुन्छ।त्यही क्षण मैले महसुस गरेँ सडकको वास्तविक अर्थ दूरी घटाउनु मात्र होइन असमानता घटाउनु हो। सडकले केवल दुई स्थान जोड्दैन, दुई जीवन जोड्छ। दुई संस्कृतिलाई जोड्छ। दुई सपनालाई जोड्छ। त्यसैले कुनै पनि राष्ट्रको सभ्यताको मापन उसका अग्ला भवनले होइन, उसका सडकहरूले गर्छन्। किनकि भवनले शक्ति देखाउँछ, तर सडकले उत्तरदायित्व देखाउँछ। र जहाँ उत्तरदायित्व अधुरो हुन्छ, त्यहाँ सडक मात्र होइन, लोकतन्त्रको यात्रासमेत अधुरै रहन्छ।
कटहरी पुग्नेबित्तिकै सडकले मलाई रोकेजस्तो लाग्यो। ऊ बोल्न सक्दैनथ्यो, तर उसका प्रत्येक खाल्डाखुल्डी, प्रत्येक हिलो र प्रत्येक पानीले एउटै प्रश्न गरिरहेका थिए—”म सडक हुँ कि पोखरी?” मसँग कुनै उत्तर थिएन। किनकि त्यहाँ साँच्चै सडकभन्दा पानी धेरै थियो र पानीभन्दा पनि धेरै वर्षदेखि थुप्रिएको प्रतीक्षा। वर्षाको पानी त केही दिनअघि मात्र परेको थियो, तर विकासको अभाव वर्षौँदेखि जमिरहेको रहेछ। पानीले सडक ढाकेको थिएन उसले राज्यको असफलताको ऐना बनाएको थियो।पहिलो दृष्टिमा ती खाल्डाखुल्डी सामान्य लाग्थे। तर केही बेर नियाल्दा लाग्यो, ती माटोका खाडल होइनन्; ती सार्वजनिक प्रशासनको चेतनामा परेका गहिरा चिराहरू हुन्। प्रत्येक खाल्डो एउटा अधुरो निर्णय थियो। प्रत्येक हिलो एउटा टुटेको प्रतिबद्धता थियो। प्रत्येक पोखरीमा आकाशको प्रतिबिम्ब देखिन्थ्यो, तर राज्यको अनुहार कतै देखिँदैनथ्यो। पानीले आफ्नो स्वभावअनुसार खाली ठाउँ भरिरहेको थियो। प्रकृतिले रिक्तता सहन सकिन। तर राज्यले भने आफ्नै सिर्जना गरेको रिक्ततालाई वर्षौँसम्म सहजै स्वीकार गरिरहेको थियो।त्यही क्षण मलाई एउटा गहिरो सत्यले छोयो नेपालमा विकास सधैँ डोजरले रोकिन्न , कलमले रोकिन्छ। निर्माणस्थलभन्दा पहिले योजना फाइलभित्र थाक्छ। बजेटभन्दा पहिले जिम्मेवारी हराउँछ। अनि समयसँगै सडक माटोमा होइन, कागजमा अलपत्र पर्छ। यहाँ विकासको सबैभन्दा ठूलो बाधा पहाड, नदी वा वर्षा होइन; निर्णय गर्न नसक्ने मनोवृत्ति हो। प्रकृतिले आफ्नो काम कहिल्यै स्थगित गर्दैन।वर्षा समयमा आउँछ, नदी बग्छ, घाँस उम्रिन्छ। स्थगित हुने त केवल मानवको उत्तरदायित्व हो।
मलाई लाग्यो, कुनै राष्ट्रको वास्तविक अनुहार संसद्का भव्य भवनमा होइन, उसका सडकमा देखिन्छ। सडक राज्यको हस्ताक्षर हो। यदि त्यो हस्ताक्षर हिलोले मेटिएको छ भने, नागरिकले कागजी प्रतिबद्धतामा होइन, आफ्नै दैनिक सास्तीमा शासनको वास्तविक रूप पढ्छन्। कटहरीको सडकले मलाई यही दर्शन सिकायो जब सडक निर्माण हुन छाड्छ, तब केवल पूर्वाधार रोकिन्न। नागरिकको राज्यप्रतिको विश्वास पनि बिस्तारै भत्किन थाल्छ।
गाडी बिस्तारै अघि बढिरहेको थियो। तर त्यो यात्रा अगाडि बढेको भन्दा पनि पीडालाई नाप्दै गरेको जस्तो लाग्थ्यो। केही क्षणपछि मलाई एउटा विचित्र अनुभूति भयो,हामी सडकमाथि हिँडिरहेका थिएनौँ बरु सडक नै हामीमाथि आफ्नो सम्पूर्ण असफलता बोकेर हिँडिरहेको थियो। प्रत्येक धक्काले शरीर मात्र हल्लाएन, राज्यप्रतिको विश्वास पनि हल्लाइरहेको थियो। प्रत्येक खाल्डो कुनै प्राविधिक त्रुटि थिएन; त्यो विकास प्रशासनमाथि लेखिएको अनुसन्धान प्रतिवेदन थियो। प्रत्येक हिलो अखबारको समाचारभन्दा धेरै सत्य बोलिरहेको थियो। सरकारी विज्ञप्तिहरूमा “उल्लेखनीय प्रगति” लेखिएको हुन सक्छ, तर यहाँ हिलोले आफ्नै भाषामा त्यसको मौन अनुवाद गरिरहेको थियो। यात्रुहरू मौन थिए। कसैले गुनासो गरेन। तर गाडीको सस्पेन्सन प्रत्येक धक्कामा कराइरहेको थियो। मलाई लाग्यो, आज नागरिकभन्दा पहिले मेसिनले आन्दोलन गरिरहेको छ। जब निर्जीव फलामले पनि विरोध गर्न थाल्छ, तब बुझ्नुपर्छ,जीवित समाजको सहनशीलता आफ्नो अन्तिम सीमामा पुगिसकेको छ।
कटहरीको मौसम पनि अनौठो थियो। घाम लाग्यो भने धुलोले आकाश ढाक्थ्यो। पानी पर्यो भने हिलोले पृथ्वी निल्थ्यो। एक क्षण मलाई लाग्यो, यो केवल मौसमको परिवर्तन होइन, यो नेपालको विकासको रूपक हो। यहाँ प्रकृतिले आफ्नो धर्म कहिल्यै बिर्सँदैन। वर्षा आफ्नै समयमा आउँछ। घाम आफ्नै समयमा उदाउँछ। तर प्रशासनले समयलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैन। यहाँ ढिलाइ आकस्मिक होइन, संस्थागत संस्कृति बनेको छ। धुलो हावाले मात्र उडाएको थिएन; उत्तरदायित्वको क्षयले उडाएको थियो। हिलो पानीले मात्र बनाएको थिएन निर्णयहीनताले मुछेको थियो। प्रकृतिले सडक बिगारेको कम थियो, राज्यको उदासीनताले धेरै बिगारेको थियो। त्यसैले यहाँ मौसमभन्दा बढी परिवर्तनशील सरकारको प्रतिबद्धता देखिन्थ्यो,जुन हरेक वर्ष फेरि दोहोरिने आश्वासनमा मात्र हराभरा हुन्थ्यो।
सडकको छेउमा एउटा वृद्ध भेटिए। अनुहारमा समयका गहिरा रेखाहरू थिए, तर आँखामा व्यङ्ग्यको असाधारण चमक। उनले मुस्कुराउँदै भने, “बाबु, यो सडक होइन, चुनावी भाषणको अवशेष हो।” उनको वाक्य सुन्नासाथ म पनि हाँसेँ। तर त्यो हाँसो आनन्दको थिएन। त्यो विडम्बनाले जन्माएको हाँसो थियो। कहिलेकाहीँ समाज यति धेरै पीडित हुन्छ कि आँसुको ठाउँ हाँसोले लिन्छ। व्यङ्ग्य पीडाको परिष्कृत रूप बन्छ। नेपालका गाउँहरूमा मानिसहरू अझै हाँसिरहेका छन्, तर त्यो हाँसोभित्र अधुरा पुल, अलपत्र सडक, अपूरा अस्पताल र असंख्य टुटेका वाचाहरूको प्रतिध्वनि सुनिन्छ। वृद्धको एउटा वाक्यले मलाई ठूलो दर्शन सिकायो,झूटो आश्वासनको आयु चुनावसम्म हुन्छ, तर त्यसको अवशेष जनताको जीवनमा वर्षौँसम्म बाँकी रहन्छ। कटहरीको यो सडक त्यसै अवशेषको जीवित संग्रहालय बनेर उभिएको थियो।
मेरो अगाडि एकजना साइकलयात्री हिलोमा चिप्लिएर लडे। साइकल एकातिर पल्टियो, उनी अर्कोतिर। केही क्षणका लागि समय स्थिर भयो। उनले बिस्तारै उठे, कपडामा टाँसिएको हिलो टक्टक्याए, साइकल सीधा पारे र कुनै गुनासो नगरी फेरि यात्रामा लागे। त्यो दृश्य सामान्य दुर्घटना थिएन त्यो नेपाली नागरिकको जीवनदर्शन थियो। बारम्बार लड्नु, उठ्नु, फेरि हिँड्नु सायद यही नै यहाँको दैनिक नियति बनेको छ। त्यही क्षण मलाई बुद्धको पहिलो आर्यसत्य सम्झना आयो दुःख अनिवार्य छ। तर कटहरीले त्यस दर्शनलाई नयाँ अर्थ दिएको थियो। यहाँ दुःख जन्म, जरा, बुढ्यौली वा मृत्युबाट उत्पन्न भएको थिएन। यहाँ दुःख प्रशासनिक उदासीनता, ठेक्कागत बेइमानी र उत्तरदायित्वको दिवालियापनबाट जन्मिएको थियो। यो कर्मको परिणामभन्दा बढी प्रणालीको उत्पादन थियो। बुद्धले दुःखबाट मुक्तिको मार्ग देखाउनुभयो; तर यहाँ मानिसहरूलाई मुक्तिको मार्गभन्दा पहिले एउटा सुरक्षित सडक चाहिएको थियो। मैले महसुस गरेँ,जब राज्यले आफ्नो दायित्व पूरा गर्न छोड्छ, तब नागरिकको आध्यात्मिक धैर्य पनि भौतिक अव्यवस्थाको बोझले थिचिन थाल्छ। यहाँ हिलोमा लडेको मानिस विकासको प्रतीक्षामा बारम्बार लडिरहेको सम्पूर्ण समाजका प्रतिनिधि थिए।
केही पर पुगेपछि ठूलो बोर्डमा लेखिएको थियो—”राष्ट्रिय गौरवको आयोजना”। मैले केही क्षण त्यो वाक्यलाई निःशब्द हेरेँ। अनि आफैँसँग प्रश्न गरेँ।गौरव भनेको वास्तवमा के हो? यदि गौरव जनतालाई धुलो र हिलो उपहार दिनु हो भने, यो शब्दको शब्दकोश नै फेरि लेख्नुपर्ने हुन्छ। यदि गौरव छ वर्षसम्म अधुरो वाचा बोकेर बस्नु हो भने, भाषा पनि लज्जित हुनुपर्ने हो। मलाई लाग्यो, नेपालमा केही शब्दहरू अनाथजस्ता भइसकेका छन्। गौरव। समृद्धि। सुशासन। विकास। गति। उत्तरदायित्व। यी शब्दहरू सरकारी भाषणमा अत्यन्त सुन्दर सुनिन्छन्, उद्घाटनका ब्यानरमा झन् आकर्षक देखिन्छन्, तर जनताको दैनिक जीवनमा आइपुग्दा तिनीहरूको अर्थ हराइसकेको हुन्छ। शब्दहरू अझै जीवित छन्, तर तिनको आत्मा हराएको छ।
दार्शनिक रूपमा हेर्दा कुनै राष्ट्रको पतन अर्थतन्त्र कमजोर हुँदा मात्र सुरु हुँदैन, शब्दहरूको विश्वसनीयता हराउँदा सुरु हुन्छ। जब “समृद्धि” लेखिएको बोर्डअगाडि गरिबी उभिन्छ, “सुशासन” भनिएको ठाउँमा बेथिति राज गर्छ र “राष्ट्रिय गौरव” भनिएको सडकमा नागरिक हिलोमा लड्छ, तब समस्या पूर्वाधारको मात्र रहँदैन; त्यो नैतिकताको संकट बन्छ। त्यस क्षण मैले महसुस गरेँ कटहरीको यो सडक वास्तवमा कालोपत्रेको अभावले मात्र बिग्रिएको होइन। यसले भाषाको अर्थ, शासनको विश्वसनीयता र जनताको विश्वासलाई समेत बिस्तारै क्षय गरिरहेको छ। सडकमा भेटिएको सबैभन्दा ठूलो खाल्डो माटोमा थिएन शब्द र यथार्थबीचको दूरीमा थियो।
२०७६ सालमा एउटा यात्रा सुरु भएको थियो। त्यो केवल छ किलोमिटर सडक निर्माणको यात्रा थिएन; त्यो राज्यले आफ्ना नागरिकसँग गरेको एउटा सार्वजनिक प्रतिज्ञा थियो। तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरियो। उद्घाटन भयो। भाषण भए। नक्साहरू कोरिए। समयसीमा निर्धारण गरियो। त्यसबेला लाग्थ्योअब विकासले पनि यही बाटो समातेर हिँड्नेछ। तर समयको आफ्नै गति हुन्छ र मान्छेको आफ्नै बहाना। तीन वर्षको वाचा छ वर्षको प्रतीक्षामा बदलियो। क्यालेन्डरका पाना एकपछि अर्को पल्टिँदै गए। ऋतुहरू फेरिए। खेतमा धान पाक्यो, काटियो, फेरि रोपियो। विद्यालयमा नयाँ विद्यार्थी भर्ना भए, पुराना स्नातक भएर निस्किए। बालकहरू युवा भए। तर सडक भने बाल्यकालमै रोकिएको सपना जस्तै अधुरो रहिरह्यो। काम जम्मा सत्ताइस प्रतिशत पुग्यो, तर समय दुई सय प्रतिशतभन्दा बढी बितिसकेको थियो। त्यस क्षण मैले महसुस गरेँ घडीले कहिल्यै आफ्नो जिम्मेवारीबाट पलायन गर्दैन। क्यालेन्डरले कुनै म्याद थप माग्दैन। सूर्यले कहिल्यै “अर्को सूचना नभएसम्म उदाउन असमर्थ छु” भन्दैन। भ्रष्ट हुने समय होइन; निर्णय हुन्छ। ढिलो हुने ऋतु होइन; उत्तरदायित्व हुन्छ। प्रकृतिले आफ्नो धर्म कहिल्यै त्याग्दिन, तर मानिसले आफ्नै प्रतिबद्धतासँग बारम्बार विश्वासघात गर्छ। त्यसैले कतिपय राष्ट्रहरू समयले होइन, निर्णयको दुर्बलताले पछि पर्छन्।
