भाग ४
शिक्षा, संघर्ष र सम्भावनाका कथा बक्राहा
तोमनाथ उप्रेती
बक्राहा खोलाको गर्जन केवल पानीको आवाज होइन, यो ती साना पाइलाहरूको प्रतिबिम्ब हो, जसले बिहानै उठेर, च्यातिएका चप्पलका पाउमा साहसको पाइलाहरू टाँगेर, कच्ची बाटोको हिलो र खोलाको वेगसँग लड्दै विद्यालय पुग्छन्। ती बालबालिकाका लागि शिक्षा कुनै परिक्षा पास गर्ने साधन होइन, यो जीवनलाई उज्यालो बनाउने एकलौटी सपना हो। खोलाको तिरमाथि बसेर पढिएका अक्षरहरू हिलो, पसिना र आँसुका रङले लेखिएका हुन्छन्, जुन हरेक पानामा संघर्ष, स्वाभिमान र भविष्यको भरोसा बोकेर जीवित रहन्छन्।
बक्राहाको पानी कहिले उनीहरूको पुस्तकका पानाहरू बगाउँछ, कहिले घरभरी हिलो पसाउँछ, तर त्यसकै बीचमा, ती बालबालिकाको मनमा अक्षरहरूप्रतिको प्रेम झन् गहिरिँदै जान्छ। शिक्षाको त्यो प्रेम उनीहरूको लागि मात्र नभई आमा-बाबुको श्रमको सम्मान पनि हो, जो बिहानै खेतको काम सकेर नानीलाई विद्यालय पठाउँछन्, जसको थाकेको अनुहारमा शिक्षा प्राप्तिको सम्भावनाले मात्र मुस्कान ल्याउँछ।
यस संघर्षमा शिक्षा केवल किताबमा सीमित हुँदैन, त्यो खेतमा खन्ने बेल्चाजस्तै हो, जसले भोकमरीको माटो फोरेर आशाको बीउ रोप्छ। खोला जस्तै कहिले विस्तारै, कहिले आक्रामक रूपमा बग्ने ती बालबालिकाको शिक्षा पनि कहिले हाँस्दै, कहिले आँसु पुछ्दै अघि बढ्छ। खोलाको बाढीले झुपडी भत्काउँदा, उनीहरूले पढेका अक्षरहरू पानीसँगै बग्छन्, तर ती अक्षरहरूले उनीहरूको मनमा पुनः जन्मिन्छन्। त्यो अक्षरहरूमा लुकेको आशा, उज्यालो र संकल्प हिलोमा दबेर हराउँदैन; त्यो संघर्षको बेलामा उठ्ने एक गहिरो आवाज बन्न पुग्छ।
शिक्षाको यात्रामा उनीहरूले अनुभव गर्छन्—ज्ञान पाउनु भनेको केवल स्कूलको झण्डा फहराउनु होइन, जीवनलाई बुझ्नु र परिवर्तन गर्ने जिम्मेवारी लिइराख्नु हो। खोला बगिरहेको बेला पनि, उनीहरूको पढ्ने आँट बग्दैन। बक्राहाको बाङ्गो धार जसरी आफ्नो मार्ग बनाउँदै बग्छ, ती नानीहरूले पनि आफ्ना पाइला हिलो र पत्थरका बीच राखेर विद्यालय जाने बाटो खोल्छन्।
विद्यालयको भाँचिएको पाटीमा बसेर पढेका अक्षरहरू उनीहरूका लागि भविष्य निर्माण गर्ने औजार हुन्। ती अक्षरहरूले उनीहरूको दैनिकीमा आशा भर्छ, आकाशको जुनसँग तुलना गरेर सपनाहरू देख्न सिकाउँछ, र भोकको रातलाई उज्यालो बिहानमा रूपान्तरण गर्ने साहस दिन्छ।
कहिले विद्यालय जाँदाजाँदै खोलाको भेलमा जुत्ता बगाउँदा, उनीहरूको मुस्कान पनि खोलाजस्तै फैलिन्छ, किनकि उनीहरू जान्दछन्—पढ्न पाउनु नै विजय हो। त्यो विजय, जसले गरिबीको बेडिमा बाधिएका परिवारका निम्ति नयाँ सम्भावनाको ढोका खोल्छ।
बक्राहाले कहिले उनीहरूको पुस्तकमाथि माटो छर्छ, कहिले अक्षरहरू बगाउँछ, तर ती अक्षरहरू फेरि न्यानो घाम लागेपछि नयाँ रङमा फक्रिन्छन्। खोला जस्तै, शिक्षा पनि निरन्तर बगिरहन्छ, रोकिँदैन, र आफ्नो बाटो बनाउँदै अघि बढ्छ।
