तोमनाथ उप्रेती
अस्ति बट्टारमा
त्रिशूली सुस्केरामा सुस्किरहेको थियो,
र म?
टोखा–छहरेको धुलोले लतपतिएको सपनाको शर्ट लगाएर
‘समृद्धि’को सेल्फी खिच्दै काठमाडौंतिर हुइँकिरहेको थिएँ,
जहाँ सरकारका योजना हावामा उडिरहेका छन्
र चुनावको पोस्टरमा मात्रै ‘सुखी नेपाली’ बाँचिरहेका छन्।
**
साँझको आकाश नीलो थियो,
तर हाम्रो कागज–आकाश भने
एमसीसी र भोटको मिति सर्ने ‘ब्लू टिक’ जस्तो मात्रै नीलो छ।
अफिसको मेल आयो,
‘उलानबटार जानू छ’ भनेर।
मंगोलियन घोडाजस्तै मन उफ्रियो,
जसरी हाम्रा नेताहरू भाषणमा उफ्रिन्छन्,
तर चुनाव सकिएपछि बेंसी फर्केर नानी झैँ सुत्छन्।
**
हङकङ ट्रान्जिटको स्टारबक्समा कफी पिँदै सोचें:
‘यो कफी तातो छ, तर हाम्रो विकासको नीति कहिले तत्ला?’
कफीको मगजस्तो खाली नीतिहरू,
फोमको झाग मात्रै नारा,
खाली मस्तिष्कमा भाषणका बुलबुला।
**
ड्युटी–फ्री पसलमा सुन, चकलेट, स्मृति,
हाम्रा मन्त्रीहरूको ड्युटी–फ्री घोटालाजस्तै,
जहाँ स्क्यानरले भरिएका झोलाहरू पनि कर तिर्दैनन्,
जसरी उनीहरूको सपनाले कहिल्यै कर तिर्दैन।
**
उलानबटारको चङ्गेज खाँ एयरपोर्टमा
मिस खालिउन बोर्ड बोकेर मुस्काइन्,
जसरी हाम्रो बेरोजगार युवाहरू बोर्डमा ‘जागिर चाहियो’ लेख्छन्,
तर सरकारले देख्दैन,
खालिउनले देखिन्।
सरकारले केवल भोट लिन्छ,
उहाँले भने चिया नै पिलाइन्।
**
मंगोलियन तुग्रिक चिनिन,
जसरी हामीले विकास चिनेनौं।
खालिउनले नोट गनिन्,
हाम्रा अर्थमन्त्रीले ऋणको ब्याज मात्र गनिरहे।
म मुस्काएँ,
जसरी राष्ट्र बैंकका गभर्नर प्रेस कन्फरेन्समा मुस्काउँछन्,
‘मुद्रास्फीति नियन्त्रणमा छ’ भन्दै।
**
उलानबटारको चौडा सडक,
हाम्रोमा ठाडो सडकमा ‘रोड कन्स्ट्रक्सन’ लेखिएको बोर्ड,
दुई दशकदेखि उही बोर्ड राखिएको।
यहाँ गगनचुम्बी भवन,
हाम्रोमा चिल्ला भाषण।
यहाँ ‘नोम्याडिक लाइफ’ को शान,
हाम्रोमा जागिर–भ्रमण–ट्रान्सफरको नोम्याडिक जीवन,
र सरकारको बजेटमा घुमाइएका कलम।
**
बास्काले भनिन्—
‘जिन्दगी हो ठूलो कुरा, धेरै काम नगर्नू।’
हाम्रो सरकारलाई यस्तै लाग्दो रहेछ,
‘धेरै काम नगरे हुन्छ, पावर बचे हुन्छ।’
**
मंगोलियामा रात ढिलो पर्छ,
हाम्रोमा विकास ढिलो पर्छ।
यहाँ घाम अस्ताउन अल्छी गर्छ,
हाम्रो नेताहरू पनि कुर्सी छोड्न अल्छी गर्छन्।
यहाँ आकाश नीलो छ,
हाम्रो आकाशमा चुनावी हेलिकप्टर र भ्रस्टाचारका ड्रोन मात्रै देखिन्छ।
यहाँ आकाशलाई पिता मानिन्छ,
हामीकहाँ नेताहरू आफैँलाई पिता, बाजे, गुरु, राष्ट्र निर्माता ठान्छन्।
**
मंगोलियामा चंगेज खाँको घोडा दौड्थ्यो,
हाम्रोमा एम्बुलेन्सभन्दा चाँडो मन्त्रीको गाडी दौडिन्छ।
मंगोलियामा घोडाले मरुभूमि चिरे,
हाम्रोमा खोला–खोल्सामा ग्राभेलको ठेक्का चिरेर सडक कुम्ल्याइन्छ।
**
मंगोलियामा तीन वर्षमै ८ करोड ४० लाख रूख रोपियो,
हाम्रोमा एउटै रूख काट्दा ८४ वटा टेण्डर र गोजीमा झर्ने नोट रोपिन्छ।
मंगोलियामा मेगा प्रोजेक्ट सुरू हुन्छ,
हाम्रोमा ‘फाउन्डेसन स्टोन’मा नेताको नाम कुँदिन्छ।
त्यो स्टोनको फोटो फेसबुकमा आउँछ,
तर प्रोजेक्ट कहिल्यै सुरु हुँदैन।
**
मंगोलियामा नोम्याडहरू गिरमा बस्छन्,
हामीकहाँ सपनामा बस्छौँ,
सपना त सारिन्छ,
तर हाम्रो ‘समृद्धि’को नारा कहिल्यै सारिँदैन,
हरेक चुनावमा उही सपना नयाँ ब्यानरमा छापिन्छ।
**
मंगोलियामा घोडा कुद्छ,
हाम्रोमा रगत कुद्छ।
मंगोलियामा कुस्ती हुन्छ,
हाम्रोमा कुर्सीका लागि कुस्ती हुन्छ।
मंगोलियामा गिरमा आकाश हेरिन्छ,
हाम्रोमा असमानताको चिया खाएर मोबाइलमा आकाशको फिल्टर लगाइन्छ।
**
मंगोलिया ‘विकासको घोडा’ चढेर कुद्दैछ,
हाम्रोमा चुनावी गाडी चढेर उम्मेदवारहरु ‘भोट हाल्नुहोला’ भन्दै हल्लिन्छन्।
हामी बाटोमा उभिएर भोट हाल्छौं,
त्यही सडक पाँच वर्षसम्म मर्मत हुँदैन।
‘घोडा कहिले आउला’ भनी पर्खिरहेका छौं,
तर आउँदैन,
फेरि अर्को घोषणापत्र आउँछ।
**
मंगोलियाबाट फर्कँदा उलानबटारको चिसो हावाले सोध्यो—
‘के लिएर फर्किंदैछौ?’
मैले भनेँ—
‘कविता।’
किनकि विकासको योजना लिएर फर्कनु अर्थ छैन,
हाम्रो देशमा योजना होइन,
केवल कविता टिक्छ,
त्यो पनि बुक स्टलमा र लाइक बटुल्न मात्र।
प्रतिक्रिया