त्यही क्षण मेरो मनमा अर्को उपमा जन्मियो। मलाई नेपालको ठेक्का प्रणाली कुनै प्रशासनिक संरचनाभन्दा बढी एउटा विचित्र धर्मजस्तै लाग्यो। यहाँ पनि वचनहरू दिइन्छन्। उद्घोष गरिन्छ। श्रद्धालुजस्तै जनता विश्वास गर्छन्। समयसमयमा नयाँ आश्वासनको प्रवचन सुनाइन्छ। म्याद थप्नु यहाँ पुनर्जन्मजस्तै सामान्य घटना बनेको छ। तर अन्तिम मुक्ति भने कहिल्यै आउँदैन। अधुरा आयोजना आफ्नै कर्मचक्रमा घुमिरहन्छन्। एउटै सडक पटक पटक नयाँ मितिमा पुनर्जन्म लिन्छ, तर पूर्णताको निर्वाणसम्म कहिल्यै पुग्दैन। धर्मले कम्तीमा मानिसलाई आशा, नैतिकता र आत्मशान्तिको बाटो देखाउँछ। तर यहाँको ठेक्का संस्कृतिले नागरिकलाई धुलो, हिलो, दुर्घटना र अन्तहीन प्रतीक्षा बाहेक केही दिएको देखिएन। विकास यहाँ साधना होइन, स्थगनको अनुष्ठान बनेको थियो।
त्यसपछि मैले सोचेँ राष्ट्रलाई कमजोर बनाउने कुरा केवल आर्थिक अभाव होइन, वचनको अवमूल्यन हो। जब प्रतिज्ञा केवल औपचारिकता बन्छ, समयसीमा केवल कागजी सजावट बन्छ र उत्तरदायित्व केवल प्रेस विज्ञप्तिको शब्द बन्छ, तब विकासका परियोजनाहरू निर्माणस्थलमा होइन, नागरिकको चेतनामै भत्किन थाल्छन्। कटहरीको यो अधुरो सडक वास्तवमा एउटा अधुरो कालोपत्रे मात्र होइन; यो राज्य र नागरिकबीचको टुट्दै गएको विश्वासको जीवित अभिलेख थियो। यहाँ सबैभन्दा धेरै क्षति सडकको नभई विश्वासको भएको थियो। किनकि कालोपत्रे ढिलो वा चाँडो बन्न सक्छ, तर एकपटक भत्किएको सार्वजनिक विश्वास पुनः निर्माण गर्न कुनै ठेक्का प्रणाली पर्याप्त हुँदैन।
सडकको बीचबीचमा बिजुलीका पोलहरू अझै अडिग उभिएका थिए। तिनलाई देख्दा लाग्थ्यो, समय यहाँ बगेको छैन। जमेको छ। पोलहरू केवल बिजुली बोक्ने संरचना रहेनन्, तिनीहरू निर्णयहीन राज्यका मौन स्मारक बनेका थिए। सडक विस्तारको योजनाले तिनलाई सार्ने निर्णय धेरैअघि गरिसकेको थियो, तर निर्णय कागजबाट यथार्थमा कहिल्यै झरेन। पोलहरू उभिइरहे। सडक अधुरै रह्यो। जनता दैनिक धुलो, हिलो र जोखिमबीच यात्रा गर्न बाध्य भइरहे। त्यही क्षण मलाई लाग्यो नेपालमा कहिलेकाहीँ निर्जीव वस्तुहरू पनि प्रशासनिक संस्कृतिका प्रतिनिधि जस्ता देखिन्छन्। जहाँ राखियो, त्यहीँ स्थिर। न कुनै आतुरता, न कुनै आत्मबोध। तर पोलहरू दोषी थिएनन्; दोष त ती हातहरूका थिए, जसले निर्णय गर्न सके, कार्यान्वयन गर्न सकेनन्। विडम्बना के थियो भने फलामका पोलहरू त आफ्नो स्थानबाट हल्लिएनन्, तर तिनका कारण हजारौँ मानिसको जीवन हरेक दिन हल्लिइरहेको थियो। त्यसबेला मैले महसुस गरेँ राष्ट्रमा सबैभन्दा ठूलो अवरोध पहाडले होइन, निष्क्रियताले खडा गर्छ। कहिलेकाहीँ एउटा नसारिएको बिजुलीको पोलले सम्पूर्ण विकास दर्शनलाई नै बन्धक बनाइदिन्छ।