बक्राहा किनारका ती झुपडीहरूमा शिक्षा केवल अक्षरहरूको भण्डार थिएन, त्यो एउटा सपनाको चिरकुट थियो—भोक र अभावबीच टिमटिमाउने उज्यालो ध्रुवतारा। त्यो चिरकुट, जसले भोकले ऐंठन परेको पेटमा नुनको गाँठोझैँ सानो तर सजीव स्वाद दिन्थ्यो, निराशाका गाढा बादलबीच आशाको एउटा इन्द्रेणी झल्काइरहन्थ्यो। खोलाको बाढीले रातारात झुपडी भत्काउँदा, पुरानो किताबका पानाहरू हिलोमा मिसिँदा पनि, ती अक्षरहरू बालबालिकाको आँखामा फेरि जीवित हुन्थे। ती अक्षरहरू उनीहरूका सपनाहरू थिए, संघर्षका साथी थिए, र निरन्तर बाँच्ने रहरका किरण थिए।
शिक्षा यहाँ कहिले फर्सीको थुङ्गामा बसेर पढिएको थियो, कहिले धानका थाङ्क्रामा टेकेर उच्चारण गरिएको थियो। यहाँको पाठशाला कुनै सिमेन्टको संरचना मात्र होइन, एउटा आँगन थियो, जहाँ खुला आकाशमुनि अक्षरहरूको पूजा हुन्थ्यो। बक्राहा खोलाको हिलोले माटोमा झरेका कापीका पानाहरूलाई च्याप्दा पनि, ती पानाहरूमा लेखिएका शब्दहरूले बालबालिकालाई बाँच्न सिकाउँथे।
बक्राहा किनारका ती बालबालिकाहरूको जीवनमा शिक्षा भनेको केवल ‘शिक्षा’ थिएन, त्यो एउटा क्रान्तिको बीउ थियो। त्यो बीउ, जसले उनीहरूलाई आफ्नो पखेटा पहेर्न सिकाउँथ्यो, आकाश चुम्ने सपना देख्न सिकाउँथ्यो। जब बिहान बक्राहाको ताजा हावा चल्थ्यो, उनीहरू खुट्टा धोएर हिँड्दै पाठशाला पुग्थे। कच्ची सडकमा हिलोमा चिप्लिँदै, तिनको पाइला कयौं पटक पछाडि फर्किन्थ्यो, तर तिनको नजर सधैं अगाडि थियो। किनकि उनीहरूले पढेर केही बन्ने, गाउँमा केही गर्ने, आमा-बाबुको पसिनाको मूल्य तिर्ने सपना देखेका थिए।
शिक्षा यहाँ अँध्यारोमा टिम्किने एउटा बत्ती थियो। त्यो बत्ती, जसले भोकको कालो रातलाई पार गर्दै उज्यालो बिहान ल्याइदिन्थ्यो। हरेक अक्षर, हरेक शब्द, उनीहरूको लागि जीवित थिए। ती अक्षरहरूले उनीहरूको आँसु पुछ्थे, मुस्कान दिलाउँथे, र जीवनमा दृढताको सन्देश दिन्थे। उनीहरूको शिक्षामा किताबका पाना मात्र थिएनन्, पसिनाका धारा थिए, आमा-बाबुको सपनाका प्रतिबिम्ब थिए, र भविष्यका नयाँ संभावना थिए।
कहिले उनीहरू बाढीको आवाजमा पढ्थे, कहिले खोलाको गर्जनमा कक्षा छुटाउँथे, तर उनीहरूको मनमा पढ्ने रहर कहिल्यै मर्दैन थियो। खोला कहिले रिसाउँथ्यो, कहिले माया गर्थ्यो, तर बालबालिकाको सपना सधैं बच्थ्यो। उनीहरूले जीवनका सबै कठिनाइहरूलाई पाठशालाको ढोकामा छोड्थे र अक्षरहरूको संसारमा पसी बाँच्ने रहरलाई थप प्रज्वलित गर्थे।
जब खोलाको गर्जन गाउँभरि गुन्जिन्थ्यो, झुपडीका पातला भित्ताहरू हल्लिन्थे, आकाशबाट झरेको पानीले छानोबाट चुहिन्थ्यो, अनि ती बालबालिका नाङ्गा खुट्टामा हिलो चुँड्दै आफ्ना साना पाइलाहरूले विद्यालय जाने बाटोमा नयाँ चिन्ह कोर्दै हुन्थे। ती हिलोले बनेका पाइलाहरू केवल माटोमै सीमित रहँदैनथे, ती भविष्यका सपना र सम्भावनाहरूका संकेतहरू हुन्थे, जुन उनीहरूको भोको आँखामा टल्किरहन्थे।
खेतको हिलोमा पसिना झार्दै उभिएका ती हातहरूले जब कलम समात्थे, त्यो कलम काठको एउटा साधारण टुक्रा मात्रै हुँदैनथ्यो; त्यो संघर्ष र संकल्पको शस्त्रजस्तै हुन्थ्यो। ती हातहरूले कलम समात्दा, खोला किनारमा उर्लिरहेको बक्राहाको गर्जनसँगै उनीहरूको सानो हाँसो र दृढ नयनहरू पनि गुञ्जिन्थे—सङ्घर्षका स्वरहरू, जुन न त खोलाको बाढीले बगाउन सक्थ्यो, न त अभावले मेटाउन सक्थ्यो।
खोलाको पानीले धोइएका च्यातिएका कपडाजस्तै पानाहरू पल्टाउँदै, उनीहरूले पुस्तकका अक्षरहरूमा आफ्ना सपनाहरू अंकित गर्दै जान्थे। ती अक्षरहरू केवल कखरा थिएनन्, ती जीवनका गहिरा आकांक्षा र स्वाभिमानका ज्वलन्त चिनो थिए। हरेक पानामा घोटिएका अक्षरहरूमा पसिनाको गन्ध मिसिएको थियो, आँशुको नुनिलो मिठास मिसिएको थियो, र आशाको उज्यालो छाँया समेटिएको थियो। ती अक्षरहरूमा चिसो बिहानको बतासको स्पर्श थियो, बिहानै उठेर बाख्रालाई घाँस खुवाइरहेका हातको कठोरता थियो, र आमाले दिइरहेको हाँसोको उर्जा थियो।
जब खोलाको गर्जनसँगै आकाशको बादल फाटेर सूर्यको किरण पर्थ्यो, उनीहरूले पुस्तकका ती च्यातिएका पाना समातेर नयाँ उज्यालो खोज्थे। हिलोले सर्लक्क बेरिएको खुट्टा उठाउन कठिन हुन्थ्यो, तर पाना पल्टाउने औँलामा कहिल्यै थकाइ आउँदैनथ्यो। ती अक्षरहरू उनीहरूको लागि दर्पण थिए, जहाँ उनीहरूले आफ्नो भविष्यको प्रतिबिम्ब देख्थे। कहिले च्यातिएका, कहिले गिजोलिएका पानाहरूमा ती अक्षरहरू फेरि उफ्रिन्थे, जसरी बाढीपछि जमिनबाट हरियाली पलाउँछ, जसरी खरानीबाट पुनर्जन्म हुन्छ।
शिक्षा उनीहरूका लागि एउटा पवित्र यात्रा थियो—जसको हरेक अक्षरमा उनीहरूले जीवनलाई नयाँ नजरले बुझ्न सिक्थे। हरेक शब्दमा उनीहरूले बाँच्ने कला, लड्ने साहस, र आशा पलाउने शक्ति भेट्थे। ती पानाहरू खोलाको छालसँगै बग्दा पनि, तिनमा लेखिएका सपनाहरू कहिल्यै बग्दैन थिए, किनकि ती सपनाहरू उनीहरूको आँखामा झल्किरहेको एउटा ज्वलन्त दीपजस्तै भएर बलिरहन्थे।
ती पानाहरूले उनीहरूको संघर्षको वृत्तान्त कोरिरहन्थ्यो—जहाँ साक्षरता केवल अक्षर चिन्नु थिएन, यो त गरिबीको चुलोमा पनि आत्मसम्मानको आगो बलाइराख्ने शक्ति थियो। खोला उर्लिँदा तिनीहरूको घर र खेत डुब्थे, तर ती अक्षरहरूले उनीहरूको हृदयमा दियाबत्ती झैँ बलिरहन्थे—संघर्षको अँध्यारोमा उज्यालो देखाउने बत्ति, जसले उनीहरूलाई फेरि हाँस्न सिकाउँथ्यो। ती अक्षरहरू, पानीको छालले भिजाएर पनि, कहिल्यै मेटिँदैन थिए। ती प्रत्येक अक्षर, पसिनाको थोपामा टल्कन्थे, आँसुमा घुल्थे, र आशाको मुस्कानमा झिलमिलाउँथे।
बक्राहा किनारका ती झुपडीहरूमा भएको शिक्षा दाल-भातभन्दा ठूलो परिकार थियो, जसले उनीहरूको आत्मालाई तृप्त गर्थ्यो, भविष्यलाई उर्बर बनाउँथ्यो र संघर्षबीच पनि सपनाको रस बोकेर बाँच्ने साहस जगाउँथ्यो। भोकको कहरले पेट ऐंठन परे पनि, ती अक्षरहरूले मनमा भविष्यको सन्तोष भर्ने सुँगन्ध ल्याउँथे। खोलाको गर्जन र नेताहरूको खोक्रा भाषणहरू ओझेल पर्दै गए पनि, उनीहरूको कलमको दौड कहिल्यै रोकिएन। उनीहरूले च्यातिएका कापीका पानाहरूमा अक्षर कोर्दै गर्दा त्यो आवाज नक्सामा बनाइएका पुलभन्दा बलियो सपना बन्छ।
कहिले चिसो बतासमा किताबको पाना पल्टाउँदा औँलाहरू कठोर हुन्थे, तर ती औँलाहरूले जीवनका कठिनाइलाई पनि पल्टाइरहेका हुन्थे। खोलाले धोएका पुराना कपडाजस्ता ती पुस्तकका पानाहरू, हिलोको गन्ध र माटोको स्पर्श बोकेर, भविष्यको उज्यालो झल्को बनिरहेका थिए। हरेक अक्षर उनीहरूका लागि पवित्र मन्त्रजस्तै थिए, जसले उनीहरूको आत्मालाई जागृत राख्थ्यो, संघर्षमा अडिग बनाउँथ्यो, र थकाइमा पनि अघि बढ्ने शक्तिको उज्यालो दिइरहन्थ्यो।
बक्राहा किनारमा शिक्षा केवल अक्षरहरूको खेल थिएन; यो त विपत्तिहरूको भेलमा उभिएर पनि मुस्कान फिर्ता ल्याउने आस्था, गरिबीमा पनि गरिमा जोगाउने आत्मसम्मान, र प्रत्येक आँशुको थोपा भित्र आशाको बीउ रोप्ने अदम्य बल थियो। खोला जस्तै, उनीहरूको अक्षरप्रेम पनि अनवरत बगिरह्यो, जसले उनीहरूलाई अस्तित्वको सागरमा तैरिरहने शक्ति दिन्थ्यो।
बक्राहाको बाङ्गो धारले हामीलाई जीवनको जटिल पथको अनुभूति गराउँछ। त्यसरी नै, उनीहरूको शिक्षाको यात्रा पनि कहिले सरल थिएन; यसले पटक–पटक अप्ठ्याराहरूले डुबाइरहन्थ्यो। बाढीले स्कुलका बाटाहरूलाई छोपिदिएपछि, ती पुस्तकका पानाहरूमा माटोको थोप्ला परेझैं गरिबी र अभावको धूलो उनीहरूको सपनामाथि जम्थ्यो। तर त्यही माटो, त्यो संघर्षको उर्वर भूमि बन्न पुग्थ्यो — जहाँ उनीहरूको साहसको बीउ रोपिन्थ्यो र आशाका सुमधुर फलहरू उम्लिन्थे। खोलाले कहिले करुणामय शिक्षिकाको रूपमा ओसिलो बतास , जसले थकित मनलाई शान्ति दिन्थ्यो, र कहिले जलदेवीको क्रोध लिएर उनीहरूको किताब र कलम बगाएर लगिदिन्थ्यो — यस्ता क्षणहरू उनीहरूलाई जीवनका सत्यहरू सिकाउँथे, जसले बुझाउँथ्यो कि शिक्षा प्राप्तिको मार्ग सदैव सरल हुँदैन।
पसिनाले गन्धिएको भिजेको स्कुल ड्रेसमा, खोलाको पानीले भिजेको किताबका पाना पल्टाउँदै पढ्ने ती आँखाहरूमा भविष्यको आकाश प्रतिबिम्बित हुन्थ्यो। ती आँखा, जसले हरेक अक्षरमा सपनाहरू बुनेका थिए, खेतको गोडमेलमा पढिएका कविता गुनगुनाउँदै आफ्नो अस्तित्व पुष्टि गरिरहेका थिए। उनीहरूको पढाइ भनेको केवल पुस्तकीय ज्ञान मात्र थिएन, त्यो माटोको मुटुमा पलाएको सपना थियो, बक्राहाको बहावसँग लडिरहेको संकल्प थियो, आकाशको बादलसँग झगडिरहेको आकांक्षा थियो। प्रत्येक शब्दमा उनीहरूले आफ्नो जीवनको संघर्ष, आशा र धैर्यताको प्रतिबिम्ब खोज्थे।
खोलामा जूनको मधुर झल्को देख्दा, उनीहरूको आँखामा पनि शिक्षाको उज्यालो नाच्थ्यो। जूनको प्रकाशले त्यो अँध्यारोलाई चिरेर उज्यालो पुर्याउँथ्यो, जहाँ तिनीहरूका सपनाहरू अंकुरित हुन्थे। तर असारको कालो बादल जब गर्जेर खोलाको पानी उर्लिदा, उनीहरूको किताबका अक्षरहरू बग्ने खतरा हुन्थ्यो। यद्यपि ती अक्षरहरू, जुन उनीहरूको आशाका रूप थिए, भिजेर हराएजस्तै देखिन्थे, तिनै अक्षरहरू उनीहरूको भोकमरीको कालो रातमा तारा बनेर टिमटिमाउँथे। ती तारा, जस्तै जीवनका कठिनाइहरूबीच चम्कने आशाका चिन्हहरू, उनीहरूलाई पुनः उठ्न र निरन्तर अगाडि बढ्न प्रेरित गर्थे।
