logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • स्तक समीक्षा ‘अभिशप्त समय’: अन्धकारभित्र चेतनाको दीपशिखा

    स्तक समीक्षा  ‘अभिशप्त समय’: अन्धकारभित्र चेतनाको दीपशिखा

    पुस्तक समीक्षा

    अभिशप्त समय’: अन्धकारभित्र चेतनाको दीपशिखा
    तोमनाथ उप्रेती

     

    अशोक भुसाल समकालीन नेपाली साहित्यका उदीयमान, संवेदनशील र यथार्थवादी कवि हुन् । वि.सं. २०३८ भाद्र १२ गते चितवनको रत्ननगरमा जन्मिएका भुसालले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन्। सामाजिक यथार्थ, राजनीतिक विसङ्गति र मानवीय पीडालाई आफ्ना कवितामा सशक्त रूपमा अभिव्यक्त गर्ने उनी परिवर्तनका सचेत पहरेदार मानिन्छन्। उनको कवितासङ्ग्रह अभिशप्त समय’ (२०८२) ले विशेष चर्चा पाएको छ । सरल तर प्रभावशाली भाषा, विद्रोही चेतना र सामाजिक सरोकार उनका काव्यका मुख्य विशेषता हुन्। उनी साहित्यमार्फत समाजलाई जागृत बनाउने अभियानमा सक्रिय स्रष्टा हुन्

    नेपाली समकालीन साहित्यको परिवेशमा उदीयमान कवि अशोक भुसालद्वारा रचित ‘अभिशप्त समय’ केवल कवितासङ्ग्रह समयको चिरफार गर्ने एक चेतनात्मक दस्तावेज हो। यस कृतिले वर्तमान युगको विकृत, विसङ्गत र दिशाहीन अवस्थालाई गहिरो अनुभूति र तीक्ष्ण वैचारिक दृष्टिबाट उजागर गर्दै पाठकलाई बाँच्न, बुझ्न र बिउँझन बाध्य बनाउँछ। केशवराज आमोदीद्वारा प्रस्तुत गरिएको सतही दृष्टिकोणलाई आधार मानेर हेर्दा पनि यो स्पष्ट हुन्छ कि कृतिको गहिराइ जीवन, समय र चेतनाको जटिल अन्तर्सम्बन्धको विम्बात्मक व्याख्या हो।

    ‘अभिशप्त समय’ शीर्षक आफैंमा एक शक्तिशाली प्रतीक हो। ‘अभि’ र ‘शप्त’को संयोजनले निर्माण गरेको यो शब्द नजिकबाट नियालिएको, भित्रैसम्म अनुभूत गरिएको र चेतनाले स्पर्श गरेको समयको चित्र हो। कविले समयलाई बाह्य घटनाहरूको मात्र सङ्ग्रहका रूपमा नहेरी, एक जीवित सत्ता,एक चेतनशील अस्तित्वका रूपमा चित्रण गरेका छन्। यही कारणले गर्दा कृतिमा समय मुख्य पात्रका रूपमा उपस्थित हुन्छ।

    कृतिभित्र समेटिएका करिब आठ दर्जन गद्य कविताहरू समकालीन नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक यथार्थको ऐना हुन्। कविताहरूमा राष्ट्रप्रेम, लोकतन्त्र, स्वाधीनता, हक-अधिकार जस्ता विषयहरू पीडाको भोगाइ र चेतनाको ज्वालामुखीका रूपमा अभिव्यक्त भएका छन्। विशेषतः निम्नवर्गीय, श्रमजीवी र सीमान्तकृत समुदायप्रति कविको गहिरो संवेदना स्पष्ट देखिन्छ। उनीहरूको पीडालाई कविले आफ्नै आत्माको आवाजका रूपमा प्रस्तुत गरेका छन्।

    दार्शनिक दृष्टिले हेर्दा, ‘अभिशप्त समय’ अस्तित्ववाद र चेतनावादको संगम हो। कविले मानव जीवनको मूल प्रश्न—“हामी किन बाँचिरहेका छौँ?”लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उठाएका छन्। जब कवि भन्छन्, “मान्छेको सानो खोपडीमा दुनिया बदल्ने चेतनाको बीज छ”, तब त्यो केवल आशावाद होइन; त्यो मानव अस्तित्वको आध्यात्मिक उद्घोष हो। यहाँ चेतना मानसिक प्रक्रिया होइन, एक दिव्य शक्तिका रूपमा प्रस्तुत गरिएको छ, जसले समयलाई परिवर्तन गर्ने क्षमता राख्छ।

    आध्यात्मिक धरातलमा, कृतिले वेद, उपनिषद् र गीता जस्ता पूर्वीय दर्शनको सूक्ष्म प्रभाव बोकेको अनुभूति हुन्छ। यद्यपि कविले प्रत्यक्ष रूपमा कुनै धार्मिक सन्दर्भ दिएका छैनन्, तर आत्मबोध, कर्म, धर्म र चेतनाका अवधारणाहरू कविताभित्र अन्तर्निहित छन्। ‘अभिशप्त समय’को अन्धकार वास्तवमा अविद्याको प्रतीक हो र कविको चेतना विद्याको प्रकाश। यस दृष्टिले कृति आध्यात्मिक जागरणको आह्वान पनि हो।

    भाषाशैलीको दृष्टिले कृति अत्यन्त प्रभावशाली छ। गद्य कविता भए पनि यसको लयात्मकता, प्रतीकात्मकता र बिम्बात्मकता अत्यन्त सशक्त छ। कविले सरल शब्दहरू प्रयोग गरे पनि तिनमा गहिरो अर्थ निहित छ। उदाहरणका लागि, “राजनीतिक दुर्गन्ध” जस्ता शब्दहरूले पाठकको चेतनामा घृणा र विद्रोहको भावना उत्पन्न गर्छन्। यसरी भाषा भावनात्मक र बौद्धिक आन्दोलनको साधन बनेको छ।

    कृतिको संरचनात्मक पक्ष पनि उल्लेखनीय छ। कविताहरू स्वतन्त्र छन्, तर समग्रमा हेर्दा तिनीहरू एक आपसमा गाँसिएका छन्—जस्तो कि एकै नदीका विभिन्न धाराहरू। प्रत्येक कविता समयको एउटा पक्षलाई उजागर गर्छ, र सबै मिलेर समग्र समयको चित्र निर्माण गर्छन्। यसले कृतिलाई केवल कविताहरूको सङ्ग्रह नभई एक सुसंगठित वैचारिक यात्रा बनाएको छ।

    समीक्षात्मक रूपमा हेर्दा, कृतिमा केही सीमितताहरू पनि देखिन्छन्। कतिपय स्थानमा कविको आक्रोश यति तीव्र हुन्छ कि त्यो सन्तुलित विश्लेषणभन्दा भावनात्मक विस्फोटजस्तो लाग्छ। तर यही आक्रोश नै कृतिको शक्ति पनि हो, किनकि यसले पाठकलाई झकझक्याउने काम गर्छ। साहित्य केवल सौन्दर्यको खोज होइन; सत्यको उद्घाटन पनि हो र यस दृष्टिले कृति पूर्णतः सफल देखिन्छ।

    सामाजिक सन्देशको दृष्टिले ‘अभिशप्त समय’ अत्यन्त सशक्त कृति हो। यसले वर्तमान समाजमा व्याप्त भ्रष्टाचार, असमानता, अन्याय र राजनीतिक विकृतिलाई निर्भयतापूर्वक उजागर गर्छ। तर यसले केवल समस्या देखाएर छोड्दैन; चेतना, जागरण र परिवर्तनको मार्ग पनि देखाउँछ। कविको विश्वास छ कि परिवर्तन बाह्य शक्तिबाट होइन, आन्तरिक चेतनाबाट सम्भव हुन्छ।

    कवि भन्छन्।
    ” कम्युनिष्ट बन्न सक्छ

    काङ्ग्रेस बन्न सक्छ ।

    मान्छे स्वतन्त्र छ

    मान्छे जे पनि बन्न सक्छ

    तर

    कम्युनिष्ट मान्छे बन्न सक्दैन

    काङ्ग्रेस मान्छे बन्न सक्दैन

    जुनसुकै वादमा लागेको होस्

    राजनीतिमा रङ्गिए पछि

    मान्छे फेरि मान्छे बन्न सक्दैन ।

    -मान्छे दास बनिरहन्छ , ।

     