त्यसपछि मैले सडकको हिलोमा हरियो जीवन उम्रिएको देखें। स्थानीयहरूले त्यही सडकमा धान रोपेछन्। पहिलो पटक त्यो समाचार सुन्दा हाँसो उठेको थियो। सडकमा पनि धान रोपिन्छ र? तर आफ्नै आँखाले देखेपछि त्यो दृश्य व्यङ्ग्यबाट दर्शनमा रूपान्तरित भयो। जहाँ बुलडोजर गुड्नुपर्ने थियो, त्यहाँ किसानको हातले बिरुवा रोपिरहेको थियो। जहाँ कालोपत्रे चम्किनुपर्ने थियो, त्यहाँ हरियो धान हावासँग लहराइरहेको थियो। त्यो केवल विरोधको नयाँ शैली थिएन; त्यो राज्यको विकास दर्शनमाथि जनताले लेखेको मौन टिप्पणी थियो। जब राज्यले खेतलाई सडकमा रूपान्तरण गर्न असफल हुन्छ, तब जनता सडकलाई फेरि खेतमा रूपान्तरण गर्छन्। प्रकृतिले आफ्नो अधिकार फिर्ता लिन्छे। माटोले सम्झाइदिन्छ मानिसले आफूलाई सृष्टिको स्वामी ठाने पनि अन्तिम निर्णय प्रकृतिकै हुन्छ।
मलाई ती धानका बिरुवाहरू सामान्य बिरुवा लागेनन्। तिनीहरू प्रतिरोधका हरिया कविताहरू थिए। हिलोमा रोपिएका प्रत्येक बिरुवाले एउटै वाक्य दोहोर्याइरहेको थियो“यदि विकास उम्रिन सकेन भने, जीवन त अवश्य उम्रिनेछ।” त्यो दृश्य कुनै राजनीतिक नाराभन्दा धेरै शक्तिशाली थियो। किनकि त्यहाँ क्रोध थियो, तर हिंसा थिएन। विद्रोह थियो, तर विनाश थिएन। बरु एउटा गहिरो नैतिक प्रश्न थियो जनताले आफ्नो अधिकार मागिरहनुपर्ने कि राज्यले आफ्नो कर्तव्य सम्झिरहनुपर्ने? मैले महसुस गरेँ, त्यो धान विकासको शवमाथि चढाइएको हरियो श्रद्धाञ्जली मात्र होइन; त्यो नेपाली समाजको अदम्य जीवटताको घोषणा पनि थियो। राज्यले जति ढिलाइ गरे पनि जनता जीवन उमार्न छोड्दैनन्। तर त्यहीँ अर्को प्रश्न पनि मौन रूपमा उभिएको थियो यदि सडकमा धान राम्रोसँग फल्न थाल्यो भने, के त्यस दिन हामीले विकासलाई औपचारिक रूपमा मृत घोषणा गर्नुपर्ने होइन र?
मलाई ती धानका बिरुवाहरू साधारण बिरुवा लागेनन्। तिनीहरू माटोभित्र उभिएका ऋषिहरू जस्ता देखिए मौन, नम्र, तर गहिरो सत्यका वाहक। उनीहरूले कुनै नाराबाजी गरेका थिएनन्, कुनै ज्ञापनपत्र बुझाएका थिएनन्, कुनै पत्रकार सम्मेलन गरेका थिएनन्। तर तिनको मौन उपस्थिति नै एउटा प्रखर उपदेश थियो। हिलोमा जरा गाडेर तिनीहरूले सरकारलाई सम्झाइरहेका थिए सृष्टिको नियम जिम्मेवारी हो, बहाना होइन। माटोले आफ्नो कर्तव्य कहिल्यै बिर्सँदैन। पानीले आफ्नो बाटो छोड्दैन। बीउले अंकुराउन म्याद थप माग्दैन। प्रकृतिले कुनै ठेक्का सम्झौता गर्दिन, कुनै समयसीमा संशोधन गर्दिन, कुनै कार्य प्रगति प्रतिवेदन पनि प्रकाशित गर्दिन। तैपनि उसका प्रत्येक ऋतु समयमै आइपुग्छन्, प्रत्येक फूल आफ्नो मौसममा फुल्छ, प्रत्येक नदी आफ्नै लयमा समुद्रतिर बग्छ। सृष्टिको विशाल चक्र अनुशासनमा चलिरहेको छ।
त्यही क्षण मलाई लाग्यो मानिसले आफूलाई प्रकृतिभन्दा बुद्धिमान् ठान्यो, तर समयप्रतिको इमानदारीमा ऊ अझै प्रकृतिको शिष्य बन्न सकेको छैन। प्रकृतिमा ढिलाइ हुँदैन केवल परिवर्तन हुन्छ। तर प्रशासनमा परिवर्तनभन्दा धेरै ढिलाइ हुन्छ। यहाँ म्याद थपिन्छ, प्रतिबद्धता सारिन्छ, निर्णय स्थगित हुन्छ, जिम्मेवारी एकअर्कातिर धकेलिन्छ। प्रकृतिले कहिल्यै “अर्को सूचना नभएसम्म वर्षा स्थगित” भन्ने सूचना जारी गर्दिन। सूर्यले “प्राविधिक कारणले आज उदाउन असमर्थ” भन्ने विज्ञप्ति निकाल्दैन। हिमालले आफ्नो उचाइ कम गर्दैन, नदीले आफ्नो प्रवाह रोक्दैन। ढिलो गर्ने, वाचा बिर्सने र उत्तरदायित्व टार्ने एकमात्र प्राणी मानिस नै हो।
मलाई लाग्यो, ती धानका बिरुवाहरू वास्तवमा कृषि मात्र होइन, शासनका पनि शिक्षक थिए। उनीहरूले एउटा राजनीतिक दर्शन सिकाइरहेका थिए राष्ट्र प्रकृतिको अनुशासनबाट चल्न सिक्नुपर्छ। समयसँग गरेको वाचा नै सभ्यताको पहिलो नैतिकता हो। जब एउटा बीउले आफ्नो धर्म पूरा गर्छ, एउटा नदीले आफ्नो यात्रा पूरा गर्छ, एउटा ऋतुले आफ्नो चक्र पूरा गर्छ, तब राज्यले आफ्ना नागरिकसँग गरेको वाचा किन पूरा गर्न सक्दैन? कटहरीको हिलोमा उभिएका ती हरिया बिरुवाहरूले मलाई अन्तिम प्रश्न सोधिरहेका थिए यदि एउटा सानो बीउ समयको यति ठूलो सम्मान गर्न सक्छ भने, करोडौँको बजेट र सम्पूर्ण राज्य संयन्त्र किन सक्दैन? त्यही प्रश्न हावासँगै लहराइरहेको थियो र त्यसको उत्तर सायद कुनै कार्यालयको फाइलमा अझै पनि प्रतीक्षारत थियो।त्यो बेला म गाडीबाट ओर्लिएँ। झुकेर पृथ्वीलाई छुएँ। हिलो औँलामा टाँसियो। केही क्षण त्यसलाई नियालिरहेँ। मलाई लाग्यो यो साधारण माटो होइन। यो छ वर्षदेखि नओभाएको जनताको धैर्य हो। वर्षाले मात्र यसलाई भिजाएको होइन अधुरा वाचा, टुटेका प्रतिबद्धता र स्थगित निर्णयहरूले पनि यसलाई चिसो बनाइराखेका छन्। यो हिलोमा केवल पानी मिसिएको थिएन, हजारौँ नागरिकका आश, श्रमिकका पसिना, किसानका प्रतीक्षा र विद्यार्थीका अधुरा सपनाहरू मिसिएका थिए। मैले त्यो माटोको गन्ध सुँघेँ। त्यसमा पृथ्वीको सुवासभन्दा बढी एउटा राष्ट्रको मौन वेदना थियो। दर्शनले भन्छ मानिस अन्ततः माटोमै फर्कन्छ। तर कटहरीले मलाई अर्को सत्य सिकायो जब राज्य आफ्नो दायित्वबाट टाढा जान्छ, तब माटो नै नागरिकको पीडाको अभिलेख बन्छ। पृथ्वी कहिल्यै बोल्दिन, तर उसको हिलोले इतिहास लेखिरहन्छ।
मसँगै यात्रा गरिरहेको एउटा सानो बालक धेरै बेरसम्म बाहिर हेर्दै थियो। गाडी फेरि एउटा ठूलो खाल्डोमा बज्रियो। उसले सहज जिज्ञासाले सोध्यो, “अङ्कल, सडक किन बन्दैन?” प्रश्न यति सरल थियो कि त्यसमा कुनै राजनीति थिएन, कुनै विचारधारा थिएन, कुनै आरोप थिएन। केवल एउटा बालमनको स्वाभाविक जिज्ञासा थियो। तर त्यसको उत्तर नेपालको सम्पूर्ण प्रशासनिक संरचना, सार्वजनिक खरिद प्रणाली, राजनीतिक उत्तरदायित्व र विकास संस्कृतिभन्दा जटिल थियो। म केही बोलिनँ। किनकि कहिलेकाहीँ शब्दहरू सत्यलाई छोप्छन्, मौनताले उजागर गर्छ। मेरो मौनता असहायताको मौनता थिएन। त्यो एउटा यस्तो प्रश्नको सम्मान थियो, जसको उत्तर कुनै एक व्यक्तिसँग थिएन। मैले सोचेँ जुन राष्ट्रले आफ्ना बालबालिकालाई “सडक किन बन्दैन?” भन्ने प्रश्नको सरल उत्तर दिन सक्दैन, उसले भविष्यलाई कुन भाषामा आश्वस्त पार्ला?