सिमान्त किसानका छोराछोरीका लागि शिक्षा केवल ज्ञानको सञ्चय थिएन, त्यो संघर्षमा पोखिएको पसिनाको सुगन्ध थियो, जसले उनीहरूको आत्मालाई तातो राख्थ्यो। त्यो शिक्षा एउटा अमूल्य गहना थियो, जसलाई खोलाको हिलोले बारम्बार माटोमा पछार्न खोज्थ्यो, तर प्रत्येक चोटपछि त्यो अझै चम्किदै जान्थ्यो। खोलाको उर्लंदो हुरीसँगै जब उनीहरूको कलम काँप्थ्यो, त्यो काँपाइ कायरताको होइन, त्यो भविष्यको पानामा संघर्षका अक्षर लेख्ने कम्पन थियो—धैर्य र दृढ इच्छाशक्तिको कम्पन, जसले कठिनाइलाई सामना गर्ने क्षमता जन्माउँथ्यो।
हिलो र भोकको बीचमा बसेर पढिएका ती अक्षरहरू उनीहरूको आत्मबलको गीत थिए। ती अक्षरहरू साक्षी थिए—कि उनीहरूले भोकका रात र आँसुका बिहानहरूलाई जितेका थिए। कलम समात्ने ती साना औँलाहरूमा भविष्य लेख्ने आगो बलिरहेको हुन्थ्यो, त्यो आगो, जसले उनीहरूको मनोबल, धैर्यता र निरन्तरता सँगै बगाउँथ्यो। शिक्षा उनीहरूको लागि किताबको पानाभित्र सीमित थिएन; त्यो जीवनको बगिरहेको खोलाजस्तै थियो—जहाँ कहिले बाढी आउँथ्यो, कहिले सुख्खा, तर बगिरहन्थ्यो। शिक्षा, यसर्थ, आत्मा भित्र बग्ने सतत प्रेरणा र सङ्घर्षमा उठ्ने साहसको संस्कार थियो।
बक्राहा किनारका ती झुपडीहरूमा शिक्षा र संघर्ष एक अर्कामा मिसिएका थिए—जसरी पानी र माटो मिसिएर जमिन उर्बर बनाउँछन्। हरेक अक्षरमा थकान मिसिएको थियो, हरेक पानामा आशा पलाएको थियो। त्यो पाठशाला केवल पुस्तक राख्ने ठाउँ थिएन; त्यो एउटा जीवनको पाठशाला थियो, जहाँ पीडा र धैर्यताको कक्षा चल्थ्यो, र विद्यार्थीहरू संघर्षलाई स्वीकार्दै पनि मुस्काएर अघि बढ्न सिक्थे।
त्यहाँ उनीहरूले सिकेका पाठहरू कुनै पाठ्यपुस्तकका पानामा मात्र थिएनन्, ती पाठहरू खोलाको हिलोमा खेल्दा, खोलाको गर्जनसँगै निदाउँदा, र बिहान उठेर खेतको बगरमा किताब समात्दा सिकिएका पाठहरू थिए। उनीहरूले असफलता र अभावलाई शत्रु होइन, मित्रको रूपमा हेर्न सिकेका थिए—जसरी बक्राहाले खेत बगाए पनि पछि उही खेतमा हरियाली ल्याउँछ, त्यसरी नै कठिनाइहरूले नयाँ अवसर ल्याउँछन् भन्ने बुझ्दै हुर्किएका थिए।
खोलाको गर्जनमा थुप्रै आवाजहरू मिसिएका थिए—बाढीको विद्रोह, किसानहरूको आर्तनाद, बालबालिकाका सपनाको मधुर संगीत। ती आवाजहरू एकआपसमा मिसिएर एउटा अमूर्त र गहिरो जीवन संगीत सिर्जना गर्थे, जसले सम्पूर्ण समाजलाई बोलाउँथ्यो। खोलाको पानीमा भिजेका च्यातिएका पुस्तकका पानाहरू, र सानो हातहरूले समातिएका कलमहरूले त्यो संगीतलाई अक्षर र शब्दमा बदल्थे। ती अक्षरहरूले केवल इतिहासलाई लेख्दैनथे, तिनीहरूले भविष्यका पानाहरू पनि खोल्थे, जसमा आशा, संघर्ष र पुनर्निर्माणका बीज रोपिन्थे।
बक्राहा खोलाको किनारमा शिक्षा केवल एउटा साक्षरता अभियान होइन, त्यो जीवनलाई बुझ्ने, भोग्ने र नयाँ दृष्टिले पुनः सिर्जना गर्ने शाश्वत साधना थियो। त्यो साधना, जसले भोक, पीडा र आँशुका बीचमा पनि साहसको काण्ड बिझाएर मुस्कानको उज्यालो सिर्जना गर्थ्यो। बक्राहा खोलाले जब आफ्ना उर्लंदा छालहरूमा खेत र घरहरू बगाउँथ्यो, त्यही छालसँगै यी बालबालिकाका सपनाहरू पनि बग्थे—तर ती सपना नष्ट हुन्नथे, ती फेरि जन्मिन्थे, नयाँ लहरहरूमा उठ्थे र भविष्यमा फुल्नको लागि किनारमा फर्कन्थे।