    आजको साहित्यिक परिवेशमा एउटा रोचक तर गम्भीर प्रश्न उठेको छ—के साहित्य सिर्जना प्रशिक्षण, गोष्ठी र सिद्धान्तका घेराभित्र मात्र सम्भव छ ?
    वास्तवमा, विधा–विधानका कठोर पर्खालहरूले सिर्जनशीलतालाई मार्गदर्शन त दिन सक्छन्, तर महान कृतिहरूको जन्म प्रायः स्वतःस्फूर्त चेतना, अनुभूति र विद्रोही आत्माबाट हुने गर्छ। यही सन्दर्भमा अशोक भुसालको ‘अभिशप्त समय’ कृति विशेष महत्त्व राख्दछ।

    भुसालको कवितामा स्वतःस्फूर्त चेतनाको प्रवाह देखिन्छ । उनी कुनै सैद्धान्तिक घेराभित्र सीमित कवि होइनन्; बरु समयलाई भित्रैदेखि महसुस गर्ने र त्यसलाई शब्दमा रूपान्तरण गर्ने चेतनशील स्रष्टा हुन्।
    उनको कवितांश—
    “ढाल्नु पर्छ यी कृत्रिम इतिहासका किल्लाहरू…”
    ले सत्यको पुनःउत्खननको आह्वान गर्दछ। यहाँ “चिहान खोतल्नु” भन्ने बिम्ब वास्तवमा दबाइएको सत्यलाई उजागर गर्ने क्रान्तिकारी प्रतीक हो।

    अर्कोतर्फ,
    “अब भैंसी नै पूजा गरेर तिमीलाई किन ठूलो क्रान्तिकारी बन्न पर्यो ?”
    जस्तो व्यङ्ग्यात्मक अभिव्यक्तिले तथाकथित प्रगतिवादको सतहीपनमाथि तीव्र प्रहार गर्दछ। यसले देखाउँछ कि कवि अन्धानुकरणका विरोधी हुन्। उनी विचारभन्दा व्यवहारलाई महत्त्व दिने यथार्थवादी चेतनाका वाहक हुन्।

    भुसालको कवितामा सामाजिक, राजनीतिक र सांस्कृतिक विसङ्गतिहरूको निर्भीक उद्घाटन गरिएको छ।
    “देशी विदेशी पुँजीपतिहरूको रछ्यानमा फालिएको देश…”
    जस्तो पंक्तिले वर्तमान राजनीतिक–आर्थिक संरचनाको कठोर आलोचना गर्छ। यहाँ देशलाई “रछ्यानमा फालिएको वस्तु”को रूपमा चित्रण गर्नु राष्ट्रिय स्वाभिमानको ह्रासप्रति गहिरो पीडा र आक्रोशको सशक्त अभिव्यक्ति हो। कवि भन्छन्।

    ‘तिमी भन्छौ मान्छेलाई प्रेम गर
    म कुन मान्छेलाई प्रेम गरौँ
    मुसलमान बनेर हिन्दु मार्ने
    मान्छेलाई प्रेम गरौँ
    या यहुदी बनेर मुसलमान मार्ने
    मान्छेलाई प्रेम गरौँ
    म हिटलरलाई प्रेम गरौँ
    म स्टालिनलाई प्रेम गरौँ
    या मान्छे मारेर
    आफ्नो स्वार्थ सिद्ध गर्ने
    यस आफ्नै देशका
    हत्याराहरुलाई प्रेम गरौ ।’
    (पश्चात्ताप, पृष्ठ १०१)
    यो कवितांशले वर्तमान देशको अवस्था अत्यन्त तीक्ष्ण र विद्रोही दृष्टिले उजागर गर्दछ । यहाँ कविले “प्रेम” जस्तो पवित्र मानवीय मूल्यलाई नै प्रश्नको कठघरामा उभ्याएका छन्। जब समाज धर्म, जाति, राजनीति र स्वार्थका नाममा विभाजित हुन्छ, तब “मान्छेलाई प्रेम गर” भन्ने आदर्श वाक्य खोक्रो नारामा सीमित हुन्छ भन्ने सन्देश यसले दिन्छ।

    “मुसलमान बनेर हिन्दु मार्ने” वा “यहुदी बनेर मुसलमान मार्ने” जस्ता पंक्तिहरूले धार्मिक कट्टरता र पहिचानको राजनीतिले सिर्जना गरेको हिंसात्मक मानसिकतालाई प्रतीकात्मक रूपमा चित्रण गर्छन् । यसले केवल अन्तर्राष्ट्रिय सन्दर्भ मात्र होइन, नेपालको सन्दर्भमा पनि बढ्दो विभाजन, असहिष्णुता र द्वन्द्वको संकेत गर्दछ।

    हिटलर र स्टालिनको उल्लेखले शक्ति र सत्ताको नाममा गरिने अमानवीय अत्याचारप्रति कविको गहिरो आक्रोश प्रकट हुन्छ। यहाँ कवि एउटा नैतिक द्वन्द्व सिर्जना गर्छन्—यदि यस्ता हत्याराहरू नै समाजमा शक्तिशाली र पूजनीय छन् भने “प्रेम” कसलाई गर्ने ?