यात्रा अगाडि बढिरह्यो। एउटा एम्बुलेन्स सावधानीपूर्वक खाल्डाहरू छल्दै गइरहेको थियो। प्रत्येक धक्कामा त्यसको साइरनभन्दा बिरामीको पीडा बढी सुनिन्थ्यो। अर्को पट्टि गर्भवती महिला बोकेको मोटरसाइकल हिलोसँग संघर्ष गरिरहेको थियो। विद्यालय जाँदै गरेका बालबालिकाले जुत्ता बचाउने कि किताब भन्ने दोधारमा पाइला चालिरहेका थिए। कारखानातिर हतारिएका श्रमिकहरू साइकल धकेल्दै थिए। यहाँ केवल सवारी साधन हल्लिरहेका थिएनन्; एउटा गर्भस्थ शिशुको भविष्य हल्लिरहेको थियो। एउटा विद्यार्थीको सपना हल्लिरहेको थियो। एउटा बिरामीको जीवन हल्लिरहेको थियो। एउटा श्रमिकको श्रम हल्लिरहेको थियो। तर यति धेरै कम्पनका बीच पनि एउटा वस्तु भने अचल थियो। उत्तरदायित्व। त्यो न हल्लियो, न जाग्यो, न लज्जित भयो। त्यस क्षण मैले बुझें भूकम्पले भवन ढाल्न सक्छ, तर उत्तरदायित्वविहीनताले सम्पूर्ण समाजलाई भित्रैदेखि भत्काउँछ।
त्यसपछि मेरो मनमा राज्यको अर्थबारे नयाँ चिन्तन जन्मियो। हामी प्रायः राज्यलाई सिंहदरबार, मन्त्रालय, कानुन, बजेट वा विशाल भवनहरूमा खोज्छौँ। तर वास्तवमा राज्य त्यहाँ मात्र हुँदैन। राज्य त त्यहाँ हुन्छ, जहाँ नागरिक सुरक्षित रूपमा हिँड्न सक्छ। जहाँ बिरामी समयमै अस्पताल पुग्न सक्छ। जहाँ बालक बिना डर विद्यालय पुग्न सक्छ। जहाँ किसानको उत्पादन बजारसम्म पुग्छ र श्रमिक साँझ घर फर्कँदा आफ्नो परिवारसँग निश्चिन्त मुस्कुराउन सक्छ। सडक केवल भौतिक पूर्वाधार होइन राज्यको नैतिक उपस्थितिको सबैभन्दा प्रत्यक्ष अभिव्यक्ति हो। त्यसैले जहाँ सडक समाप्त हुन थाल्छ, त्यहाँ राज्यको स्पर्श पनि क्रमशः हराउन थाल्छ। अनि नागरिकले सरकारलाई भाषणमा होइन, आफ्नै दैनिक यात्राको कठिनाइमा पढ्न थाल्छ। कटहरीको सडकले मलाई यही दर्शन सिकायो राष्ट्रको वास्तविक नक्सा , नागरिकले सहजतापूर्वक हिँड्न सक्ने सडकहरूले बनाउँछन्।
पूर्वीय दर्शनले सधैँ एउटा सत्य सिकाउँदै आएको छ,सबै कुरा अनित्य छन्। जन्म भएको प्रत्येक वस्तुको अन्त्य निश्चित छ। ऋतु बदलिन्छ। नदीको पानी प्रत्येक क्षण नयाँ हुन्छ। फूल फुल्छ, ओइलाउँछ। मानिस जन्मन्छ, बुढो हुन्छ र अन्ततः समयको काखमा विलीन हुन्छ। परिवर्तन नै सृष्टिको धर्म हो। तर कटहरीको सडकमा उभिँदा मलाई लाग्यो,नेपालका केही विकास आयोजना भने मानौँ यस सार्वभौमिक नियमभन्दा बाहिर उभिएका छन्। यहाँ अधुरोपन आफैँमा एउटा स्थायी संरचना बनेको छ।
सरकार बदलिन्छ। मन्त्रीहरूको शपथ फेरिन्छ। सांसदहरूको अनुहार फेरिन्छ। सचिव फेरिन्छन्। आयोजना प्रमुख फेरिन्छन्। मुख्य ठेकेदार हराउँछ। पेटी ठेकेदार आउँछ। म्याद थपिन्छ। बजेट संशोधन हुन्छ। फाइलको रङ फेरिन्छ। तर एउटा कुरा कहिल्यै फेरिँदैन।अपूर्णता। यहाँ अपूर्णता समस्या मात्र होइन; त्यो एउटा प्रशासनिक संस्कृतिमा रूपान्तरित भइसकेको छ। विकास परियोजनाहरू पूरा हुनुभन्दा पहिले नै अर्को म्यादको प्रतीक्षामा बाँच्न सिकाइन्छन्। समय बित्छ, तर जिम्मेवारी अघि बढ्दैन। त्यस क्षण मलाई लाग्यो कहिलेकाहीँ राष्ट्रलाई पछाडि धकेल्ने गरिबी होइन,अधुरोपनलाई सामान्य मान्ने मानसिकता हो।