बक्राहा बगिरहन्छ, उनीहरूको संघर्ष, आस्था र सपनालाई सँगै बगाउँदै, अस्तित्वको शाश्वत गीत गाउँदै।
बक्राहा खोलाले सिकाएको सबैभन्दा ठूलो पाठ के हो भने, शिक्षा केवल सुनसान कक्षाकोठामा बसेर किताब पढ्नु मात्र होइन, त्यो जीवनको सम्पूर्ण संघर्ष र पीडा स्विकारेर अघि बढ्नु हो। खोला जसरी बाधाहरू पार गर्दै आफ्नो बाटो बनाउँछ, त्यसैगरी शिक्षार्थीहरूले पनि चुनौतिहरूलाई सामना गरेर आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ। त्यो मार्ग कहिले सहज हुँदैन, कहिले उकालो हुन्छ, तर हरेक पाइलामा नयाँ अनुभव र ज्ञान अंकुरित हुन्छ।
त्यसैले, बक्राहा किनारका ती झुपडीहरूमा शिक्षा केवल व्यक्तिगत उपलब्धि होइन, सामाजिक पुनर्निर्माणको आधार थियो। ती बालबालिकाहरू, जसले आफ्नो साहस र संघर्षबाट शिक्षा प्राप्त गरे, आफ्नो परिवार र समुदायको भविष्यलाई उज्यालो पार्न तयार थिए। उनीहरूको पढाइमा माटोको गन्ध, पसिनाको मिठास, र आशाको तेज मिसिएको थियो। ती सबै भावनाहरूले मिलेर शिक्षा र जीवनलाई अमूल्य बनाउन सफल थिए।
बक्राहाको किनारमा जन्मिएको शिक्षा केवल अक्षर र पानामा सीमित थिएन, त्यो त जीवनको दार्शनिक गहिराइ र अभ्यासको अमूल्य स्रोत थियो। त्यहाँको शिक्षा भौतिक पुस्तकभन्दा माथि थियो—यो सपना देख्ने क्षमता, संघर्षलाई अँगाल्ने साहस र निरन्तर प्रयास गर्ने धैर्यताको अमूर्त पाठ थियो। बक्राहाले शिक्षा भन्ने कुरालाई एउटा जलधारा जस्तै निरन्तर बहने, कहिल्यै नथामिने प्रवाहका रूपमा चित्रित गरेको थियो, जसले जीवनका चुनौतीहरूलाई पन्छाउँदै उज्यालो भविष्य तर्फको यात्रा तय गराउँथ्यो।
बक्राहा किनारका बालबालिकाका लागि शिक्षा केवल पुस्तकमात्र होइन, बाँच्ने कला, जीवनसँग संवाद गर्ने एउटा माध्यम थियो। बक्राहाले कहिले उनीहरूको पाठशालामा हरियालीको सिंचाइ गराइदिँथ्यो, जीवनका पौधहरूलाई आशाको रेखा दिने खालको ताजा पानी जस्तै। तर त्यही खोलाले कहिले कहिँ आक्रोशित भएर उनीहरूको कापी, किताब र झोलालाई बगाएर लगिदिन्थ्यो—ठूलो आघात जस्तो जुन साहस र धैर्यको परीक्षा लिन्छ। तर त्यो परीक्षा मात्र होइन, त्यो जीवनको शुद्धीकरण थियो जसले बालबालिकाहरूलाई पुनः उठ्न र अघि बढ्न प्रेरित गर्थ्यो। माटो ओभाएको त्यो बिहान, उनीहरूले आफ्नो पसिनाले भिजेको हातले फेरि कलम समात्थे, कापी पल्टाउँथे, र अक्षरहरूमा आफ्नो भविष्यको कथा लेख्न थाल्थे—जसमा संघर्ष र सम्भावनाले संगै बगेको थियो।
खोलाको पर्खालमा बसेर उनीहरूले पढेका पठनका अक्षरहरू कहिले बाढीपछिको धूलोमा छोपिएर छायाँ झैँ चिल्ला देखिन्थे। ती अक्षरहरू कुनै साधारण चिन्ह थिएनन्, बरु ती त संघर्षको संग्राममा चम्किने तारा थिए—अन्धकारमा उज्यालो दिने, निराशामा आशा दिने अमूल्य प्रकाश। ती अक्षरहरूले मात्र ज्ञान दिँदैनथे, जीवनमा डुबेर पनि उठ्ने साहस सिकाउँथे, भविष्यमा डगमगाए पनि अडिग रहन प्रेरित गर्थे।
