राजविराज। सप्तरीको विष्णुपुर गाउँपालिकाले महिलाहरुलाई पालिकाले ७५ दिनको सिलाई–कटाई तालिम दिएका छन्।
तालिम संगै गाउँपालिकाले वडा नम्बर- ७ का ३२ जना महिलाई शनिवार टेबुल, पौदान सहित उषा कम्पनीको सिलाई मेसिन उपलब्ध गराएको हो ।
घरमा व्यर्थ समय बिताउँदैआएका महिलाहरुलाई सीप सिकाएर आफ्नै घरमा व्यवसाय गर्नका लागि मेसिन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष उमेश यादवले जानकारी दिए । उनका अनुसार मेसिन प्राप्त गरेका महिलाले घरमै मेसिन चलाएर आय आर्जन गरी आत्मनिर्भर बन्नमा मदत मिल्नेछ ।
मेसिन प्राप्त गरेका महिलाहरुले व्यवसाय सञ्चालन गरे नगरेकोबारे अनुगमन गरिने जानकारी दिँदै उनले भने ‘महिलाले सीप सिकेर घरमै आयआर्जन गर्न सकोस् भन्ने उद्देश्यका साथ हामीले सीप सिकाएर आय आर्जन गर्न सिलाई मेसिन उपलब्ध गराएका छौं, यो कार्यक्रम पालिकाका सम्पूर्ण वडामा रहेको छ ।’ सीप सिकाएर मेसिन समेत उपलब्ध गराएकोले आफुहरुलाई घरमै व्यवसाय सञ्चालन गर्न सहज हुने भन्दै महिलाहरुले खुशी व्यक्त गरेकी छिन् । राष्ट्रिय जनजागरण अभियान नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
पालिका अध्यक्ष यादवका अनुसार चालु आर्थिक वर्षमै वडा नम्बर १ मा ३९ जना, वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा ३२ जना समेत गरी २ सय २४ जना महिलालाई आत्मनिर्भर बनाउनका लागि मेसिन उपलब्ध गराउन लागिएको छ । जसमध्ये वडा नम्बर ६ र ७ को तालिम सम्पन्न भइसकेकोले वितरण गरिसकिएको र अन्य वडाहरुमा भने वितरणको क्रममा रहेको पालिका अध्यक्ष यादवले जानकारी दिए ।
गत वर्षदेखि नै पालिकाले महिला लक्षित सिलाई–कटाई तालिम र मेसिन वितरण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
प्रतिक्रिया