त्यसै बेला मलाई प्राचीन ग्रीक दार्शनिक हेराक्लाइटस सम्झना आए। उनले भनेका थिए, “एउटै नदीमा दुई पटक पाइला टेक्न सकिँदैन।” किनकि नदीको पानी प्रत्येक क्षण बदलिन्छ। जीवन निरन्तर प्रवाह हो। परिवर्तन नै अस्तित्वको आधार हो। तर कटहरीको सडकले त्यो दर्शनलाई विडम्बनापूर्ण ढंगले उल्टाइदियो। यहाँ छ वर्षपछि फर्किए पनि उही खाल्डो भेटिन्छ। उही हिलो भेटिन्छ। उही धुलो भेटिन्छ। उही अधुरा वाचा भेटिन्छन्। परिवर्तन भएको छ भने केवल क्यालेन्डरको मिति। मानौँ समय अगाडि बढेको छ, तर विकास स्थिर छ। नदीले आफ्नो पानी परिवर्तन गरिरहन्छ, तर यो सडकले आफ्नो पीडा परिवर्तन गर्न सकेको छैन। प्रकृतिमा स्थिरता मृत्युको संकेत मानिन्छ, तर यहाँ प्रशासनिक स्थिरता नै बेथितिको प्रतीक बनेको छ।
त्यही क्षण मैले महसुस गरेँ सभ्यता तब मात्र जीवित रहन्छ, जब परिवर्तन सही दिशामा हुन्छ। परिवर्तन सरकार फेरिनु मात्र होइन; नागरिकको जीवन फेरिनु हो। नयाँ मन्त्री आउनु विकास होइन, नयाँ सडक बन्नु विकास हो। नयाँ भाषण हुनु उपलब्धि होइन; पुरानो हिलो हराउनु उपलब्धि हो। कटहरीले मलाई सिकायो यदि परिवर्तन केवल कुर्सीमा सीमित रह्यो र सडकमा आइपुगेन भने, त्यो परिवर्तन इतिहासको विषय बन्छ, भविष्यको होइन। त्यसैले अनित्यताको दर्शन केवल जीवनका लागि होइन, शासनका लागि पनि लागू हुनुपर्छ। किनकि जहाँ अपूर्णता स्थायी बन्छ, त्यहाँ विकासको मृत्यु बिस्तारै संस्थागत हुँदै जान्छ।
साँझ बिस्तारै पूर्वी आकाशमा झर्दै थियो। म पछाडि फर्केर कटहरी हुलाकी सडकलाई अन्तिम पटक हेरेँ। हिलोमा जमेको पानीले आकाशको प्रतिबिम्ब समातेको थियो। एक क्षणका लागि लाग्यो आकाश पृथ्वीमा झरेको छ। अर्को क्षण लाग्यो होइन, पृथ्वी नै धेरै वर्षदेखि माथि हेरेर राज्यलाई मौन प्रश्न गरिरहेकी छे “हे राज्य, तिमी कहिले आउने?“ त्यो प्रश्न केवल कटहरीको थिएन। त्यो प्रश्न अधुरा पुलहरूको थियो। अलपत्र अस्पतालहरूको थियो। अपूरा विद्यालयहरूको थियो। समयमै नपुगेको एम्बुलेन्सको थियो। धुलोमा विद्यालय जाने बालबालिकाको थियो। हिलोमा लड्ने श्रमिकको थियो। आफ्नै देशभित्र सम्मानपूर्वक यात्रा गर्न नपाएका सम्पूर्ण नागरिकहरूको थियो।म फर्किँदै गर्दा मैले महसुस गरेँ कटहरीको यो यात्रा कुनै एउटा सडकको कथा मात्र होइन। यो नेपालले आफैँलाई हेर्नुपर्ने ऐना हो। यहाँ हिलोमा केवल पानी जमेको छैन; हाम्रो विकास दर्शन जमेको छ। यहाँ खाल्डाखुल्डीमा केवल वर्षाको पानी भरिएको छैन, उत्तरदायित्वका रिक्तताहरू भरिएका छन्। र यहाँ धुलोले केवल घरका झ्याल ढाकेको छैन, सार्वजनिक विश्वासको अनुहार पनि धमिलो बनाएको छ।
तर इतिहासले एउटा अर्को सत्य पनि सिकाउँछ,कुनै पनि सभ्यता आफ्नो गल्ती स्वीकार गर्न सक्ने क्षणदेखि पुनर्जन्म लिन थाल्छ। सडकहरू कालोपत्रेले मात्र बन्दैनन् इमानदारीले बन्छन्। पुलहरू सिमेन्टले मात्र जोडिँदैनन् विश्वासले जोडिन्छन्। विकास बजेट खर्च गर्नु होइन नागरिकको समय, श्रम र सम्मानको रक्षा गर्नु हो। राज्यको पहिलो धर्म कर उठाउनु होइन नागरिकको यात्रालाई सुरक्षित बनाउनु हो।कटहरी छोड्दै गर्दा मेरो मनमा एउटा अन्तिम वाक्य जन्मियो—राष्ट्रको उन्नति त्यसले कति सडक बनायो भन्ने तथ्याङ्कले मापन हुँदैन। एउटा सामान्य नागरिकले कति सम्मानका साथ आफ्नो गन्तव्यसम्म पुग्न सक्छ भन्ने यथार्थले मापन हुन्छ।सायद कुनै दिन यो सडक पनि पूर्ण हुनेछ। धुलोको ठाउँमा कालोपत्रे हुनेछ। हिलोको ठाउँमा सहज यात्रा हुनेछ। तर त्यो दिन केवल एउटा सडक सम्पन्न हुने दिन हुनेछैन। त्यो दिन एउटा वाचाले आफ्नो अर्थ फिर्ता पाउने दिन हुनेछ। एउटा राष्ट्रले आफ्ना नागरिकसँग गरेको प्रतिज्ञा पूरा गर्ने दिन हुनेछ। र त्यही दिन कटहरीको हिलोमा वर्षौँदेखि मौन बसेको प्रश्नले अन्ततः आफ्नो उत्तर पाउनेछ।
प्रतिक्रिया