शिक्षा उनीहरूको लागि मातृभाषाको न्यानोपन, पसिनाको मिठास र भविष्यको उज्यालो मिलेको अनुपम मिश्रण थियो। त्यो मिश्रण जीवनका अमूर्त भावनाहरू, मानवीय संवेदनशीलता र सामाजिक जागरणको द्योतक थियो। उनीहरूको पढाइ कुनै शुष्क र सुस्त ज्ञानको आदानप्रदान थिएन, त्यो एक गहिरो अनुभूति, आस्थाको स्पन्दन र सांस्कृतिक पहिचान थियो जसले जीवनका बाधाहरूलाई प्रेमपूर्ण सहिष्णुता र सृजनशीलतासँग सामना गर्न सिकाउँथ्यो।
संघर्ष उनीहरूको लागि केवल प्रतिकूल परिस्थिति थिएन, त्यो बक्राहाको बाढीसँग जुध्ने साहसको नाम थियो—जसरी खोला आफ्नो तटलाई उल्लंघन गर्ने बाढीलाई सम्हालेर पुनः बहिरहन्छ, त्यस्तै उनीहरू पनि निरन्तर बाधा र असफलतासँग जुध्दै अघि बढ्थे। उनीहरूको हृदयमा त्यो संघर्ष एउटा प्रतिरोध र पुनरुत्थानको गीतको रूपमा बजिरहेको थियो, जसले उज्यालो भविष्यको ढोका खोल्ने कुञ्जी सम्हाल्दै थियो।
सम्भावना उनीहरूको लागि केवल एक अधूरो सपना थिएन, त्यो हरिया खेतको कान्लाबाट उक्लिरहेको सुनौलो सूर्यजस्तो प्रकाशमय आशा थियो—जो बिहानको पहिलो किरणले सम्पूर्ण अन्धकार हटाएर नयाँ जीवनको सन्देश लिएर आउँथ्यो। त्यो सूर्यले उनीहरूको मनमा उज्यालोको बीउ रोप्थ्यो, जहाँ बाधा र संघर्षबीच पनि जीवनको सार्थकता पलाउँदै थियो। सम्भावना र आशाले उनीहरूलाई आफूभित्र रहेको असिम शक्ति र क्षमता बुझ्न प्रेरित गर्थ्यो, जसले सीमितता र पिडालाई पार गर्न मद्दत गर्थ्यो।
यस्ता थिए बक्राहाका सिमान्त किसानका छोराछोरीहरूको शिक्षा, संघर्ष र सम्भावनाका कथाहरू—जसले खोला गर्जनसँगै गाउँभरि गुन्जिन्थे, र प्रत्येक असार, भदौ, कात्तिक र चैतका रातहरूमा पसिनाको पूजा गरेर बगेका थिए। त्यो शिक्षा केवल व्यक्तिगत उपलब्धि थिएन, त्यो एउटा सामाजिक पुनर्निर्माणको मूलाधार थियो जसले जीवनका हरेक आयाममा मानवीय मूल्य, सहिष्णुता र साहसको महत्व देखाउँथ्यो।
बक्राहाको किनारमा बसेर पढेका ती बालबालिकाहरूले जीवनका कठिनाइहरूलाई चुनौतीको रूपमा ग्रहण गर्थे र आफ्नो भविष्यलाई उज्यालो बनाउन आफैंलाई संघर्षशील बनाउँथे। उनीहरूको शिक्षा कुनै पुस्तकका अक्षरहरू भन्दा गहिरो थियो—यो जीवनको गहिरो सन्देश थियो, जसले बताउँथ्यो कि सपनाको पुरा गर्न संघर्ष अपरिहार्य छ, र संघर्षकै बाटोबाट उज्यालो उजागर हुन्छ।
यही शिक्षा थियो जसले उनीहरूलाई प्रेरित गर्यो—कठिन परिस्थितिमा पनि आशा नहराउनु, पछाडि नहट्नु, र निरन्तर अगाडि बढ्नु। उनीहरूले सिके कि जीवनको पथ कहिले सिधा हुँदैन, त्यो खोलाको बाङ्गो धार जस्तै कहिले गुगुलेर, कहिले टेढो बग्दछ। तर त्यो धारले अन्ततः समुद्रसम्म पुग्छ, जसरी उनीहरूको शिक्षा र संघर्षले जीवनको अन्तिम लक्ष्यसम्म पुर्याउँछ।
बक्राहाको किनारमा जन्मिएको त्यो शिक्षा केवल एक परम्परा होइन, त्यो एउटा चेतना थियो—जसले समाजमा न्याय, समानता र मानवताको बीउ रोप्थ्यो। त्यो शिक्षा आफ्नो क्षेत्रमा सीमित नरहेको, बरु त्यो एक सामूहिक शक्ति थियो जसले सिमाना र जातिभेदलाई भत्काएर सबैलाई एक साथ बाँध्ने काम गर्थ्यो। त्यसैले त्यो शिक्षा केवल अध्ययन होइन, जीवनलाई गहिरो अर्थमा बुझ्ने, स्वीकार गर्ने, र परिष्कृत गर्ने प्रक्रिया थियो।
बक्राहा खोलाको गर्जनमा मात्रै विनाशको आवाज थिएन, त्यहाँ साहसको, आशाको र ज्ञानको संगीत पनि गुन्जन्थ्यो। त्यो संगीत बालबालिकाहरूको कलममा अक्षर बन्छ, किसानहरूको खेतमा हरियाली बन्छ, र सिमान्तका गाउँहरूमा उज्यालो भविष्यको ज्योति बन्न पुग्छ। यही संगीतले सिकाउँछ कि शिक्षा केवल ज्ञानको प्राप्ति होइन, त्यो धैर्यता, सहिष्णुता, संघर्ष र आशाको जीवन्त अभिव्यक्ति हो—जसले मानव जीवनलाई पूर्ण र सार्थक बनाउँछ।
बक्राहा किनारमा जन्मिएको शिक्षा हामी सबैका लागि एक प्रेरणा हो—कठिनाइको सामना गरेर पनि निरन्तर अघि बढ्न, सपनाको पर्खालभित्र उज्यालो खोज्न, र जीवनलाई सधैं नयाँ आशा र सम्भावनासँग अंगाल्न। यो शिक्षा खोला जस्तै बहिरहन्छ, कहिल्यै थामिदैन र कहिल्यै मर्छैन। यो शिक्षा हो — जीवनसँगको अमर संवाद, जसले भविष्यको उज्यालोलाई सदैव सम्भावित र सुन्दर बनाइरहन्छ।
कच्ची बाटोको धूलो उडाउँदै च्यातिएको चप्पलका पाउमा साहसका पाइलाहरू कुदाउँथे ती बालबालिकाहरू, उज्यालो भविष्यको खोजमा। बक्राहाको किनारमा बस्ने आदिवासी र सिमान्त समुदायका ती नानीहरूको स्कुल यात्रा धूलो, हिलो र खोला पार गर्ने युद्ध थियो। गोविन्दपुर र आसपासका मुसलमान, राजबंसी, ताजपुरिया, गन्गाई, तेली र शाह समुदायका नानीहरू बिहानको हुस्सुमा भीज्दै, कहिले सानो खोला तर्दै स्कुल पुग्थे। उनीहरूको पुस्तक झोलामा मात्र होइन, खोलाको पानीमा पनि बग्थ्यो।
असार र साउनमा बक्राहा उर्लिँदा उनीहरूको अक्षर सिक्ने सपना खोलाको छालमा च्यातिन्थ्यो। कहिले कापी खोलामा बग्थ्यो, कहिले कलम भिज्थ्यो। बक्राहा उनीहरूका लागि नदी मात्र होइन, अक्षरहरूसँगको युद्धको पर्याय थियो। स्कुलका चर्किएका पर्खाल, भाँचिएका पाटीहरू उनीहरूको संघर्षका साक्षी थिए। तर उनीहरूको आँखा उज्यालो थियो, त्यो उज्यालो आँखाले बक्राहाको भेलमा पनि भविष्यको प्रतिबिम्ब देख्थ्यो।
खोलाको गर्जन कहिले गुरुजस्तो पाठ सिकाउँथ्यो, कहिले उनीहरूको सपना च्यात्ने शत्रु बन्थ्यो। तर ती नानीहरूले आँसु लुकाएर, हाँसो झल्काएर, खोलाको आवाजसँग संघर्ष गर्दै अक्षर सिकिरहन्थे। उनीहरूको स्कुल पुग्नु भनेको ज्ञानको यात्रा मात्र होइन, जलप्रलयसँगको युद्ध थियो। उनीहरूले खोलाको छालमा आफ्नो साहसको परीक्षा दिदै अक्षरको पूजा गर्थे।
बक्राहाको किनारमा उभिएर उनीहरूले भविष्यका लागि शपथ खाँदाजस्तै आँखा चिम्लिन्थे, अनि खोलाको आवाजसँगै आफ्नो हृदयलाई बलियो बनाउँथे। ती बालबालिकाको पढाइको कथा शोकगाथा पनि हो, संघर्षको गीत पनि हो, र उज्यालो भोलिका लागि गहिरो प्रतिज्ञा पनि।
प्रतिक्रिया