आत्मा र ब्रह्मको मौन संवाद
तोमनाथ उप्रेती
ज्योत्स्नाले उज्यालो बनाएको शान्त रातमा,
जब जूनले गहिरो सास लिन्छ,
मेरो आत्मा प्रकाशतर्फ बगिरहेको हुन्छ,
जहाँ शब्दहरू शान्त हुन्छन्,
र मौनतामा ईश्वरको आवाज सुनिन्छ।
जीवन कुनै यान्त्रिक यन्त्र होइन,
यो चेतनाको नदी हो, बिनाशब्द बहिरहेकी,
लोभको किनारामा अड्किएर पनि,
दर्शनको किनारासम्म पुग्ने साहस गर्ने,
ध्यानका धुनमा डुबेका बास्कुरा जस्तै,
हाम्रो स्वास पनि ब्रह्मसँग संवाद गर्न सिक्दैछ।
हेर,
जब आत्मा परमात्मालाई सम्झन्छ,
पातहरू हावामा नाच्नु बन्द गर्छन्,
र सूर्यास्तको रङ्गले आँखा भिजाउँछ।
सत्य, अहिंसा, करुणा र क्षमाका सागरहरू,
हाम्रै मुटुभित्र लुकेर बसेका छन्,
हामीले त केवल मौन भएर सुन्नु मात्र बाँकी छ।
ध्यान भनेको फूल होइन,
यो त मौन भित्र फक्रिएको सुवास हो,
योग भनेको आसन मात्र होइन,
यो त आत्मालाई ब्रह्मसँगको पवित्र यात्रामा पु¥याउने मार्ग हो।
जब मन शुद्ध हुन्छ, विचारहरू निर्मल बन्छन्,
र हृदयमा सहिष्णुता पलाउँछ,
त्यो क्षण आत्मा पनि ब्रह्मसँगै हाँस्छ।
धर्मको अनुशासनले नियम देखाउँछ,
तर अध्यात्मको चेतनाले मार्ग देखाउँछ,
धर्म बाँच्ने कला सिकाउँछ,
तर अध्यात्म बाँच्नुको अर्थ सिकाउँछ।
धर्म कर्तव्य सम्झाउँछ,
अध्यात्म प्रेम र करुणाको फुलबारि बनाउँछ।
जब हामी ‘आफू’लाई हेरिरहेका हुन्छौं,
त्यो आफैं भित्रको अन्धकारलाई होइन,
शुद्ध प्रकाशलाई देख्नका लागि,
हामीले लोभ, ईर्ष्या, घृणा, र प्रतिशोधका धुँवा हटाउनु पर्छ।
मनको मौनता नै सच्चो ध्यान हो,
जहाँ हर श्वास ब्रह्मको नाम जपिन्छ,
र हर पल एक तपस्या बन्छ।
माया, जन्म-मृत्यु, पुनर्जन्मका रहस्यहरू
ब्रह्माण्डका असीम नक्षत्रजस्तै अनगिन्ती छन्,
तर प्रत्येक उत्तरको साँचो कुञ्जी
अध्यात्मको ढोकामा राखिएको छ।
यो उपनिषद्हरूको दिव्य प्रसाद हो,
ऋषिहरूको मौन चिन्तनको मधुर सङ्गीत हो।
हेर,
जब सूर्यास्तको रातो रङ्गमा
मेरो आत्मा मौन हुन्छ,
त्यो मौनताले एउटा गीत गाइरहेको हुन्छ,
सत्यको, प्रेमको, करुणाको र क्षमाको।
त्यस गीतको तरङ्गमा नै बगेको हुन्छ जीवन,
र जीवन, अन्ततः,
परमात्माको काखमा निदाउने यात्रा मात्र हुन्छ।
शान्ति, मौन, ध्यान र प्रेम–
यी नै अध्यात्मका सुगन्ध हुन्,
जसले व्यक्ति र समाजको चेतनालाई शुद्ध बनाउँछन्,
जसले हामीलाई बाँच्नुको कारण सिकाउँछन्,
र मृत्युमा पनि अमरत्वको सौन्दर्य देखाउँछन्।
हे ब्रह्म!
हामीलाई लोभ होइन, प्रेम देऊ,
ईर्ष्या होइन, करुणा देऊ,
घृणा होइन, क्षमा देऊ,
र मृत्युको डर होइन, अमर आत्माको ज्ञान देऊ।
हाम्रो प्रत्येक श्वास, प्रत्येक विचार,
र प्रत्येक कर्म तिमीप्रतिको प्रार्थना बनोस्।
जीवन आफैं एक योग हो,
र आत्मा आफैं एक तीर्थ।
हामी यस यात्रामा हिँडिरहेका तीर्थयात्री मात्र हौं।
(रतुवामाई ५, मोरङ)
प्रतिक्रिया