    यो कवितांश वर्तमान देशको नैतिक पतन, राजनीतिक स्वार्थ र मानवताविहीन प्रवृत्तिको कडा आलोचना हो। अन्ततः, साँचो प्रेम केवल मानवता र नैतिकतामा आधारित हुनुपर्छ, नत्र समाज “अभिशप्त समय”कै चक्रमा फसिरहन्छ।त्यस्तै,“राता, काला र नीला मुर्कुट्टाहरू…”भन्ने बिम्बले राजनीतिक पात्रहरूको बहुरूपी, छलपूर्ण र डर लाग्दो चरित्रलाई उजागर गर्दछ । यो यो समाजलाई बिउँझाउने चेतनाको घण्टी हो।कवितामा व्यक्त आक्रोश, विद्रोह र असन्तुष्टि परिवर्तनको ऊर्जा हुन् । जब कवि प्रश्न गर्छ
    “म कुन मान्छेलाई प्रेम गरौं ?”त्यो मानवतावादको पुनर्परिभाषा हो। धर्म, राजनीति र शक्ति संघर्षले विभाजित संसारमा “मानवता”को वास्तविक अर्थ के हो भन्ने प्रश्न उठाउनु नै कविको महानता हो।

    दार्शनिक रूपमा हेर्दा, भुसालको कविता अस्तित्ववादी चिन्तनसँग नजिक देखिन्छ। उनी जीवनको अर्थ, सत्य र नैतिकताको खोजमा छन्। साथै, आध्यात्मिक दृष्टिले पनि उनका कवितामा आत्मबोध र चेतनाको प्रकाश झल्किन्छ। उनी बाह्य क्रान्तिभन्दा बढी आन्तरिक जागरणलाई महत्त्व दिन्छन् ।तर, समीक्षात्मक दृष्टिले हेर्दा केही सुधारका सम्भावनाहरू पनि देखिन्छन्। भाषा, व्याकरण र शब्द-संयोजनमा अझ परिष्कार आवश्यक छ । कवितामा प्रयोग हुने अभिधा, लक्षणा र व्यञ्जनाका सन्तुलित प्रयोगले अभिव्यक्तिलाई अझ सशक्त बनाउन सक्छ।
    त्यसैगरी, उपमा, रूपक र अन्य अलङ्कारहरूको गहिरो अध्ययनले कविताको सौन्दर्यलाई अझ उचाइमा पुर्याउन सक्छ।

    ‘अभिशप्त समय’  समयको आत्मकथा हो ।यसमा आक्रोश छ, विद्रोह छ, पीडा छ—तर यी सबैभन्दा माथि चेतना र परिवर्तनको सम्भावना छ।भुसालले प्रमाणित गरेका छन् कि साँचो साहित्य कुनै प्रशिक्षण केन्द्रको उत्पादन होइन;यो जीवनको आगोमा तापेर निस्किएको सत्य हो  ‘अभिशप्त समय’ एक यस्तो कृति हो जसले पाठकलाई जीवनको अर्थ खोज्न प्रेरित गर्छ। यो कृति पढिसकेपछि पाठक पहिलेको जस्तो रहँदैन; उसको सोच, अनुभूति र दृष्टिकोणमा परिवर्तन आउँछ। यही नै एक महान कृतिको पहिचान हो।कृतिले अन्धकारभित्र प्रकाश खोज्ने साहस दिन्छ, मौनताभित्र आवाज सुन्न सिकाउँछ र निराशाभित्र आशाको दीप जलाउँछ। यो कृति चेतनाको मुक्ति-गाथा हो।उनको लेखनी अझै परिष्कृत, सशक्त र उर्बर बनोस् ,यही हार्दिक कामना ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख २१, सोमबार २०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP