माटोको संगीत
तोमनाथ उप्रेती
सीजुवा, मोरङको काखमा बगिरहेको रतुवा खोला साक्षी छ –
त्यहाँ माटोको गन्ध अझै बिहानको हावा संगै बग्दछ।
त्यही माटोमा एउटा किसान, रमेश ताजपुरियाआफ्नो पसिनाले खेतहरू भिजाइरहेको छ।
उनको शरीरमा पसिनाको सुगन्ध माटोको सुगन्धमा मिसिएको छ,
अनि उनको आँखामा झल्किएको पसिनाको थोपा, सपनाको मोती जस्तै चम्किरहेको छ।
रमेशले जीवनको पहिलो हाँसो आफ्नै खेतको आँगनमा हालेका थिए,
जहाँ बुढा बुबाको हाँसो र आमा हातले बनाएको पिनाको गुन्द्रुकको गन्ध मिसिएको थियो।
तर उनको जीवन, माटो जस्तै चुपचाप, तर गहिरो संघर्षले भरिएको थियो।
पन्ध्र वर्षको कलिलो उमेरमै उनका बुबा बिरामी भएर थलिए,
अनि उनको काँधमा पर्यो सानो परिवारको पेट पाल्ने जिम्मेवारी।
उनले त्यो बिहान सूर्योदयसँगै जगाउने कुखुराको डाकमा उठ्न छोडेका थिएनन्,
गहुँ, मकै, मुसुरो, र आलुको बीउ बोकेर,
सीजुवाका लाल माटोमा पसिनाको पानी मिसाएर सपनाहरू रोप्थे।
हिउँदको चिसोमा ओस बनेर झर्ने तुषार,
उनका नाङ्गा खुट्टाहरूलाई काटेर जान्थ्यो,
तर उनले थकाइलाई कहिले शत्रु मानेनन्।
माटो, आकाश, र नदी नै उनका साथी थिए,
र उनले बुझेका थिए –
माटो चुपचाप हुन्छ, तर कहिल्यै धोका दिदैन।
एक वर्ष रतुवा खोला उफ्रियो,
पानीको क्रोधित सिंहजस्तै गर्जनले खेतहरू डुबायो।
रमेश खेतको बीचमा उभिएर हेर्थे,
जहाँ हरियो बालीहरू पानीमा बग्दै गर्दा उनको सपना पनि बगिरहेको थियो।
त्यो रात उनी गोठको कुनामा बसेर रुनुभयो,
तर बिहान उनी उठेर फेरि खनजोत गरे,
किनकि आत्मसमर्पण गर्नु उनको स्वभाव थिएन।
उनको बिहे सीजुवाकै रमाकुमारीसँग भयो।
रमाकुमारीसँग उनी खेतमा हलो जोत्थे,
दुबैको पसिना एउटै माटोमा मिल्थ्यो।
त्यही माटोमा उनीहरूका सन्तानहरू खेल्थे,
उनीहरूको हाँसोको आवाज, बिहानको कोइलाको गीतसँग मिसिन्थ्यो।
वर्षौंदेखि उनले ऋण लिएर मल र बीउ किन्थे,
तर कहिले बेमौसमको पानी, कहिले कीराहरू, कहिले बजारको मूल्य घट्दा,
उनले घाटा मात्र पाइरहे।
तर उनको आँखा कहिल्यै नथाकेको आकाश हेर्थ्यो,
जहाँ बादलहरू आउँथे र जान्थे,
तर उनले हरेस खाएनन्।
अन्ततः, एक वर्ष सुनौलो बिहान आयो,
धानका बोटहरू सुनौलो घाममा हल्लिरहेका थिए।
रमेशले हातले बालि समातेर आफ्नो अनुहारमा चलाउँथे,
र भन्थे:
“म त मरेर जान्छु तर माटो कहिल्यै मर्दैन,
त्यही माटोबाट फेरि बाली पलाउँछ,
फेरि जीवन पलाउँछ।”
उनको संघर्षले मात्र परिवारको पेट भरिएको थिएन,
तर गाउँका युवाहरूले पनि उनलाई हेरेर माटो छोड्न नहुने पाठ सिकेका थिए।
रमेशको पसिना अझै पनि सीजुवाको हावामा गन्हाइरहेको छ।
उनले माटोको संगीत सुनेका छन्,
र त्यो संगीत,
माटोमा पसिनाले लेखिएको गीत हो –
श्रमको गीत, प्रेमको गीत, धैर्य र आत्मसम्मानको गीत।
प्रतिक्रिया