logo
  • २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • कविताः डोपामिनको दरबारमा विवेकको निर्वासन

    कविताः डोपामिनको दरबारमा विवेकको निर्वासन

    कविताः डोपामिनको दरबारमा विवेकको निर्वासन

     

    तोमनाथ उप्रेती

     

    रातभरि
    औँलाले स्क्रिनको नदी तर्यो,
    तर मनले
    आफ्नै किनारा भेटेन।

    जेबमा एउटा सानो ऐना थियो
    त्यसलाई हामी
    मोबाइल भन्थ्यौँ।
    एक दिन थाहा भयो
    त्यो ऐना रहेन
    हाम्रो मालिक बनिसकेको रहेछ।

    अब
    घण्टी बज्दैन
    घण्टीले मानिस बजाउँछ।
    सूचना आउँदैन
    सूचनाले निद्रा लैजान्छ।
    समय बग्दैन
    समय त स्क्रोल हुन्छ।

    मानिसले
    चन्द्रमामा पाइला राख्यो
    तर आफ्नै मनमा
    पाइला राख्न बिर्सियो।

    उसले
    कृत्रिम बुद्धिमत्ता बनायो
    तर प्राकृतिक विवेक
    अनइन्स्टल गरिदियो।

    उसले
    अब रोटी बेच्दैन
    भोक बेच्दछ।
    उसले
    पानी बेच्दैन
    तिर्खा बेच्दछ।
    उसले
    सपना बेच्दैन
    निद्रा बेच्दछ।

    र हामी
    छुटको उत्सवमा
    आफ्नै स्वतन्त्रता किनेर
    आफ्नै कैदी बन्छौँ।

    एक दिन
    पुस्तक र मोबाइलको भेट भयो।

    मोबाइलले गर्वले भन्यो
    मसँग करोडौँ पाठक छन्।

    पुस्तक मुसुक्क हाँस्यो
    मसँग केही पाठक छन्,
    तर उनीहरू
    अझै सोच्न सक्छन्।

    त्यसपछि
    पुस्तक मौन भयो।
    मौनताले जित्यो।
    सूचनाले ताली बजायो।

    आजकल
    जंगलमा पनि रूखहरू
    एकअर्कालाई फलो गर्दैनन्।
    नदीले कहिल्यै
    समुद्रसँग लाइक माग्दैन।
    हिमालले
    आफ्नो उचाइको रिल बनाउँदैन।
    सूर्यले
    आफ्नो उज्यालो पोस्ट गर्दैन।

    प्रकृति
    कति असामाजिक रहिछ!

    हामी भने
    एक्लोपनालाई
    नेटवर्कले नाप्छौँ।
    मित्रतालाई
    इमोजीले तौलिन्छौँ।
    प्रेमलाई
    निलो टिकले प्रमाणित गर्छौँ।

    कति सजिलो भयो
    हृदय हराउनु!

    डोपामिन
    दरबारको नयाँ राजा हो।

    उसका मन्त्रीहरू
    एल्गोरिदम हुन्।
    उसका सैनिकहरू
    नोटिफिकेसन हुन्।
    उसका कर असुल्नेहरू
    लाइक र भ्यु हुन्।

    हामी
    दिनभरि
    आफ्नै औँलाले
    आफ्नै बेदी चम्काइरहेका छौँ।

    कति महान् लोकतन्त्र!

    यहाँ
    मत स्वतन्त्र छ
    तर मन बन्दी।

    यहाँ
    आवाज ठूलो छ
    तर विचार सानो।

    यहाँ
    सत्य ढिलो हिँड्छ
    अफवाह जेट विमान चढ्छ।

    यहाँ
    हासो धेरै छ
    आनन्द कम।

    यहाँ
    साथी हजार छन्
    काँध एउटै छैन।

    विडम्बना यति मात्र होइन

    हामी
    स्वास्थ्य एपबाट
    स्वास्थ्य खोज्छौँ
    ध्यान एपबाट
    शान्ति खोज्छौँ
    प्रेम एपबाट
    सम्बन्ध खोज्छौँ
    जीवन एपबाट
    जीवन खोज्छौँ।

    अनि
    आफ्नै आत्मालाई
    लो ब्याट्री भनेर
    चार्जर खोजिरहन्छौँ।

    कुनै दिन
    यदि बुद्ध फर्किए भने
    सायद
    बोधिवृक्षमुनि होइन
    वाईफाई बन्द भएको ठाउँमा
    ध्यान बस्नेछन्।

    कबीर आए भने
    दोहा होइन
    सायद एउटा प्रश्न लेख्नेछन्

    “मानिस,
    तिमी मोबाइल चलाउँछौ,
    कि मोबाइलले तिमीलाई?”

    सभ्यता
    गगनचुम्बी भवनले मापन हुँदैन।
    चेतनाको उचाइले मापन हुन्छ।

    प्रविधि
    हातको औजार हो।
    मनको मालिक होइन।

    डोपामिन
    आगो जस्तै हो
    भान्सा पनि तताउन सक्छ
    घर पनि जलाउन सक्छ।

    स्क्रिन निभाउनु
    क्रान्ति होइन।
    मन उज्यालो पार्नु
    क्रान्ति हो।

    किनकि
    अन्तिम युद्ध
    मानिस र मेसिनबीच होइन

    क्षणिक सुख

    शाश्वत विवेकबीच हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ आश्विन ४, आईतवार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP