तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
गाजाको आकाशमा
बमका फुलजडीहरू फुल्छन्,
तर जमिनमा
रोटीको बोट उम्रिँदैन।
बालबालिका —
जसका पेटहरू चन्द्रमाको आधा रूप जस्तै,
भित्र खाली, बाहिर उज्यालो।
भोकको सूर्यास्त हरेक दिन
तिनीहरूको आँखामा ढल्छ।
संयुक्त राष्ट्र भन्छ,
“सुरक्षित बाटो दिनुपर्छ।”
इजरायल भन्छ,
“यहाँ बाटो छ, बस धैर्य गर।”
धैर्य?
जसको पेटले बिहानदेखि राष्ट्रगान गाइरहेको छ,
उसलाई धैर्यको कुरा गर्नु,
जसरी बुढी आमालाई टिकटक सिकाउनू हो।
कुपोषण यहाँ
केवल स्वास्थ्यको समस्या होइन,
यो त युद्धको नयाँ ‘डाइट प्लान’ हो —
“कम खाना, बढी ड्रोन”।
मानवीय सहायता
राहदानीसहित सीमा पार गर्न आउँछ,
तर चेकपोस्टमा १८ घण्टा कुर्दा
सात थान क्यालोरी आफैं मर्छन्।
र राहत सामग्री पनि
बमको धुवाँमा
भुटेर मात्र प्रवेश गर्छ।
यहाँ अस्पतालका पलङहरू
बच्चाका हड्डीका काठसँग मिलेर
काठको मूर्ति बन्न थालेका छन्।
नर्सहरूको हातमा
सुई होइन, प्रार्थना अड्किएको छ।
अहिले गाजामा
सपना पनि राशन कार्डमा बन्छन्,
जहाँ ‘शान्ति’ एक प्रतिबन्धित वस्तु हो,
र ‘रोटी’ राजनीतिक बहसको मुद्दा।
बालबालिकाको पेटमा
पेट्रोल छैन,
तर इन्धनको कमीले पनि
अस्पतालको जेनेरेटर सुतेको छ।
यो युद्धको गणितमा,
“एक ट्यांकर इन्धन = सय ट्यांकर आँसु”।
अन्तिमतिर, नेताहरूले
प्रेस कन्फरेन्समा हात उठाउँछन् —
जसरी फुटबल खेलाडीले गोल मनाउँछन्,
तर यहाँ गोलको सट्टा
गोलाबारीको स्कोर बढेको हुन्छ।
गाजाका बुढाहरू भन्छन्,
“म आफ्नो घरमा मर्न चाहन्छु,”
तर यो युद्धमा मृत्यु पनि
पूर्व–अनुमतिपत्र लिएर मात्र आउँछ।
शान्ति?
यो ठाउँमा शान्ति
त्यस्तो ट्याक्सी हो
जो कहिल्यै समयमै आउँदैन,
तर भाडा पहिले नै तिर्नु पर्छ।
राहतको गाडी
अन्ततः शहरमा पुग्दा
बच्चाहरू दौडन्छन्,
तर बक्स खोल्दा —
भित्र नुन, बमको गन्ध,
र राजनीतिक हस्ताक्षर भेटिन्छ।
गाजामा अब
भोक र बम
दुवैसँग सम्झौता गर्नुपर्ने अवस्था छ।
किनकि यहाँ युद्धले मात्र होइन,
कुपोषणले पनि मोर्चा खोलेको छ —
र दुबैको नारा एउटै छ:
“जीवनलाई कब्जा गर !”
प्रतिक्रिया