जनताको धैर्य
(व्यंग्यात्मक कविता)
तोमनाथ उप्रेती
लामो मौनपछि
आज
आकाशमा
फेरि एउटा घण्टी बजेको छ
जस्तो
जनताको धैर्य
घाममा सुकाइएको लुगा जस्तै
हावाले हल्लाएको हो।
यो
आवाज होइन
यो त
थकित जनताको
लामो स्वास हो
जुन चुनावको दिन
अचानक देशभक्ति बनेर
मतपेटिकामा खस्छ।
हे नयाँ विजेता
सुन
यो जित
मुकुट होइन
ऋण हो।
तर
हामीलाई थाहा छ
राजनीतिमा ऋण
सामान्यतया
जनताले तिर्छन्।
जित्नु सरल छ
पोस्टर टाँस्न जत्तिकै
जितको मर्यादा राख्नु
बजेटको फाइल
हराउन नदिनु जत्तिकै कठिन।
जित
फूलको माला जस्तै हो
पहिले सुगन्ध दिन्छ
पछि
सरकारी कार्यालयको फाइलझैँ
धुलोमा सुक्दै जान्छ।
कहिलेकाहीँ
जितले
मानिसलाई
यति उन्मत्त बनाउँछ
कि ऊ
आफ्नो छायाँलाई पनि
विपक्षी ठान्छ।
इतिहास साक्षी छ
धेरै पटक
जितेकाहरूले
जिताउनेहरूलाई
याद गर्न
चार वर्ष
आरामसँग बिर्सेका छन्।
इतिहासका पानामा
प्रतीकहरू पनि
कहिलेकाहीँ
नाटकका पात्र जस्तै हुन्छन्।
सूर्य
उज्यालो दिनुपर्ने
तर
कहिलेकाहीँ
घामभन्दा बढी
घमण्ड पोल्छ।
रूख
छायाँको मन्दिर हुनु पर्ने
तर
कहिलेकाहीँ
जङ्गली अजङ्गको बनेर
छायाँ होइन
छायाँको कर उठाउँछ।
हँसिया–हथौडा
श्रमको संगीत हुनु पर्ने
तर
कहिलेकाहीँ
पत्थर घोट्नुको साटो
जनताको धैर्य
कुच्चिन व्यस्त देखिन्छ।
त्यसपछि
तीनै प्रतीकहरू
जनताको हात छोडेर
शक्तिको चौतारोमा
कफी पिउँदै
रणनीति बनाउँछन्।
“आज तिमी र म मिलौँ,
भोलि
उहाँलाई ढालौँ।”
त्यस बेला
मातृभूमिको धूलो
र जनताको पसिना
निर्वाक् दर्शक बनेर
यो नाटक हेर्छ।
अनि
जेनजीको रगत
र बलिदानको इतिहासले
आज
त्यही धूलोबाट
फेरि एउटा घण्टी उठाएको छ।
याद राख
घण्टी
मन्दिरमा बज्दा
प्रार्थना बन्छ।
दरबारमा बज्दा
चेतावनी।
संसदमा बज्दा भने
कहिलेकाहीँ
माइक अफ भएको
सत्यको आवाज जस्तो सुनिन्छ।
तिमीले
कुन ध्वनि रोज्छौ
इतिहास
धैर्यसँग सुन्दैछ।
याद राख
घण्टीको ध्वनि
केवल चुनावको होइन
यो
जनताको धैर्यको
रिमाइन्डर बेल हो।
किनकि
जनताको हातमा
इतिहासको अर्को घण्टी
सधैँ तयार हुन्छ
जुन
पाँच वर्षपछि
फेरि बज्छ।
जित्यौ
अब
जितको मर्यादा राख।
नत्र
जनताको अर्को घण्टी
अलार्म घडीभन्दा
धेरै ठूलो आवाजमा
बज्छ।
प्रतिक्रिया